आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँ आइपुगेका पोखरेली साहित्यकारहरूलाई स्थानीय व्यास नगरपालिकाले बिर्खे टोपी लगाएर सम्मान गरेको छ। शिरमा भानुभक्तीय टोपी (बिर्खे टोपी) सजाउन पाउँदा अक्षर यात्रीहरू पनि मख्ख परेका थिए।
सन्दर्भ थियो, गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको मासिक कार्यक्रम ‘अक्षर यात्रा’को। हरेक महिनाको तेस्रो शनिबार आयोजना गरिने ‘अक्षर यात्राको १७८ औं सृङ्खला पुस १८ गते तनहुँको सदरमुकाम दमौलीमा गरिएको थियो।
‘बिर्खे टोपीले आदिकविको सम्झना दिलायोे’, अक्षरयात्री मैयाँ सुवेदी भन्छिन्, ‘तनहुँबासीले पाहुनाको सम्मानमा बिर्खे टोपी लगाइदिएर आफ्नोपनको संरक्षण गरेका छन्।’
व्यास नगरपालिकाका शाखा अधिकृत एवम् साहित्यकार मेघराज आचार्यको विशेष पहलमा पोखरेली टोली तनहुँ आइपुगेको थियो। टोलीले शुक्रबार दुम्सी दरै सामुदायिक होमस्टेमा बसेर ग्रामीण पर्यटनको अध्ययन गरेको थियो। उसले शनिबार बिहान दमौली क्षेत्रका व्यास गुफा, मादी तथा सेती नदी र बजार भ्रमण गर्यो।
‘जीवन र जगतको यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराकासाथ सञ्चालित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, महर्षी वेदव्यासका अध्येता काशीनाथ न्यौपाने, अक्षरयात्राका परिकल्पनाकार प्रकट पगेनी ‘शिव’, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदास र गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारीले ‘अक्षर यात्रा’ साहित्यक पर्यटनको कोशेढुङ्गा भएको बताए।
कार्यक्रममा साहित्यकारहरू सन्जीव पौडेल, कपिल शर्मा, मैँया सुवेदी, मोहन क्षेत्री, प्रदीप रोदन, सुदेश सत्याल, आवाज शर्मा, दुर्गा किरण तिवारी, शिव त्रिपाठी, नारायणी अधिकारी, गौकुमारी न्यौपाने, मन क्षेत्री, प्रमोद थापा, माधव खतिवडा, दिवाकर भट्टराई, लालमणी पोख्रेल, अनिता दाहाल, प्रेम गिरी विशाल, अमृत क्षेत्री, बिनोद श्रेष्ठ, बसन्त विनोद लगायतले रचना सुनाएका थिए।
गजल तथा मुक्तक लेखनमा सक्रिय मेघराज आचार्यले स्रष्टाहरू निम्त्याएर प्रशंसायोग्य काम गरेको अक्षर यात्राका परिकल्पनाकार पगेनीले सेतोपाटीलाई बताए। त्यसैगरि आगामी दिनमा पनि कवि तथा लेखकहरूलाई यसैगरि व्यास क्षेत्रमा घुमाउने आचार्यको प्रतिबद्धता छ।