दसैं सुरू हुनु लगत्तै मिथिलामा गाइने लोकगीतहरूका कारण एक अलग माहोल बन्छ। मिथिलामा मनाइने प्रत्येक चाडपर्वमा लोकगीत गाइने परम्परा रही आएको छ।
दसैं सुरू भएपछि हरेक साँझ देवी दुर्गाको मन्दिरमा झिझिया नाच गरिन्छ।
घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रूपमा यो नृत्य गरिन्छ।
बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गरिने जनविश्वास रहेको छ। यसको बनोट र स्वरूपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दीयो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमूना हो।
महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिलाको तत्कालै मृत्यु हुने जनविश्वास रहेको छ। त्यसै कारण सो घैंटो टाउकोमा राखी जादु टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ।
झिझिया नृत्यको आफ्नै सूर र ताल हुन्छ। त्यो विशेष सूर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जान्छिन्।
झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा गरिने गरिन्छ। त्यस्तै भारतीय मिथिला क्षेत्रमा पनि झिझिया नाच प्रस्तुत गरिन्छ।
झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो।
ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिकरूपमा सुरू हुन्छ। त्यसपछि घर-घरमा गएर नृत्य देखाउने परम्परा छ। प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन्। त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजापाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य बिसर्जन हुन्छ। झिझिया नृत्यमा दुई खाले गीत हुन्छन्। पहिलो देवी स्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्काउने गीत हुन्छन्।
मिथिला नाट्य कला परिषदका वर्तमान अध्यक्ष परमेश झा मिनापले नेपाल भारतको विभिन्न ठाउँमा गर्दै आएको साँस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिको रूपमा राख्ने गरेको बताए।
मिनापले केही वर्षयता झिझियाको ५ सयभन्दा बढी नृत्य प्रदर्शन गरेको छ। जनकपुरकै राजदेवी युवा क्लबले दसैंको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ।
दसैंकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लवको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुति हुने गर्छ।