२५६८ औं बुद्धजयन्ती एक विशेष समारोहको आयोजनासहित मनाइएको छ।
दक्षिण पूर्वी लण्डनको वुल्विच स्क्वायरमा आयोजित कार्यक्रममा विदेशी पाहुनासहित सयौं नेपालीहरू सहभागी भएका थिए।
गौतम बुद्धको शान्ति सन्देशसँगै नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्ध फाउन्डेसन यूकेको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमस्थलमा बुद्धका मूर्तिहरू, बौद्ध दर्शन सम्बन्धी चित्रकला, नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका सामग्री सहित ठूलो स्क्रिनमा नेपाल सम्बन्धी प्रदर्शनी सहित मौलिक नेपाली पहिरनमा सयौं नेपालीको उपस्थितिले कार्यक्रमस्थल नेपालमय बनेको थियो।
नेपालबाट ल्याइएको साढे तीन फिट अग्लो बुद्ध एवं बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा आकर्षण थपेका थिए।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाट लगायतले सम्बोधन गर्दै यस्तो कार्यक्रमले गौतम बुद्धको शान्ति सन्देश प्रचारप्रसारका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताए।
कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शन सम्बन्धी प्रवचन दिएका थिए। ११ वर्षीया बालिका आर्या श्रेष्ठले बुद्ध सम्बन्धी मन्तव्य दिएकी थिइन्।
बुद्ध फाउन्डेसन यूकेकी उपाध्यक्ष प्रसुना कँडेलले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष अर्जुन कटुवालले स्वागत मन्तव्य दिएका थिए।
आयोजक बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठले कार्यक्रम उल्लासमय बनेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा विभिन्न सांगीतिक नाचगान सहित नेपालका विभिन्न जातजाति र वेशभूषा झल्किने प्रस्तुति गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सामूहिक दिप प्रज्वलन गरिएको थियो।
लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहयोगमा बुद्धजयन्ती कार्यक्रम लन्डनमा बर्सेनि आयोजना हुँदै आएको छ।
स्थानीयहरूको भिडभाड हुने वुल्विच स्क्वायरमा ओहोरदोहोर गर्ने गैर नेपालीहरूको समेत कार्यक्रमले ध्यानाकर्षण गरेको थियो।