लण्डनको रोयल ग्रीनवीच बरोमा नेपाली मूलका जीत रानाभाट मेयर बनेका छन्।
बरो काउन्सिलमा सर्वसम्मत रूपमा मेयर निर्वाचित रानाभाटले बुधबार एक विशेष समारोहबीच शपथ ग्रहण गरेका हुन्।
मेयर पदभार ग्रहणपछि काउन्सिलप्रति आभार व्यक्त गर्दै रानाभाटले समुदायको सेवामा झन् कटिबद्ध भएर लाग्ने बताए।
उनले बेलायत नेपाल र ब्रिटिस गोर्खाको लामो सम्बन्धबारे चर्चा गर्दै गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर सचेतना प्रोजेक्ट आफ्नो प्राथमिकतामा रहेको जनाएका थिए।
काउन्सिल हलमा आयोजित समारोहमा बरोका उच्च पदस्थ अधिकारीहरूदेखि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र स्थानीय नेपाली समुदायका अगुवाहरू लगायतको उपस्थिति थियो।
सो अवसरमा डायमन्ड बुद्धिस्ट सेन्टरले ‘अष्टमंगल’ प्रार्थना र पासा पुच गुठी यूकेले धिमे बाजाको नेपाली सांगीतिक प्रस्तुत गरेको थियो।
सन् २०२२ मा लेबर पार्टीबाट काउन्सिलर निर्वाचित भएका रानाभाटले पछिल्लो एक वर्ष सोही बरोमा उपमेयरको जिम्मेवारी सम्हालेका थिए।
कास्कीको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन्। उनी श्रीमती र दुई छोरीका साथ लन्डन प्लमस्टिडमा बस्दै आएका छन्।
रानाभाटले एनआरएनए यूके, यती नेपाली एसोसिएसन, आरजीएनएस लगायत नेपाली संघसंस्थामा पनि विभिन्न नेतृत्वदायी पदमा रहेर काम गरिसकेका छन्।
दसौं हजार नेपालीहरूको बसोबास रहेको लण्डनको एउटा प्रमुख र ऐतिहासिक मानिने रोयल बरोमा रानाभाट मेयर बने सगै यहाँको नेपाली समुदाय खुसी र उत्साहित देखिएको छ।