बेरोजगारको बिगबिगी, कामदारको हाहाकार हाम्रो नेपालमा

काम गर्ने कल्चरको विकास आवश्यक


लामो समय लन्डन बसेर फर्किएका दुई युवाले गत वर्षदेखि काठमाडौंमा मिडियम स्केलको हस्पिटालिटी आउटलेट सञ्चालन गर्दै आएका छन्। चिनेजानेकै भएकोले काठमाडौं गएको बेला भेट्न गएँ। ‘कस्तो छ त तिमीहरुको व्यावसायको सम्भावना र चुनौती,’ मैले चिया पिउँदै सोधेँ।

‘व्यावसायको वर्तमान र भावी सम्भावना राम्रो छ तर मुख्य चुनौती कामदारकै छ, स्टाफ नै  पाइँदैन’, उनीहरुले जवाफ फर्काए। मैले स्टाफको सेवा सुविधाको प्रश्न उठाएँ । ‘हामी आफैं युरोप बसेर आएका हौ। हाम्रोमा स्टाफ वेलफेयर तुलनात्मक रुपमा धेरै राम्रो छ’,उनीहरूले जवाफ फर्काए।

यस्तै नेपालमा जुत्ता उत्पादनमा स्थापित एउटा जुत्ता उद्योगका सञ्चालकले आकर्षक तलब दिएर सबै कालिगढ़हरु भारत र बंगलादेशबाट ल्याउनुपर्ने दुखेसो पोखे। ‘यहीं तालिम दिएर काममा लगायो एक त ध्यान दिएर काम नै गर्दैनन् अर्को स्थायित्व हुँदैन हिँडीहाल्छन्’, ‘यहाँका मान्छेमा काम गर्ने कल्चर नै हरायो’, उनले आफ्नो वितिष्णा पोखे।

काठमाडौंमा मैले चिनेका घर बनाउने ठेकेदारसँगको भेटमा मैले सोधेँ, ‘कति वटा घर बनाउन हात हाल्नुभएको छ माल्दाई?, ‘एउटा दुईटा मात्रै हो ,अब सकिदैन काम गर्ने मान्छे नै पाउदैन’, सिप अनुसारको दैनिक ६ सय देखि १५ सयसम्म खाने निर्माण मजदुरहरुको अभावले उनले आफूलाई हम्मे हम्मे परेको बताए ।

यी केही  प्रतिनिधि मात्रै हुन्। तीन साता नेपाल बसाईमा काठमाडौंदेखि गुल्मीसम्मको यात्रामा मैले भेटेका साना, मझौला र उच्च तहका सबै खाले बिजिनेस व्यावसाय तथा उद्योगहरुमा  एउटा प्रमुख समस्या कामदारको नै भएको थाहा पाएँ।

देशमा बेरोजगारीले चरम सीमा नाघेर सयौ युवा युवती दैनिक विदेशिने हाम्रो देशमा दक्ष तथा अदक्ष कामदारको यो अभाव देख्दा केही अनौठो लाग्यो।

‘सिप हुने र नहुने सबैले विदेश ताकेका छन, यता काम गर्ने मनशाय नै छैन बरू त्यसै हल्लेर बस्छन्’, विदेशका कतिपय ठाउँमा हुने भन्दा राम्रो कमाई देशमै पाउदा पनि विदेशिनेको ओईरो रोक्न नसकिएको गुनासो थियो बुटवलका एक ब्यापारीको ।

‘विदेशनै जाने भए पनि नजाउन्जेलसम्म त काम गर्नु नी, खाली बस्छन् यसै घाममा टहलिएर’, माथि प्रसंग जोडिएका एक व्यवसायीको  भनाईमा केही गहिराई भेटिन्छ।

उत्पादन र सप्लाई चेन (वितरण प्रणाली) लाई चाहिने जनशक्तिको अनुपात दाँजेर हेर्दा  वास्तवमा देशको अर्थतन्त्र धान्न र विकास गर्न दक्ष र अदक्ष दुवै खाले जनशक्तिको आवश्यकता  पर्छ।

विकसित देशमा यसको (अनस्किल्ड लेबर) आपूर्तिको तथ्यांक हेर्ने हो भने रोजगारीको झन्डै आधा हिस्सा अस्थायी प्रकृतीका कामदारले थामेका हुन्छन्। जसमा मुख्यतया आफ्नो खर्चको जोहो गर्न कलेजका बिद्यार्थी पार्ट टाईम काममा हुन्छन् भने आफ्नो  फिल्डको काम नपाउन्जेल जस्तो सुकै काम गर्ने शिक्षित तर अस्थायी अदक्ष काम गर्ने दक्षको संख्या उल्लेख्य रहन्छ।

तर नेपालमा त्यस्तो प्रवृती विल्कुल छैन । विद्यार्थीहरु सम्बन्धित फिल्डको काम नपाउन्जेल बेरोजगार नै रहन्छन् र अन्ततोगत्वा आकर्षक कामको अभावमा विदेश पलायन हुने सोच राख्छन्। भेटिएको काम गर्दै आफ्नो अनुभव तिखार्ने र उद्यमशीलताको विकास गर्ने कुरामा उनीहरुको ध्यान पुगेको छैन।

मध्यपूर्वका देश नै केही वर्ष संगालेको पैसाले नेपालमै केही गर्न सकिने सोचको मानसिकताले कुनै स्थान ओगटेको छ। अर्कोतर्फ सानो काम गर्नु हुँदैन भन्ने संस्कारमा जकडिएको हाम्रो समाजले उनीहरुलाई ठूलो कमाई अर्थात विदेशको गन्तब्य ताक्न बाध्य बनाएको छ।

‘यहाँ २०/ ३० हजार कमाएर के गर्ने सुका पैसा बचाउन सकिदैन बरू खाडी तिर नै सही २/४ वर्षमा केही रकम जम्मा गर्न सकेमा, पछी यतै केही गर्न सकिन्छ कि भन्ने हो’, भन्ने खालका तर्क युवाहरुमा हावी भएको छ।

बरू पछिल्लो समयमा यूरोप तथा अन्य देश भोगिसकेका नेपालीहरु नेपाल मै केही गर्ने आत्मबलका साथ् स्वदेश फर्किने शुरुवात भएको पाईन्छ। तर आलेखको शुरुवातमै उल्लेख गरिएका लन्डनबाट फर्किएर बानेश्वरमा उद्यम शुरू गरेका प्रतिनिधि पात्रलाई न राज्यले प्रोत्साहन गर्न सकेको छ न त त्यहाँको सामाजिक परिवेशले नै ।

जनशक्तिको अभाव, सहयोगको सट्टा सरकारी निकायबाट पाईने निरन्तरको टोकसो र घर परिवार समेतको चाहले देश फर्किसकेका उनीहरू फेरि विदेश ताक्न बाध्य तुल्याईएका छन्। ‘लन्डन भोगेर आईयो तर खै यता त केही होला जस्तो छैन अब अमेरिका, अष्ट्रेलिया तर्फ नै भासिनु पर्ला’ , तिनै दुई  मध्येका एक जवानले निराश मुद्रामा भविष्यको योजना सुनाए।

यस्ता निराशाका अभिव्यक्ति सँगै विदेशबाट फर्किएर नेपालमै कही गरेका साना, मझौला र ठूला सबै खाले व्यवसायमा केही सफलता हात पारेका नभएका होईनन्। विदेशबाट फर्किनेमा काम र मिहिनेत गर्ने संस्कारनै यसको श्रेय बन्ने गरेको छ र त्यही उदाहरणलाई पच्छ्याउने युवाहरुको जमात पनि ठूलै छ जसलाई आशाको दियोको रुपमा लिन सकिन्छ।

गाउँ घरहरु शून्य प्राय छन्। जे जती केही उद्यम गरेर बसेका छन उनीहरुको गुनासो पनि शहरका ब्यापारीको भन्दा फरक छैन। ‘महिनाको एक डेढ लाख त् यही तरकारी खेती गरेर पनि कमाउन सकिन्छ तर यसको लागि दुई वटा हात मात्र प्रयाप्त छैनन्, गर्ने मान्छे कोही भेटिदैन’, गाउँमै प्रयासरत एक युवाले दुखेसो गरे। ‘दुकान खोल्यो उधारो छर्ने हो, किस्तावन्दीमा गाडी निकालियो कहिले ड्राइभर छैन, कहिले ग्राहक छैन किस्ता बुझाउन कै हम्मे हम्मे छ’, गाउँमै व्यावसायमा राम्रै गरेको देखिने एक ब्यावसायी भन्छन्।

उत्पादन, वितरण, निर्माण, पर्यटन, यातायात  जुनसुकै उद्यममा पनि जनशक्तिको अभाव प्रमुख रुपमा खड्किएको छ। यसमा अर्को एउटा महत्वूर्ण कुरा हावी भने छ जो कामदारहरुलाई आवश्यक र न्युनतम पारिश्रमिकको व्यवस्थाको  कार्यान्वयन गर्न राज्य पक्ष असफल देखिन्छ। मान्छेलाई जीविकोपार्जन गर्न पुग्ने आम्दानीको ग्यारेन्टी नभएसम्म राम्रोको खोजीमा चलायमान हुनु स्वाभाविक छ र त्यही भईरहेको छ।

व्यावसाय र उद्यम गर्न अग्रसर युवालाई व्यवहारिक रुपमै सघाउन राज्यको कुनै तत्परता छैन। भ्रस्टाचारमा गाँजिएको संयन्त्रले व्यावसाय र व्यावसायीलाई बिभिन्न निहुँको बहानामा अडको पारेर पैसा झार्ने बाहेकोको अर्को काम गर्दैनन् । यसले गर्ने हरुमा नैराश्यता उत्पन्न भएको छ।

सबैभन्दा महत्वपूर्ण रुपमा काम गर्ने संस्कार (वर्किंङ कल्चर) को विकास युवामा हुनु अत्यावश्यक छ। हरेक क्षेत्रमा मौलाएको दलाल प्रवृत्तिले मिहीनेत र परिश्रम गर्नुभन्दा दलालीबाटै रातारात मालामाल बन्न सकिन्छ भन्ने उदाहरण आफ्नै अगाडि देख्दै गर्दा युवाहरुले बाटो बिराएका छन्। ‘जग्गाको कारोबार गरेर मेरै साथीहरु अरबौंमा पुगीसके हाम्ले नंग्रा खियाएर जहाको तही छौं’, सफल रुपमै  रेस्टुरेन्ट चलाईरहेका एक जना मित्रको भनाईलाई यहाँनेर जोडन सकिन्छ ।

यतिवेला देशमा चुनावको चटारो छ। नयाँ र पुराना राजनीतिक दलले आर्थिक समृद्धिको नारा निकै भजाईरहेका छन्। तर देशको अर्थतन्त्र रेमिट्यान्समै केन्द्रित छ जुन दिगो र दिर्घकालिन कदापी हुन् सक्दैन। कल कारखाना खोल्ने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने देशमै रोजगारी सृजना गर्ने भन्ने पुराना नाराहरुको रटानले मात्र देश विकासको सपना पुरा हुन नसक्ने देखिन्छ। जब निजी क्षेत्रबाट सञ्चालित उद्योग धन्दा र व्यावसायनै जनशक्तिको अभावमा छटपटिरहेका छन भने नयाँ सृजना हुने रोजगारीमा श्रमको आपूर्ती कताबाट गर्ने भन्ने ठोस कदम बिना यी नाराहरु नारामै सिमित हुने देखिन्छ।

देशमा उत्पादित जनशक्ति देशमै रोक्नु र विदेशमा सिप ज्ञान र धन आर्जन गरेका जो स्वदेश फर्किन चाहन्छन उनीहरुलाई प्रोत्साहित गर्ने ठोस कार्यनीति र योजना अनी त्यसलाई  सफल कार्यन्वयन गर्नु आजको आवश्यकता  हो।

आशा गरौँ चुनाव जितेर आउने राजनैतिक नेतृत्वले आर्थिक समृद्धिको रटान व्यवहारमा उतार्न ठोस पहल कदमी गर्ने छ । यूवा, जुझारु र कुरा मात्र होईन कामै सक्नेहरुले जनताले रोजुन र  यो चुनावले चुन्न सकोस्। शुभकामना!

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.