शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश दिने/नदिने विषयमा सोमबार छलफल हुने भएको छ।
घले नेतृत्वको समितिले मे ३ देखि ५ सम्म गर्न लागेको महाधिवेशन विधान विपरित रहेको भन्दै यसलाई रोक्न माग राख्दै गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष बद्री केसीले रिट दायर गरेका थिए।
केसीले दायर गरेको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सोमबारको लागि दुवै पक्षलाई बोलाएको छ।
घले नेतृत्वको समितिले गर्ने महाधिवेशन रोक्ने नरोक्नेबारे सोमबार अन्तरिम आदेश आउने एनआरएनए अघ्यक्ष केसीका अधिवक्ता तेजेन्द्र गिरीले सेतोपाटीलाई बताए।
‘यसअघि परराष्ट्र मन्त्रालयले मे ३ देखि ५ सम्म गर्ने भनिएको महाधिवेशन ६ महिना सार्नलाई निवेदन निइसकेकाले दुवै निवेदनलाई एकै ठाउँमा राखिएको छ। भोलि यसबारे निर्णय हुन्छ,’ उनले भने।
एनआरएनएको महाधिवेशनको लागि राष्ट्रिय समन्वय समिति (एनसिसी) को अधिवेशन गर्नुपर्ने भएपनि त्यसलाई बेवास्ता गरिएको भन्दै महाधिवेशन रोक्नका लागि एनआरएनए अध्यक्ष केसीले अन्तरिम आदेश माग गरेर रिट दायर गरेका थिए।