नुवाकोट, बेलकोटगढी नगरपालिकाका रामचन्द्र वाग्ले दिनभरको थकान बोकेर बल्ल डेरा फर्केका रहेछन्। त्यही बेला हामी सामाजिक सञ्जालमार्फत कुराकानीमा जोडियौं।
'कार्यालयबाट फर्किँदा अप्ठ्यारोमा परेका तीन जना नेपाली उद्धार गरेर दूतावासको सेल्टरमा राखेर बल्ल कोठा आइपुगेँ,' रामचन्द्रले सुनाए।
झन्डै दुई दशकअघि हेभी सवारी चालकका रूपमा साउदी अरब गएका हुन् उनी। अहिले त्यहीँ निजी गाडी चलाउँछन्। उनले पहिले काम गरिरहेको कम्पनीकै मालिकको निजी गाडी चलाउने जिम्मा पाएका हुन्।
रामचन्द्र सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। साउदीमा विभिन्न कारण अप्ठ्यारो परेका नेपालीहरूलाई दूतावाससँगको समन्वयमा सहजीकरण र उद्धार गर्दै आएको उनले बताए।
'अहिलेसम्म त सयौंको उद्धार गरियो। एकदमै अप्ठ्यारोमा परेकालाई आर्थिक सहयोग पनि गर्छु। मैले मेरो कमाइको ३० प्रतिशत सामाजिक काममा खर्च गर्छु,' उनले सुनाए।
सुरूमा उनी महिनाको ७५० साउदी रियाल कमाउँथे। त्यो पैसा ऋण तिर्नै ठिक्क हुन्थ्यो। अहिले पाँच हजार रियालभन्दा धेरै कमाइ हुने उनले बताए।
रामचन्द्रका अनुसार उनी सुरूमा गएको कम्पनीले श्रमिक आपूर्तिको काम गर्थ्यो। कमिसन लिएर विभिन्न कम्पनीमा काममा पठाउँथ्यो। धेरै दुःख गर्दा पनि कमाइ थोरै हुन्थ्यो।


केही समयपछि उनले कम्पनी परिवर्तन गरे। पेट्रोलियम पदार्थ, युरिया लगायत रसायन उत्पादन गर्ने कम्पनीमा काम गरे। सुरूमा त्यहाँ हेभी सवारी चालक थिए। पछि प्रोजेक्ट कोअर्डिनेटर भए। उनको काम सामग्रीहरू भित्र र बाहिर पठाउने गेटपास बनाउने थियो।
कामको सिलसिलामा उनी कम्पनीको दुबई, बहराइन, कतार लगायत देशमा रहेको कारखाना पनि पुगे।
'केमिकल उत्पादन कारखानामा काम गर्नेको स्वास्थ्य जोखिममा हुन्छ। कतिपयलाई विभिन्न समस्या देखिन थालेपछि मैले त्यो काम छाडेँ,' रामचन्द्रले भने।
पछि कम्पनीले साहुको गाडी चलाउन आवेदन खुलाएको थियो। उनले पनि आवेदन दिए, छानिए।
'साहु कहिले कता कहिले कता गइरहन्छन्। म फुर्सदको समयमा समाजसेवा गर्छु,' उनले भने, 'साउदीस्थित नेपाली दूतावासको भोलेन्टियर (स्वयंसेवक) का रूपमा पनि काम गरिरहेको छु। दूतावासले मलाई एउटा कार्ड दिएको छ। नेपालीहरू समस्यामा पर्दा सम्पर्क गर्छन् र म दौडिन्छु।'
रामचन्द्रका अनुसार त्यहाँ महिलाहरू धेरै समस्यामा पर्ने गरेका छन्। नेपालबाट घरेलु काममा साउदी जान प्रतिबन्ध छ। तर कुवेत र अरू विभिन्न देशको बाटो हुँदै दलालहरूले पुर्याइरहेका छन्।
'केही समयअघि वृद्ध नेपाली महिलाको उद्धार गरियो। उहाँ वर्षौंदेखि साउदीमा दासी भएर काम गरिरहनुभएको रहेछ। दूतावासमा एक महिना राखेर कागजातहरू बनाएर पठाइयो,' उनले बताए, 'साउदीमा नेपाली भाषा नै बिर्सिसकेका थुप्रै नेपाली छन्।'
साउदीमा अहिले श्रमिक पठाउने दलालहरू पनि सक्रिय रहेको र कम तलब र सेवासुविधामा नेपाली पठाइरहेको उनले बताए। यसअघि आधारभूत तलब मासिक एक हजार रियालभन्दा कममा नेपालीहरू लैजान दिइएको थिएन। अहिले सात सय रियालमा पनि ल्याइरहेको उनी बताउँछन्।
रामचन्द्र राजनीतिमा पनि सक्रिय छन्। उनी नेकपा माओवादीको भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्च, साउदीका अध्यक्ष हुन्।
'देशको अवस्था बदल्न देशमै पनि धेरै संघर्ष गरियो,' रामचन्द्रले भने, '२०५४ सालमा एसएलसीपछि म माओवादी जनयुद्धमा होमिएको थिएँ। अहिले यहाँ गाडी चलाइरहेको छु।'
माओवादी सशस्त्र युद्धमा आवद्ध भएका बेला उनी देशका विभिन्न ठाउँमा पुगे। २०६४ सालमा संविधान सभाको पहिलो निर्वाचनअघि पनि पार्टीलाई जिताउन आफूले निकै मेहनत गरेको उनले बताए।

'चुनावी माहोल थियो। हामी काम गर्छौं भनेर प्रमाणित गर्नु थियो। त्यो बेला गाउँमा धेरै सडक खनियो। मदानपुर र बेलकोटबाट हेर्दा देखिने अधिकांश सडक हामीले नै खनेका हौं। त्यसपछि मलाई ऋण पनि थपियो,' उनले सुनाए।
ऋणले गाउँमा बस्न र परिवार चलाउन गाह्रो पर्दै गयो। यता भौंतारियो, उता भौंतारियो। निर्वाचनको ६ महिनापछि उनी साउदी उडे। दुई वर्ष बसेर काम गर्छु, ऋणधन तिरेर, केही कमाएर फर्किन्छु भनेर हिँडेका थिए, १७ वर्ष बित्यो।
काम गर्दागर्दै अहिले उनले साउदीमै व्यवसाय गर्ने योजना बनाएका छन्। अल खोबर भन्ने ठाउँमा उनले रेस्टुरेन्ट चलाउन लागेका हुन्। सिन्धुलीका एक साथी र उनी मिलेर नेपालबाट र चिनजानका साथीबाट ऋण सरसापट गरेर व्यवसाय थाल्न लागेको उनले बताए।
अब केही समय काम गरेर बिस्तारै नेपाल फर्किने उनको सोच छ।
'हामी युरोप, अमेरिका गएका छैनौं। केही समय बसेर नेपाल फर्किने नै योजना छ। अहिले कमाएको धेरै बचाउन सकिएको छैन। त्यस कारण नेपालमा त्यति धेरै लगानी गर्न सकिएको छैन। तर फर्केर केही गर्ने सोच छ,' उनले भने।
साउदी जाने नेपालीहरू सीप सिकेर जान सके कमाइ राम्रो गर्न सकिने उनले बताए। साउदी जानुअघि त्यहाँको व्यवस्था, भाषा, रहनसहन सबै बुझेर जान समेत आग्रह गरे।
'खाडी जाने नेपालीहरू गाउँदेखि नै ठगिने समस्या रहेकाले सचेत रहन पनि आग्रह छ,' रामचन्द्रले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com