ग्लोबल नेपाली
अन्नपूर्ण गाउँपालिका, कास्कीका लक्ष्मण अधिकारी वनस्पति वैज्ञानिक हुन्। विगत तीन वर्षदेखि साउदीमा कार्यरत छन्।
वनस्पति विज्ञ अधिकारीको विशेष अनुसन्धान वनस्पतिको जेनेटिक्स, जिनोमिक्स, प्रजनन तथा बायोइनफर्मेटिक्स अन्तर्गत पर्छ। हाल उनी साउदीको 'किङ अबदुल्लाह युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी' मा उनी गहुँको वंशाणुक्रमबारे अनुसन्धान गरिरहेका छन्।
'अहिले गहुँका विभिन्न प्रजाति हुन्छन्। गहुँ र गहुँको पुर्खाको वंशाणुगत गुण विश्लेषण गर्ने लगायत काम गरिरहेको छु,' अधिकारीले सेतोपाटीसँग भने।
वैज्ञानिक अधिकारीका अनुसार गहुँको उत्पत्ति पूर्वी टर्की, इराक, इरानतिरबाट भएको हो। धेरै वर्षयता विश्वका विभिन्न मुलुकमा गहुँ खेती विस्तार भइरहेको छ। तर पहिलेको जस्तो गहुँ उत्पादन हुन सकिरहेको छैन।
'त्यस बेला गहुँका पुर्खाको महत्त्वपूर्ण जिन त्यहीँ छुटेकाले त्यो जिन कसरी अहिलेको गहुँ पुस्तामा ल्याउने भनेर मैले अध्ययन गरिरहेको हुँ,' वैज्ञानिक अधिकारीले भने।
पुर्खा गहुँको जिन संकलन गरेर नयाँ पुस्तामा ल्याएपछि गहुँ उत्पादन बढ्ने उनले बताए।
'पुर्खाको जिन नयाँ गहुँमा हाल्यो भने रोग, कीरा लाग्दैन। दाना पनि ठूलो हुन्छ। एउटै बोटमा थुप्रै गाँज लाग्छ,' उनले भने।
साउदीले करिब २० वर्षअघि पर्याप्त गहुँ उत्पादन गर्थ्यो। त्यस बेला विश्वमा सबभन्दा धेरै गहुँ उत्पादन गर्ने पाँच मुलुकमध्ये साउदी पनि पर्ने उनले जानकारी दिए। त्यस बेला जमिनमुनिको पानी जति पनि निकालेर त्यहाँका किसानले गहुँ उत्पादन गर्थे। अहिले जमिनमुनिको पानी सकिन लाग्यो भनेर साउदी सरकारले एउटा किसानले कति पानी निकाल्न मिल्ने, के के उत्पादन गर्न पाउने भन्नेबारे सीमा तोकिदिएको छ।
यस कारण उत्पादन कम भएको उनले बताए।
अहिले साउदीले आफूलाई पुग्ने जति गहुँ उत्पादन पनि गर्न सकेको छैन। आयात गर्नुपर्ने अवस्था छ। विश्वमा उपयोगी मानिएको गहुँ खेतीबारे अध्ययन अनुसन्धानलाई भने साउदीले प्राथमिकता दिएको अधिकारी बताउँछन्।
उनी खजुरको पनि अनुसन्धान गरिरहेका छन्। बोट ठूलो नभएसम्म खजुरको भाले-पोथी नछुट्टिने भएकाले किसान मर्कामा पर्छन्। यो अवस्थालाई मध्यनजर गर्दै खजुरमा अनुसन्धान अघि बढाइएको उनले बताए।
'साउदी खजुर उत्पादनमा विश्वमा दोस्रो ठूलो देश हो। तर बोट ठूलो हुन्जेल कुर्नुपर्छ। भाले बोटमा फल फल्दैन। सुरूमै छुट्याउन सके धेरै राहत हुन्छ। त्यो कसरी गर्न सकिन्छ भनेर हामी अध्ययन गरिरहेका छौं,' उनले भने।
यसबाहेक समुद्रको नुनिलो पानीमा उत्पादन हुने नयाँ बिरूवाबारे पनि अध्ययन गरिरहेको उनले बताए।
विदेशमा बसे पनि अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) सँग समन्वय भएका धेरै परियोजनाहरूमा काम गरेका छन्।
साउदी अरब जानुअघि अधिकारी अमेरिकामा थिए। उनी सन् २०११ मा वनस्पति विज्ञान विषयमा स्नातकोत्तर गर्न गएका थिए।
त्यहाँबाटै विद्यावारिधि (पिएचडी) गरेका उनले विभिन्न चार वटा विश्वविद्यालयमा काम गरे। साउदीमा अनुसन्धान (रिसर्च) वैज्ञानिकका रूपमा काम गरिरहेको पाँचौं विश्वविद्यालय हो।
अनुसन्धान र त्यसका लागि आर्थिक अनुदान पाउन अमेरिकाभन्दा साउदीमा सजिलो भएकाले आफू सरेको उनले बताए।
'अमेरिकाको तुलनामा यहाँ रिसर्चका लागि फन्डिङमा धेरै सजिलो छ। पैसा नभएर अनुसन्धान प्रभावित हुने समस्या हुँदैन,' उनले भने, 'यहाँ अमेरिकी अनुसन्धानकर्ता पनि धेरै छन्। विश्वभरका प्राध्यापक र विद्यार्थीहरू छन्।'
साउदीमा इन्जिनियरिङ, जलवायु परिवर्तन, जीव विज्ञान, कम्प्युटर साइन्स लगायत विषय पढ्न विभिन्न मुलुकबाट विद्यार्थीहरू जान्छन्। नेपाली विद्यार्थी पनि रहेको र नयाँ विद्यार्थीहरूले पनि आवेदन दिएको उनले बताए।
'साउदीबाट नेपाल जान र छोराछोरीलाई नेपाल चिनाउन पनि सजिलो हुने भएकाले अमेरिका छाडेको हुँ,' उनले भने, 'मेरो ८० वर्षको वृद्ध आमा हुनुहुन्छ, कास्कीमै बस्नुहुन्छ। सासूआमा पनि वृद्ध हुनुहुन्छ। उहाँहरूलाई भेट्न बेलाबेला नेपाल आइरहनुपर्छ। अमेरिका टाढा हुँदा मुस्किल थियो। साउदीबाट सजिलो भएको छ। हरेक वर्ष तीन महिनाजस्तो नेपालमा बस्छौं।'
उनकी श्रीमती र तीन सन्तान भने साउदीमै छन्। श्रीमती त्यहीँको एक ब्रिटिस स्कुलमा पढाउँछिन्।
अधिकारी परिवारलाई विश्वविद्यालयले बस्ने घर उपलब्ध गराएको छ। उनका दुई छोराछोरीलाई निःशुल्क पढ्ने व्यवस्था छ। कान्छा सन्तान स्कुल जाने उमेरका छैनन्। सबै परिवारको सय प्रतिशत स्वास्थ्य बीमा व्यवस्था पनि रहेको उनले बताए।
'यहाँ सबै व्यवस्था राम्रो छ। छोराछोरीको पढाइ छ। सुरक्षा व्यवस्था पनि निकै राम्रो छ। मानिसहरू पनि राम्रा छन्। त्यसैले अहिले यहाँबाट अन्त गइहालौं भन्ने छैन,' उनले भने, 'नेपाल फर्किए अवसर त होला तर कमाइ हुँदैन। केही गरौंभन्दा प्रक्रियागत, राजनीतिक झमेला छ। त्यसैले सजिलो कुरा छाडेर फर्किहाल्ने हिम्मत गर्न सकिँदैन। बाहिरै बसेर पनि देशको माया गरिएको छ।'
उनलाई साउदीमै केही वर्ष बसे सन्तानको भविष्य राम्रो हुन सक्छ भन्ने पनि लागेको छ। साउदीमा पढाइका लागि राम्रो वातावरण छ। स्कुलमा बालबच्चाको सुरक्षा हुन्छ। हेरचाहका लागि मानिस पाउन पनि सहज छ। उनीकहाँ युगान्डाकी एक महिला हाउस-मेड छिन्। मासिक दुई हजार साउदी रियाल (७० हजार नेपाली रूपैयाँ) बराबर पारिश्रमिक दिनुपर्छ। कम्पनीमार्फत नियुक्त भएकाले कम्पनीले कमिसन लिएर पारिश्रमिक दिन्छ।
नेपालीलाई हाउस-मेडमा प्रतिबन्ध भएकाले नेपाली सहयोगी राख्न नपाएको उनले बताए।
'साउदीमा सीप भएका युवाहरूलाई सेवासुविधा र तलब राम्रो हुन्छ,' अधिकारीले भने, 'मेरो कमाइ पनि राम्रो छ। कमाएको पैसा नेपाल पठाउँछु। पोखरामा घरजग्गामा लगानी पनि गरेको छु।'
(लक्ष्मण अधिकारीका अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित अनुसन्धान रिपोर्टहरू पढ्न यो लिंकमा क्लिक गर्नुहोस्।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com