शनिबार सिड्नीमा सिमसिम पानी परिरहेको थियो।
जब साँझ पर्दै गयो तब सिड्नीको मुर्रे पार्कमा रातो चन्द्र सूर्य अंकित झन्डा बोकेका हजारौं दर्शक लामबद्ध भएर 'होर्डन पभिलियन' हल प्रवेश गर्दै थिए। बेलुकी ८ बजेसम्ममा साढे ५ हजार क्षमताको हल भरियो।
दर्शक संख्यामा सदैव गुणात्मक वृद्धि देख्दै आएको सिड्नीमा यसपालि लगातार दुई सोमा पाँच ५ हजारभन्दा बढी दर्शक जुटाएर नेपथ्यले नयाँ मानक कायम गरेको छ।
आइतबारको अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको पनि समापन हुँदैछ। आफ्नो प्रिय ब्याण्ड नेपथ्यलाई व्यग्र प्रतिक्षा गरिरहेका नेपालीहरूले स्टेजमा काउन्टडाउन सुरूसँगै ब्याण्डको भब्य स्वागत गरेका थिए।
मुख्य गायक एवं ब्याण्डका अगुवा अमृत गुरूङ स्टेजमा आउनुअघि स्क्रिनमा भिडियोसहित बजिरहेको थियो–
स, जौका बारी, गौका पुला कम्पनी
स, पुल बान्दी जया बैनै कम्पनी
झल्काइदऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ
अमृत गुरूङ र थिन्ले हिमाली जिल्ला डोल्पाका मनोरम दृश्यसँगै भिडियोमा देखापर्दा दर्शकको हुटिङले हल गुन्जयमान भइरहेको थियो।
जब अमृतले गाउन थाले दर्शक पनि उनीसँगै स्वरमा स्वर मिलाउँदै नाच्न थाले। यही गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिए। यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रह्यो।
शिरफूल शिरैमा
बन फूल बनैमा
हिउँको फूल धौलाश्रीमा…
गाइरहँदा स्क्रिनमा देखिएका हिमाली दृश्यले दर्शकलाई नेपाल सम्झाइरह्यो।
यति मात्र होइन, अमृतले बिचबिचमा दर्शकसँग संवाद गर्दै भनेका थिए, ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौं है।’
उनले आफ्नो कला र संस्कृति सम्झाइरहे, नेपालको पाखा पखेरा हिमाल पहाड बताइरहे।
गाउँ गाउँबाट उठ
बस्ती बस्तीबाट उठ
अमृतले गाउन थाल्नेबित्तिकै हल जुरूक्क उठ्यो, दर्शकहरूले हात उठाउँदै हललाई घन्काइरहे।
जोमसोमे बजारमा, मै नाँचे छमछमी, भेडाको उन जस्तो लगायत नेपथ्यका चर्चित गीत अमृतले सुनाए। नैना ताल गुन्जाउँदै लाहुरेका विगतका कथा उनले नयाँ लाहुरमा सुनाए।
रातो र चन्द्र सूर्य
जंगी निसान हाम्रो
गाइरहँदा दर्शकले हलमा राष्ट्रिय झण्डा फरफराएको दृश्य सुन्दर लाग्थ्यो।
यस्तै कार्क्रममा शान्ति रायमाझीले घन्काएको मादलको ‘घिन्ताङ घिन्ताङ…’ मा दर्शक औधि रमाए, मादलुको तालमा नाचिरहे।
कन्सर्टका लागि २ महिनाअघि नै टिकट काटेकी पूजा सापकोटा आफू नेपथ्यको ठूलो फ्यान रहेको र आजसम्म सिड्नीको कुनै पनि शो नछुटाएको बताइन्।
उनले नेपथ्य अरूभन्दा अलिक बेग्लै रहेको प्रष्ट पारिन्।
`नेपथ्य नेपाली लोक संगीतसँग मिलेको छ, के युवा के वृद्व सबैको मनमनमा छ। यस ब्याण्डको उपस्थितिमा म आफ्नो पहिचानको स्वाद मानेर रमाउन सक्छु। नेपथ्य मैले छुटाएको छैन,´ उनले भनिन्।
पहिलो पटक नेपथ्यको कन्सर्ट हेरेका माधव परियारलाई आफू प्रवासमा रहेर पनि नेपाल पुगेको आभास भयो रे। `मैले पहिलो पटक अमृत गुरूङलाई देख्न र सुन्न पाएँ, साँच्चिकै मलाई आफू नेपालमै रहेको आभास भयो,´ उनले भने।
यस्तै कन्सर्टमा आएका गोविन्द पराजुलीले नेपथ्य फरक रहेको बताए।
‘नेपालीहरूलाई संगीतका माध्यमबाट उनीहरूको मूल्य, मान्यता, संस्कृति र पहिचानको अनुभूति दिलाएर मनोरञ्जन गराउनु नेपथ्यको क्षमता हो,’उनले भने।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गीतारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिए।
राजधानी क्यानबेराबाट महिना दिन लामो शृंखलाबद्ध यात्रा सुरू गरेको नेपथ्यले पर्थ, ब्रीसवेन, होवार्ट, एडिलेड, मेलबर्नमा शो सम्पन्न गरिसकेको छ।
सिड्नीस्थित विश्वविद्यालयको प्रेक्षालयमा सन् २००९ मा पहिलो पटक प्रस्तुत भएर अस्ट्रेलिया अनुभव थालनी गरेको नेपथ्यले त्यसपछि दुई हजार दर्शक क्षमताको 'टाउनहल' मा आफूलाई उभ्याएको थियो।
टाउनहलमा क्षमताभन्दा धेरै दर्शक आएपछि केही बेरसम्मै सिड्नी सहरको मुटुमा रहेको त्यो भेग प्रहरीले नियन्त्रणमा लिनुपर्ने गरी अस्तव्यस्त बन्न पुगेको थियो। त्यसपछि केही समयसम्मै लगातार तीन हजार दर्शक क्षमताको लुनापार्कस्थित 'बिग टप' हलमा नेपथ्यले प्रस्तुति दिएको थियो।
नेपथ्य सन् २०२३ मा साढे पाँच हजार दर्शक क्षमताको हल 'होर्डन पभिलियन' मा प्रस्तुत भएको थियो।
तस्बिरहरू:
-ink-1743313146.jpeg)
-ink-1743313146.jpeg)
-ink-1743313145.jpeg)
-ink-1743313145.jpeg)