ग्लोबल नेपाली
उनी नेपाल छोड्दा २ वर्षकी मात्रै थिइन्। बुवा रोशन खनाल र आमा गिरिजा श्रेष्ठसँगै रिजा खनाल सन् १९९२ मा थाइल्याण्ड गइन्।
नौ कक्षासम्मको पढाइ पूरा गरेपछि उनी आफ्ना बाआमा र भाइ रोहन खनालसँग अस्ट्रेलिया आइन्।
उनै रिजा खनाल अब तीन महिनाको अध्ययन सकेपछि बाल रोग विशेषज्ञ बन्ने छिन्।
मोनास चिल्ड्रेन हस्पिटलमा रजिस्टर्ड पिडियाट्रिसियनमा कार्यरत रिजा सुत्केरी बिदामा भएकाले फेब्रुअरीबाट मात्रै उनी काममा जान्छिन्। अर्थात् उनी सन् २०२५ को मेबाट बाल रोग विशेषज्ञ बन्दैछिन्।
गाउँ, सहर अनि समुदायमा काम गर्ने अनुसन्धान गर्नुपर्ने लगायतका प्रक्रियाका कारण विशेषज्ञ चिकित्सक बन्न धेरै समय लाग्छ।
‘सुरूमा मेडिकल स्कुल पढ्नु पर्छ। त्यसको लागि अन्डर ग्र्याजुऐट ब्याचलर अफ बायोमेडिसिन पढ्नुपर्छ। मेडिकल स्कुल पास गरेपछि पोष्ट ग्र्याजुऐट एमडी गर्ने हो,’ डा रिजा खनालले भनिन्, ‘एमडी गरिसकेपछि पिडियाट्रिक ट्रेनिङ प्रोग्राममा नाम निकाल्न सक्नुपर्छ। काम गर्दै ट्रेनिङ गर्न झण्डै ६\७ वर्ष लाग्छ।’
उनले अगाडि भनिन्, ‘अर्को बाटो भनेको १२ कक्षा पास गरेर एमबिबिएस पढ्न सकिन्छ। ६ वर्षको एमबिबिएस अध्ययन सकेपछि १ वर्षको इन्टर्नसीप गरेर विशेषज्ञ चिकित्सकको लागि परीक्षा दिन सकिन्छ। विशेषज्ञ चिकित्सक पढ्दा लाग्ने ६ वर्ष त छँदैछ। जुन बाटोबाट गए पनि १२ कक्षा पास गरेर विशेषज्ञ चिकित्सक बन्न भने १२ वर्षै लाग्छ।’
उनका अनुसार यो प्रोग्राममा नाम निस्किएपछि कहिले गाउँतिर जाने अनि सहरको अस्पतालमा काम गर्ने र फेरि समुदायमा काम गर्न पठाउने गरिन्छ। तोकिएको प्रावधान अनुसारको सेवा गरेको अनुभवपछि मात्र ग्र्याजुऐट गरेर पिडियाट्रिसियन बन्न सकिन्छ।
सन् २००६ मा अस्ट्रेलिया आएर २ वर्षको अध्ययनपछि उनले १२ पास गरिन्। त्यसपछि युनिभर्सिटी अफ मेलवर्नमा ब्याचलर अफ बायोमेडिसिनको पढाइ सुरू गरिन्। तीन वर्षको त्यो कोर्ष पूरा गरेर मेडिसिनमा नाम निस्किएपछि उनले डाक्टर अफ मेडिसिन (एमडी) गरिन्। एमडी पास गरेर एक वर्ष इन्टर्नसीप सकेसँगै विभिन्न अस्पतालमा काम गरिन्। अब तीन महिनाको पढाइ सकेपछि मात्र उनी बाल रोग विशेषज्ञ बन्न पाउँछिन्। १२ पास गरेर सरासर कुनै ग्याप नगरी पढ्ने र पास गर्ने भए पनि विशेषज्ञ चिकित्सक बन्न १२ वर्ष लाग्ने उनले बताइन्।
‘गाउँ-गाउँ गएर बिरामी बच्चाहरूको उपचार गर्नुपर्छ भने जनरल, इमर्जेन्सी सबैतिर काम गर्नुपर्छ। भर्खरै जन्मिएकादेखि १८ वर्षसम्म हरेक खालका बिरामी बच्चाहरूसँग काम गर्नुपर्छ,’ उनले भनिन्।
सिक्नुपर्ने धेरै हुने अनि सबै ट्रेनिङ लिएर आत्मविश्वास बढाउनको लागि समय लाग्ने उनले बताइन्। सबै कुरा पढेर पनि बच्चाहरूसँग कसरी व्यवहार गर्ने, इमर्जेन्सी अनि जनरल वार्डमा कसरी काम गर्ने लगायतका सबै खाले अनुभव लिनुपर्छ। त्योसँगै अनुसन्धानको पाटो त छँदैछ। यति गरेर पनि सबै परीक्षा पास गर्नु स्वाभाविक रूपमा अनिवार्य भइहाल्यो।
ज्वरो आउने, संक्रमण हुने, डाइबिटिज, डिसएबिलिटी लगायतका समस्या बच्चाहरूमा धेरै देखिने उनको अनुभव छ। विशेषज्ञ चिकित्सक बन्ने क्रममा भिक्टोरियाको मुख्य सहर मेलवर्नदेखि टाढा गाउँमा गएर डेलिभरी लगायतका वार्डमा समेत काम गर्नुपर्ने उनले बताइन्।
बच्चाहरूमा संक्रमण, रूघाखोकी, सिजरसँगै उनीहरूको विकासक्रममा समेत समस्या देखिने उनले बताइन्। अटिजम लगायत बच्चाहरूको मस्तिष्क विकासमा के कारणले समस्या देखिन्छ भनेर पत्ता लगाउन कठिन हुने डा. रिजाको बुझाइ छ।
‘अटिजम देखिएका बच्चाहरूको मनोविज्ञान र भावनालाई ख्याल गरेर हेरचाह गर्नुपर्छ। तर प्रत्येक बच्चाको स्वभाव र लक्षण फरक हुन्छ,’ उनले भनिन्, ‘अर्को कुरा आमाबाबुले यसो गरेर अटिजम हुन्छ भन्ने पनि होइन जस्तो लाग्छ। कहाँ कसरी यसले असर गर्छ भनेर भन्नै सकिन्न।’
हरेक उमेर समूहका बिरामीको उपचार आफैमा जटिल काम हो। त्यसमा पनि बच्चाको उपचार त अझै कठिन हो। किनकि बच्चाको मनोविज्ञान बुझेर उपचार गर्न कठिन हुनु स्वाभाविक हो। आफु आमा बनेपछि उनले अझै फरक महसुस गरेकी छन्।
‘अहिले बच्चा भएपछि बच्चाको पनि ख्याल गर्नुपर्यो। आइसियुमा काम गर्न थालेपछि बिहान ८ देखि राति १० बजेसम्मको सिफ्ट हुन्छ,’ उनले भनिन्,‘त्यस्तो बेलामा पारिवारिक साथ भयो भने सजिलो हुन्छ। चाइल्ड केयरमा बच्चा राख्न पर्यो भने अलि गाह्रो हुन्छ।’
अस्पतालमा बिरामी हेर्दा र आफ्नो बच्चा हुर्काउँदा फरक धेरै हुने उनको अनुभव छ।
‘डाक्टर भएर हेर्दा र आमा भएर हेर्दा फरक हुने रहेछ। आफ्नो ट्रेनिङ र पढेअनुसार बच्चाको उपचार हुन्छ अनि यता मायाले हुर्काउन पर्यो,’ उनले भनिन्।
बच्चा हुर्काउन सबैलाई गाह्रो हुने भन्दै उनले माइग्रेट भएर आएकाहरूले अझ धेरै संघर्ष गर्नुपर्ने बताइन्।
‘मैले नेपाली मात्रै होइन अन्य माइग्रेट कम्युनिटीमा धेरै काम गरेको छु। एकातिर काम र पढाइ अनि अर्कोतिर बच्चा बिरामी लगायतका समस्याले धेरै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘यस्तो बेलामा आफ्नो समुदाय अनि साथी भएमा धेरै सजिलो हुन्छ। नेपाली समुदायमा एकले अर्कालाई सहयोग गर्ने संस्कार अझ धेरै छ।’
दुई वर्षकै उमेरमा नेपाल छोडेको भए पनि उनी नेपाली समुदायसँग नजिक भएर समेत काम गरेकी छन्।
अहिलेसम्म उनको औपचारिक पढाइ नेपाली भाषामा छैन। तर घरमा बुवाआमा र हजुरआमासँग नेपाली बोलेकै कारणले उनलाई नेपाली समुदायमा समेत काम गर्न सजिलो भएको छ। अनि बेला मौकामा नेपाली नर्स र बिरामीसँग समेत काम गर्न पाएकाले थप सहज भएको छ।
बच्चाको विकासक्रममा देखिने समस्याहरू बढ्न थालेकाले बाल रोग विशेषज्ञको भूमिका पनि बढ्दै गएको उनले बताइन्।
अटिजम लगायतका समस्या बढ्दै गएकाले यसतर्फ ध्यान जान जरूरी रहेको उनको सुझाव छ। सँगै यसबारे जनचेतना बढ्दै गएको उनले अनुभव गरेकी छन्।