ग्लोबल नेपाली
शनिबारको दिन उनको किचन निकै व्यस्त हुन्छ। बिहानैदेखि अरू दुई जनासहित कृति महर्जन किचनमै व्यस्त छन्।
६५ जनाको लागि खानाको अर्डर आएको छ। त्यो बाहेक डोनटको अर्डर पनि छ। उनले सबै अर्डर लिन भ्याउँदिनन्। त्यसैले यो शनिबार २ सय मात्रै डोनटको अर्डर लिएकी छन्।
उनको किचनको सबभन्दा मन पराउने भनेको चिकेन छोयला नै हो। सायद काठमाडौंको लोकल नेवार भए पनि होला उनको हातले नै त्यो विशेषता बोनसमै ल्याएको छ।
‘म सबै खाना फ्रेस बनाउँछु। हाम्रोमा पाउने छोयलालाई सबैले विशेष भन्नुहुन्छ। यस्तो छोयला नेपालमा मात्रै खाएको थिएँ भन्दा खुसी लाग्छ,’ उनले भनिन्, ‘छोयलाका लागि मसला बनाउने हाम्रो आफ्नै मौलिकता भएर होला। उतैको जस्तो हरियो लसुन पाइँदैन। तर झान्न भुटेको तोरीको तेलदेखि सबै नेपालबाटै ल्याउने हो।’
छोयलाको अर्को विशेषता पिरो त हुँदै हो। कृति महर्जन आफूले भने नेपालमा छोयला बनाएकी थिइनन्। तर छोयला खाएर हुर्किएकी उनलाई यो बनाउन ठूलो कुरा भएन।
बच्चैदेखि पाककलामा सोख भए पनि अस्ट्रेलिया आउनुअघि नेपालमा पकाउने पालो नपाएको उनले बताइन्।
ठूलो परिवारमा बसेकाले घरको सानो सदस्यले पकाउन पर्ने बाध्यता थिएन।
१९ वर्षकै उमेरमा, कुकरी पढ्न २००७ को अगष्टमा अस्ट्रेलिया आएकी कृतिले केही समय यही क्षेत्रमा काम गरिन्। अस्ट्रेलियाको पिआर लिइसकेपछि उनले डेन्टल नर्सिङ अध्ययन गरिन्।
त्यसो त उनलाई सुरूमै नर्सिङ पढ्न आउने रहर थियो। तर त्यो बेलामा पढाइ शुल्क धेरै महँगो हुने भन्दै कन्सल्टेन्सीले कुकरी पढ्न जान सुझाव दिए।
‘त्यो बेला नर्सिङभन्दा कुकरी धेरै सस्तो थियो। मैले यताको प्रक्रिया मिलाएपछि डेन्टल नर्सिङ पढेँ अनि ८ वर्ष एउटै हस्पिटलमा काम गरेँ,’ उनले भनिन्।
डेन्टल नर्सिङको सुरक्षित जागिर छोडेर यस्तो जोखिम किन मोल्नुभयो त? भन्ने प्रश्नमा उनले यसको जस कोभिडलाई दिन्छिन्।
कोभिडको समय थियो दोस्रो सन्तान जन्मिएका कारण उनी सुत्केरी बिदामा थिइन्। त्यही बेलामा जागिर समेत छोडिन्।
त्यही समयले उनलाई व्यवसाय गर्न सिकायो।
‘कोभिडको समय थियो। दोस्रो बच्चा भएकाले मैले काम छोडेको थिएँ। खाना पकाउने साथीहरूसँग बाँड्ने खाने चलिरहेको थियो। यस्तो मिठो खाना किन बेच्दैनस् भनेर सुझाव दिएपछि ख्यालख्यालमै काम सुरू भयो,’ उनले भनिन्।
सुरूआती दिनमा आफूले २/४ जनाको मात्र अर्डर लिने गरेको उनले बताइन्।
‘२०२१ को तीजमा दिदी-बहिनी समाजले एकचोटि ५० जनाको खानाको लागि अर्डर दिनुभयो। त्यसपछि हो मलाई सबथोक छोडेर यता लाग्न मन लागेको,’ उनले भनिन्।
नेवारी खाना घर-घरमा पुर्याएर लोकप्रिय बन्दै गरेकी कृतिले आफ्नो क्याटरिङ सेवाको नाम पनि नेवारी नै जुराएकी छन्। लुमन्ती अर्थात यादगर।
उनका अनुसार नेवारीको भाषामा लुमन्तीको अर्थ यादगर हो। एक पटक खाएको खानाको स्वाद पटक पटक याद आइरहोस् भनेर उनले 'लुमन्ती' नाम राखेकी हुन्।उनका अनुसार काठमाडौंको नेवारी समुदायमा लुमन्ती शब्द निकै लोकप्रिय छ। यसलाई अस्ट्रेलियामा पनि उनले ब्रान्ड बनाउन खोज्दैछिन्।
‘हाम्रोमा टिपिकल नेवारी खाना, खाजा सेटहरू पाइन्छ। छोयला, चिउरा, आलु, तामा पाइन्छ। अनि नेपाली खाना पुलाउ, दालभात तरकारी सबै पाइन्छ,’ उनले भनिन्, ‘सुरूमा मैले फेसबुकबाट भन्ने गरेको थिए। तर अहिले एकले अर्कालाई भनेरै चल्न थालेको छ।’
कृति आफू एक्लैले यो व्यवसाय सुरू गरेकी हुन्। पेन्टिङको काम गर्ने श्रीमान रितेश श्रेष्ठले घरमा भएको बेलामा सघाउँथे। काम सुरू गरेको केही समयमा एक जनालाई काममा राखिन्। अहिले एक जना डेलिभरी गर्ने सहित चार जना छन्।
‘५ किलोमिटरसम्म निःशुल्क डेलिभरी हुन्छ। धेरै मात्रामा आउने बर्थडे क्याटरिङ, बेबी सावर यस्तै यस्तै हो,’ उनले भनिन्, ‘अहिले तीजले गर्दा त्यस्तै व्यस्त भएको छु।धेरै मात्रामा आउने भनेको खाजा र खाना सेट नै हो।’
छोयला, पिरो आलु, यमरी र नेवारी भोजमा खाने अचारको धेरै माग आउने गरेको उनले बताइन्। त्यस्तै आलु, केराउ सहितको तरकारी चिकेन रोष्ट पनि उत्तिकै मगाउँछन्। उनका अनुसार डेढ घण्टाको ड्राइभिङ गरेर समेत पटक/पटक लुमन्तीको खाना लिन आउँछन्।
‘हामीलाई अर्डरको कुनै समस्या छैन। सबभन्दा व्यस्त हुने भनेको बिहीबार, शुक्रबार र शनिबार हो,’ उनले भनिन्, ‘खाना बाहेक लखमरी, पुष्टकारी, य:मरी पनि बनाउँछौं। नेवारी रोटी अनि निम्की समेत बन्छ। लखमरी, पुष्टकारी, य:मरी मेलवर्नका सबैजसो नेपाली पसलमा पाइन्छ भने सिड्नीमा समेत दुइटा पसलमा जान्छ।’
आफ्ना दुई सन्तान हुर्काउँदै व्यवसायलाई पनि अगाडि बढाउन पाएकोमा उनी सन्तुष्ट छन्। त्यति मात्रै होइन आफूले पकाएको खानालाई अरले मन पराएर पटक पटक लिन आउँदा उनी झनै दंग छन्।
‘सुरूमा त मलाई ८ वर्षसम्म काम गरेको ठाँउ छोड्न कस्तो/कस्तो लागेको थियो तर अहिले यहाँको कामबाट आउने प्रतिक्रियाले हौसला बढेको छ,’ उनले भनिन्, ‘क्याटरिङबाट आउने खुसीले जुन सन्तुष्टि दिन्छ त्यो डेन्टल नर्सिङ भएर काम गर्दा पाइएको थिएन र पाउन सम्भव पनि छैन।’