जापानमा निर्माण गर्न लागिएको नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले आयोजित १४ औं नेपाल फेस्टिबल- २०२४ मा ८० लाख बढी मुनाफा भएको छ।
'नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिबलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन' भन्ने मूल मान्यताका साथ जापानका लागि नेपाली दूतावास टोकियो जापान, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गत नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन सम्पन्न नेपाल फेस्टिबल आइतबार टोकियोमा आय व्यय सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो।
नेपाल फेस्टिबलमा कुल आम्दानी २ करोड ३४ लाख ६ हजार १ सय ११ जापानी येन भएको र कुल खर्च १ करोड ५० लाख २३ हजार ३०० हुँदा कुल बचत ८३ लाख ८२ हजार ८११ भएको १४ औं नेपाल फेस्टिबल २०२४ का आर्थिक व्यवस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरेले उक्त कार्यक्रममा जानकारी गराएका हुन्।
फेस्टिबलमा राखिएका रेष्टुरेन्टका स्टलबाट ४८ लाख, सेवामूलक स्टलबाट ३६ लाख १० हजार र सहयोगीदाताहरूबाट १ करोड ४९ लाख ९६ हजार १११ आम्दानी भएको जानकारी गराउँदै आर्थिक व्यवस्थापन संयोजक गैरेले उक्त रकममध्ये ४२ लाख १० हजार रकम उठ्न बाँकी रहेको बताए।
फेस्टिबलको आय व्यय सार्वजनिक गर्दै संयोजक गैरेले बोलकबोल रकममध्ये उठ्न बाँकी रहेका सहयोगदातालाई आगामी हप्तासम्म रकम जम्मा गर्न अनुरोध गरिएको सो अवधिसम्ममा रकम जम्मा नभएमा बोलकबोल रकममध्ये जम्मा भएको रकम र जम्मा नगरेको रकम भनेर अधिकारी फेसबुक पेजमार्फत् सार्वजनिक गरिने बताए।
आयव्यय सार्वजनिक कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सफलतापूर्वक र सार्थकतापूर्वक नेपाल फेस्टिबल सम्पन्न गरिएकोमा खुसी व्यक्त गर्दै १४ औं नेपाल फेस्टिबलले राखेको उद्देश्य पूरा गर्नका लागि तदारूकताका साथ लाग्न आग्रह गरे। साथै आफूले समेत नेपाल हाउस निर्माणका लागि हरेक कोणबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले जापानवासी सम्पूर्ण नेपालीको साथ र सहयोगमा नेपाल फेस्टिबल भव्यतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अझ नाफामा जानु सकारात्मक भएको बताए।
नेपाल फेस्टिबल आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाले जापानमा नेपाल फेस्टिबल आयोजना गर्न टोकियोबाट सुरूआत भएको महासंघसँगको सहकार्य क्षेत्र क्षेत्रमा अझ झाँगिँदै गरेकोमा सहकार्य सार्थकता पाएको बताउँदै सम्पन्न फेस्टिबलले आफ्नो उद्देश्य परिपूर्ति गर्न सकेको आफूलाई महसुस भएको बताए।
कार्यक्रम एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र उपाध्यक्ष सचिन श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।
२०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा १४ औं नेपाल फेस्टिवल-२०२४ सम्पन्न भएको थियो।