ग्लोबल नेपाली
धादिङका दिनेश ढकाल १९ वर्ष जापान बसे।
जापानमा उनले 'टुरिजम' (पर्यटन) विषय पढे। त्यहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरूमा काम गर्दै अनुभव सँगाले।
अनि सन् २०२२ मा नेपाल फर्किए।
अहिले उनी बुटिक होटल, जापानी भाषा स्कुल र ट्राभल एजेन्सी चलाउँछन्।
पर्यटनसँग उनको सम्बन्ध जापान पुगेपछि मात्र सुरू भएको भने होइन। जापान जानुअघि उनी पोखरामा होटल चलाउँथे।
'पोखरामा होटल चलाउँदै गर्दा देशको अवस्थाका कारण मलाई विदेश जानुपर्छ भन्ने सोच आयो। कता जाने भनेर सोच्दा जापान जान मन लाग्यो। त्यसपछि १९ वर्ष उतै रहेँ,' दिनेशले भने।
जापानमा उनको काम राम्रै चलिरहेको थियो। कमाइमा पनि उनी सन्तुष्ट थिए। तर उनलाई विदेशी भूमिमा कति बसिरहनु भन्ने लाग्यो। त्यसपछि नेपाल फर्किएर आफ्नै काम गर्न थालेका हुन्।
जापानको बसाइ, होटलको काम र पर्यटन अध्ययन — यिनै अनुभव जोड्दै उनले नेपालमा व्यवसाय सञ्चालन गरेका छन्।
ठमेलमा उनले 'दरबार हेरिटेज इन' होटल खोलेका छन्। आधुनिक शैलीमा बनेको भए पनि यो होटलको डिजाइन र अवधारणामा नेपाली परम्परा र संस्कृतिको झल्को पाइने दिनेशले बताए।
उनका अनुसार अहिले होटलको आम्दानी मध्यम तहमा छ। बिस्तारै वृद्धि हुँदै जानेमा उनी आशावादी छन्।
दिनेशले केही साथीहरूसँग मिलेर 'प्याराडाइज हिमालयन जर्नी' नामक ट्राभल एजेन्सी पनि सुरू गरेका छन्। यो एजेन्सीले मुख्य रूपमा जापानी पर्यटकलाई नेपाल भ्रमण गराउँछ।
'मसँग जापानी पर्यटकले चाहने स्तरको सेवा र सुविधा दिन सक्ने क्षमता छ भन्ने लाग्छ। म उनीहरूको मनस्थिति बुझ्न सक्छु,' दिनेशले भने, 'जापानी पर्यटकहरू सुरक्षा चाहन्छन् र भ्रमपूर्ण सूचनाबाट टाढा रहन खोज्छन्।'
जापानीहरू मूल्यभन्दा पनि मूल्य अनुसारको सेवा पाइयो कि पाइएन भन्नेमा बढी सजग हुने उनले बताए।
जापानमा लामो समय हस्पिटालिटी क्षेत्रमा काम गरेको र जापानी भाषामा दक्ष भएकाले उनको होटलमा पनि धेरै जापानी पर्यटक आउँछन्।
तर पछिल्लो समय नेपालमा जापानी पर्यटक बढ्न सकेका छैनन्। २५ वर्षदेखि वार्षिक ३० हजार हाराहारीमै रहेको उनले बताए।
'जापानीहरूसँग समयको सीमितता हुन्छ। तर हामी समयसँग अलि गम्भीर छैनौं। चलिहाल्छ, भइहाल्छ भन्ने बानी छ,' उनले भने, 'त्यसैले जापानी र हाम्रो गति मिल्दैन। यस्ता कुरामा हामीले ख्याल राख्न जरूरी छ।'
दिनेशले नेपालमा पर्यटनको प्रशस्त सम्भावना देखेका छन्। तर यसमा पनि हामीले पर्याप्त काम नगरेकाले चुकिरहेको उनी बताउँछन्।
'हामीसँग प्राकृतिक रूपमै पर्यटक लोभ्याउने संरचना छन्। नेपाली समाज सुरक्षित पनि छ। तर हामीले यसबारे बताउन सकेका छैनौं,' उनले भने।
यसबाहेक, दिनेशले 'हायाबुसा जापानी भाषा स्कुल' चलाएका छन्। यो पनि साझेदारीमै खोलेका हुन्।
हाल महाराजगञ्ज, सोह्रखुट्टे, चाबहिल, इटहरी र नेपालगञ्ज गरी पाँच ठाउँमा यसका शाखा छन्। दिनेश आफै दैनिक ६ घण्टा यहाँ विद्यार्थीलाई जापानी भाषा पढाउँछन्।
जापान जाने विद्यार्थीको संख्या बढ्दै गएकाले आफ्नो ध्यान अहिले भाषा स्कुलतर्फ केन्द्रित भएको उनले बताए।

'जापान जान गर्नुपर्ने पहिलो काम भनेकै भाषामा दक्ष हुनु हो। उता गएर भाषा पढ्दा धेरै खर्च लाग्छ,' उनले भने, 'त्यही भएर मैले कन्सल्टेन्सी नगरी भाषा पढाउने स्कुल खोलेको हो। आठ महिनादेखि एक वर्ष भाषा पढेर गए विद्यार्थीले दुःख पाउँदैनन्।'
उनका अनुसार जापानमा सीपभन्दा बढी भाषाको महत्त्व हुन्छ। नेपालमै एक वर्ष जापानी भाषा पढेर जाने हो भने विद्यार्थीको ठूलो खर्च बच्छ।
'भाषा सिकेर जानेले दुःख पाउँदैन, सजिलै काम पाउँछ, गलत सूचनाको पछाडि लाग्दैन,' उनले भने, 'त्यसैले जापान जाने विद्यार्थीले भाषा बाहेक अन्यत्र मन डुलाउनु हुँदैन। जापान गएपछि केही न केही उपाय लाग्छ भन्ने सोच राखेर जानेहरूले प्रायः दुःख पाउँछन्।'
दिनेश विदेश गएर अनुभव र सीप हासिल गरेपछि नेपाल फर्किनुपर्छ भन्ने सोच राख्छन्।
झन्डै दुई दशक जापान बसेका उनी मासिक ४ हजार डलरसम्म कमाउने भएका थिए। त्यो तुलनामा यहाँ आधा पनि कमाइ हुँदैन। तर आफूले सन्तुष्टि पाइरहेको उनी बताउँछन्।
'जति राम्रो कमाइ र सुविधा भए पनि अरूको समाजमा आफू कहिल्यै पनि पहिलो दर्जाको हुन सकिँदैन रहेछ। नेपाल त मेरो हो। यहाँको माटो मेरो हो भन्ने लाग्दो रहेछ,' दिनेशले भने, 'सबभन्दा ठूलो कुरा, यहाँ सन्तुष्टि छ।'