पछिल्लो समय नेपालबाट विद्यार्थी भिसामा जापान जानेको संख्या ह्वात्तै बढेको छ। अहिले जापानमा नेपाली विद्यार्थीको संख्या ५० हजारभन्दा धेरै छ।
जापानमा सन् २०११ मा ठूलो सुनामी (समुद्री आँधी) आउनुअघि चीन, ताइवान र कोरिया लगायतका मुलुकबाट जापानी भाषा पढ्न धेरै व्यक्ति जापान जान्थे।
सुनामीपछि जापान जाने क्रम कम भयो। उता जापानी भाषा स्कुलहरूमा विद्यार्थी संख्या पनि घट्यो। जापानी भाषा स्कुलहरूले नेपाल र भियतनामबाट विद्यार्थी लैजान सुरू गरे।
जापानमा नेपाली कुकको संख्या धेरै छ। यस कारण तिनका आफन्तहरूलाई जापान जान सहज भयो। यसरी पनि जापानी भाषा पढ्न जाने क्रम हरेक वर्ष बढ्दै गएको छ।
अहिले जापानमा सबभन्दा बढी चिनियाँ विद्यार्थी छन्। दोस्रो संख्या नेपालीको छ।
नेपाली विद्यार्थीको संख्या बढ्दै जाँदा चुनौती पनि थपिँदै गएको छ। धेरै विद्यार्थी जापानमा भाषा पढ्न नै जाने हुन्। विश्वविद्यालयमा पढ्न जानेको संख्या निकै कम छ।
सामान्यतया भाषा पढ्न निम्न–मध्यम वर्गीय परिवारका विद्यार्थी जान्छन्। उनीहरू आफ्नै पैसाले जाने होइनन्। चर्को ब्याजमा ऋण खोजेर गएका हुन्छन्। यसरी १४–१५ लाख रूपैयाँ ऋण लिएर जापान जानु आफैमा जोखिमको काम हो।
जापानमा स्कुलको शुल्क, पढाइको अन्य खर्च र खानबस्न चाहिने पैसा कमाउनुपर्यो। जाने क्रममा लिएको ऋण तिर्नुपर्यो। यति गरेर पैसा कमाउने सपना पनि हुन्छ।
जापान औद्योगिक राष्ट्र हो। त्यहाँ कामदारको अभाव भइरहन्छ। बुढाबुढीको संख्या धेरै भएकाले युवा श्रमिकको अभाव छ। यस कारण जापानमा युवा नेपालीका लागि कामको अवसर पनि धेरै छ। अहिलेको युवा पुस्ताका धेरैलाई अवसर कहाँ छ भन्ने कुरा थाहा छ। त्यो अवसर लिने प्रक्रियामा ध्यान दिन सक्ने हो भने नेपाली विद्यार्थीलाई राम्रो फाइदा हुन्छ। तर यसरी सोचेको देखिँदैन।
जापानमा कसरी पढ्ने, के पढ्ने, के काम गर्ने जस्ता पक्षमा नेपाली विद्यार्थीले ध्यान दिएको देखिँदैन। त्यहाँ पुग्नु नै ठूलो कुरा हो, पुगेपछि सबै ठीक हुन्छ भन्ने सोचाइ बढी देखिन्छ।
जापान जानुअघि विद्यार्थीले सबैभन्दा बढी ख्याल गर्नुपर्ने पक्ष जापानी भाषाको पढाइ हो। जापानमा ६ महिना भाषा पढ्दा ५–१० लाख रूपैयाँ खर्च हुन्छ। त्यसको सट्टा नेपालमै ६ महिना जापानी भाषा पढेर जानु राम्रो हुन्छ। यसो गर्दा कम खर्चमा भाषा सिकिन्छ, उता पुगेपछि काम पाउन पनि सजिलो हुन्छ।
जापानी भाषा जानेपछि अवसरको ढोका पनि खुल्छ। भाषा जानेको छ भने सेवा क्षेत्रमा काम पाइन्छ, नत्र कडा श्रमको काम गर्नुपर्ने हुन्छ। जापान जानुअघि यो पक्षमा ध्यान दिनुपर्छ।
जापान पुगेपछि सब ठीक हुन्छ भन्ने सोच्नु गलत हुन्छ। नेपालमा सोचेको जस्तो जापानमा हुँदैन। त्यहाँ काम गर्ने तरिका–प्रक्रिया सबै फरक छ।
विद्यार्थीले कानुनी रूपमा काम गर्न पाउने समय सातामा २८ घण्टा मात्र हो। त्यति समयको कमाइले खाने, बस्ने र पढ्ने खर्च पनि पुग्दैन। यताको ऋण पनि तिर्नुपर्ने छँदै छ। आफ्नो खर्च बेहोरेर ऋण तिर्दै कमाउने सपना हुन्छ। यो सबै गर्न कठिन हुँदा सुरूका दिनमा निराशा पनि हुन सक्छ।
नेपालमा कन्सल्टेन्सीहरूले देखाएको सपना जापान पुगेपछि भंग हुन्छ। महिनामै दुई लाख (रूपैयाँ) सम्म कमाउन सकिन्छ भनिदिएको हुन्छ। धेरै विद्यार्थीहरू मलाई यस्तै कुरा सुनाउँछन्।
नेपालमा देखेको–देखाएको सपना, आफ्नो महत्त्वाकांक्षा र जापान पुगेपछिको यथार्थका बीचमा धेरै ठूलो खाडल छ।
जापानमा कामको अवसर धेरै छ। कामदारको अभाव छ तर राम्रो काम पाउन सीप चाहिन्छ। त्यहाँ पुगेपछि काम सुरू भइहाल्छ र फटाफट कमाइ हुन्छ भन्ने होइन। धेरैले अवसर पाउँछन् तर पहिले नै ढुक्क हुन सकिँदैन। कामदारको अभाव भएका बेला प्रशासनले कडाइ गर्दैन, नदेखेझैं गर्छ। जब कामको अभाव हुन्छ तब प्रशासनले पनि कडाइ गर्छ।
विदेशी कामदारका सम्बन्धमा यस्तो अध्यागमन नीति विकसित देशहरूको 'ओपन सिक्रेट' हो।
हामीले अनुसन्धान गर्ने पनि यस्तै विषयमा हो। आप्रवासीले भोग्नु परेका समस्याबारे अनुसन्धान गरेर आएको निष्कर्षका आधारमा हामी लबिङ (पक्षीकरण) समेत गर्छौं।
विद्यार्थी एक–दुई वर्ष पढाइमै केन्द्रित हुनुपर्छ भन्ने मेरो सुझाब छ। पढाइ राम्रो भयो भने राम्रो अवसर उपलब्ध हुन्छ। सुरूमै आत्तिएर पढाइमा भन्दा काममा बढी ध्यान दिनु उचित हुँदैन।
डेढदेखि दुई वर्ष भाषा विद्यालयमा पढेपछि विश्वविद्यालय जान पनि पाइन्छ तर सजिलो भने हुँदैन। अर्को विकल्प भोकेसनल (व्यावसायिक) स्कुल हो। सीप भएपछि कामदार भिसा पाइन्छ।
यही आशा र सपनाले जापानमा नेपाली विद्यार्थीको संख्या बढ्दो क्रममा छ।
जापानमा कमाइ कति होला, अतिरिक्त समय काम गर्न पाइएला कि नपाइएला, यो अलग कुरा हो। जापान जानुअघि नेपाली विद्यार्थीले महत्त्वपूर्ण केही कुरामा ध्यान दिनै पर्छ।
पहिलो, भाषाको ज्ञान।
दोस्रो, जाने क्रममा हुने खर्च।
तेस्रो, कस्तो कलेजमा पढ्न जाँदैछु भन्ने।
यी पक्षमा आफ्नो कन्सल्टेन्सीसँग राम्ररी जानकारी लिनुपर्छ। जापानमा आफन्त र साथी छन् भने उनीहरूसँग पनि जानकारी लिनुपर्छ।
जापान पुगेपछि मात्र थाहा हुन्छ त्यहाँ पैसा कमाउन कति गाह्रो छ भन्ने कुरा। यस कारण जानुअघि निकै राम्रो तयारी गर्नुपर्छ। भाषाको ज्ञानसँगै मोटरसाइकल र कारजस्ता सवारीसाधन चलाउन जानेको छ, यसको लाइसेन्स छ भने सजिलो हुन्छ। अरू सामान्य सीपमूलक तालिमले जापानमा खासै काम गर्दैन।
विद्यार्थीले सबै पक्षको राम्रो जानकारी लिएर तयारी गर्ने हो भने जापान जाने खर्च अहिलेको तुलनामा आधा कम हुन सक्छ। जापानी भाषा जानेको छ भने कलेज आफै खोज्न सकिन्छ। आफैले कलेज खोजेर गएका विद्यार्थीहरू पनि मैले भेटेको छु।
जापान जाने क्रममा विद्यार्थीले १३–१४ लाख रूपैयाँ खर्च गरेको हुन्छ। सिधै भाषा स्कुलसँग सम्पर्क गरेर जाने हो भने यो रकम १० लाखमा झार्न सकिन्छ।
आफन्त र साथी छन् भने बस्नेखाने खर्च कम हुन्छ। यसरी खर्च ७–८ लाख रूपैयाँमा झार्न सकिन्छ। जापानी भाषा जानेको छ र आफन्त वा सहयोगी छन् भने सजिलो हुन्छ।
(दीपेश खरेल जापानमा आप्रवासी कामदार र विद्यार्थीबारे अनुसन्धान गर्छन्। युनिभर्सिटी अफ टोकियोका उपप्राध्यापक रहेका उनीसँग सेतोपाटीका सन्जिब बगालेले गरेको कुराकानीमा आधारित।)
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com