ग्लोबल नेपाली
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कृति 'मुनामदन' का मदन मुनालाई घरमा छाडेर धन कमाउन परदेश गएका थिए। मदनलाई प्रतीकात्मक पात्र मानेर भन्दा त्यो समय मदनहरू धन कमाउन परदेश जान्थे र मुनाहरू घरमा बस्थे।
आजकाल मुना र मदन दुवै जना जान्छन्। यस्तै दम्पती हुन् अन्शु पाण्डे बुढाथोकी र शिशिर बुढाथोकी।
हाल उनीहरू दक्षिण कोरियामा छन्।
श्रीमान र श्रीमतीमध्ये एक जना परदेश गएपछि जोडी छुट्टिन्छ। एक जना मात्रै कमाउने भएपछि लामो समय परदेश बस्नुपर्ने हुन सक्छ। अन्शुका अनुसार यसरी छुट्टिएर लामो समय बस्नु नपरोस्, सँगै बस्न र छिटै घर फर्किन पाइयोस् भनेर उनीहरू दुवै कोरिया गएका हुन्।
'परदेशी बन्ने चाहना होइन तर देशको अवस्था नै यस्तै (रोजगारी नभएको) छ। एक जना परदेश र अर्को घरदेश (स्वदेश) भएर लामो समय एक्लाएक्लै बस्नुभन्दा दुवै जना एकसाथ खटेर छिट्टै फर्किने हाम्रो योजना हो,' अन्शुले भनिन्, 'दुवै जना सँगै बसेर कमाउने अनि दुवै जना सँगै फर्केर आफ्नै देशमा काम गर्ने।'
उनीहरू दुवै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया गएका हुन्। अन्शु गएको तीन वर्ष भयो। त्यसको पाँच महिनापछि शिशिर पुगेका हुन्। अहिले उनीहरू फाजुसी भन्ने ठाउँमा बस्छन्। दुवै एउटै कम्पनीमा काम गर्छन्।
कम्पनीले तामा, आलमिनियम र अन्य केही धातुबाट गाडीका पार्टपुर्जा र इलेक्ट्रिक (विद्युतसम्बन्धी) सामग्री उत्पादन गर्छ। अन्शुका अनुसार उनको काम सजिलो छ। उनी तामातर्फ काम गर्छिन्। सामान जाँच गर्नु र प्याकिङ गर्नु उनको मुख्य काम हो। कहिलेकाहीँ सानो मेसिनमा पनि काम गर्नुपर्छ।

शिशिरको काम आलमिनियमतर्फ छ। उनले मेसिनमा नाप अनुसार आलमिनियम काट्ने, प्वाल पार्ने र खास आकृति दिने लगायत काम गर्नुपर्छ।
दुवै जना दैनिक ९ देखि १० घण्टा काममा खट्नुपर्छ। खाना र खाजा खाने समय समेत १३ घण्टाजति काम्पनीमा बित्छ। नियमित काम ८ घण्टाको हुन्छ। त्यसमाथि 'ओभर–टाइम' हिसाब हुन्छ। ओभर–टाइमले आम्दानी बढाउँछ।
'आधारभूत मासिक पारिश्रमिक दुई लाख नेपाली रूपैयाँ छ। ओभर–टाइम समेत गर्दा तीनदेखि साढे तीन लाख रूपैयाँसम्म कमाइ हुन्छ,' अन्शुले भनिन्।
त्यहाँको सरकारी नियम अनुसार सातामा दुई दिन बिदा हुन्छ, शनिबार र आइतबार। अन्शुलाई कहिलेकाहीँ शनिबार ओभर–टाइम काम पर्छ। शिशिर हरेक साता शनिबार ओभर–टाइम काम पाउँछन्।
उनीहरू बिदाका दिन घुमफिरमा निस्किन्छन्। घुमफिरका लागि धेरै ठाउँ छन् तर अलिक टाढा।
'बुढाबुढी सँगै भएपछि घुम्न जान सजिलो हुन्छ। बिदाको दिनमा प्रायः बाहिर (घुम्न) गइरहन्छौं,' उनले भनिन्।
सुरूमा अन्शु छेजुदो भन्ने ठाउँमा काम गर्थिन्। सम्झौतामा प्याकिङ सम्बन्धी काम भनिएको थियो तर मासु काट्ने (टुक्रा गर्ने) काम गर्नुपर्यो। उनलाई साह्रै असहज भयो तर काम नगरी धरै थिएन।
'मासु पसल पूरै चिसो, तापक्रम माइनसमा हुन्थ्यो। ठिहीमा उभिएर काम गर्नुपर्ने, असाध्यै गाह्रो थियो,' उनले भनिन्, 'काम पनि हरेक दिन एक घण्टा बढी लगायो तर तर ओभर–टाइमको सुविधा दिएन। बिदाको दिन काम गरायो तर आधारभूत तलबभन्दा बढी दिएन।'
खानेबस्ने खर्च लाग्ने भइहाल्यो। बिमा शुल्क र कर तिर्दा निकै ठूलो रकम खर्च हुन्थ्यो। कमाइ राम्रो भएन। उनले कम्पनी परिवर्तनका लागि अनुमति मागिन् तर पाइनन्। नेपाल फर्काइदिने धम्की पो पाइन्!
इपिएस प्रणाली अन्तर्गत कोरिया गएका श्रमिकले रोजगारीदाता फेर्न साहुको अनुमति लिनुपर्छ। अनुमति नलिई कम्पनी फेर्दा अवैध ठहर हुन्छ तर रोजगारीदाताले श्रमिकलाई सम्झौताभन्दा फरक ठाउँ र फरक काममा लगाउन पाउँदैन। अन्शुले सम्झौता भएको भन्दा फरक काम गर्नु परेको थियो।
अर्को कम्पनीमा जान अनुमति नपाएपछि उनले आप्रवासी श्रमिकको हकहितका लागि काम गर्ने संस्था 'एमटियु' मा प्रमाणसहित उजुरी गरिन्। उजुरी गरेको भोलिपल्टै साहुले कम्पनी फेर्न अनुमति दिए।

त्यतिन्जेलमा शिशिर पनि पुगिसकेका थिए। उनी काम गर्ने कम्पनीले श्रमिक मागेको थियो। अन्शुले त्यसमै आवेदन गरिन्, छनोट पनि भइन्। एउटै कम्पनीमा भएपछि दुवैलाई सजिलो भयो। उनीहरूले साहुलाई आफ्नो सम्बन्धबारे बताए। सँगै बस्ने सुविधाका लागि आग्रह गरे।
'साहुलाई हामी श्रीमान–श्रीमती हौं, सँगै बस्न चाहन्छौं भन्यौं। हाम्रो कुरा मानेर व्यवस्था मिलाइदिए,' शिशिरले भने, 'सँगै भएपछि सजिलो भयो। कामको जति दुःख भए पनि समय सजिलै कटिरहेको छ।'
उनीहरूका अनुसार कमाइ राम्रो हुन्छ तर सजिलो छैन। कतिपय काममा निकै जोखिम हुन्छ। काम सजिलो जस्तो भए पनि दिनहुँ १०–१२ घण्टा घोटिँदा निकै दुःख हुन्छ।
'काम सजिलो खालको हुँदा पनि हात चलाइराख्नुपर्छ। रोबोट जसरी काम गरिराख्दा गाह्रो हुन्छ,' अन्शुले भनिन्।
कोरिया जानुअघि अन्शुले कहिल्यै त्यसरी खटेर काम गरेकी थिइनन्। सुरूका दिनमा निकै कठिन भयो तर त्यसो भनेर धर थिएन, बिस्तारै बानी पर्दै गयो। शिशिर नेपालमा पत्रकारिता पेसामा थिए। पत्रकारितासँगै नेपाली टेली सिरियलमा र मनोरञ्जनका क्षेत्रमा पनि काम गर्थे। कमाइ पनि ठिकै थियो।
शिशिर र अंशुको २०७३ सालमा बिहे भएको हो। पारिवारिक जिम्मेवारी बढेपछि उनीहरूले कोरिया पुगेका हुन्।
विदेशी भूमिमा श्रमिकको काम, अझ त्यहाँको समाज र संस्कृतिसँग परिचित हुन सजिलो छैन। तर बिस्तारै मिल्दै गएको उनीहरू बताउँछन्। पाँच वर्ष कोरिया बसेर स्वदेश फर्कने उनीहरूको योजना छ।
'हामी लामो समय कोरिया बस्ने योजना होइन। पाँच वर्ष बसेर फर्किने हो,' उनीहरूले भने।
२५ वर्षीया अन्शु र २९ वर्षीय शिशिरको स्वदेश फर्केपछि केही लगानी गरेर आफ्नै व्यवसाय गर्ने योजना छ।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com