ग्लोबल नेपाली
इटहरीकी समीक्षा कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ राखेकी छन्। भिडिओमा उनी जापानको एउटा मार्टमा घुमिरहेकी छन्।
'यो जापानको धेरै सब्जी पाउने पसल हो। अति महँगो छ के यहाँ, तपाईंहरूलाई म देखाउँछु,' भिडिओमा उनले एउटा ठूलो स्याउ देखाउँदै भनेकी छन्,' यो एउटा स्याउ यहाँको दुई सय जापानी येन (करिब एक सय १८८ रूपैयाँ) पर्छ।'
उनी आलुको प्याकेट भएको ठाउँमा जान्छिन्। करिब पाँच वटा आलु भएको एउटा प्याकेट उचाल्छिन्।
'हेर्नु न, यतिको २७७ येन (करिब २६० रूपैयाँ),' उनी भन्छिन्।
उनी अगाडि बढिन्। गोलभेँडाको प्याकेट भएका ठाउँमा पुगिन्।
प्याकेट उचाल्दै भन्छिन्, 'पाँच वटा गोलभेँडा छन्। यसको ४२८ येन (करिब ४ सय रूपैयाँ)।'
समीक्षा निर्दिष्ट सीप भएका कामदार (स्पेसिफाइड स्किल्ड वर्कर्स-एसएसडब्लु) प्रणालीमार्फत जापान गएकी हुन्। सन् २०२२ मा एसएसडब्लु भिसा अन्तर्गत नर्सिङ केयरका लागि गएकी उनी त्यहाँ एउटा वृद्धाश्रममा काम गर्छिन्।
त्यहाँ उनले वृद्धवृद्धाको हेरचाह गर्नुपर्छ। कमाइ पनि राम्रो भएको उनले बताइन्। जापानको नर्सिङ केयरमा मासिक एक लाख ७० हजार रूपैयाँदेखि तीन लाख रूपैयाँसम्म कमाउन सकिने उनी बताउँछिन्।
'तर कमाइ भए पनि महँगी धेरै छ। पैसा बचाउन एकदमै गाह्रो पर्छ। बीमा लगायत विभिन्न शीर्षकमा काटिन्छ,' उनले सेतोपाटीसँग भनिन्।
उनको महिनामा तलबबाटै ३० देखि ५० हजार रूपैयाँ काटिएर आउँछ। टोकियो लगायत सहरमा कोठाभाडा साह्रै महँगो छ। गाउँतिर अलि सस्तो पर्छ। उनी तोचिगिकेन भन्ने गाउँमा बस्छिन् जुन विकट पहाडी जिल्ला हो। त्यहाँ मासिक ६० हजार रूपैयाँ भाडा तिर्छिन्।

खानेकुरामा पनि महिनामा ५० हजार रूपैयाँभन्दा धेरै खर्च हुन्छ।
'पार्लरको त कुरा नगरौं। हेर्नै सकिँदैन। कपाल काट्नुपर्यो भने पाँच हजार रूपैयाँ लिन्छ। अझ स्याम्पू गर्नुपर्यो भने छुट्टै खर्च। पार्लरमा त आखीभौं मिलाउन पनि सकिँदैन। आफै मिलाउने हो,' उनले सुनाइन्।
तैपनि जापानमा दुःख गर्न सके काम पाइने र महँगी भए पनि केही पैसा जोहो गर्न सकिने उनको भनाइ छ।
'नेपालमा त कामै पाइँदैन। यहाँ महँगी भए पनि रोजगारी त पाइन्छ नि त,' उनले भनिन्, 'तर वर्किङ आवरमा ठगठाग चल्दैन। खटेर काम गर्नुपर्छ।'
समीक्षाको सातामा दुई दिन बिदा हुन्छ। महिनामा २१ दिन काम गर्नुपर्छ। बिदाको दिन आफ्नो हो, जसरी मनाए पनि हुन्छ।
काम पनि समूहमा हुन्छ। धेरैजना वृद्धवृद्धा भएकाले हेरचाह गर्ने पनि धेरै जना हुन्छन्।
समीक्षाका अनुसार जापानीहरू सकुन्जेल काम गर्छन्। शरीरले काम गर्न छाडेको खण्डमा नर्सिङ केयरमा राखेर हेरचाह गरिन्छ। उपचारका लागि चिकित्सकहरू हुन्छन्।
'एकदमै राम्रो व्यवस्था हुन्छ,' उनले भनिन्।
नर्सिङ केयर काममा जानेहरूले नेपालमा जापानी भाषाबारे गहिरो अध्ययन गर्नुपर्ने उनले बताइन्। नर्सिङ केयर के हो, कसरी गर्ने भन्नेबारे पनि अध्ययन गरेर जानुपर्छ।
'एसएसडब्लुमा जापान आउँदा निकै राम्रो छ। तर यो भिसामा आउन सुरूमा भाषा पास गर्नुपर्छ। पछि सीप परीक्षण पनि हुन्छ। परीक्षणमा पनि नर्सिङ केयरबारे किताबमा पढेकै कुरा सोधिन्छ,' उनले भनिन्।
त्यस्तै काममा एकदमै नम्र भएर बोल्नुपर्छ। चर्को आवाजमा बोल्न पाइँदैन। जापानमा मानसिक समस्या भएका वृद्धवृद्धासँग काम गर्नुपर्ने भएकाले उनीहरूसँग कसरी बोल्ने भनेर सिक्नैपर्ने उनी बताउँछिन्।
सुरूमा उनलाई मानसिक समस्या भएका मान्छेहरूको हेरचाह गर्ने काम कस्तो होला भन्ने लागेको थियो। तर काम गर्दै जाँदा अहिले सहज भइसकेको उनले बताइन्।

'मानसिक समस्या भएकाहरूसँग सम्झाइबुझाइ गर्ने तरिका र शब्द नै फरक हुन्छन्। त्यसैले भाषा धेरै जानेको हुनुपर्छ,' उनले भनिन्।
समीक्षाले नेपाल छँदै भाषा पढेकी थिइन्। जापान जानेबित्तिकै दोहोरो कुरा गर्न केही असहज भए पनि राम्रोसँग पढेका कारण बुझ्न समस्या नभएको उनले बताइन्।
एसएसडब्लुमा काम र कमाइ राम्रै भएकाले आफूले भाइबहिनीलाई पनि तयारी गर्न लगाएको उनले बताइन्। उनका भाइको सबै प्रक्रिया सकिएको छ। तर नेपालमा प्रक्रिया अगाडि बढाउने आधिकारिक ठाउँ नभएकाले कन्सल्टेन्सीहरूले मनलाग्दी पैसा लिएर पठाइरहेको उनले बताइन्। भाइका लागि करिब ६ लाख रूपैयाँ खर्च भएको उनले बताइन्।
जापानमा एसएसडब्लु भिसा अवधि पाँच वर्षको हो। समीक्षालाई एक वर्ष थप गरेर ६ वर्ष काम गर्न मिल्ने बनाइदिएको उनले बताइन्।
समीक्षाको घरमा दुई छोराछोरी र श्रीमान छन्।
उनी भन्छिन्, '६ वर्ष पूरा भएपछि म पनि फर्किएर देशमै केही गर्ने सोच छ।'

सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com