ग्लोबल नेपाली
सन् १९९७ मा हङकङ छोड्नुअघि बेलायतले ब्रिटिस गोर्खाका सन्तानलाई त्यहीँको नागरिकता दिने निर्णय गर्यो। विशेष गरेर हङकङमै जन्मिएका सन्तानका लागि त्यस्तो प्रावधान बनाइएको थियो।
ब्रिटिस सरकारको त्यही निर्णयअनुसार राधिका गुरूङ (टीका) पनि सन् १९९४ मा श्रीमान र एक छोरीसहित हङकङ गइन्। नेपालमा रियल–इस्टेट व्यवसायमा लागेकी थिइन्। हङकङमा भारतीय खानाका परिकार पाइने रेस्टुरेन्ट खोलिन्।
रेस्टुरेन्टसँगै 'गोर्खा क्लब' चलाइन्। उनले सन् १९९७ मा 'कन्ट्रक्सन' र 'सेक्युरिटी' कम्पनी पनि सुरू गरिन्।
टीका र उनका श्रीमान प्रकाश पुन मगर व्यवसाय विस्तार गर्दै अघि बढे। टीकाकै सक्रियतामा सन् २०१८ मा 'केएमई फाइनान्स' सुरू भयो जसको पुँजी हाल १० मिलियन हङकङ डलर छ। यसमा १८ जनाको समूह छ।
केएमई फाइनान्समा अध्यक्ष पनि टीका नै छन्। उनले सन् १९९४ मा खोलेको रेस्टुरेन्ट अर्को व्यवसायको व्यस्तताका कारण सन् १९९८ मा बन्द गरेकी थिइन्। टीका र प्रकाशले तीन वर्षअघि 'हिमालय क्याफे एन्ड रेस्टुरेन्ट' पुनर्स्थापना गरे।
टीकाका अनुसार यो रेस्टुरेन्टमा नेपाली स्वादको दालभात–तरकारी, अचार र याकको सुकुटी पाइन्छ।
'हङकङमा नेपाली स्वादका रेस्टुरेन्ट भेट्न गाह्रो हुन्छ। नेपाल गएर फर्केका चिनियाँहरूले हाम्रो खाना मन पराउँछन्,' उनले भनिन्।
उनीहरू हिमाली भेगको सिमी र दाल नेपालबाटै मगाउँछन्। गुन्द्रुक, टिमुर र दाल उत्पादनका लागि म्याग्दीमा खेती गरेका छन्। खेती हेरचाहका लागि प्रकाश हङकङबाट नेपाल आइरहन्छन्। नेपालबाटै लगेर चिया र कफी पनि बेच्छन्। उनीहरूको 'गोर्खाज कन्ट्रक्सन' बाट निर्माणको काम हुन्छ।
'हामी बिल्डिङ (भवन) बनाउने काम गर्छौं। कतिपय निर्माणका काममा सबकन्ट्र्याक्टर हुन्छौं, कतिपयमा कामदार पठाउछौं,' टीकाले, 'स्काप फोल्डिङ, टनेल, स्लोप, आलमिनियम फेमवर्क लगायतमा काम गर्छौं। हामी संघसंस्थाका लागि सेक्युरिटी गार्ड पनि सप्लाइ गर्छौं।'
उनीहरूले केही समय 'केएमई रेमिटेन्स' पनि चलाए तर सन्तोषजनक काम हुन सकेन। नेपालमा वैधानिक तरिकाले पैसा पठाउने क्रम सुस्त भएपछि रेमिटेन्स कम्पनी बन्द गर्नुपरेको टीकाले बताइन्।
उनी एनआरएनए (गैरआवासीय नेपाली संघ) हङकङको अध्यक्ष पनि भइन्। त्यस बेला आफूले वैधानिक माध्यमबाट पैसा पठाउने कुरा जोडतोडका साथ उठाएको तर सफल हुन नसकेको उनको भनाइ छ।
टीकाका अनुसार हङकङमा ३० हजार हाराहारी संख्यामा नेपालीहरू छन्। तीमध्ये करिब ३० प्रतिशत नेपाली व्यवसायमा छन्। उनीहरूले कन्सट्रक्सन, सेक्युरिटी, रेस्टुरेन्ट, ब्युटी पार्लर लगायतमा लगानी गरेका छन्।
सन् १९९४ देखि २००६ सम्ममा नेपालीको संख्या ५० हजार पुगेको भए पनि २० हजारलाई बेलायतले नागरिकता दिएको उनले बताइन्।
'हङकङमा रहेका सबैजसो नेपालीको सिटिजनसिप (नागरिकता) छ। सन् २००५ पछि हङकङले नेपाली कामदार र विद्यार्थीका लागि भिसा दिएको छैन,' उनले भनिन्, 'घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने महिलाका लागि हङकङ सुरक्षित गन्तव्य हो। यस निमित्त हामीले प्रयास गरेका छौं तर खुलाउन सकिएको छैन।'
टीका हङकङमा विभिन्न सामाजिक संघसंस्थामा पनि सक्रिय छिन्। एनआरएनए, हङकङमा दुई कार्यकाल अध्यक्ष भइन्; एनआरएनएको एसिया प्यासिफिक संयोजक समेत भइन्।
अहिले उनी एनआरएनएमा दोस्रो कार्यकालका लागि सचिव छिन्। एनआरएनएमा देखिएको विवादले टीका खिन्न छिन्। सबै किसिमका आन्तरिक समस्या समाधानका आगामी अक्टोबरमा 'एकता महाधिवेशन' गर्नु एक मात्र विकल्प हुने उनको धारणा छ।
टीकाका लागि दुई छोरी हुर्काउनु, व्यवसाय चलाउनु र सामाजिक गतिविधिमा सक्रिय हुनु निकै कठिन थियो। सामाजिक गतिविधिमा सक्रिय हुनु सबैका लागि कठिन भए पनि महिलाका लागि बढी चुनौतीपूर्ण हुने उनको अनुभव छ।
'महिलालाई श्रीमानको, बच्चाको र चुलोचौकाको जिम्मेवारी आउँछ। महिला र पुरूषको हकअधिकार बराबार भने पनि परिवर्तन आउन सकेको छैन,' उनी भन्छिन्, 'श्रीमानले घरको काम गर्दा झन् अलमल हुन्छ भन्ने ठानेर हामी महिला नै अघि सर्छौं। बच्चा हुर्काएर, पैसा कमाएर सामाजिक काममा लाग्छु भन्ने हो भने त कहिल्यै हुँदैन।'
उचित समय विचार गरेर चुनौती सामना गर्ने आँटका साथ काममा अघि बढ्न टीकाको सुझाब छ।
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com