६ महिना अघि दक्षिण कोरिया पुगेका एक नेपाली युवा मृत फेला परेका छन्।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न त्यहाँ गएका तुलसी पुन मगर गत शुक्रबार राति मृत अवस्थामा फेला परेका हुन्।
दक्षिण कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्ममा कार्यरत मगरले मानसिक तनावका कारण आत्महत्या गरेको हुनसक्ने एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरूङले सेतोपाटीलाई बताए।
'बिरामी भएको अवस्थामा समेत बिदा नपाएको अनि उल्टै नेपाल पठाइदिने भनेर मानसिक तनाव भोग्न परेको भनेर हामीले सूचना पाएका छौं। त्यसका लागि कानुनी प्रमाण जुटाउन पर्छ।'उनले भने,'काम गर्ने ठाउमा दिइएको पीडाबारे हामीले थप बुझ्दै छौ। मृतकका परिवारलाई न्याय र क्षतिपुर्तीको लागि हामी कानुनी उपचार खोज्छौ।'
बिरामी परेका मगरलाई उपचारमा सहयोग गर्नुको सट्टा घर पठाइदिने अनि काम गरेको पत्र पनि नबनाइदिने लगायतका मानसिक यातना समेत दिइएको बताइएको छ।
त्यस्तै रोजगारदाता र नेपाली सुपरभाइजरबाट निरन्तर भइरहेको यातना सहन नसकेर मगरले आत्महत्या गरेको अनुमान छ।