ग्लोबल नेपाली
पर्वतकी सञ्जु पौडेल दक्षिण कोरियाको खांसो र किम्पो युनिभर्सिटीमा 'ग्लोबल बिजनेस म्यानेजमेन्ट' पढाउँछिन्।
सन् २०१६ मा 'इन्टनेसनल स्टडिज' मा स्नातकोत्तर तह पढ्न उनी दक्षिण कोरिया गएकी थिइन्। दुई वर्षका लागि गएकी सञ्जुले उतै आफ्नो करिअर अगाडि बढाउने सोचिन्। आफ्ना श्रीमान दीपक केसी र छोरालाई पनि उतै लगिन्।
त्यसपछि बिजनेस भिसा लिएर उनले सन् २०१९ मा त्यहीँ रेस्टुरेन्ट खोलिन्।
अहिले दक्षिण कोरियामा सञ्जुका तीन वटा रेस्टुरेन्ट छन्। 'लिडरसिप' विषयमा विद्यावारिधि (पिएचडी) गरेकी उनको धेरै समय अध्यापनमै बित्छ। रेस्टुरेन्ट उनका श्रीमान दीपकले सम्हालेका छन्।
'तीन वटै रेस्टुरेन्ट राम्रो चलेका छन्। दुइटामा नेपाली र एउटामा इन्डियन (भारतीय) र नेपाली खाना पाइन्छ। ग्राहक पनि धेरै नेपाली र भारतीय नै छन्,' सञ्जुले भनिन्, 'यहाँ कामदार भिसामा आएकाहरू साताको दुई दिन बिदामा नेपाली स्वाद लिन आउँछन्।'
सञ्जुले पढाउने विश्वविद्यालयमा नेपाली विद्यार्थीको संख्या बाक्लो हुँदै गएको छ। सँगै समस्या पनि बढ्न थालेको उनी बताउँछिन्।
'परिवारसँग बसेर, परिवारकै खर्चमा बसेकाहरू जुरूक्क उठेर आउँदा समस्या भएको छ। अनि भाषाले थप समस्या भएको छ,' उनले भनिन्, 'युनिभर्सिटीमा पढ्न त कोरियन भाषा चाहिँदैन, अंग्रेजीमा पढ्ने हो। तर बाहिर निस्किएपछि त चाहिन्छ।'
विश्वविद्यालय बाहिर घुलमिल हुन, सामान किन्न र काम पाउन सामान्य कोरियन भाषा नजान्नेलाई समस्या हुन्छ।
राम्रो कमाइ हुन्छ भनेर कोरिया जाने प्रवृत्ति बढिरहेको तर गइसकेपछिको वास्तविकता अर्कै हुने उनले बताइन्। स्नातक तहभन्दा स्नातकोत्तर तह पढ्नेहरूलाई समस्या कम हुने उनको अनुभव छ।
'किनभने, स्नातक पढ्नेको एक त कलिलो उमेर, परिस्थितिसँग जुध्ने क्षमता धेरै विकास भएको हुँदैन। अर्कातिर खर्च र ऋण सम्झेर उनीहरूलाई कमाउन पनि हतार हुन्छ, तर विद्यार्थीले काम पाउन सजिलो छैन,' उनले भनिन्।
दक्षिण कोरियामा विद्यार्थीले साताको २० घण्टा मात्र काम गर्न पाउँछन्। त्यसैले सुरूआती दुई सेमेस्टरसम्मको शुल्क र खर्च पहिल्यै व्यवस्था गरेर जान उनी सुझाउँछिन्।
यसबाहेक दक्षिण कोरिया जाने विद्यार्थीलाई उनी तीन मुख्य सुझाव दिन्छिन्।
— विश्वविद्यालय रोज्नेदेखि भिसाको प्रक्रियासम्म तीन/चार महिना लाग्छ। यो अवधिमा कोरियन भाषा सिकियो भने पछिलाई धेरै सहज हुन्छ। अवसरहरू पाउन सकिन्छ।
— कोरिया पुग्नासाथ पैसा कमाउन सक्ने अवस्था छैन। कसैले महिनामा चार/पाँच लाख रूपैयाँ हुन्छ भनेका आधारमा नजाने। कामदार भिसामा जानेले समेत सरदरमा मासिक २ लाख रूपैयाँ कमाउँछन्। कसैले भनेजस्तो काम पायो र साह्रै मेहनत गर्दा चार/पाँच लाख रूपैयाँ कमाउन पनि सक्छ। तर त्यो विरलै आउने अवसर हो।
— अहिले कोरिया जान भनेर मोटो रकम खर्च गर्ने प्रवृत्ति बढेको छ। कोरियाका लागि यसरी १५/२० लाख रूपैयाँ खर्च गर्नुको तुक छैन। छात्रवृत्ति नपाउँदा पनि एक सेमेस्टरको तीन/चार लाख रूपैयाँ भन्दा धेरै खर्च लाग्दैन। राम्रोसँग अनुसन्धान गर्नेलाई धेरै युनिभर्सिटीले छात्रवृत्ति पनि दिन्छन्।
सञ्जुका अनुसार कोरियामा आइटी (सूचना-प्रविधि) पढ्न जानेलाई धेरै अवसर छन्। ग्लोबल बिजनेस म्यानेजमेन्ट र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा पनि राम्रो छ, तर आइटीमा जस्तो पढेकै क्षेत्रमा काम पाउन सहज छैन। आइटीमा छात्रवृत्ति पनि धेरै पाइन्छ।
प्राध्यापन र व्यवसायसँगै सञ्जु सामाजिक काममा पनि सक्रिय छिन्। कोरियाका विभिन्न संघसंस्था मार्फत् 'ट्वाइलेट फर अल' र 'स्यानिटरी प्याड फर गर्ल्स' नामक कार्यक्रम नेपाल ल्याएकी छन्।
'सानो क्षेत्रका लागि भए पनि केही काम गर्ने प्रयास गरेकी हुँ,' उनले भनिन्।
कोरियामा अलपत्र परेकाहरूका लागि उनले 'सेल्टर' पनि चलाएकी छन् जसमा १५/२० जना भइरहन्छन्।
'उनीहरूले त्यहाँ बस्न खर्च तिर्नुपर्दैन। खाना कम मूल्यमा खुवाइन्छ। त्यो पनि तिर्न नसक्नेलाई निःशुल्क हुन्छ,' सञ्जुले भनिन्।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com