ग्लोबल नेपाली
चितवनका कृष्ण पौडेल जापानमा झण्डै १० वर्ष बसे। जति समय उनी त्यहाँ रहे, धेरै समय 'याप्पारी स्टेक' मा काम गरे। अहिले उनले जापानको कमाइ र सीप प्रयोग गरेर भरतपुरमा 'याप्पारी स्टेक' सुरू गरेका छन्।
२ वर्ष पहिले एउटा रेस्टुरेन्ट सञ्चालन गरेका कृष्णले चितवनमै अर्को पनि रेस्टुरेन्ट सुरू गरेका छन्।
'याप्पारी स्टेकमा काम गरेर सिकेको सीपलाई नेपालमा ल्याएर रेस्टुरेन्ट चलाउनुपर्छ भनेर मैले उतै सोचेको हो। जापानमा देखेका सीपहरूलाई आफ्नै ठाउँबाट सुरूआत गर्नुपर्छ भनेर मैले चितवनबाट सुरूआत गरेको हो,' उनले भने, 'पहिलो रेस्टुरेन्टबाट आएको प्रतिक्रियाका आधारमा दोस्रो सुरू गर्ने आँट आएको हो। अब यसलाई चितवनसँगै विभिन्न सहरमा विस्तार गर्ने लक्ष्य छ।'
जापानको माउण्ट फुजीबाट निस्किएको लाभा (ढुङ्गा) मा कुखुरा, खसी, बोका, बंगुर, माछाका विभिन्न परिकार तयार हुन्छन्। ढुंगामै सेक्ने भएकाले त्यसको लागि तेल चाहिँदैन। मासुबाटै निस्किएको तेलले काम गर्छ भने थोरै मसला राखे पनि पुग्छ।
'माउन्ट फुजीबाट निस्किएको लाभालाई कम्तीमा साढे २ सय डिग्री सेल्सियसमा तताउँछौं। आधा घण्टासम्म त्यो खाना तातो रहिरहने त्यसको विशेषता हो,' उनले भने, 'ढुंगामा तात्तातो मासु सेक्दै खान पाइने र त्यसको स्वाद सुरूआतको जस्तै हुन्छ। जाडोमा त यसको मजा लिन अझै पाइन्छ।'
उनका अनुसार जापानको माउन्ट फुजीबाट निस्किएको लाभा जति तातोमा पनि नफुट्ने र नसेलाउने हुन्छ। नेपालमा भएका देखिएका ढुंगा धेरै तापक्रममा फुट्ने/पड्किने हुन्छ। त्यस्तै चाँडै तात्ने र चाँडै सेलाउने समेत हुन्छ।
जापानमा याप्पारी स्टेकको १ सय ३० वटा ब्रान्ड छन्। यो जापानबाहिर स्थापना भएको याप्पारी स्टेकको पहिलो फ्रेन्चाइज रहेको उनको दाबी छ।
नेपालसँगै, अस्ट्रेलिया र फिलिपिन्समा समेत याप्पारी स्टेकको फ्रेन्चाइज छन्।
उनले सुरूआतमा २ सय ५० ओटा ढुंगा ल्याएका थिए। पहिलो रेस्टुरेन्टमा १ सय वटा मात्र प्रयोग भएको थियो। दोस्रोमा अर्को १ सय ५० वटा प्रयोग भएको थियो।
रेस्टुरेन्ट बाहेक उनले जापानी र नेपाली साझेदारसँग मिलेर केयर होम सुरू गर्ने तयारी गरेका छन्। त्यसका लागि जापानमै रहेको केयर होमले प्राविधिक सहयोग गर्ने सहमति भइसकेको उनले बताए।
'अरूका बुबाआमा मात्र होइन, मेरा आमाबाबु अनि मलाई पनि हेरेको छु। मलाई हेर्ने समय नहुन सक्छ। मैले आफ्नै लागि तयारी गरेको छु,' उनले भने, 'चितवनको भरतपुरमा १२ कट्ठा जग्गा लिएका छौं। चितवनका स्थापित डाक्टर डा. भोजराज अधिकारी सहितको टोली हाम्रो टिममा छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com