ग्लोबल नेपाली
सन् २०१२ अन्त्यतिरको कुरा हो। तीन साथीहरू डाक्टर भूपालमान श्रेष्ठ, भूषण घिमिरे र तिलक मल्ल जापानको राजधानी टोकियोको एक क्याफेमा बसेर कफी खाँदै थिए।
कफीको चुस्कीसँगै उनीहरू नयाँ व्यवसायबारे छलफल गर्दै थिए, योजना बनाउँदै थिए। लगानी केमा गर्ने भनेर सोच्दा सोच्दै अनेक क्षेत्रबारे चर्चा भयो।
त्यही क्रममा उनीहरूको दिमागमा आयो — टोकियोमा नेपाली स्कुल खोल्ने।
नेपालको पाठ्यक्रम अनुसार, नेपाली विषयवस्तु पढाउने स्कुल खोल्ने कुरामा तीनै जनाको सहमति भयो।
यसपछि उनीहरूले त्यहीँका नेपाली व्यवसायी र समाजसेवीहरूलाई यो योजना सुनाए। भिडिओ बनाएर पनि देखाए।
सबैले स्कुल सञ्चालनमा चासो देखाए। त्यसपछि उनीहरू झन् हौसिए।
'जापानमा सन् २०१० पछि धेरै नेपालीहरू देखिन थालेका थिए। जापानी शिक्षा कठिन र बेलायती/अमेरिकन स्कुल निकै महँगा थिए। नेपालीका छोराछोरीका लागि उपयुक्त स्कुल र शिक्षा नभएको जस्तो देखिइरहेको थियो,' भूपालले भने, 'त्यसैले नेपाली स्कुल चल्नेमा हामी तीनै जना ढुक्क थियौं।'
उनीहरू स्कुल खोल्ने तयारीमा जुटे। नेपाल सरकारले मन्त्रिपरिषद बैठकबाटै टोकियोमा नेपाली पाठ्यक्रम पढाउन स्कुल खोल्न अनुमति दिने निर्णय गर्यो। उनीहरू खुसी भए।
त्यसपछि नाम जुराए — एभरेस्ट इन्टरनेसनल स्कुल जापान।
टोकियोको आशागयामा सन् २०१३ अप्रिलमा स्कुल खुल्यो, नर्सरीदेखि ३ कक्षासम्म पढाइ हुन्थ्यो। तर विद्यार्थी भए जम्मा १३ जना।
उनीहरूले हरेश खाएनन्। बिस्तारै कक्षा थप्दै गए, विद्यार्थी पनि बढ्दै गए। पाँच वर्षमा स्कुलको आफ्नै सुविधा सम्पन्न भवन बन्यो।
यसरी एक दशकअघि १३ जनाबाट सुरू भएको एभरेष्ट स्कुलका आज टोकियोमा तीन वटा शाखा छन्। किन्डरगार्टेनदेखि कक्षा १२ सम्मको पढाइ हुन्छ। सबैमा गरी ४ सय ६० जना विद्यार्थी पढ्छन्।
'सबै पढाइ नेपाली पाठ्यक्रम अनुसार हुन्छ। हप्ताको ३ दिन जापानी कक्षा पनि पढाइ हुन्छ,' भूपालले भने।
नेपालबाट बीचैमा पढाइ छाडेर जापान पुगेका र जापानबाट बीचैमा नेपाल फर्किने दुवै खालका विद्यार्थीलाई एभरेस्ट स्कुलका कारण सहज भएको उनी बताउँछन्।
'जापानीहरू अंग्रेजी विषयलाई प्राथमिकता दिँदैनन्। उनीहरूको स्कुलमा पढ्दा नेपालीहरूलाई भाषाको समस्या देखिएको छ,' उनले थपे, 'जापानी स्कुलमा पढेकाहरू पछि नेपाली नै नबोल्ने पनि भेटिएका छन्। त्यसैले हामीले नेपालीमै पढाउने स्कुल खोलेका हौं।'
एभरेस्ट स्कुलमा पढाउन त्यहाँ भएका नेपाली शिक्षकलाई नै प्राथमिकता दिइन्छ। त्यहाँ नभेटिए नेपालकै स्कुलहरूमा पढाइरहेका शिक्षकहरूलाई रोजगारी दिएर बोलाइने उनले जानकारी दिए।
'हामीले सबै सेवासुविधा दिएर नेपालबाट धेरै शिक्षक मगाएका छौं,' उनले भने, 'गुणस्तरीय शिक्षामा कुनै सम्झौता गरेका छैनौं।'
स्थापना भएको ११ वर्ष एभरेस्ट स्कुल टोकियोमा एउटा ब्रान्ड बनिसकेको छ। हरेक शैक्षिक सत्रमा नाम निकाल्न विद्यार्थीहरूलाई पनि मुस्किल छ।
पछिल्लो समय जापानका धेरै सहरमा नेपालीहरूको बाक्लो उपस्थिति छ। त्यही अनुसार एभरेस्टले छिट्टै अरू सहरमा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ।