नेपालमा घुमफिरका लागि लोकप्रिय गन्तव्य हो कास्कीको ताङतिङ गाउँ।
पोखरा सहरबाट २७ किलोमिटरको दूरीमा रहेको ताङतिङ गाउँ अन्तरिक तथा बाह्य पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो।
तमु गुरूङ समुदायको बाहुल्यता रहेको यस गाउँ आफैंमा प्राकृतिक सुन्दरतासँगै एउटा ऐतिहासिक सम्पदा समेत हो। यहाँ गुरूङ समुदायको संस्कार संस्कृति सँगै पौराणिक इतिहासको समेत अध्ययन अवलोकन गर्न पाइन्छ।
कूल १२० घरधुरी रहेको ताङतिङमा एकै किसिमको सामाजिक परम्परा, रितिरिवाज, रहनसहन अनि प्राकृतिक सुन्दरता हेर्न, देख्न पाइन्छ।
अन्नपूर्ण हिमाल, लमजुङ हिमाल अनि सिक्लेस गाउँ आँखैअघि खुल्दा स्वर्गमै पुगेजस्तो अनुभव हुन्छ।
गुरूङ समुदायले आफ्नो भाषामा 'तोनी नास' अर्थात् रमाइलो गाउँ भनेर सम्बोधन गर्ने यो गाउँ पुग्ने जो कोहीले वास्तवमै रमाइलोसँगै आनन्दको अनुभव गर्न पाउँछन्।
पाहुनाहरूको न्यानो स्वागत गर्ने तोनी नासमा १४ घरमा होमस्टे छन् भने ७ वटा सुविधा सम्पन्न होटल/लज छन्। जहाँ न्यानो सत्कारसँगै स्थानीयको परिकारको स्वाद चाख्न पाइन्छ।
गुरूङहरूको सभ्यता विकास गरेको क्होला सोंथर पुग्ने यो गाउँ लमजुङ र मनाङको समेत सिमाना जोडिएको ठाउँ हो। यहाँको क्रपु डाँडा पर्यटनमा उत्तिकै प्रख्यात ठाउँ हो।
पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको यो ताङतिङ गाउँ कस्तो छ त ? हेरौं तस्वीरहरू :