पर्वतको कुस्मा र बाग्लुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोचमा हाइलाइनको अभ्यास गरिएको छ।
हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटाका हिलेका शंकर कोइरालाले आफ्नो 'ड्रिम प्रोजेक्ट' का रूपमा यो कार्यक्रम गरेका हुन्। कोइराला १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएका छन्।
बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘द क्लिफ’ मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो।
साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले शंकर कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु सराहनीय रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।
हाइलाइनको क्रु सदस्यहरूमा कोइराला सहित ३ जना नेपाली, १ जना न्यूजिल्यान्डेली र २ जना जर्मनी नागरिक गरी ६ जना सहभागी छन्। कोइरालासँगै सुलभ चालिसे, सहन महर्जन, डायलन, कासिया, मटासे र मिथियासलाई नेपाल स्ल्याकलाइन कम्युनिटीले पनि साथ दिएको छ।
असोज २९ देखि सुरू भएको हाइलाइन कार्यक्रम कात्तिक १ गतेसम्म चलेको थियो।
नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेन्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो। दुई वर्षदेखिको निरन्तर सम्पर्क र सहकार्यले यो सम्भव भएको कोइरालाले बताए।
द क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो। यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ।
४०८ मिटर लम्बाइको हाइलाइन गर्ने डोरीले कुस्मातर्फ हार्नेस जिपलाइन र बलेवातर्फ द क्लिफलाई जोडेको छ। यो हाइलाइन परियोजना दक्षिण–पूर्व एसियामा दोस्रो लामो भएको भनिएको छ र नेपालमा अहिलेसम्म सबैभन्दा लामो र अग्लो हाइलाइन मानिएको छ।
नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यहरूले पाएका अनुभव र युरोपेली प्रशिक्षकहरूको सहयोगमा यो परियोजना अघि बढाइएको हो। खेल हेर्दा डर लाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको छ।
हाल मुख्य उद्देश्य अधिकतम मानिसलाई हाइलाइन र स्ल्याकलाइनबारे जानकारी गराइ साहसिक पर्यटन प्रवर्द्धन गर्नु र यस क्षेत्रमा संलग्न खेलाडीहरूलाई साथ तथा समर्थन प्रदान गर्नु रहेको कोइरालाले बताए।
के हो स्ल्याकलाइन र हाइलाइन?
स्ल्याकलाइन सामान्यतया जमिनबाट ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तानिएको पट्टीमा शरीर हल्का मोडेर, हात फैलाएर सन्तुलन मिलाउँदै हिँड्ने खेल हो। यो संसारभर पार्क, समुद्रकिनारा र बगैंचामा अभ्यास गरिन्छ। ध्यान, शरीर नियन्त्रण र लचकता बढाउने लोकप्रिय गतिविधि हो।
हाइलाइन भने २० मिटरदेखि सयैं मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो। सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ। यो पर्वत, पुल र खोँचमा अभ्यास गरिन्छ र मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेल हो।