भक्तपुरको मध्यपुरथिमिस्थित शङ्खधर चोकको दक्षिणपट्टि राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिक छ । त्यहीँ सालिकको पश्चिमपट्टि फोहर फाल्ने भिरालो पाखोलाई मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको हरियो पाँखो, साँझ ढल्किँदै जाँदा बत्तीको उज्यालोले चमक्क चम्के झैँ देखिने सालिकदेखि हरिया पाखा देखिन्छन् । त्यहीँ पाखोमा नगरपालिकाले निर्माण गरेको झरना, नजिकै परम्परागत र आकर्षक ढुंगेधारा । त्यसको उत्तरपट्टि आकर्षक ‘एमपी थियटर’ ।
त्यहीँ थियटरमा उभिएर मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको मध्यपुरथिमिको सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरेका छौं, जमिनमुनि पुरिएका कैयौँ सम्पदाले नयाँ जीवन पाएका छन्, लोप भएका जात्रा पर्वले पुर्नजीवन पाएका छन्, अब दिवाकालीन मात्रै होइन, हामी रात्रिकालीन पर्यटनकोसमेत विकास गर्न चाहन्छौँ, त्यसैले मध्यपुरथिमि नगरपालिकाले यसको सुरु गरेको छ- गन्तव्य मध्यपुर अभियानको रात्रिकालीन सम्पदा पदयात्रा।’
दिवाकालीनसँगै रात्रिकालीन पर्यटनको विकास गर्ने उद्देश्यले नगरपालिकाले गन्तव्य मध्यपुर अभियानअन्तर्गत ‘रात्रिकालीन सम्पदा पदयात्रा’ सञ्चालन गरेको छ। उनले भने, ‘यसको मुख्य उद्देश्य मध्यपुरथिमि दिउँसो मात्रै घुम्ने होइन कि सन्ध्याकालीन यात्राका रुपमा पनि घुम्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु हो, यहाँका मूर्तमात्र नभई अमूर्त कलाको आनन्द पनि बेलुका हेर्दा रमाइलो हुन्छ’, उनले भने। उनले यहाँको कलालाई जीवन दर्शनसँग जोडेर पनि हेर्न सकिने बताए। ‘दिउँसो पाउन नसकिने आनन्द यहाँ साँझ घुम्दा निकै पाइन्छ, दिउँसो र साँझ घुम्नुको फरक अनुभूति गर्न सकिन्छ भन्ने सन्देश हामी प्रवाह गर्न चाहन्छौं’, उनले भने।
साँझपछि बत्तीले झिलिमिली भएका यहाँका सम्पदा आफैं आकर्षक रूपमा चम्किला देखिन्छन्। रात पर्दै जादा पनि चोकचोकमा स्थानीय कोही भजन गाईरहेका, कोही नाचिरहेका, कोही पेटीँ र पाटीमा बसेर गफिरहेका। लाग्थ्यो रात छिपिँदै जाँदा पनि मध्यपुरथिमि जागेकै छ, यहाँका सम्पदा, यहाँका परम्परा अनि यहाँका स्थानीय बासिन्दा जागिरहेकै छन्। बालबालिका चोकमा रमाइलो मानेर खेलिरहेकालगायतका दृश्यले यहाँको अवस्थालाई मनमोहक बनाउँछ।
नगरपालिकाका प्रमुख श्रेष्ठले भने,‘मध्यपुर शान्त, सुरक्षित छ, साँझ परेपछि राति ९ बजेसम्म घुम्दा पनि सुरक्षित छ भन्ने हामी सन्देश दिन चाहन्छौं।’
शङ्खधर साख्वाः क्षेत्रको उकालो चढेसँगै बालकुमारी मन्दिरमा देखिएको सुन्दरता जोकोहीको आँखामा टल्किरहन्छ। सँगैको पोखरीको प्रत्येक खोपीमा बलेका बत्तीले थप सुन्दरता थपेको देखिन्थ्यो। विष्णुवीरको मन्दिर परिसरमा महिला पुरूषले गाएका भजनले यहाँको परम्परालाई थप उजागर गरेको थियो।
त्यहाँबाट नगर प्रमुखसहितको टोली साँझ ६:३० बजे बोडेको कुमारी पार्क पुग्दा त्यहाँ कोही परिवारसहित त कोही जोडी बसेर गफिरहेका देखिन्थ्यो। कुमारी पार्कको मात्रै होइन, त्यहाँबाट देखिने काठमाडौंसहित विमानस्थलको आकर्षक दृश्य कम मनमोहक थिएन।
नगर प्रमुख श्रेष्ठले फोहर फाल्ने डम्पिङ साइट कसरी पार्कमा परिणत भयो भन्नेबारेमा सञ्चारकर्मीको जिज्ञासा मेटाए। त्यसपछि सुरु भएको यात्रा नगरपालिकाले पुनःनिर्माण गरेको कमलपोखरी, कालिका मन्दिर, जिब्रो छेड्ने पाँचो गणेश, लायकु, महालक्ष्मी, भाँगु, लाछी, नछुटोल, विष्णु तकीँ, नगदेश बुद्ध विहार, सिद्धि गणेश, द्योः छेँ गार्चा चोक, बाहाखा बजार, चपाचो गणेश र कुमाननी क्षेत्रमा पुग्यो।
साथै प्रचण्ड भैरव, हात्तीमहाँकाल, भुँलाखेल, ताहाननी, चोडे महालक्ष्मीस्थान, दिगुटोल, सिवाटोल, निगुः पुखु, इनायटोल, लोकेश्वर मन्दिर, विष्णुवीर र बामुनेटोल हुँदै पुनःबालकुमारी मन्दिर परिसरमा आएर रात्रिकालीन पदयात्रा सम्पन्न गरिएको थियो।
मध्यपुरथिमिलाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन यहाँका विभिन्न मूर्त तथा अमूर्त सम्पदाको जगेर्ना गर्न नगरपालिकाले विगत वर्षमा विशेष ध्यान दिएको थियो।
यहाँका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, डबलीमा हुने सांस्कृतिक नाच, झाँकी, दाफा भजनले पनि पुर्नजीवन पाएको छ । सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनर्निर्माण भएका ऐतिहासिक सम्पदा, पोखरी, पाटी, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक देखिएको थियो ।
यहाँका मठ, मन्दिर, पोखरी, पाटी, पौवा, ऐतिहासिक जात्रा, पर्व, कलासंस्कृति र आकर्षक पार्कले भरिएका छन्।
मध्यपुरथिमिमा ऐतिहासिक प्राचीन बस्ती छ । यहाँका दैनिकी अझै पनि परम्परागत र जीवन्त छ भने यहाँका ओझेलमा परेका मूर्त, अमूर्त कला अवलोकन गर्न सकिन्छ ।
मध्यपुरथिमिका प्रमुख श्रेष्ठले भने, ‘अब आन्तरिक तथा बाह्य पर्यटकले दिउँसो र साँझपख कम्तीमा पनि तीन घण्टा मध्यपुर घुमेर आनन्द लिन सक्छन्, भन्ने सन्देश पदयात्राबाट प्रवाह गरेको छ’, नगरपालिकाले सम्पदाको संरक्षणमा दिएको योगदाको कदर गर्दै नेपालमै पहिलो पटक ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत हुँदै संसारमा मध्यपुरलाई चिनाउन सफल भएको थियो। रासस
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/adalat/RG_Bhaktapur_8162.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/adalat/RG_Bhaktapur-_8232.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/adalat/RG_Bhaktapur_8351.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/adalat/RG_Bhaktapur-_8407.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/adalat/RG_Bhaktapur-_8191.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/adalat/RG_Bhaktapur_8242.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/adalat/RG_Bhaktapur_8422.jpg)
![](https://www.setopati.com/uploads/editor/Photos/2021/Poltical/adalat/RG_Bhaktapur-8472.jpg)