पाल्पा पर्यटकका लागि घुम्न र गर्मी छल्न तराईबाट मान्छे आउने पहाडी जिल्ला हो। नेपालको ताजमहलका रुपमा परिचित यहाँको रानीघाट रानीमहल, भैरवस्थान मन्दिर, रामपुर तालपोखरा, निस्दीको काउलेडाँडा, लेकडाँडा, रामपुर तालपोखरा, तानसेन श्रीनगरलगायत स्थल पर्यटकका आकर्षणका केन्द्र हुन्। यी स्थलमा पर्यटकलाई आकर्षित गर्न विभिन्न योजना बनाइएका छन्।
पछिल्लो समय कोभिड महामारीका कारण पर्यटकीयस्थल सुनसान छन्। पर्यटक जिल्ला नआएकै बखत स्वास्थ्य मापदण्ड अपनाएर कतिपय स्थान मर्मत तथा निर्माण भइरहेका छन्। रुपन्देहीको बुटवल भित्रिने सिद्धार्थ राजमार्गसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले पर्यटक भित्र्याउने योजनाका साथ धार्मिक तथा ऐतिहासिकस्थलको पहिचान गरी विकासमा अग्रसरता देखाएको छ।
नेपालमै छुट्टै पहिचान बोकेको धार्मिक तथा पर्यटकीयस्थल यहाँको सत्यवती मन्दिर परिसरमा यस वर्ष मर्मतसम्भारको काम भएको छ। सार्वजनिक रुपमै चिच्याएर वर माग्ने तिनाउ गाउँपालिका–४ कोलडाँडामा रहेको मन्दिर क्षेत्रमा थप पूर्वाधार विकासका काम गरिएको छ। गत वर्ष सरकारको रु एक करोड बजेटबाट काम भइरहेको सत्यवती मन्दिरलाई आगामी आवमा पनि सरकारले बजेटमा समावेश गरेको छ। सत्यवती दर्शन प्रालिले कोभिड न्यूनीकरण हुँदै गएपछि पालिकाको चौबिस माइलदेखि एक हजार ३५० मिटर लम्बाइको केबलकार निर्माण गरिने जनाएको छ।
समुन्द्री सतहदेखि करीब एक हजार ४०० मिटर उचाइमा रहेको सत्यवती क्षेत्रमा कोभिड–१९ को महामारीबीच आव २०७७/७८ को योजनाअनुरुप नै मन्दिर परिसरमा रहेको ताल वरपर बाटो निर्माण, चौर व्यवस्थापन, तालसम्म पानी पुर्याउने कुलो निर्माण, टायल बिछ्याउने, पर्खाल लगाउने, तालमा जम्मा भएको माटो फालेर सरसफाइ, रेलिङ राख्ने, सत्यवती बज्यैको मूर्ति राख्ने, शौचालय तथा मन्दिर परिसरसम्म पुग्ने बाटोमर्मत तथा सवारी पार्किङ्को काम भएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए।
सिद्धार्थ राजमार्गको झुम्साखोलादेखि करीब १० किलोमिटर पैदल हिँडेपछि पुगिने सत्यवतीमा केन्द्रीय योजनाअन्तर्गतको रु एक करोडको लागतमा मन्दिर परिसरमा संरचना निर्माण तथा करीब रु चार करोडको लागतमा झुम्साखोलामा पक्की पुल निर्माणको काम भएको हो। कोलडाँडा जङ्गलको बीच भागमा रहेको मन्दिर चिच्याएर वर माग्ने नेपालकै एकमात्र मन्दिर भएको बताइन्छ। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहे पनि अप्ठ्यारो भूबनोटका कारण चाहेजति पर्यटक भित्र्याउन समस्या भएको पालिकाले जनाएको छ। कार्तिक शुक्ल पूर्णिमा सोही महिनामै परे मात्रै उक्त मन्दिरमा पूजाआजा गर्ने परम्परा छ।
प्रत्येक वर्ष कात्तिक शुक्ल त्रियोदशीदेखि पूर्णिमासम्म तालमा धार्मिक मेला लाग्ने गर्दछ। दर्शन गर्न पुग्नेहरु बेलुुका तालमा पुग्ने र बिहान झिसमिसे उज्यालो नहुँदै चिच्याएर वर माग्ने तथा मन्दिर परिसर छोड्ने चलन रहेको सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिले जनाएको छ। सत्यवती बज्यै बहिरी रहेको र चिच्याएर वर मागेमा पुग्ने धार्मिक विश्वासले पाल्पासँगै गुल्मी, कपिलवस्तु, नवलपरासी, रुपन्देही, भैरहवा, चितवन, कास्कीलगायत देशका विभिन्न ठाउँ तथा भारतको लखनऊ, गोरखपुर, नौतनहवाबाट समेत पर्यटक आउने गर्दछन्।
नेपालमै फरक इतिहास बोकेको सत्यवतीमा पुग्नका लागि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डदेखि मन्दिर परिसरसम्म सडक निर्माण गरेर कोभिड सङ्क्रमण नियन्त्रणपछि लाखौँ पर्यटक भित्र्याउने पालिकाको योजना छ। गाउँपालिकाले पालिकालाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न हिमाली क्षेत्रको हिमशृङ्खला तथा तराईको समथरसम्म देखिने दृश्यावलोकन स्तम्भ लगायतका पर्यटन पूर्वाधारका काम गरेको छ।
पालिकाले गाउँपालिकाको जन्तीलुङ्मा रु ५० लाखको लागतमा दृश्यावलोकन स्तम्भ १० घरमा घरबास, पोखरी, सामुदायिक भवन, तालीमहल निर्माण तथा मरामकोटमा रु दश लाखको लागतमा दृश्यावलोकन स्तम्भलगायत निर्माण गर्न करीब रु ४० लाखको लागतमा चर्चरेदेखि मरामकोटसम्म पुग्ने मोटरबाटो निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए। वडा नं २ दोभानमा शहीद उद्यान निर्माण गरिएको छ।
नुवाकोटमा उजिरसिंह थापा, मणिमुकुन्दसेन स्मृति उद्यान, सांस्कृतिक डबली निर्माणको काम सकिएको, रामापिथेकसको पार्क निर्माण गरिएको र बङ्गारा भेटिएको ठाउँसम्म बाटो व्यवस्थापनको काम भइरेहको छ। पालिकामा सिद्धबाबा मन्दिर, सत्यवती मन्दिर, सत्यवती ताल, सकेताल, वसन्तपुर, गड्डा हात्तीकोट, नुवाकोट, जन्तीलुङ, मरामकोट लगायतका क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको छ। रासस