सहिदका परिवार
६१ वर्षीय विष्णुबहादुर तामाङ आजकाल पत्रपत्रिका हेरिरहन्छन्। मोबाइलमा खबर सुनिरहन्छन्।
उनले पत्रपत्रिका हेर्ने र मोबाइलमा खबर सुन्ने समाचारका लागि होइन।
एक त उनलाई पढ्नै आउँदैन, अर्को समाचारमा खासै रूचि पनि छैन। तैपनि लगातार पत्रपत्रिका हेर्नु र रेडियो सुन्नुका पछाडि खास कारण छ।
उनी भदौ २३ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका आफ्ना छोरा बुद्धिबहादुर तामाङको तस्बिर पत्रपत्रिकामा खोजिरहेका हुन्छन्। कतै छोराको तस्बिर देखिइहाल्छ कि भनेर हरेक दिन अखबारका पाना पल्टाइरहन्छन्।
रेडियाले पनि कुनै बेला छोराको नाम लिइहाल्छ कि, उनका बारेमा दुई-चार शब्द बोलिहाल्छ कि भनेर निरन्तर खबर सुनिरहन्छन्।
दु:खको कुरा, एक महिनादेखि उनले छोराको तस्बिर देखेका छैनन्, नाम पनि सुनेका छैनन्।
'पत्रपत्रिका हेर्ने बानी थिएन, छोराको फोटो आएपछि साथीहरूले देखाइदिए, त्यसपछि हेर्न थालियो,' कृष्णबहादुरले भने, 'घटना भएको एक महिनासम्म कुनै न कुनै पत्रिकामा फोटो आइरहन्थ्यो। अहिले छैन।'
दुई महिनामै सबैले आफ्ना छोरालाई बिर्सँदै गएको दु:ख मान्दै उनले भने, 'उसलाई बिर्सेर त केही छैन, तर उसको त्याग कसैले नबिर्सोस्!'
कीर्तिपुर नगरपालिका-२ बस्ने ४१ वर्षीय बुद्धिबहादुरको मृत्यु नयाँबानेश्वरको गोलीकाण्डमा भएको थियो। राज्यले उनलाई सहिद घोषणा गरेको छ।
बुद्धि घरका जेठा छोरा हुन्। उनका एक भाइ छन्। उनी कुनै पनि राजनीतिक पाटीमा आबद्ध थिएनन्। जेठो छोरा भएकाले जिम्मेवारी सम्हालेर बसेको बुबा विष्णुबहादुर सम्झन्छन्।
उनका अनुसार १२ कक्षासम्म पढेका बुद्धिले बौद्धमा क्याफे चलाइरहेका थिए। त्यो क्याफे कहाँ छ र क-कसले चलाएको भन्नेबारे उनलाई राम्ररी थाहा छैन।
'दुई जना छोरा, श्रीमती, आमाबुबा र भाइको समेत जिम्मेवारी उठाइरहेको थियो। आन्दोलनमा गोली लागेर ढल्यो भन्ने सुनेदेखि मुटु नै हल्लिएको छ,' उनले भने, 'बुढेसकालको सहारा थियो ऊ हाम्रो। छोराको हात समातेर हिँड्नुपर्ने बेला साथ छुट्यो। एकाएक आकाश खसेजस्तै भएको छ हामीलाई।'
बुद्धिबहादुरका १४ र १७ वर्षका दुई जना छोरा छन्। एक जना कक्षा ८ मा पढ्छन् भने अर्को १२ कक्षा पढ्दै छन्।
राज्यले सहिद घोषणा गरेर छोराको त्यागको सम्मान गरे पनि परिवारलाई परेको दु:खमा सहयोगी हात बढाउन बाँकी रहेको उनी बताउँछन्।
'हामीले भदौ २३ र २४ का मृतकलाई सहिद घोषण गर, क्षतिपूर्ति देऊ, शिक्षा, रोजगार र स्वास्थ्य नि:शुल्क होस् भन्ने माग गरेका थियौं। अहिलेसम्म सबै माग पूरा भएको छैन,' उनले भने, 'जुन गतिमा सबैले उनीहरूलाई बिर्सिरहेका छन्, त्यसले हाम्रो माग अधुरै रहला कि भन्ने डर छ।'
भदौ ३० गते बसेको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलन क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख गरी १५ लाख रूपैयाँ दिने निर्णय गरेको थियो। त्यसै अनुसार १५ लाख रूपैयाँ क्षतिपूर्ति पाएको विष्णुबहादुरले जानकारी दिए।
यसबाहेक कीर्तिपुरको मैत्रीनगरस्थित कश्यम एकेडेमीले कान्छो छोरालाई ११ कक्षासम्म नि:शुल्क पढ्ने व्यवस्था गरिदिएको छ। ठूलो नातिलाई पनि कलेजले नि:शुल्क पढाउने बाचा गरेको उनले बताए।
'बुढेसकालमा दुई जना नातिको जिम्मेवारी आइलागेको छ,' विष्णुबहादुरले भने, 'उनीहरूले हेर्लान् भन्ने बेला आफैले उनीहरूलाई हेर्नुपरेको छ।'
उनले अगाडि भने, 'गरिखाने उपाय केही छैन। कुनै दिन बिरामी भइहाले नि:शुल्क उपचारको प्रबन्ध भए हुन्थ्यो। नातिहरूलाई पढ्न मन लागुञ्जेल पढाइदिए हुन्थ्यो। ठूलो हुँदै जाँदा रोजगारी दिए हुन्थ्यो। मेरो भन्नु यत्ति हो।'
'मेरा नातिहरूको शिरबाट बुबाको माया र साथ छुटे पनि सरकारले अभिभावकको जिम्मेवारी पूरा गरिदियोस् भन्ने चाहना छ,' उनले भने।
सहिद घोषणा र क्षतिपूर्ति दिइसकेको राज्यले सहिद परिवारका यी माग पनि पूरा गर्नेमा उनी आशावादी छन्।
त्योभन्दा ठूलो कुरा त, देशको राजनीतिक प्रणाली र शासन व्यवस्थामा जुन सुधार ल्याउन आफ्ना छोराहरूले ज्यान गुमाए, त्यो उद्देश्यतर्फ सरकार र सबै राजनीतिक दल अघि बढोस् भन्ने उनको कामना छ।
'देश राम्रो हुनुपर्छ भन्थ्यो, त्यही उद्देश्यले जिन्दगीमा पहिलो पटक आन्दोलनमा गयो,' उनले भने, 'उसको उद्देश्य पूरा होला र यो आन्दोलनले साँच्चिकै देशको अवस्था फेर्ला भन्ने आस लिएर बसेको छु।'
सँगसँगै डर पनि छ, उनका छोरा र ज्यान गुमाएका अन्य युवाहरूलाई देश र समाजले बिर्सँदै गएजस्तै उनीहरूको उद्देश्य पनि बिर्सँदै जाने त होइन!
***