गण्डकी प्रदेशका पर्यटकीय स्थलमा एक वर्षमा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन्।
आर्थिक वर्ष २०७५/०७६ मा गण्डकी प्रदेशका पर्यटकीय स्थलमा २ लाख ९८ हजार ९ सय ७५ जना विदेशी पर्यटक भ्रमण गरेका छन्।
गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत साउनदेखि संकलन सुरू गरेको थियो। त्यस अवधिमा सबभन्दा धेरै छिमेकी देश भारतबाट १ लाख २० हजार ९ सय ३८ जना पर्यटक आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शिव परियारले जानकारी दिए। उनले अन्य देशबाट १ लाख ७८ हजार ३७ जना पर्यटक आएको बताए।
गण्डकी प्रदेश प्रवेश गर्ने नाका तनहुँको आबुखैरेनी चेकपोष्ट, स्याङ्जाको गल्याङ चेकपोष्टमा प्रहरीको सहयोग र पोखरा विमानस्थलबाट तथ्यांङक संकलन गरेको उनले बताए।
पोखरामा सबभन्दा धेरै पर्यटक कात्तिक महिनामा ३८ हजार ५ सय ७५ जना आए। यस महिनामा १२ हजार ४ सय ९५ भारतीय पर्यटक र अन्य मुलुकका पर्यटक २६ हजार ८० जना आए।
त्यसपछि मंसिर महिनामा ३७ हजार १ सय ९ जना पर्यटक आए। मंसिर महिनामा १७ हजार ५ सय २५ जना भारतीय पर्यटक र अन्य मुलुकका पर्यटक १९ हजार ५ सय ८४ जना आएका थिए।
यसैगरी असोज महिनामा ३१ हजार १ सय ४४ जना पर्यटक आएकोमा १३ हजार ६ सय ६ जना भारतीय र १७ हजार ५ सय ३८ जना अन्य मुलुकका पर्यटक आएका परियारले बताए।
पोखरामा सबभन्दा कम १२ हजार ६ सय २ जना पर्यटक असार महिनामा आएका उनले जानकारी दिए। यस महिनामा भारतीय पर्यटक ६ हजार ३ सय १४ र अन्य मुलुकका पर्यटकको संख्या ६ हजार २ सय ८८ रहेको छ।
गण्डकी प्रदेशको नवलपुर र वरपरका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको भने तथ्याङ नराखेको उनले बताए।
गण्डकी प्रदेशमा मुख्य गरी राउण्ड अन्नपूर्ण, पोखरा, मुक्तिनाथ, तिलिचो ताल, तातोपानी कुण्ड, हिमाल, अन्नपूर्ण बेसक्याम्पलगायतका ठाउँमा भ्रमणका लागि पर्यटकहरू आउने गर्दछन् ।