दोलखाको शैलुङ्ग र मेलुङ दुई गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाद्वारा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वैशाख १३ देखि १५ गतेसम्म शैलुङ डाँडामा प्रथम शैलुङ महोत्सव मनाइयो ।
महोत्सवमा शेर्पा, तामाङ, मगरलगायतका जनजातिमा प्रचलित गायन र नृत्यको भव्य प्रस्तुति थियो । कुन्ती मोक्तान, सुरवीर पण्डित, पल्पसा डङ्गोल, जीवन शर्मा लगायतका राष्ट्रिय स्तरका कलाकारहरूको समेत सहभागिताले महोत्सवको रौनक बढेको थियो ।
महोत्सवमा चौरी गाईको दूधबाट तयार पारिएका दुग्धजन्य उत्पादनलाई धेरैले रुचाए । महोत्सवको उद्घाटन संघीय सांसद पार्वत गुरुङ, श्याम श्रेष्ठ, शान्ति पाख्रिन लगायतले गरेका थिए ।
दोलखा र रामेछाप दुई जिल्लाको सङ्गममा रहेको शैलुङ्ग क्षेत्रलाई जनविश्वासअनुसार बुद्ध परम्पराका प्रथम अवतार साङ्गे म्हारमोचे, पाँचौ पद्यसम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमि मानिन्छ । प्राकृतिक एवं जैविक विविधताले सम्पन्न यस क्षेत्र महादेवलगायत विभिन्न ऋषिमुनिहरुको तपोभूमिका रूपमा पनि चर्चित छ।
शैलुङमा चौरी, याक, १०८ थुम्का, औषधीय महत्व बोकेका सयौं जडिबुटी, पद्यसम्भवका पद्चापका चिन्ह, चैत्यगुम्बा, शैलुङ्गेश्वर महादेव, गुफाहरू, बाघढुङ्गा, जार काट्ने तरबार, विभिन्न प्रजातिका लालीगुराँस देख्न देख्न सकिन्छ । यस्तै यहाँबाट सूर्योदय र सूर्यास्तका मनोरम दृश्य, गौरीशंकर, सगरमाथा लगायतका हिमाल पनि अवलोकन गर्न सकिन्छ ।
महोत्सवले शैलुङको प्रवद्र्धनमा टेवा पु¥याएको छ । ‘हामी बर्सेनी महोत्सव गर्छौं’, महोत्सवका अगुवा दावा साङ्बु शेर्पा भन्छन्, ‘यसपाला दोरम्बाको अगुवाईमा महोत्सव भयो भने अर्को वर्ष दोलखाका गाउँपालिकाले आयोजना गर्ने छन् ।’