रातभर हिउँ परेर बिहानीपख थबाङ वरिपरि गाँउ र डाँडाकाँडा सेताम्मे देखिन्थ्यो।
एकाबिहानै उठ्दा गाउँसहितको सेरोफेरो सेताम्मे हिउँले ढाकिँदा स्थानीय दंग छन्।
तीन वर्षपछि यति ठूलो हिमपात परेको भन्दै स्थानीय आफ्नो बालि नालि राम्रो हुने भन्दै खुसी भएका छन्।
मिरूलदेखि हामी राति छेर्लोबाङ पैदल यात्रामा पुग्दा सिम सिम पानी परेको थियो, एकै छिन ओत लाग्दा, वर्षात नरोकेपछि, त्यहि बास बस्ने निर्णय गरिरेका थियौं।
बिरन र सहयोगी भाइ भने अगाडि लागिसकेका थिए। बिस्तारै फुरूरूरू... हिउँ पर्न थाल्यो, अध्यारोमा केही देखिएन। टोर्च बालेर हेर्दा, फुरूरू हिउँ परेको दृश्य निकै रमाईलो लाग्यो। हैट! हिउँले घर, गोठ, बारी, बोट बिरुवा, रूख सबै सेताम्मे भएछ।
ज्योति दाइको बाहिर आवाज सुनियो, ‘बाफ्रे स्वीजरल्याण्ड भन्दा गज्जब हिउँ पर्यो यार।’
शहिद मार्गको हिउँले ढपक्क ढाकेको सडक हुँदै बिहान चिया पिएर उकालो लाग्यौ। एक फिट सम्म परेको हिउँमा खुट्टा गाडिँदै बिस्तारै उकालो लाग्यौं।
सोपा छेडा (२४७५मि) पुग्दा ८ बजेको थियो। अहो! चारै तिर सेताम्मे। थबाङ गाउँपालिका बलाङचा, मरन्थाना, ठूलोगाउँ, जुर्बाङ, मिरुल, उवालगाएत क्षेत्रमा हिमपातको बर्षातै भयो।
त्यसैगरी रुकुम (पुर्ब), भूमे गाउँपालिका लाबाङ, गुनाम, महतगाउँ, मारीङ लगायत टाढाटाढासम्म सेताम्मे हिउँले ढाकेको थियो।
थबाङ ठूलो गाउँ पुग्दा, सबै गाउँ हिउँले ढपक्क ढाकेको थियो।
केटाकेटीहरु हिउँमा रमाउँदै खेलिरहेका थिए। ढुंगाका छाना, बारी , जलजला, सबै सेताम्मे देखिन्थे। गाडी, काम, स्कुल सबै ठप्प थियो। केटाकेटी र स्थानियहरु भने हिउँले हर्षित थिए।
हिमपातले जनजीवन प्रभावित पारेको छ। यस क्षेत्रको तापक्रम घट्नुको साथै, अत्यन्तै चिसो बढेको छ।
हेर्नुहोस् सेताम्य थवाङ