सांस्कृतिक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार तेस्रो हेलम्बु म्याराथन डौड प्रतियोगिता तथा ह्योल्मो सांस्कृतिक र खाना महोत्सव भएको छ।
काठमाडौंदेखि नजिकको पर्यटकीय गन्तब्यसमेत रहेको हेलम्बुमा ६-७ दिनको हेलम्बु ट्रेकिङ गर्न विदेशीहरू आइरहन्छन्।
ह्यल्मो समुदायको बाहुल्य रहेको हेलम्बु सांस्कृतिक तथा प्राकृतिक रूपमा सम्पन्न स्थान हो।
यहाँको भुबनोट, वन जंगल, चराचुरूंगीसहित दोर्जे लाक्पा हिमाल, जुगल हिमाल, गौरिशंकरसहित दर्जनौ हिमालहरुको मनरोम दृश्यालोकन गर्न विदेशीसहित स्वदेशी पर्यटकको घुइँचो लाग्छ।
यसैबीच ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराको साथ सेरमान्थाङ, हेलम्बु-३ मा तेस्रो हेलम्बु ट्रेल म्याराथन डौड प्रतियोगिता सम्पन्न भयो।
खेलाडीलाई हौसला दिन पुगेका चर्चित धावक बैकुण्ठ मानन्धरले प्रतियोगिताको सुरू गरेका थिए।
कुटुमसाङ (२४७४ मि) उचाईबाट सुरू भएको म्याराथन डौड मङगिन, थारेपाटी, मेलेम्ची घ्याङ, नाकोटे, तार्के घ्याङ, गोचेलिङ गुम्बाहुँदै शेरमानथाङ (२५८५मि) मा पुगेर टुंगिएको थियो। धावकले सबैभन्दा अग्लो गोचेलिङ गुम्बा (२५९८ मि.) हुँदै ४२ कि.मि. को दूरी पार गरेका थिए।
हेलम्बु क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता किसिमका साहासिक खेल पर्यटन र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको भन्दै हिमालयन स्पोर्टस क्लवका अध्यक्ष तथा पर्यटन व्यवसायि छिरिङ लामाले यस्ता क्रियाकलापले देश बिदेशमा यो क्षेत्रको प्रचार प्रसारमा मद्दत पुग्ने बताए।
एभरेष्ट म्याराथनका पूर्व विजेतासमेत रहेका लामाले यस्ता साहसिक खेल पर्यटनको माध्यमबाट नेपालको पहिचान विश्वभरी फैलने बताए।
स्वदेसी खेलाडीसँग हातेमालो गर्दै विदेशी पर्यटकसमेत उत्साहका साथ वाकाथनमा भाग लिएका थिए।
वाकाथनमा प्रथम भएका डेनमार्कका ओले डेडेनरोथ विगत दश वर्षदेखि हरेक वर्ष आफ्नो देशका सहकर्मीसँग नेपाल घुम्न आउने गरेको बताए।
‘म हरेक वर्ष विदा मनाउन नेपाल आउने गर्छु,’ डेडेनरोथले भने, ‘यसपटक पनि हामी १५ जनाको टोली काठमाडौंको सुन्दरीजलहुँदै ८ दिनको ट्रेकिङ यात्रा पुरा गरी शेरमान्थाङ पुगेका हौ।’
डेनमार्क र शेरमान्थाङबीच विषेश द्वैत्य सम्बन्धसमेत रहेको भन्दै उनले आफूहरूले यहाँ वृद्ध स्कुल निर्माणमा सहयोग गरेको वताए। ‘नेपाल सुन्दर छ। यहाँको भुगोल, मानिस र संस्कृतिले मलाई सधै लोभ्याउँछ त्यसैले मलाई सधैं नेपाल आईरहन प्रेरित गर्छ,’ ७० वर्षे ओलेले भने।
उनकी ६५ वर्षे श्रीमती लोट्टे र बिदेशी पर्यटकहरू उनको भनाईमा हर्षित देखिन्थे।
त्यस्तै पहिलो पटक नेपाल आएका पोल्याण्डका दुई युवतीहरू सांस्कृतिक कार्यक्रममा रमाइरहेका थिए। ३५ वर्षे जसतिना र ३८ वर्षे आगाताले आफूहरू नेपालको सौन्दर्यबाट प्रभावित भएको बताए।
फुल म्याराथन ४२ कि.मी, खुल्ला डौड ५ कि.मि. र वाकाथन ५ कि.मि. प्रतियोगिताको आयोजना गरेको थियो।
प्रतियोगितामा सोलुखुम्बुका ३३ वर्षे किरण कुलुङ ४ घण्टा ३० मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै फुल म्याराथनको उपाधि जिते।
यस्तै सोलुखुम्बुकै २८ वर्षे सुमन कुलुङले निर्धारित दुरी ४ घण्टा ३८ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै दोस्रो भए।
सोलुखुम्बुकै २५ वर्षे सन्तोष खालिङले ४ घण्टा ५२ मिनेट ३० सेकेण्डमा दौड पुरा गरी तेस्रो भए।
यस्तै महिला तर्फ नेपाल पुलिस क्लबकी रेखा विष्ट पहिलो भइन्। विद्यार्थीतर्फ निमा डोल्मा ह्याल्मो, श्रीसन सिल्पकार र प्रकृति सुवाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए।
पुरुष विद्यार्थीतर्फ सागर श्रेष्ठ पहिलो हुँदा दावा दोर्जे ह्योल्मो दोस्रो र प्रविन बोहोरा तेस्रो भए।
खुल्ला पुरूषतर्फ पेवा टासी ह्याल्मो पहिलो हुँदा दावा लामा दोस्रो र निनो शेर्पाले तेस्रो भए।
फूल म्यारथन तर्फ २० जना पुरूष तथा महिला खेलाडीले भाग लिएका थिए भने वाकथानमा २० जना अधिकांश विदेशिको सहभागिता थियो।
५ किमि खुल्ला डौडमा करिब ३० जनाले भाग लिएका थिए।
विजेताले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारसहित मेडन र प्रमाणपत्र पाएका थिए।
यस्तै उत्कृष्ट दस खेलाडीलाई नगद जनही ५ हजार प्रमाण पत्र र तक्माद्वारा सम्मानित भएका थिए।
विजयी खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री विश्वकर्माले सरकारद्वारा हेलम्बुमा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र प्रस्तावित गरिसकेको भन्दै यसलाई कार्यान्वयन गर्न थप पहल गर्ने आश्वसन दिए।
प्रतियोगितासँगै स्थानीय परिकारको खाना महोत्सव, सांस्कृतिक कार्यक्रम देखाइएको थियो। कार्यक्रममा स्थानीय र आगन्तुकको बाक्लो भीड थियो।
कार्यक्रममा कुटुम्ब ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो।
कार्यक्रमको प्राविधिक सहयोग सुदिप पौडेल, रञ्जन राजभण्डारी, देवेन्द्र बस्नेत र गोपाल श्रेष्ठले गरेका थिए।
मुख्य आयोजक हिमालयन स्पोर्टस क्लब र सह-आयोजक सेरमान्थाङ ब्रेन्द्रुले गरेका थिए।












































