देशकै कान्छो जिल्ला रुकुम (पूर्व) भूमे गाउँपालिकाको महत गाउँमा एक साता लामो होमस्टे तालिम सञ्चालन भएको छ।
माओवादी जनयुद्वमा करिब ५८ जनाले ज्यान गुमाएको साबिकको महत गाविसले रूकुम जिल्लामै सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेको थियो।
होमस्टे तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कमला रोकाले रुकुम (पूर्व) ग्रामिण पर्यटनको उच्च सम्भावना बोकेको ठाउँ भएको र यहाँका सुन्दर गाउँ बस्तिहरू, स्थानीय संस्कृति र जिवनशैलीले आन्तरिक र बाह्य पर्यटक लोभ्याउने बताइन्।
गुरिल्ला ट्रेल र यार्सा ट्रेल यस क्षेत्रका प्रमुख पर्यटकीय गन्तब्य हुन्।
स्थानीय सरकार बनेसँगै भूमे गाउँपालिकाले धमाधम बिभिन्न शिप मुलुक तालिमहरू र कार्यक्रमहरू सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए।
गाउँलेहरुको थप शिप विकास र क्षमता अभिवृद्धिका लागि गाउँपालिकाका बिभिन्न वडा लगायत रूकुम (पूर्ब) का प्रशिक्षार्थिलाई ७ दिने तालिमको ब्यबस्था मिलाएको हो।
तालिमद्वारा स्थानीयले गाँउमै पाहुनालाई कसरी उत्कृष्ट सेवा र सत्कार गर्ने भन्ने सिकाइएको थियो। नाथमका प्रशिक्षण टोलीले होमस्टेको बारेमा बिस्तृत सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्दै गाउँलेलाई आत्मनिर्भर बनाउने उपाय सिकाएको थियो।
होमस्टेमा पाहुनाहरुको सत्कार, खानपिनको परिकार, सरसफाईको बारेमा प्रशिक्षण गराइएको थियो।
स्थानीयले घरमै उत्पादन भएका बिभिन्न खाद्यबस्तुलाई स्वादिष्ट परिकार बनाउने बिधि, पस्किने कला पनि सिकेका थिए।
रूकुम (पूर्व) को सुन्दर गाँउमा र पूर्वद्वन्द्व प्रभावित क्षेत्रमा तालिम दिन पाउँदा खुसी लागेको प्रमुख प्रशिक्षक मनराज खत्रिले बताए।
आगामि दिनमा तालिमको उचित सदुपयोग गरि स्थानीयले होमस्टेबाट लाभ लिने आशा गर्दे उनले सफलताको शुभकामना दिए।
नाथम बिगत ४५ वर्षदेखि पर्यटन र अतिथि सत्कारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको संस्था हो।
तालिमको समापनमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीले सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।
तालिममा २५ जनाको सहभागिता थियो।
भूमे गाउँपालिकाको आयोजनामा नेपाल होटल तथा व्यवस्थापन (नाथम) को प्राविधिक सहयोगमा जेठ २६ देखि असार २ सम्म तालिम चलेको थियो।
हेर्नुहोस् तस्बिरमा