१० वर्षे द्वन्द्व झेलेर शान्ति प्रकृयाहुँदै स्थानीय अधिकारसम्म आइपुगेको देशकै कान्छो जिल्ला रूकुम (पूर्व) का विभिन्न गाँउ बस्ति यतिबेला भूमे पर्वमय भएको छ।
भूमे पर्वलाई यस क्षेत्रमा सबैभन्दा ठूलो उत्सवको रुपमा लिईन्छ। मगर समुदायमा प्रचलित यो पर्वमा स्थानीय महिला, पुरूष तथा बालबालिका आफ्ना परम्परागत भेषभूषा (गुन्यू चोली, धरो, पछ्यौरी,गाडो, गरगहनामा सजिएका हुन्छन्।
स्थानीय मगर समुदायले यस पर्वलाई प्रत्येक वर्ष वर्खा सुरु भएसँगै अषारको पहिलो साता प्रकृति पूजाको रुपमा मनाउने गर्छ।
यस पर्वलाई परापूर्व कालदेखि १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरसहित अन्य जातिले हर्षोल्लासका साथ एक सातासम्म धुमधामले मनाउने गरेका छन्।
अन्न बालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट जोगाउन, घर परिवारमा निरोगिता, आफन्तमाझ सामाजिक सदभाव राख्न यो पर्व विशेष रूपमा मनाउँदै आएको भुमे गाँउपालिकाका अध्यक्ष रामसुर बूढा मगरले जानकारी दिए।
सांस्कृतिक तथा ऐतिहासिक रूपले ठूलो महत्व बोकेको र देशको राजनीतिक यात्रामा ठूलो योगदान दिएको यो गाउँले छुट्टै पहिचान बोकेको प्रतिनिधि सभा सदस्य कमला रोकाले बताईन्।
उनले गाउँघरमा रहेका यस किसिमका कला संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्य रहेको बताईन्।
त्यसैगरी वार्ड न. ६ का अध्यक्ष देव वहादुर बुढाले पर्वले विगतका तिता मिठा ईतिहास बिर्सिदै खुसिसाथ भूमे पर्व मनाउन आग्रह गरे।
विभिन्न गीतका भाका तथा संगीतको ताल (ढोलक, टेम्के, पैसरी, दमाहा, सनाई, झ्याली) को माध्यमबाट प्रस्तुत गरिने यस पर्वमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, संघ संस्थाका प्रतिनिधिदेखि स्थानियको बाक्लो उपस्थिति थियो।
हिजो आज यस संस्कृतिले गाँउको पर्यटन विकासमा पनि टेवा पुर्याएको कार्यक्रममा उपस्थित वक्ताहरुले बताए।
यसैबीच ‘स्थानीय भाषा संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरौ’, भन्ने नाराको साथ भूमे गाउँपालिकाको वार्ड न. ६ को सुन्दर महत गाँउमा प्रथम खुल्ला लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०७५ समेत आयोजना गरिएको छ।
उक्त प्रतियोगितामा भूमे नाच, ढोंगे नचारू नाँच, पैसेरू नाँच, मयूर नाँच र फाक नाँचमा छिमेकि जिल्ला रोल्पासहित रूकुम (पूर्व) का २४ टोलीले सहभागि जनाएका थिए।
भूमे नाच तर्फ थवाङ भूमे नाच समूह प्रथम,, धर्मशाला भूमे नाच समूह दोस्रो तथा महत भुमे नाच समूह तेस्रो भएका थिए।
उनीहरूलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजारसहित पुरस्कृत गरिएको थियो।
काँक्री भूमे नाच समूह, लुकुम भूमे नाच समूह, आमा समूह , खावाङ भूमे नाच समूह, चनवाङ भूमे नाच समूहलाई सान्तावना स्वरूप १३ हजार ३३३ र सहभागि स्वरूप ६६६६ को दरले पुरस्कार वितरण गरिएको थियो।
पैसेरू नाच तर्फ चुनवाङ पौसेरू समूह, महत चुनवाङ पौसेरु समूह, खावाङ चुनवाङ पौसेरु समूह क्रमश पहिलो, दोस्रो, र तेस्रो स्थान हासिल गरि क्रमशः ४० हजार , ३० हजार र २० हजार पुरस्कार पाए।
महत चुनवाङ पौसेरू समूहलाई सान्तवनास्वरूप १३ हजार तथा पाँचौ हुने स्याला नाच समूहले ३३३३ रूपैयाँ प्राप्त गरे।
त्यसैगरी क्याङसी (क) फाँक नाच समूह , लुकुम फाँक नाच समूह, र क्याङसी (ख) फाँक नाच समूहले फाँक नाचमा प्रथम, दोस्रो र तेस्रो हुँदै क्रमशः ४० हजार, ३० हजार र २० हजार पुरस्कार पाए।
महत फाँक नाच समूह र खावाङ फाँक नाच समूहले सान्तावना र सहभागि पुरस्कार पाए।
मगरहरुको ऐतिहासिक भूमे पर्वको अवसरमा आयोजना गरिएको विजेता समूह र सहभागिहरुलाई गाँउपालिकाको अध्यक्ष रामसुर बुढा मगर र उपाध्यक्ष मन कुमारी विष्टले पुरस्कृत गरे।
उक्त प्रतियोगिता भूमे गाउँ पालिकाले आर्थिक सहयोग गरेको थियो।
साईनिङ नेपाल र संघीय विकास केन्द्र नेपाल रूकुमले कार्यक्रमको संयुक्त आयोजना गरेको थियो।