समग्र जिल्लाका पर्यटकीय सम्पदाहरुको व्यापक प्रचार गरी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उद्धेश्यले म्याग्दी उद्योग वाणिज्य संघले २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउने भएको छ ।
पर्यटन अभियन्ता एवं संघका उपाध्यक्ष राजेश शाक्यका अनुसार भ्रमण वर्षमा संसारभर म्याग्दीका पर्यटकीय गन्तव्यहरुको चिनारीलाई व्यापक बनाइनेछ । गाउँ गाउँमा पर्यटन चेतना फैलाई स्थानीयलाई पर्यटनमा लाग्न प्रोत्साहित गरिनेछ । म्याग्दी भ्रमण गर्न चाहने पर्यटकका लागि बिशेष प्याकेज समेत बनाइनेछ ।

भ्रमण वर्ष मनाउन करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । उक्त रकम, संघ स्थानीय गाउँपालिका, नगरपालिका, नेपाल पर्यटन बोर्ड र विदेशमा रहेका म्याग्देलीको संस्था मोनाको सहयोगमा जुटाइनेछ ।
म्याग्दीमा १ नगरपालिका र ५ गाउँपालिका छन् जहाँ धौलागिरि हिमाल, संसारकै गहिरो गल्छीदेखि नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन लगायत धेरै सम्पदा छन् । म्याग्दीका प्रख्यात पर्यटकीय पदमार्गहरुमा घोडेपानी, गुरिल्ला पदमार्ग, धौलागिरि राउन्ड पदमार्ग, गुर्जा पदमार्ग, धौलागिरि सेन्चुरी पदमार्ग, खयरबराह पदमार्ग आदि हुन् ।

जिल्लामा पर्यटनको प्रशस्तै संभावना बोकेका अन्य ठाउँ पनि छन् । करबाकेली क्षेत्र त्यस्तै आकर्षक गन्तव्य हो । म्याग्दी भ्रमण वर्षका अबसरमा करबाकेली पदमार्ग लन्च गरिनेछ ।
त्यसो त बेनी बजार क्षेत्रमा विभिन्न मठ मन्दिर र चैत्य छन् । त्यहीँ तातोपानी कुण्ड छ जुन स्वास्थ्य पर्यटनको राम्रो उदाहरण हो । म्याग्दीका हरेक डाँडाबाट हिमाल देखिन्छ, निश्चल मुस्कान बोकेका गाउँलेहरु अतिथि सत्कार गर्न पाउँदा खुशी हुन्छन् ।
त्यसैले सिँगो म्याग्दी जिल्लालाई पर्यटन केन्द्र बनाउन सकिन्छ ।

वर्षभरी म्याग्दीका प्रवद्र्धनात्मक सामाग्री उत्पादन र प्रचारप्रसारमा जोड दिने आयोजकको तयारी छ । भ्रमण वर्षका अवसरमा जिल्लाका प्रमुख आकर्षणहरुको पोष्टर, युट्युव भिडियो, ब्रोसर, पुस्तिका र वेवसाइट बनाइनेछ । साथै भ्रमण वर्षभर पोखरादेखि बेनीसम्म विभिन्न ठाउँमा म्याग्दी चिनाउने होर्डिङ बोर्डहरु समेत राखिनेछ ।
‘प्रचारात्मक अभियानमा मिडियाकर्मीको ठूलो भूमिका हुन्छ’, पर्यटन अभियन्ता शाक्य भन्छन्, ‘त्यसैले ०७५ सालभरी म्याग्दीका पर्यटकीय समाचार सम्प्रेषण गर्ने केही पत्रकारलाई हामी भ्रमण वर्ष समापनका बेला आकर्षक नगद पुरस्कारले सम्मान गर्नेछौं ।’

