वर्षायाम आफैमा रमणीयता बोकेको ऋतु हो। जहाँ हरियालाी वातावरण, ठाउँ ठाउँमा खोलानाला, बर्सिएका हरेक थोपा, र हरियालीको चुरोले गर्दा यस्तो मौसममा घुम्न पाउनु भनेको जीवनसँग केही समय साक्षात्कार गर्नुजस्तै लाग्छ।
घुम्ने बानी परेपछि नयाँ ठाउँको खोजी स्वाभाविक बन्छ। कहिलेकाहीँ नाम नसुनेका, नदेखिएका ठाउँहरू पनि यति सुन्दर र अर्थपूर्ण हुन्छन् कि ती गहिरो छाप छोडेर जान्छन्।
तामाकोशी गाउँपालिका म पटक–पटक पुगेको छु। प्रत्येक वडामा डुलेको छु। तर यो पटकको यात्रा फरक थियो। मिसन सहितको, उद्देश्यसहितको।
प्रायः म रिपोर्टिङकै सिलसिलामा यात्रा गर्छु, र विशेषतः फोटोग्राफी नै मेरो प्रेरणा बन्ने गर्छ। वर्षाको समय, अनि पहाडी बाटो। कालीदहबाट उकालो लागेपछि गाडीले बिस्तारै किचकिच गर्न थाल्यो—कहीँ खाल्डाखुल्डी, कहीँ पहिरो।
यसपटकको यात्रा पशु सेवा कार्यालय दोलखाको निम्तोमा थियो—भेडा र चौरीसम्बन्धी एक छोटो डकुमेन्ट्री निर्माणको लागि। म सोच्थें, भेडा त जाडो ठाउँमै पाइन्छ भन्ने। तर थाहा भयो—भेडाको पनि प्रजातिहरू हुँदो रहेछन्। हिमाली भेगमा भ्याङ्लुङ, तराईमा कागे, मध्य पहाडी क्षेत्रमा लामपुच्छ्रे र बरुवाल। झुले जस्तो २२०० देखि २४०० मिटर उचाइको ठाउँमा बरुवाल प्रजातिका भेडा सजिलै पाल्न मिल्दो रहेछ। नेपालमा प्रमुख रूपमा चारथरिका भेडापालन हुँदै आएका छन् भन्ने बुझियो।
चरिकोटबाट पशु सेवा कार्यालयका टोलीसँग म झुलेतिर लागेँ। तामाकोशी गाउँपालिका–२ मा पर्ने लोसेडाँडामा राम (कृष्ण) बहादुर तामाङको घरमा एक रातको बास। भेडाको मासुसँग कोदोको ढिडो खाएको सायद मैले पहिलोचोटि होला। बिहान सबेरै भेडासँगको साक्षात्कार सुरू भयो। वडाध्यक्ष ईश्वरराज कार्कीले सुनाएको योजना झनै उत्साहजनक लाग्यो। 'झुले अब्बल छ कृषिमा,' उहाँ भन्नुहुन्थ्यो, 'अब पशुपालनलाई पर्यटनसँग जोड्ने प्रयासमा छौं।'
लोसेडाँडा र मैदानेजस्ता ठाउँमा भेडा पालिँदैछ—जहाँ सडक नजिक छ। यहाँबाट दोलखाको मुख्य स्थानहरू सुन्दर दृश्यावलोकन गर्न सकिने। उहाँको योजना छ—कृषि र पशुपालनप्रति रूचि राख्ने पर्यटकलाई यहीँ भेडासँग खेल्न, तस्बिर/भिडिओ खिच्न, भेडाको दूध, मासुको स्वाद लिन र फर्किँदा लुकुनी–राडी कोसेली लिएर फर्किन सक्ने बनाउने।
त्यही सोच अनुरूप ‘झुले भेडापालक कृषक समूह’ गठन भइसकेको छ। २८ जना सदस्यले १६ देखि ३२ वटासम्म भेडा पाल्न थालेका छन्। समूहमा कोही वैदेशिक रोजगारीबाट फर्किएका छन्, कोही यहीँका युवा शक्ति। यस आर्थिक वर्षदेखि ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत पशुजन्य उत्पादनका रूपमा भेडापालनलाई अघि सारिएको हो। तामाकोशी गाउँपालिका र पशु सेवा कार्यालयको सहकार्यले यो सम्भव बनिरहेको छ।
मलाई लाग्छ—केही वर्षभित्रै झुले घुम्न खोज्ने, मौलिक कृषिसंस्कृति अनुभव गर्न चाहने र ग्रामीण जीवन बुझ्न उत्सुक पर्यटकहरूको प्रमुख गन्तव्य बन्नेछ। यात्रा त सकियो, तर मनमा एउटा याद रहिरहन्छ—भिजेको बाटो, ओत लाग्ने लोसेडाँडा, रमाइला भेडा र भविष्यको सम्भावनाले भरिएको झुले गाउँ। यही हो, घुमाइको मज्जा।
-1752908987.jpg)
-1752908985.jpg)
-1752908984.jpg)
-1752908984.jpg)
-1752908984.jpg)
-1752908987.jpg)
-1752908985.jpg)
-1752908983.jpg)
-1752908983.jpg)
-1752908982.jpg)
-1752908983.jpg)
-1752908982.jpg)