नेपाल—प्रकृतिको अनुपम काव्य। जहाँ हरियाली छ, हिमालको आँचल छ, नदीका लहरहरू छन् र हावामा चल्ने अपनत्वको मीठो स्पर्श।
यस सुन्दर देशको छायाले सधैं मेरो हृदयमा एउटा विशेष स्थान ओगटेको छ।
म यात्राको सौन्दर्यमा रमाउने मान्छे। दुरदराजका पहाड, जंगलका शीतल छाया र अज्ञात गाउँ टोलको कथा सुनिरहन चाहने एक घुमन्ते आत्मा। तर, जीवनको व्यस्तताले नेपाल रहँदा पनि नेपाललाई पूर्ण रूपमा अनुभव गर्ने मौका भने कहिल्यै पाइएन। यसैबीच एउटा अर्को सपना पलायो — अमेरिका जाने आकांक्षा। कहिले पुगिएला त्यो सपनाको देश ? के म अमेरिका जान सक्छु त ? ।
सन् २०२२ मा, म नेपाली माटोको गन्ध हृदयमा बोकेर अमेरिकाको गन्तव्यतिर उडेँ। तर त्यो यात्रा पलायन थिएन, त्यो त थियो — दुई संस्कृतिको अनुभव समेट्ने एउटा आत्मीय यात्राको नयाँ अध्याय।

अमेरिकाको चम्किलो सहरका बीच पनि मेरो मन सधैं तानिइरहन्थ्यो—त्यो हिमाली देश, मेरो नेपालतिर। जहाँ बचपनका सपना हराएका थिए र नघुमेको धर्ती आज पनि मेरो अन्तरमनमा सम्झनाका तस्बिर बनेर बाँचिरहेका थिए। म अक्सर सोच्थेँ नेपालमै हुँदा किन घुमिनँ ती स्वर्गजस्ता ठाउँहरू, किन हेरिन प्रकृतिको त्यो अनुपम चित्रहरू? यो पछुतो मेरो मनको एक कुनामा सधैं पीरको संगीतझैं बजिरहन्थ्यो।
अमेरिकाको व्यस्त जीवनको बिचमा, अफिसका घण्टीहरूभित्र, ट्राफिकको कोलाहलमा पनि म सधैं कल्पना गर्थेँ— कुनै दिन म छुट्टी लिन्छु, अनि देश फर्कन्छु — साँच्चिकै बाँच्नका लागि, महसुस गर्नका लागि। र अन्ततः झन्डै तीन वर्षपछि, त्यो निर्णयको पल आयो। मैले टिकट काटेँ — यो केबल उडानको आरम्भ थिएन, यो आत्माको यात्राको सुरूआत थियो—माटोको सुगन्ध सुँघ्न, बाल्यकालको याद बोकेर र हरेक क्षणमा हराएका स्वप्नहरू भेट्न।
नेपाल, म आउँदैछु — तिमीलाई फेरि एकचोटि जिउन, महसुस गर्न र बिर्सिएका स्पर्शहरू पुनः स्पन्दित गर्न।
‘नेपाल आउँदैछु’ भन्ने सोचले नै मनभित्र कुनै अनुपम तरङ्ग पैदा हुन्थ्यो — त्यो आनन्द, त्यो उत्साह, जुन केबल आफ्नो माटो फर्किने यात्रामा मात्र सम्भव हुन्छ।
देश, जहाँ मैले पहिलोपटक आँखाले संसार देखेको थिएँ, जहाँ मेरो पहिचानको जरा गाडिएको छ— त्यसै देश फर्किंदैछु, आफ्नै जननीकहाँ, आफ्नै आत्मासँग पुनर्मिलन गर्न।
बीस घण्टाको हवाई यात्रा लामो त थियो तर त्यो समय पनि सपना जस्तै लागिरह्यो। हरेक घण्टा, हरेक क्षण मनले गन्दै थियो — अब कति बाँकी? कहिले पुगिन्छ त? जब विमानको स्क्रिनमा नेपालको नक्सा झल्कियो, हृदय उत्साहले छटपटाउन थाल्यो। झ्यालबाट हेरेँ — सायद हिमाल देखिएला! भन्ने आशामा। तर बादलले ती हिमशिखरलाई लुकाइदिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजले चुम्बन गरेपछि म बाहिर निस्किएँ — त्यो पहिलो सास नै फरक थियो — स्वाभाविक, आफ्नोपनले भरिएको। यो धर्तीको हावा, यो ध्वनि, यो गन्ध—सबै चिरपरिचित लाग्थ्यो, जसरी आमाको काखमा बच्चा सुरक्षित महसुस गर्छ, म पनि त्यही अनुभूतिमा डुबेको थिएँ। नेपाल फर्किएको थिएँ, केवल भूगोलमा होइन — आत्मामा, सम्झनामा, र मायामा।
नेपाल फर्किएपछि केही दिन त शरीर र समयबीच तालमेलै मिलेन। दिउँसो आँखाले निद्रा खोज्थे, राति मनले सपना तर निद्राले साथ दिन मान्दैनथ्यो। यो जेट ल्याग थियो, तर मनको उत्साहले त्यो थकाइलाई पनि रमाइलो अनुभवमा बदलिदिएको थियो। नेपाल आउने टिकट हातमै परेको क्षणदेखि नै मेरो मनमा एउटा सपना थियो— पाँचपोखरी। वर्षौं अघिदेखि मुटुमा बोकेको त्यो रहर, जुन सधैं समयको अभावले टर्दै आइरहेको थियो।

यसपालि भने, न त म त्यो सपनालाई रोक्नेछु, न त समयले मलाई थाम्नेछ। नेपाल आएको झन्डै एक हप्ता पनि नपुग्दै, मैले अन्ततः यात्रा सुरू गर्ने निधो गरेँ। म जान चाहन्थेँ सिन्धुपाल्चोक जिल्लाको मुटुभित्र लुकेको त्यो स्वर्ग—पाँचपोखरी, जहाँ मेरा कल्पनाले वर्षौंदेखि बास बस्दै आएका थिए। यात्रा एक्लोभन्दा पनि साथसाथीले अझ मिठो बन्छ भनेर, मैले मेरो मितभाइ डेनी न्यौपानेलाई साथ लाने निधो गरेँ। उनी पनि तयार थिए, उत्साहले भरिएका — जसरी बिहानको घाम सगरमाथाको चुचुरोलाई स्पर्श गर्न आतुर हुन्छ। हामीले आवश्यक सबै सामग्री—खानपिनका जोहो, ड्राइफ्रुट्स अनि केही उत्साह — सबैलाई ब्यागप्याकमा हाल्यौं र एकाबिहान, जब सहर अझै निन्द्रामा थियो हामी दुई भाइ मोटरसाइकलमा चढेर पाँचपोखरीको यात्रामा लाग्यौं।
मनभित्र सपना, आँखाभर दृश्य, र हृदयभित्र रोमाञ्चकता बोकेर। यो यात्रा केवल गन्तव्यसम्मको थिएन, यो यात्रा थियो आत्मासँगको भेट, प्रकृतिसँगको संवाद र जीवनको अर्को अध्यायतर्फको सुन्दर सुरूआत।
पाँचपोखरीको यात्राले अब गति लिन थालेको थियो। चाबहिलबाट सिन्धुपाल्चोक पुग्ने सबभन्दा सहज र नजिकको मार्ग (साँखु, जहरसिंह पौवा हुँदै मेलम्ची) हामीले रोज्यौं।
बिहानको चिसो हावासँगै, घामको पहिलो झुल्कोले आकाशमा रङ भरिरहेको बेला, ठ्याक्कै ६ बजे दुई भाइले उत्साह र उत्सुकता बोकेर घरबाट बिदा लियौं। साँखु, जहरसिंह पौवा, नाङ्लेभारे हुँदै चाँपाबोटसम्मको पिच सडकले यात्रा आरामदायी बनायो तर चाँपाबोटदेखि तल केही अप्ठेरो मोडहरू पनि हाम्रो स्वागतमा थिए। हिमाल खुलेका थिए स्वच्छ, उज्याला, आत्मालाई चिसो स्पर्श दिने गरी। मलाई हिमाल सधैं प्रिय लाग्छ– किन हो, तर एकपटक हिमाल देखेपछि सारा थकान, सारा सोच, सारा दुनियाँ बिर्सिएर म केवल त्यस दृश्यमा हराउँछु। यात्राको यस्तो सौन्दर्यले हाम्रो गति पनि सहज बनायो र करिब ९ बजेतिर हामी मेलम्ची पुगिसकेका थियौं — पत्तो नै नपाई।
मेलम्चीको साँघुरो बजारमा हामीले खाजा खायौं, थकाइलाई थोरै आराम दिएर, जानकारी लिएँ — 'मोटरसाइकल देउरालीसम्म जान सक्छ रे'। त्यसपछि हामी फेरि मोटरसाइकलमा उकालो लाग्यौं— भोताङ हुँदै देउरालीतर्फ।
मेलम्चीपछिको बाटो लगभग सबै कच्ची थियो तर आकाशले साथ दिएको थियो, पानी नपरेकाले यात्रा कष्टप्रद भएन। तिपिनी, थाङपाल धाप, रैथाने पोखरी, मानेखर्क, भोताङ हुँदै करिब १२ बजेतिर देउरालीमा पुग्यौं। त्यहाँबाट मोटरसाइकलको यात्रा सकियो। अब प्रकृतिसँग नजिक हुने पल सुरू भयो— पैदल यात्रा।
एउटा गज्जबको लठ्ठी लिएर हामी दुई भाइ हरियाली जंगलभित्र पस्यौं। सहरको कोलाहलबाट टाढा, चिसो हावासँगै चराचुरूङ्गीको मधुर धुन र वनस्पतिको सुवासमा आत्मा डुबाइरहन्थ्यौं। ट्रेकिङ मेरो प्रिय — सायद त्यसैले होला, मलाई जति हिँड्दा पनि थकाइ लाग्दैन, बरू हरेक पाइला ऊर्जा बनिदिन्छ। यस्तो ट्रेकिङ अमेरिकामा पनि गरियो तर नेपालजस्तो आत्मीयता, नेपालको प्रकृति जस्तो मिठास कहीँ थिएन। देउरालीबाट हाँसखेल गर्दै, रमाउँदै हामी टुप्पी डाँडामा पुग्यौं। त्यहाँ अलिकति खाजा खाएर फेरि उकाली लाग्यौं। आजको बास चोकर डाँडामा गर्ने योजना थियो। अलिक माथि पुगेपछि काठमाडौंबाट आएका तीन भाइहरू भेट्यौं। सँगै हिँडौँ है! भन्दै उनीहरू पनि हाम्रो यात्रा परिवारमा सामेल भए। अब हामी पाँच भाइ भयौं पाँचपोखरी जाने यात्रामा, पाँच जोशिला पाइलाहरू।
भाइहरू अलिक चाँडो हिँड्थे, हामी पनि उनीहरूको लयमा पाइला मिलाउँदै, हाँस्दै, गफिँदै, थकाइलाई बिर्सँदै ठ्याक्कै साँझ ६ बजे चोकर डाँडामा पुग्यौं। त्यहाँ होटलको राम्रो व्यवस्था थियो। मनको थकाइलाई शान्त पार्ने, शरीरलाई विश्राम दिने ठाउँ। साँझको खाना खाएर, भोलिपल्ट पाँच पोखरी पुग्ने सपनालाई आँखामा सजाएर, निन्द्रादेवीको काखमा हामी सुस्तरी समाहित भयौं। शरीर निन्द्रामा तर मन भने अझै हिमालको सपनामा तैरिरहेको थियो।
बिहानको झुल्कँदै गरेको घामले अझै आकाश छुन नपाउँदै, करिब ४ बजेदेखि नै पाँच पोखरी जाने यात्रुहरूको हलचलले हाम्रो निन्द्रामा सानो कम्पन ल्यायो। तर त्यो मिठो झझल्को झैं थियो, उठेर नयाँ क्षितिज भेट्ने संकेतजस्तै। हामी पनि उठ्यौं, स्फूर्त भई तयार भयौं र ठ्याक्कै ६ बजे चोकर डाँडाबाट हाम्रो पवित्र पदयात्रा सुरू गर्यौं। उकालो ठाडो थियो तर अब उकालोसँग हाम्रो साइनो जोडिइसकेको थियो। हिजोका पाइला आजका मित्र बनेका थिए, शरीरले थकाइ बिर्सेको थियो, मनले भने दृश्यहरूसँग कविता कोर्दै हिँडिरहेको थियो। जति माथि लाग्थ्यौं, प्रकृतिले उति नै आफ्ना सौन्दर्यका पानाहरू खोल्दै जान्थ्यो।
साँघुरा पदमार्गहरू, हरिया वनस्पति, अनि दूर–दराजसम्म फैलिएका हिमाली आँगन, सबै मिलेर एक अद्भुत सुर बनाएर बजिरहेजस्तो लाग्थ्यो। फोटो खिच्दै, रमाइला गफले साथ दिँदै, थकाइलाई बिर्साउने फुर्सदै नदिई हामी अघि बढ्यौं र लगभग एक घण्टापछि नोशेमपाटी आइपुग्यौं। हिजोको साँझ अलिक बढाएर हिँडेको भए सायद यहीँ बास बस्न मिल्ने थियो भन्ठान्यौँ। तर के ठान्नु, यात्रा जस्तै सम्झनाहरू पनि अप्रत्याशित हुन्छन्।

नोशेमपाटीबाट माथि होटल वा पानीको व्यवस्था नभएकाले यहाँबाट अघिको यात्राले अझै केही चुनौती बोकेको थियो। त्यसैले हामीले अगाडि बढ्ने तयारीसँगै पानी र खाजाको जोहो पनि गर्यौं। केहीबेर उकालो लागेपछि हिमाल फेरि देखापर्यो तर यो पटक अलि लजालु थियो। बादलको घुम्टोभित्र लुक्दै–देखिँदै, क्षणभरमै फेरि ओझेलमा पर्यो। त्यही क्षण, इन्द्रावतीको काखबाट उठेको तुँवालोले हाम्रो बाटो छोप्न थाल्यो। तर त्यो हुस्सु — त्यो शीतल कुहिरो — अनि कति मिठो अनुभूति! हामी त बादल र कुहिरोको देशमा हिँडिरहेजस्तो लाग्यो। जति उकालो लाग्थ्यौं, सास पनि गह्रौं हुँदै जान्थ्यो तर तिनै कुहिरोको स्पर्शले हामीलाई चिसो चुर्लुम्म भिजाउँदै स्फूर्ति र ऊर्जा भरिरहन्थ्यो। जसरी प्रकृतिले थकित आत्मामा नयाँ जीवन सिञ्चन गर्छ। त्यो यात्रा केवल पैतालाले नापिएको थिएन, त्यो यात्रा त आत्माले महसुस गरेको थियो। हिमाल, तुँवालो र प्रकृतिको आत्मासँग गरिएको एउटा मौन संवाद।
हामी लगभग बिहानको १० बजेतिर लौरीबिना आइपुग्यौं। त्यहाँ पुग्नुअघि पार गरेको लामो सिँढीको उकालो, एकछिन त लाग्थ्यो यो नै अन्तिम मोड हो तर माथिबाट ओर्लने ती थाकेका मुस्कानहरू भन्थे, 'अझै १ घण्टा जति लाग्छ है!' तर हामी थकाइको कुरा कहाँ गथ्र्यौं र! हामी पाँच भाइ त यात्राका प्रेमी थियौं — गन्तव्य भन्दा रमाइलो त यात्रामा थियो। हिँडिरह्यौं, सास चढ्दै, पाइला उकालो लाग्दै। अचानक झरनाको मीठो संगीत कानमा बज्न थाल्यो, हामीले अनुमान गर्यौं 'यो त पाँच पोखरीबाट बगेको धारा हुनुपर्छ!' र साँच्चै केही उकालो चढेपछि झरना प्रकट भयो— जसरी कविता लेख्दा अन्तिम हरफ अचानक जीवन्त भइदिन्छ। अब हामी ढुक्क भयौं, पुगियो अब भन्ने विश्वासले थकानलाई परास्त गर्यो। झरनाको आवाज, बादलको स्पर्श, अनि मन तान्ने दृश्यले हाम्रो हिँडाइलाई एक किसिमको ध्यानमा परिणत गरिसकेको थियो।
अनि, करिब ११ बजेतिर, त्यो क्षण आयो 'पाँच पोखरीमा स्वागत छ' भन्ने बोर्डले हाम्रो यात्रालाई औपचारिकता दियो। तर त्यो स्वागत पनि बादल र कुहिरोले ओढिएको थियो। पोखरीहरू लुकेका थिए, एक मात्र पोखरी भिजेको सपनाजस्तै छर्लङ्ग देखियो। हामी त्यतिबेला भोकका तीव्र लहरसँग जुँधिरहेका यात्री थियौं। र त, झरीझैं झरेको थकानसँग न्यानो खानेकुरा दिने होटल खोज्दै, हामी अघि बढ्यौं। पानी, पोखरी, बादल र आत्माको त्यो पवित्र मिलनस्थलमा।
खाना खाइसकेपछि, हामीले होटलका दाजुलाई सोध्यौं— 'दाजु, मौसम खुल्ला त?' कहिले होला त्यो क्षण, जहाँ पाँच पोखरी एकैपटक, हिमालका हाँसोसहित हाम्रा नजरमा अटाउँछ? होटलका दाजुले मुस्काउँदै उत्तर दिनुभयो— 'बिहानको उज्यालो नै हो सौन्दर्यको साँचो कुन्जी। ४ बजे उठेर भ्यू प्वाइन्ट चढ्नुहोस्, त्यसपछि मात्र देख्नुहुन्छ जुगल, लाङटाङ र लाक्पा दोर्जेको अद्भुत महाभार। त्यसैबेला खुल्छ पाँच पोखरीको सम्पूर्ण रहस्य!'
त्यस सन्देशले हामीलाई हतारको हिँडाइबाट अवलोकनको गहिराइमा पुर्यायो। त्यसैले हामीले निर्णय गर्यौं 'आजको साँझ यहीँ बिताउँछौं, भोलिको बिहानीलाई आँखामा अड्याएर।'
दिउँसोभरि, हामी पाँच भाइ कहिले ढुंगामाथि, कहिले पोखरीको छेउछाउ, कहिले बादलसँग लुकामारी खेल्दै, आफ्नै तरिकाले पाँचपोखरीलाई क्यामरामा कैद गर्दै हिँड्यौं। साँझपख, बादलको पर्दा हलुका हुँदै गयो र ती पाँच पोखरीहरू क्रमशः अनुहार देखाउन थाले। हामीले त्यो जादुयी क्षणलाई फ्रेममा थुन्यौं, भिडिओको धुनमा बाँध्यौं। पानी बिस्तारै झरिरहेको थियो जसरी सपनाले आकाश छुन खोज्दा ओसिलो भावनाको वर्षा झर्छ। हामी सुत्न गयौं, आँखामा आशाको तारा झुण्ड्याएर, भोलिको बिहान खुल्ने आकाशसँग सपना देख्न तयार भएर।
बिहान करिब ३ बजेको मोबाइलमा अर्लाम राखेका थियौँ। हामीले तोकेको थियौं बिहान ४ बजे भ्यु प्वाइन्टको वाचा। तर झ्याल बाहिरको दृश्यले मनमा एकाएक निराशाको ओसारो छर्यो। वर्षाको धुनले सपना भिजाइरहेको थियो।

'यात्राको यत्रो रहर, पानीले नबगाउला है!' भन्ने सोचले हृदय भारी बनिरहेको थियो। तर समय जस्तै मनस्थितिहरू पनि बदलिन्छन्। ६ बजेतिर वर्षा थामियो र आशाका किरणले फेरि बिझाउन थाल्यो। हामी फटाफट उठ्यौं, शरीर थाकेको भए पनि मन उत्साहित थियो। भ्यु प्वाइन्टको उकालो समात्यौं, बिस्तारै अग्लिँदै गयो हाम्रो पाइलाहरू र आधा बाटोमै झ्याल जस्तै खुलेर पाँच पोखरीका सबै मुहारहरू देखापरे।
हर्षको तरंगले शरीर चिसो भए पनि मनमा उज्यालो छरिदियो। त्यो क्षण, जहाँ धर्तीको सौन्दर्य र आकाशको गर्व एउटै फ्रेममा बाँधिन्थे। भ्यु प्वाइन्टको चुचुरोमा पुग्दा हाम्रो अगाडि थिए पारि टाकुरामा अडिएर बसेका हिमशृंखलाहरू, जसले हाम्रै लागि आफ्ना घमण्डिला अनुहारहरू देखाइरहेका थिए। यता पाँच पोखरी, हरियाली र मौन — उता लाक्पा दोर्जे, जुगल र लाङटाङको उभिएको सौर्य। यति गहिरो सौन्दर्यमा थकान, दुःख, अप्ठेरो सब मेटिए जस्तो लाग्यो। क्यामरा क्लिक गर्दै, आँखाबाट मुटुमा तान्दै, हामी रमायौं प्रकृतिको यो अनुपम उपहारमा। तर यात्राले जति नै मोहनी लगाएता पनि यथार्थको घडीले फर्किन बाध्य पार्दोरहेछ। मनमा थियो— 'के यहीँ बस्न पाइन्थ्यो भने!' तर समयले भन्यो, 'अब फर्कनुपर्ने बेला भयो।'
त्यसैले हामी पाँच भाइ, स्मृतिका झोला बोकेर, पुनः उही उकालोबाट ओरालो लाग्यौं। पुनः पाँच पोखरीमा रहेको धार्मिकस्थल मन्दिरमा दर्शन पनि गर्यौँ। पाँच पोखरी विशेषगरी भगवान शिवको आस्थाको केन्द्र पनि रहेको छ। सबैले भगवानसँग आफ्नो इच्छा र आकांक्षा राख्यौँ र विस्तारै घरतर्फ फर्कियौँ।
पाँच पोखरीबाट देउरालीसम्म करिब ८ घण्टा ओरालो बाटो पैदल हिँडेर मोटरसाइकल राखेको ठाउँसम्म पुग्यौँ र खाना खाएर मोटरसाइकलमा फर्कियौं हामी। तर मुटुमा गहिरिएको पाँच पोखरीको उज्यालो सधैंका लागि थाती रह्यो।
अमेरिकाको व्यस्त जीवनबाट केही क्षण स्वच्छन्द आकाशमुनि बाँच्ने आकांक्षा बोकेर म पाँच पोखरीको यात्रामा नेपाल फर्किएको थिएँ।
यो रहर केवल गन्तव्यमा पुग्ने चाहना मात्र थिएन, यो त आत्मासँगको संवाद थियो जहाँ प्रकृतिले आफ्नै भाषामा बोल्छ। ती स्वच्छ तालहरू, हिमाली हावाको स्पर्श अनि बादलसँगै खेल्ने डाँडाहरू। तीन दिनको त्यो बसाइँ मेरो हृदयमा यसरी अमिट छाप बनेर बस्यो– न त शब्दले वर्णन गर्न सक्छ, न त समयले मेट्न।
साथीहरूसँगको हाँसो, थकाइका बीचको रमाइलो र हरपलमा लुकेको जीवनको नयाँ सन्देश, यी सबै कुराले बनाइदियो यात्रा झनै अनुपम। त्यो शान्त परिवेशले जीवनलाई पुनः उत्साहका साथ अघि बढ्न प्रेरणा दियो, जसरी बिहानको घामले न्यानोपन दिन्छ, पाँचपोखरीको छेउमा बस्दा मैले जीवनमा नवीन ऊर्जा पाएको अनुभूति गरेँ। पाँचपोखरी – यो केबल गन्तव्य होइन, यो त आत्माको विश्रामस्थल हो। जति सकिन्छ, अहिलेको उमेर र जाँगरमा यस्ता ठाउँ घुमौं, किनभने भविष्यले के सम्भव बनाउँछ, थाहा छैन ।
एकपटक अवश्य जानुहोस्, पाँचपोखरीले तपाईंलाई पनि जीवनको अर्को अर्थ सिकाउनेछ।



