जब हामी नेपाली चीनको राजधानी बेइजिङस्थित मिआओइङ मन्दिरमा रहेको अरनिकोको प्रतिमा भएको स्थानमा पुग्छौं नि परदेशमा हाम्रो शिर उभिएको देख्दा हाम्रो गर्वले यसरी छाती फुल्छ कि तपाईं हाम्रो सोचभन्दा धेरै माथि।
मलाई बेइजिङमा नेपाली प्रसिद्ध कलाकार अरनिको प्रतिमासँग उभिएर केही सोच्न र लेख्न बाध्य बनायो।
भर्खरै चीनको भ्रमणमा कांग्रेस नेता एवं पूर्वउपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोइरालाको नेतृत्वमा हामी चीनमा पुग्दा चीनियाँहरूले नेपालसँगको सम्बन्धको बारेमा यही स्थान स्वेत चैत्यको भ्रमण गराइरहँदा हामीले आफूलाई निकै कौतुहलतापूर्वक यस स्थानको भ्रमण गर्यौं।
चीनियाँहरूले यो श्वेत चैतमा राजा वीरेन्द्रदेखि नेपालका राष्ट्र प्रमुख र यहाँ भ्रमण गरेका अन्य प्रतिनिधिहरूको समेत तस्बिरहरू संग्रहित गरेर देखाउँदा हामीले निकै अचम्मित मान्दै हेर्यौं।
रोमाञ्चक त के भने कलिलो उमेरमा नेपालका पूर्वप्रधानमन्त्री बुवा गिरिजाप्रसाद कोइरालासँग धेरै पहिला पुग्नुभएकी सुजता कोइराला यसपटक पनि सोही स्थानमा पुगेको आफ्नै कलिलो उमेरको तस्बिर अहिलेको उमेरमा आफूले आफैलाई देख्दा हेर्दै दङ्ग पर्नु भएको थियो।
यही स्वेत चैत्यको प्राङ्गणमा भ्रमण टोलीसँग चीन र नेपालको सम्बन्धकाबारे एक कार्यक्रम पनि भएको थियो। चीन र नेपालको सम्बन्धबारे सुजता कोइराला, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा र पत्रकार चीरञ्जीवी मास्के र केही चीनियाँ प्रोफेसरहरूले धाराण राखेका थिए। यहाँ नेपाली र चीनियाँहरूले चीन र नेपालको सम्बन्धबारे धारण राख्दै गर्दा मलाई लागिरहेको थियो कि चीनमा प्रसिद्ध कलाकार अरनिकोले दिलाएको यो पहिचानलाई नेपालमै चाहिँ कति सदुपयोग गरिएको छ र हाम्रो भावी र वर्तमान पुस्ताले कसरी चीनिरहेको छ? कि छैन भनेर कौतुहल जागृत हुन्थ्यो। बेइजिङको श्वेत चैत्यमा पुग्दा हाम्रा पुर्खा अरनिकोले नेपाल र नेपालीको शिर निकै उँचो राखिदिएर आफ्नो जीवनकाल गुमाएको पाउन सक्छौं।

यहाँ भ्रमण गर्दा हामीले हाम्रो देश चिनाउने एक पुर्खालाई नेपालमा कति महत्व दिएका छौं अनि चीनमा कति महत्व दिइएको रहेछ भनेर पनि राम्ररी बुझ्न सक्छौं।
अहिलेको पुस्ताले अरनिकोबारे कमै जानकार राख्छ भन्ने नै लाग्छ मलाई। जब हामीले चीनको बेइजिङमा पुगेर देखेपछि झन् धेरै बुझ्न खोज्यौं नेपालको अहिलेको पुस्तालाई पनि अरनिकोबारे अझै धेरै बुझाउँदा फरक पर्दैन बुझाउनुपर्छ भन्ने लाग्छ।
चीनबाट नेपाल र नेपालीलाई चीनाउने व्यक्ति हुन् प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिको। पाटनमा जन्मेका यिनले चीनमा गएर आफ्नो वास्तुकला देखाएका मात्रै छैनन् उनले नेपालीहरूको परिचय दिइरहेका छन्। अरनिको प्यागोडा शैलीको मन्दिरहरू निर्माण गर्ने दक्ष कलाकार हुन्।
अरनिकोको जन्म सन् १२४४ मा पिता लाखाँना र माता सुमाखचीका सन्तानको रूपमा ललितपुरको पाटन सहरमा भएको इतिहासबाट भेट्न सकिन्छ। उनी नेपालमा चयाथा नामकी विवाहित श्रीमतीलाई छोडेर चीन गएका थिए तर उनको चीनमा नै निधन भयो।
चीनका तत्कालीन प्रभावशाली सम्राट कुब्ला खाँका राजगुरू पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली शिल्पीहरूलाई चीन पुर्याउने क्रममा यिनैले अरनिकोलाई सम्राट कुब्ला खाँ सँग भेट गराइदिएका थिए र अरनिकोले चीनमा आफ्नो कलात्मक सीपलाई प्रयोगमा ल्याई नेपालको नागरिकको परिचय दिलाउन सफल भएको मान्न सकिन्छ।
बेइजिङमा रहेको अरनिकोले निर्माण गरेको स्वेत चैत्य अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ। यो चैत्यमा नेपाली अक्षर, अंग्रेजी र चीनियाँ अक्षरमा नै के लेखिएको छ भने सुप्रसिद्ध नेपाली कलाकार अरनिको सन् १२६० मा नेपालबाट चीन आउनुभएको थियो।
उहाँले चीनको य्वीयान् राजवंशको सरकारी पदमा रही चालिस वर्षभन्दा बढी नेपाली र चिनियाँ संस्कृतिको आदानप्रदान एवं प्रचारप्रसारका लागि काम गर्नुभएको थियो। उहाँले नेपाली कलालाई चीनमा ल्याउनु भयो र पछिका समयमा समेत महत्वपूर्ण प्रभाव छोड्न सफल सुखावती देवस्वरूप कलाशैलीको प्रवर्तन गर्नुभयो।
उहाँले आफ्नो जीवनकालमा तीनवटा विशाल चैत्य नौवटा बौद्ध विहार र अनगिन्ती चित्र तथा मूर्तिहरूको निर्माण गर्नुभएको थियो। उहाँका कलात्मक उपलब्धिहरू चीन नेपाल दुई देशबीच सौहार्दपूर्ण आदानप्रदानको इतिहासका सबभन्दा सुन्दर आयाम हुन् स्वेत चैत्य अरनिकोको सर्वोकृष्ट कलाकृति मात्र होइन, यो मातृभूमिको एकीकरण, जातीय एकता तथा चीन नेपाल मैत्रीको प्रतीक पनि हो।
सात सय वर्षदेखि अरनिको र स्वेत चैत्य य्वीयान् राजवंशको राजधानी तातुको स्मारकको रूपमा अहिलेसम्म रहँदै आएको छ। चीन नेपालबीचको साँस्कृतिक दूत यस महान् कलाकार अरनिकोको सम्झनामा यी दुई देशका जनता बीचको मैत्रीपूर्ण आदानप्रदानलाई निरन्तरता दिने उद्देश्यले सन् २००१ सालमा अरनिको समाज (नेपाल) द्वारा पेइचीङ् श्वेत चैत्य व्यवस्थापन कार्यालयलाई अरनिकोको तामाको मूर्ति उपहार स्वरूपप्रदान गरिएको हो’।
यसरी लेखेर नेपाल र नेपालीलाई कलाकार अरनिकोमार्फत् बेइजिङले चिनाइरहँदा हामीलाई खुसीको सीमा रहेन।
यो स्वेत चैत्यको भ्रमणमा विश्वभरका नागरिक घुम्न आउँछन् यहाँ चिनियाँ नागरिक त घुम्ने नै भए चीन र अन्य राष्ट्रका नागरिकका लागि प्रवेश शुल्क लाग्ने रहेछ तर नेपालीलाई मात्रै प्रवेश शुल्क नलाग्ने पनि रहेछ। यो देखेर पनि आफूलाई नेपाली हुनुमा गर्व महसुस भयो।
हामीले विभिन्न पुस्तकमा अध्ययन गर्न सक्छौं युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिब ७०० वर्षअगाडि नेपालका प्राचीन धातुकर्मी र मूर्तिकारहरूले वास्तुकला र मूर्ति–निर्माणमा अनेकौँ रासायनिक विधिको उच्चतम प्राविधिक ज्ञान हासिल गरिसकेका थिए भन्ने कुराको ज्वलन्त नमूना हो– अरनिको। उनको वास्तविक नाम् बलबाहु भए पनि अरनिको नामले विश्व प्रसिद्ध भए। अरनिको कलाकार मात्रै थिएनन्, उनी मूर्तिकार र वैज्ञानिक पनि थिए।
ज्योतिष विज्ञान पनि निपुण अरनिकोले सन् १२१९ मा एउटा भ्रमण दर्शकयन्त्र (दिशा देखाउने यन्त्र, गाइरोस्कोप) बनाएर ज्योतिष गणितमा प्रयोग हुने यन्त्र समेत निर्माण गरेका इतिहासमा पाउन सकिन्छ।
यसका साथै भूकम्प थाहा पाइने पुरानो यन्त्रको नमूनाको आधारमा त्यस्तै नयाँ यन्त्र पनि बनाएका थिए। त्यस्तै, अरनिको र उनका सहयोगीहरूले मूर्ति बनाउँदा शरीरका विभिन्न अंगको आवश्यक अनुपात (तालमान) र अरू कलाकारितासम्बन्धी विवेचना गरिएको कलासम्बन्धी किताब पनि लेखेका बताइन्छ। यो स्थानको भ्रमणले मलाई कस्तो अनुभूति भयो भने चिनियाँहरूले हामीलाई यसरी चिनिरहेका छन् कि चीनका हरेक नागरिकले यो स्वेत चैत्य पुगेपछि नेपाल र नेपाली बुझ्ने छन् र भन्ने छन् ओहो नेपाल, ओहो नेपाली।
त्यसैले चीनले अरनिको कला कौशललाई उनी मरेपछि पनि जसरी संरक्षण र महत्व दिएका छन्, त्यसरी नै हामी नेपालीले पनि उहाँको कलाकौशलको संरक्षण र महत्व दिनु आजको आवश्यकता हो भन्ने लाग्छ।
अरनिकोलाई चीनमा पुस्तौंपुस्ता बचाइराख्ने र सम्झने गरी जुन कार्य गरेको छ, त्यसले नेपालीलाई पनि संरक्षण र महत्व दिएको र नेपाली जनताको सम्मान भएको महसुस गर्न सकिन्छ। अरनिकोबारे हामीले पनि पाठ्यक्रममा राखेर राष्ट्रिय विभूतिको परिचयले मात्रै पुग्दैन कि भन्ने लाग्छ। चीनले जस्तै नेपालले पनि अरनिकोलाई युगयुग बचाइराख्न आवश्यक देखिन्छ।
यो पनि:
विकासले फड्को मारेको त्यो चीन