यात्रा अनुभूति:
क्यानडा देशको कुरा गर्दा यस देशको स्थापना १ जुलाई १८६७ मा स्थापना भएकोले यही दिनलाई क्यानडा डे (Canada Day) भनेर मनाइन्छ।
नेपाल र क्यानडाको तुलना गर्ने हो भने नेपाल देशको स्थापना भएको १०० वर्षपछि क्यानडा देश स्थापना भएको थियो। नेपाल देशको स्थापनाको ऐतिहासिक सन्दर्भ १७६८ वि.सं. १८२५ मा गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले गरेका प्रयाससँग जोडिएको छ। उहाँले साना साना राज्यहरूलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो। त्यही भएर पृथ्वीनारायण शाहलाई हामी आधुनिक नेपालको राष्ट्रनिर्माता मान्दछौं।
सय वर्षपछि स्थापना भएको देश क्यानडा आज विकसित राष्ट्र त्यो पनि विश्वका टप १० भित्र पर्दछ। हामी भने विश्वका अविकसित देशमध्ये टप १० मा पर्दछौं। क्यानडियन मित्रहरूसँग इतिहासको कुरा हीनतबोध हुन्छ जब हामी कहिल्यै कुनै देशको अधीनमा रहेनौं, बुद्ध जन्मेको देश, सगरमाथाको देश भनिरहँदा।
क्यानडा देश भ्रमणको कुरा हुँदा टप पाँचौं घुम्नै पर्ने सहरभित्र पर्दछ भ्यानकुभर। भ्यानकुभरको इतिहास भने १८६० को दशकबाट सुरू भएको देखिन्छ। सुन खानीको खोजी गर्न आएका युरोपेली अन्वेषकहरूले यहाँ सुन त पाएनन् तर उनीहरूले नै स्थायी बस्ती बसालेका रहेछन्।
यो सहरको नाम समेत १७९२ मा यस क्षेत्रलाई नक्सामा उतार्ने बेलायती नेभल अधिकारी जोर्ज भ्यानकुभरको पारिवारिक नाम भ्यानकुभरबाट नामकरण गरिएको रहेछ।
-1743846317.jpeg)
-1743846314.jpeg)
यससँगै भ्यानकुभरको विकासमा यस सहरमा भएको १८८६ मा भ्यानकुभरको प्रारम्भिक विकासलाई तहसनहस गरेको ठूलो आगलागीलाई मानिँदो रहेछ। त्यही आगलागीले पुर्याएको ठूलो क्षतिको कारण भएको द्रुत पुनर्निर्माणले भ्यानकुभरलाई अझ बलियो, समृद्ध र व्यवस्थित बनेको विश्वास गर्ने धेरै क्यानडियनहरू रहेछन्। यस घटनालाई भ्यानकुभरले संकटलाई अवसरमा परिवर्तन गरेर आजको समृद्ध सहरको रूप लिन सफल भयो।
१९२०/३० को दशकमा यस सहरमा रहेको प्राकृतिक स्रोतहरू विशेष गरी काठ र मत्स्य उद्योगको माध्यमबाट आर्थिक प्रगति गरेको भ्यानकुभरको इतिहास रहेछ।
कुनै पनि देशको समृद्धिको आधारभूत पक्ष भनेको आफ्नो देशको स्रोतको पहिचान र त्यसको सदुपयोग हो। भ्यानकुभरसँग घना जंगल थियो त्यसमा लडेका, ढलेका रूखहरू थिए। अनि समुद्र थियो र समुद्रमा माछा थियो।
यी दुबै भ्यानकुभरले नि:शुल्क प्राप्त गरेका मात्र थिएन काठहरू कुहिएर खेर गइरहेका थिए। यही कुहिएर खेर गइरहेको काठ र नि:शुल्क प्राप्त हुने समुद्रमा रहेको माछाहरूको सदुपयोगको लागि जम्माजम्मी श्रम चाहिएको थियो। पाखुरी बजारे र प्रकृतिले थुपारेका माछाहरू, काठहरू जुन देशमा माग थियो त्यहाँ पुर्याउनु थियो।
काठ र माछालाई अर्को देशमा पठाउन १८८७ मा निर्मित क्यानडियन प्यासिफिक रेलवे थियो। यही रेलवेको कारणले भ्यानकुभरलाई मुख्य बन्दरगाह र व्यापारिक केन्द्र बनाएको थियो।
देशको आर्थिक विकासको मोडल नै यही हो। एक पटक सोचौं त नेपालले आर्थिक विकासको लागि नि:शुल्क प्राप्त गर्ने के होला?
सबै नेपालीको मुखमै जबाफ हुन्छ पानी, विश्वका ८ भन्दा बढी अग्ला हिमालहरू, हुम्ला जुम्लामा खेरा गैरहेको जडिबुटीहरू। हिन्दुको आराध्यदेव पशुपति, बौद्धको बुद्ध जन्मस्थान लुम्बिनी।
देशको भौतिक संरचनाको विकास गर्न अवश्य अर्थले महत्व राख्दछ। पैसा आर्जनको आधार व्यापार। जब हामी देशको आर्थिक विकासको कुरा गर्दर्छौं प्रश्न आउनुपर्ने हो नेपालले अर्को देशमा गर्ने व्यापारको। हामी व्यापारको त कुरा गर्दछौं तर देशभित्रको प्राकृतिक स्रोतको होइन हामीसँग भएको युवाहरूको।
-1743846317.jpeg)
-1743846312.jpeg)
हामी युवाको पाखुरी बेच्दछौं, पसिना बेच्दछौं र गौरव गर्दछौं।
देश विकासको आवश्यक स्रोतको लागि देशको प्राकृतिक स्रोत साधनको सदुपयोगको कुरा गर्दैनौं हामी कुरा गर्दछौं भिखको जसलाई हामी ऋण भन्दछौं अनि अत्यन्त राष्ट्रवादी बनेर उभ्रिन्दै कुरा गर्दछौं अनुदानको।
वास्तवमा न त अनुदान न त ऋण दुबै देशको गलपासो हो।
अनुदानको लागि दाताहरूको सर्त र स्वार्थलाई स्वीकार गर्नुपर्ने हुन्छ। ऋण त पक्कै ऋण भयो सावाँ ब्याज तिर्नुपर्छ नै। यहाँ समस्या सोचमा देखिन्छ न कि स्रोतमा। स्रोत त नेपालमा धेरै छन् जुन प्रकृतिले दिएको नि:शुल्क सम्पत्ति हो। यही प्राकृतिक स्रोतलाई नै व्यापारमा बदल्न सके मात्र देशले विकासमा गति लिन्छ।
म विश्वास गर्न सक्दिनँ कि आज विकसित भएका ती देशहरू अमेरिका, युरोपियन देशहरू, क्यानडा अथवा चीन या भारत, जापान ऋण र अनुदान मागेर विकसित भएका थिए। १००/२०० वर्ष अगाडि कुन धनी देशले यी माथि उल्लेख गरेको देशहरूलाई ऋण दिएका थिए होलान् र! ऋण अनुदान मागेर देश विकास गरेका थिए होलान्?
आज भ्यानकुभर उत्तर अमेरिकाको पर्यावरणीय र सांस्कृतिक केन्द्रका रूपमा प्रसिद्ध छ। यसको अधार भनेको यहाँको प्राकृतिक स्रोत काठ र माछा थियो। आज पनि यहाँको माछा प्रमुख आर्थिक विकासको आधार हो।
उनीहरूलाई यो पनि थाहा थियो कि कुनै दिन काठ सकिनेछ। माछाहरू अन्य देशले पनि निर्यात गर्नेछन्। त्यही भएर विकासको यो दौरानमा भ्यानकुभरले पर्यटनलाई समात्यो र आज आर्थिकको अर्को पाटो पर्यटन भएको छ।
यहाँको बन्दरगाहहरू आज अर्को आर्थिक स्रोतको रूपमा विकसित भएको छ। यसको प्राकृतिक सौन्दर्य समुद्र तट, र हिमालहरू त पक्कै अर्को महत्वपूर्ण आधारले विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने नै भए।
-1743846312.jpeg)
-1743846314.jpeg)
क्यापिलानो सस्पेन्सन्स ब्रिजको झण्डै १ घन्टाको धुमाइसँगै हामी पूर्णत: थाकेका थियौं। मेरी श्रीमती अलि मोटी हुनाले पनि मज्जाले थाकेकी थिइन्। त्यही भएर होला उनको सधैं मलाई यात्रामा यही हिँडाइको गनगन हुन्छ। यिनलाई डुल्नु नि पर्छ थाकेपछि फेरि त्यही गनगन।
अन्तत: छोरी ज्वाइँ पनि थाकेका थिए। क्यापिलानो सस्पेन्सन्स ब्रिजमा अवस्थित क्याफ्टेरियामा भोक अनि थकाइ मेटाउने भयौं। विशेष त मेरो शोख कफी। मैले कफी त्यो पनि अमेरिकानो डबल सट मगाएँ। छोरी ज्वाइँले मगाएको खाजापश्चात हामी होटल जाने योजना बनायौं र बाहिर निस्कियौं।
अलि बढी नै थाकेका कारण फेरि उबरको लागि मोबाइलमा ठेगाना खोज्दै गर्दा मैले बाहिर आरामदायी बस देखेँ। त्यो बस क्यापिलानो सस्पेन्सन्स ब्रिजबाट क्यानडा प्यालेस जाने रहेछ। हाम्रो होटल क्यानडा प्यालेसबाट नजिक नै थियो। क्यानडा प्यालेसबाट यो पार्कसम्म आउन जानको लागि नि:शुल्क सुविधा रहेछ।
हामीले पनि यो सुविधा सदुपयोग गर्ने भयौ र बसमा उक्लियौं। यो बसमा चढ्नको लागि चाहिने टिकट भने पार्कको टिकट नै थियो। पार्कको टिकट नहुनेहरूले भने यो बसको सुविधा लिन नसक्ने रहेछन्। झण्डै तीस मिनेटमा हामीलाई क्यानडा प्यालेसमा बसले छाडिदियो।
यो ब्रिज पार्कको भ्रमण गर्न चाहनेहरूलाई क्यानडा प्यालेसबाट नि:शुल्क बसबाट आउन जान म सिफारिस गर्दछु। क्यानडा प्यालेस भ्यानकुभरको प्रमुख पर्यटकीय स्थान हो। काठमाडौंको ठमेल जस्तै पर्यटकीय स्थान हो जहाँ जो कोही नपुगी कसरी फर्कन सक्लान् र!
क्यानडा प्यालेस भ्यानकुभर सहरको केन्द्रमामा अवस्थित एक आइकनिक भवन जुन मुख्यतः सांस्कृतिक, व्यापारिक, र पर्यटकीय केन्द्रको रूपमा प्रख्यात छ। यो भवन १९८६ मा विश्व प्रदर्शनी एक्स्पो ८६ का लागि निर्माण गरिएको रहेछ।
-1743846311.jpeg)
-1743846310.jpeg)
क्यानडा प्यालेसको वास्तुकला अनौठो छ, यसको मुख्य विशेषता पाँच वटा सेतो पालजस्तै देखिने संरचनाहरू हुन्। यसले क्यानडाको समुद्री इतिहासलाई झल्काउँदो रहेछ। मैले माथि भने जस्तै भ्यानकुभरको विकासको आधार नै यहाको समुद्र हो। यो भवन भ्यानकुभरको प्रशान्त महासागरको किनारमा अवस्थित छ, जहाँबाट प्रशान्त महासागर र पर्वतीय दृश्यहरू देख्न सकिन्छ।
यो ठाउँ पोर्ट पनि हो। सि प्लेनको मुख्य केन्द्र पनि यही नजिक छ। भिक्टोरिया जाने फेरी, सि प्लेन पनि यही नजिकै पाउने हुनाले क्यानडा प्यालेस अति रमणीय र म्यानकुभरको व्यापारिक केन्द्रको रूपमा पनि रहेको छ।
भवनभित्र विभिन्न सुविधा छन्, जस्तै भ्यानकुभर कन्वेन्सन सेन्टर, पाँचतारे प्यान प्यासिफिक होटल र थिएटर। यो स्थल क्यालगरी क्रूज टर्मिनलका रूपमा पनि प्रयोग हुन्छ, जहाँ हरेक वर्ष हजारौं पर्यटकहरू अलास्का जाने क्रूजहरूको यात्रा सुरू गर्छन्।
क्यानडा प्यालेस सांस्कृतिक महत्त्वको केन्द्र पनि हो, जहाँ राष्ट्रिय दिवसहरू, जस्तै क्यानडा डे, र अन्य विशेष कार्यक्रमहरू आयोजना गरिन्छन्। यो स्थल पर्यटक र स्थानीय बासिन्दाका लागि आकर्षणको केन्द्र बनेको छ। यसको अनौठो डिजाइन, मनोरम स्थान, र विविध कार्यक्रमहरूले यसलाई भ्यानकुभरको चिनारीको रूपमा स्थापित गरेको छ।
क्यानाडा प्यालेसको २०/२५ मिनेटको घुमाइपश्चात हामी अलि बढी नै थाकेको कारणले उवरको साथमा बासस्थानतिर हुइँकियौं।
क्रमश:
-1743846315.jpeg)
-1743846311.jpeg)
-1743846310.jpeg)
-1743846310.jpeg)
-1743846309.jpeg)
-1743846309.jpeg)