इन्डोनेसियाको बालीको बारेमा धेरै सुनेको थिएँ। प्राय: अस्ट्रेलियन लगायत अरू देशमा मानिसहरू पनि होलिडे मनाउन बाली गइरहेको पनि देखिरहेको थिएँ। त्यसपछि बाली मेरो 'बकेट लिस्ट' मा पर्यो।
सन् २०१९ मा जान तयार भए तर केही कारणवश योजना परिवर्तन भयो र अर्को वर्षलाई साँचेर राखेँ। त्यसपछि फेरि कोभिडको लहरले जान रोक्यो र अन्तत: यस वर्ष बुबाआमासँग बाली घुम्ने मौका जुर्यो।
हामी एयरपोर्टबाट गन्तव्यतिर जाँदै थियौं। बाटोमा महाभारत र गीताको दृश्य झल्काउने रथसहित कृष्ण र अर्जुनको विशाल मूर्ति देखियो। यो कला देख्ने बित्तिकै शिर नझुक्ने कारण केही थिएन। सुनेको थिएँ बालीमा देवताले बास गर्छन् तर महसुस पनि गरेँ।
अलि पर पुगेपछि धनुष हातमा लिएको रामको विशाल मूर्ति देखियो। म घाँटी तन्काएर गाडीबाट पछाडि फर्केर हेर्दा टूर गाइडले सोधिन्– आर यू हिन्दु?
म मुसुक्क हाँसेँ। 'इफ यू आर हिन्दु यू लभ बाली' उनले भनिन्।
'एण्ड यू ?' मैले उसको धर्म सोधेँ।
अलि हिच्किचाएर उनले भनिन्- 'मलाई अझै थाहा छैन म के हुँ भनेर। यदि मेरो पुर्खा हेर्ने हो भने म क्रिस्चियन चाइनिज हुँ। यदि मेरो आमाबुबाको धर्म अनुसरण गर्ने हो भने म मुस्लिम हुँ। र बाली आएपछि एउटा हिन्दु परिवारले मलाई छोरीको रूपमा स्वीकारेर पालेँ। अनि तीर्था इम्पुल मन्दिरमा लगेर मलाई अभिषेक गरेर सरसदेवी नाम राखिदिए। अनि म हिन्दु भएँ। मेरो हिन्दु परिवार छ र गायन्त्री मन्त्र सधैँ पाठ पनि गर्छु।'
यसो भनिरहँदा एक्कासि डिएन उर्फ सरस देवीले गायत्री मन्त्र उच्चारण गर्न थालिन्। आमाबुवा र म दुवै उनको मुखबाट मिठो गायत्री मन्त्र सुन्दा छक्क पर्यौं।
त्यसपछि हामी विस्तारै बाटोको अन्य विभिन्न विशाल भगवानको मूर्तिहरू दर्शन गर्दै गयौं।
हामी खाजा खान एउटा रेष्टुराँमा छिर्यौं। नम्र स्वभाव र मुदृल मुस्कानसहित हामीलाई स्वागत गरियो। खाजा खाएर बाहिर हामी निस्कँदा एक जना केटा दौडिँदै कार पार्कमा आयो। ऊ हामीतिर नै आउँदै थियो। असिनपसिन गरेर उसले सरस देवीलाई मोबाइल दियो र आफ्नो भाषामा केही भनेर फर्कियो।
'निरु, इज दिस् योर्स् मोबाइल?' उसले मोबाइल मलाई दिँदै भनिन्। मैले मेरो खल्ती छामेँ अनि हत्तनपत्त त्यो मोबाइल समातेँ। मैले मोबाइल टेबलमै नै छोडेर आएको रहेछु। यसरी मोबाइल छोड्दा आमाबुबाले गाली त गर्नु नै भयो। आमाबुबाको गाली त सहेँ तर मोबाइल हराएको भए कसरी सहन्थें जस्तो भयो।
'भेरी अनेस्ट पर्सन' मैले यसो भन्दा सरसदेवीले त्यहाँको मान्छेहरू कर्मामा विश्वास गर्ने बताइन्। भनिन्छ नि फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन। मलाई त्यही नै भयो त्यहाँको मानिसहरूप्रति।
त्यसपछि हामी प्रसिद्ध गरुडा विष्णु केन्शना साँस्कृतिक पार्कमा पुग्यौं। पार्कको दैलोदेखि निस्कने गेटसम्म हिन्दु कला संस्कृति र देवताले भरिएको स्थान थियो त्यो। त्यहाँ गएपछि थाहा पाइयो कि गरुडमाथि चढेको विष्णुको मूर्ति विश्वका सबैभन्दा ठूला मूर्तिहरूमध्ये पर्दो रहेछ। १२१ मिटर अग्लो मूर्ति एकदमै भावुक र सुन्दर थियो जब कि सबैभन्दा आकर्षण मानिएको अमेरिकाको स्ट्याचु पुच्छारदेखि शीर्षसम्म जम्मा ९३ मिटर मात्र अग्लो छ।
विश्वकै अग्लो मूर्तिहरूमध्ये यो मूर्तिले भव्यताको मात्र होइन, त्यहाँको संस्कृति, कला र सम्पदाको झल्को दिन्थ्यो। पार्कको मनमोहक दृश्य, अनुपम वास्तुकला र शान्त वातावरणले यो स्थानलाई प्रत्येक यात्रुका लागि अवश्य भ्रमण गर्नुपर्ने गन्तव्य बनाएको थियो।
भ्रमणमा हामी जति यात्रा गर्थ्यौं बाटोभरी विशाल भगवानको मूर्तिकलाहरू मात्रै देख्थ्यौं। मानिसहरू कति लगनले, कति विश्वास र आस्थाले भगवानको मूर्ति कोरेका र स्थापना गरेका जस्तो लागिरह्यो। आफ्नो सांस्कृतिक र धार्मिक धरोहरलाई कसरी सम्मान गर्नुपर्छ अनि पर्यटकहरूले पनि देख्नुपर्छ भन्ने कुरा त्यहाँको स्थानीय र सरकारमा प्रस्ट भएको देखियो।
हामी एकदिन तीर्था इम्पुल मन्दिर नुहाउन गयौं। त्यहाँ पानीमा डुबुल्की मारे वा छोयो भने मात्रै पनि आफ्नो नराम्रो कर्म र पाप पखालेर जाने विश्वास गरिँदो रहेछ। त्यो स्थानले मलाई गोसाइँकुण्ड र अन्य नेपालको होली स्पिङ्गको याद दिलायो। त्यहाँ दैनिकी हजारभन्दा पनि बढी मानिसहरू दर्शन गर्न आउने रहेछन्। अनि मनमा आयो के म त्यही देशमा छु जहाँ विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसंख्या छ। म के त्यही देशमा छु जहाँ बालीलाई हिन्दु धर्मको परम्परा, संस्कृति, र परम्परागत मूल्यमान्यताहरूलाई जीवन्त रूप राख्न अनुमति दिइएको छ। मुस्लिम बहुल देशमा हिन्दुहरूको पहिचान जोगाउन बालीले प्रस्तुत गरेको उदाहरण धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र परम्पराको सम्मान एकदमै ज्वलन्त लाग्यो।
लगभग एक हप्ताको बाली घुमाइमा अन्य विभिन्न ऐतिहासिक ठाउँसँगै अन्य समुद्री तट लगायत तथा आकर्षण स्थानहरूमा पनि गयौँ। तर धार्मिक, आस्था केन्द्रित, पुराना कला संस्कृति झल्काउने ठाउँभन्दा अन्य स्थानहरू फिक्का लाग्यो। मेरो लागि यो भ्रमण यो कुरा नै केन्द्र र महत्व बन्यो।
जब हरेकको घरको अगाडि केराको पातमा भगवानलाई चढाएको फूल र खानेकुरा देख्दा असन र इन्द्रचोकको झल्को दिलायो। घरको कलाकृतिहरू देख्दा भक्तपुर र पाटनको अनुभव गरायो। इन्द्र, चन्द्र, अर्जुन, निर्मला, देवता, राम, सीता, कृष्णा, राधा जस्ता नामहरू होडिङ्गबोर्डमा देख्दा ठाउँ एकदमै आत्मीयता लाग्यो। अन्य धर्महरूले पनि हिन्दुधर्मलाई स्वीकारेको र त्यहाँको हिन्दुधर्मावलम्बीहरूले पनि अन्य धर्मलाई स्वागत गरेको देख्दा त्यो भूमिप्रति सम्मान जागेर आयो।
अन्तिम दिन एयरपोर्ट फर्कंदै गर्दा हामी लामो समय जाममा पर्यौं। मेरो आँखा अगाडि विष्णुको ठूलो मूर्ति थियो। मोबाइल झिकेर फोटो खिचेँ। एकपटकमा राम्रो आएन फेरि दोहोर्याएर खिचेँ।
सरसदेवीले भनिन्– जय विष्णु देवता।
हामी उसलाई हेरेर हाँस्यौं। अनि उनी फेरि गायत्री मन्त्र जप्न होइन गाउन थालिन्।
हामीले केही सोधेनौं तर उसैले भनिन्– जब मेरो कारमा हिन्दु ग्राहकहरू हुन्छन्, मलाई गायत्री मन्त्र भन्न मन लाग्छ। गायत्री मन्त्र भनेर मैले व्यपार गरेको होइन। छिमेकीले बिहान अनि साँझमा दुई पटकसम्म गायत्री मन्त्र लगाएको सुन्दासुन्दा यो मेरो मुख, दिमाग, मुटु, नशा, रगत सबैतिर बग्न थालेको छ।
उनले यसो भनेपछि मैले नाइस, यो मन्त्र एकदमै पावरफूल छ मात्रै भनेँ।
जाम खुलेपछि अलि पर पुग्यौं अनि कृष्णको अर्को ठूलो मूर्ति आयो। त्यो मूर्तिको अगाडि फेरि जाम पर्यो अनि त्यो मूर्ति हेर्दै गर्दा मनमा केही प्रश्न र विचारहरू आए। आखिर प्रश्न र विचार आफ्नै देशमा गएर ठोकिने रहेछ। आखिर आफू जन्मेको देश, आफ्नो ठानेको देश, आफूले अपनाएको देशप्रति नै त रहेछ अपेक्षा हुने अनि प्रश्न गर्ने हक पनि रहने।
हरेक देवताको मूर्तिकलाको सामुन्ने अनि एयरपोर्ट सम्मको यात्रामा सोचिरहेँ – नेपालमा राजनीतिक परिवर्तनका नाममा वा क्रममा किन धेरै ऐतिहासिक मठमन्दिर भत्काइएका होलान्? सडक निर्माणको नाममा किन कति पुराना सालिकहरू हटाइए होला? किन कति सांस्कृतिक सम्पदाहरूलाई उपेक्षा गरियो? किन पुरानो दरबार र ऐतिहासिक क्षेत्रहरू, ढुङ्गेधाराहरू र सम्प्रादायिक स्थलहरू अलपत्र अवस्थामा राखिए ? मुश्लिम देशमा यसरी कयौं देवताहरूलाई घरदेखि सडकसम्म इज्जत दिइरहेको बेला तपोभूमि मानिएको देश नेपालमा देवताको मूर्तिहरू तोड्न जरूरी थियो? के धर्म, मठमन्दिर, कला, संस्कृति, सम्पदा, इतिहास जोगाएर पनि परिवर्तन ल्याउन सम्भव थिएन र? हामीसँग किन भिजनरी लिडर भएन? किन परिवर्तन स्वार्थ बन्यो? किन सोच क्षणिक बन्यो?
अखिर यो गर्दा देशलाई नै त घाटा भयो। देश दश वर्ष झन् उता धकलियो। यसरी ऐतिहासिक कलासंस्कृतिलाई अलपत्र र भत्काउँदा केबल भौतिक संरचनाको विनाश मात्रै होइन, सांस्कृतिक आत्माको पनि त विनाश भयो।
प्रश्नहरू एकपछि अर्को आइरहेको थियो। एउटा प्रखर मुस्लिम देशले आफ्ना सांस्कृतिक धरोहर र धार्मिक विविधतालाई यसरी सम्मान गर्न सक्दा, नेपाल जस्तो हिन्दु धर्म र बौद्ध संस्कृतिको उद्गम भूमिमा किन इतिहासलाई किन योजनाबद्ध रूपमा मेटाउन सकेन। के धर्म, मठमन्दिर, कला, संस्कृति, सम्पदा, इतिहास जोगाएर पनि परिवर्तन ल्याउन सम्भव थिएन र?
के परिवर्तन ल्याउन सम्पदाको विनाश अनिवार्य थियो र? इन्डोनेसिया, जापान, थाइल्याण्ड र अन्य देशले आफ्नो परम्परागत कला, धर्म र संस्कृति जोगाएरै आर्थिक र सामाजिक विकासका उदाहरण प्रस्तुत गरिरहेको बेला हामीले योबाट किन सिकेनौं। कयौं नेताहरू विदेश भ्रमण गरे, कति यस्ता पुरातात्विक ठाउँहरूमा पुगे तर एयरपोर्टको चेकइनमा सबै फ्याँकेर खाली दिमाग लिएर नेपाल फर्किए। परिवर्तन आवश्यक छ, तर परिवर्तनको नाममा आफ्नो मौलिकता गुमाउँदा, आफ्नो धर्म र संस्कृति र इतिहासलाई नजोगाएर समाज अघि बढ्न सकिँदैन, देशको आर्थिक र पर्यटकीय पक्ष कमजोर भइन्छ भन्ने हेक्का देश बनाउँछु भनेर शीर्ष स्थानमा बस्ने र सत्तामा आउन खोज्नेहरूले सोच्नै भ्याएन।
विश्वका धेरै देशहरूले आफ्नो सांस्कृतिक सम्पदालाई जोगाउँदै आधुनिकता अपनाएको उदाहरण हामीले अनुशरण गर्न सक्दछौं। इन्डोनेसियाको सरकारले बालीका मूर्तिहरूप्रति देखाएको सम्मानले हामीलाई सिकाउँछ कि परिवर्तनका नाममा आफ्नो जरा काट्नु आत्मघाती हो।
योसँगै हाम्रो सवाल केवल भौतिक संरचनाको संरक्षण होइन, हाम्रो पहिचान, आत्मा र इतिहासलाई जोगाउँदै अघि बढ्ने हो। परिवर्तन सम्भव छ, तर त्यो परिवर्तन आफ्नै जरा गुमाएर होइन, आफ्ना सम्पदाहरूलाई पनि अँगाल्ने हो।
बालीमा हिन्दु धर्म केवल धर्म मात्र नभएर जनजीवनको अभिन्न अंश रहेको महसुस गरेँ। त्यहाँका मठमन्दिरहरू, मूर्तिहरू, र धार्मिक कर्मकाण्डहरूले केवल धार्मिक आस्था मात्र होइन, बालीको सांस्कृतिक, सामाजिक, र आर्थिक जीवनलाई पनि समृद्ध बनाएको देखियो। त्यहाँको हिन्दु धर्म र संस्कृति जोगाउन, स्थानीय सरकार, समुदाय, र जनताबीच गहिरो सहकार्य रहेको पनि देखियो। त्यहाँ धार्मिक विविधता कुनै विभाजनको कारक नभएर एकताको प्रतीक बनेको छ। बालीले देखाएको सहिष्णुता र संरक्षण नेपालको लागि प्रेरणादायी छ।
बालीको यो सफलताबाट नेपालले पनि धेरै कुरा सिक्न सक्छ। नेपालले पनि आफ्नो सांस्कृतिक विविधतालाई गर्वका रूपमा अँगाल्न आवश्यक छ। नेपालको हिन्दु, बौद्ध, इसाई, मुस्लिम र अन्य धर्महरूको सहअस्तित्वलाई प्रोत्साहन दिँदै परम्परा र आधुनिकताबीच सन्तुलन कायम गर्न सकिन्छ।
विश्वमा अन्य कयौँ उदाहरणहरू छन् कि धार्मिक, सांस्कृतिक, र ऐतिहासिक सम्पदाको संरक्षणले देशको पहिचानलाई बलियो बनाएको छ। परिवर्तनका नाममा परम्परा मेटाउनुभन्दा, परिवर्तन र परम्परालाई सँगसँगै अघि बढाउनु नै बुद्धिमानी देखियो।
सोच्दै सोच्दै हामी एयरपोर्ट आयौँ।
हाम्रो सुटकेश निकाल्दै उनले मेरो आमाबुबासँग भनिन्– मलाई पनि नेपाल घुम्न आउन मन छ।
मैले बीचमा बोलेँ– आऊ नेपाल एकदमै सुन्दर छ। भौगोलिक रूपमा तिमीले एकैपटक पहाड, हिमाल, तराईको अनुभव गर्न सक्छौं।
'अनि हिन्दु कलासंस्कृति आर्टको पनि?,' उनले सोधिन्।
'बालेन सहरमा सबै देख्छ भन्न।' बुवाले मलाई भन्न लगाउनु भयो। बुवाको तात्पर्य पछि बुझेँ।