त्यस दिन हामी अमेरिकाको समुद्र किनारै किनार सुन्दर फ्लोरिडा राज्यको टेम्पा सहरमा थियौं।
अरू राज्यमा जाडोका बेला अति जाडो, गर्मीका बेला अति गर्मी भएजस्तो यहाँ हुँदोरहेनछ, न जाडो न गर्मी! जाडोमा बढी जाडो नहुने अनि गर्मीमा पनि बढी गर्मी नहुने फ्लोरिडाको हावापानी साँच्चै लोभलाग्दो रहेछ!
जाडो छल्न होस् कि गर्मी, अमेरिकीहरू फ्लोरिडालाई आफ्नो गन्तव्य ठान्दारहेछन्। नेपालको पूर्वी पहाड धनकुटा, तेह्रथुम, भोजपुर, ताप्लेजुङतिरका मानिस पुसमाघमा जाडो छल्न तराइतिर झरेजस्तो अमेरिकीहरू फ्लोरिडा जाँदारहेछन्। फ्लोरिडा नेपालको पोखराजस्तो पर्यटकीय सहर रहेछ।
शुक्रबारको एक साँझ ज्वाइँ प्रकाशले हामीलाई हेरिटेज भिलेज घुमाउन लैजाने कुरा गर्नुभयो, अठारौं र उन्नाइसौं शताब्दीमा अमेरिकाको फ्लोरिडा कस्तो थियो भनेर सजीव चित्र उतारिएको हेरिटेज भिलेज।
कम्प्युटरमा हेरेर छोरीले भोेलिको मौसम घमाइलो हुनेछ भन्ने पत्ता लगाइन् अनि भनिन्, ‘बेलुका फर्कंदा मेक्सिकन रेस्टुरेन्ट चिपोट्लेमा डिनर खाने; ड्याडीलाई मन पर्ने कालो मासजस्तै सिमीको तरकारी, भात पापड र सलाद पाइन्छ।’
परिकारको कुरा सुनेपछि मेरी आमाले हिङ र जिम्मुले झानेर बनाउने गरेको मासको दाल मेरो मानसपटलमा टुप्लुक्क देखापर्यो। मेरी आमाले पकाएजस्तो त सपनाले बाहेक कसले पो पकाउला र!
भोलिपल्ट बिहानको खाना खाएर टेम्पास्थित हाम्रो निवासबाट निस्कियौं। मौसम राम्रो थियो, न जाडो थियो न गर्मी।
गाडी चढ्ने बेलामा छ्याङ्ङ खुलेको आकाशतिर आफ्नो चोर औलाले देखाउँदै सपनाले छोरीसित सोधिन् ‘ऊ धुवाँको मुस्लो पो कुदेको छ त आकाशमा, के हो नानी?’
छोरीले कुरा बुझाइन्। वेदर फरकास्ट (मौसम भविष्यवाणी) गर्ने स्याटलाइट कुदेको बाटो पो रहेछ।! यहाँको आकाशमा हरदम स्याटलाइट घुमिरहँदो रहेछ, त्यसले गरेको मौसम भविष्यवाणी ठ्याक्कै मिल्ने हुँदो रहेछ।
मलाई आफू सानै छँदाको एउटा घटना सम्झना भयो। दिउँसो बिस्कुन सुकाउनु छ भने आमा बिहानै भन्नुहुन्थ्यो, ‘आज रेडियाले के भन्छ सुन है केटाकेटी हो, मौसम सफा रहनेछ भन्छ कि बदली हुनेछ भन्छ।’
रेडियोले मौसम सफा रहने छ भन्यो भने आमा खुसी हुँदै बिस्कुन सुकाउने तरखर गर्नुहुन्थ्यो। एक दिनको कुरा हो, बिस्कुन सुकाएको एक घण्टाजति हुँदै थियो, धुम्म हुँदै आयो र छिनभरमै पानी पर्न थाल्यो।
आमाले रोष प्रकट गर्नुभयो, ‘यो रेडियाका ठाँडाले पनि कहिले त केही पनि जान्दैन, पानी पर्दैन भन्थ्यो, आखिर यस्तो दर्केर पर्यो।’
रेडियोले ‘आज मेघ गर्जनसहित वर्षा हुनेछ’ भनेको सुनेर आमा बिस्कुन नसुकाई बस्नुहुन्थ्यो। त्यसै दिन टण्टलापुर घाम लाग्थ्यो। फेरि आमाको गाली खान्थ्यो रेडियोले।
यस्तो घटना दोहोरिरहन्थ्यो।
यता फ्लोरिडाको यातायात र सञ्चारको बृहत् विकास अनुभव गर्न पाएर म दंगदास थिएँ। हामीसँगै निर्माण भएका मुलुक विकासका बाटामा कहाँबाट कहाँ पुगे, हामी कहाँ छौं भन्ने कुरा मनमा खेल्यो। हाम्रा राजनीतिक दल र तिनका नेता, कर्मचारी इत्यादिप्रति नराकात्मक भाव उत्पन्न भयो।
‘के सोचेर बसिराख्या! जाऔँ न, ज्वाइँसाहेबले गाडी स्टार्ट गरिसक्नुभयो,’ सपनाले कोट्याउँदै भन्दा झसंग भएँ।
म र सपना पछाडिको सिटमा बस्यौं, छोरी अघिल्लो सिटमा बसिन्। हाम्रो गाडी चिटिक्क परेको सडकमा गुड्न थाल्यो। सडक र आसपमा फोहोरमैला, धुलो, कसिंगर केही पनि छैन।
न्युरोड पिपलबोटमा पाँच महिना पहिले पालिस गरेका मेरा जुत्ता दिनदिनै लगाउँदा पनि उस्तै थिए, पालिस दोहोर्याउनु परेको थिएन।
छोरीले गाडीमा भएको यन्त्रमा गन्तव्यको ठेगाना टाइप गरेर इन्टर गरिन्। सानो स्क्रिनमा हेरिटेज भिलेज जाने बाटो देखापर्यो। जिपिएसमा एउटी महिलाको सुरिलो आवाज सुनियो– गो अहेड, टर्न राइट, टर्न लेफ्ट, गो अहेड।
त्यही निर्देशनअनुसार ज्वाइँले गाडी चलाउनुभयो। बाटाको जालो थियो, एकनासले गाडी गुडिरहेका थिए, सडकमा मान्छे देखिंदैनथे। त्यहाँको हाई वेतिर त पैदल यात्रु नै नहुने रहेछन्!
बाटामा पुलको जालो भेटियो। हाम्रो गाडी जुन पुलमा गुडिरहेको थियो त्यसमाथि तीनवटा र तल तीनवटा पुल थिए। सबैमा दोहोरिलत्ता गाडी गुडिरहेका थिए।
सडकको अनुशासन कस्तो भने, कसैले कसैलाई ओभर टेक नगर्ने, खासमा गर्नै नपर्ने! हर्नको आवाज त सुन्न पाए हुन्थ्यो भन्दा पनि नपाइने!
फेरि मलाई मेरो देश सम्झना भयो। राजधानी सहर काठमाडौं, मेरा नजिकका सहर इटहरी र विराटनगर सम्झनामा आए। त्यहाँको चर्को ट्याँट्याँ र टुँटुँ सम्झेर मन खिन्न भयो।
मुलुकको विकासको पहिलो पक्ष यातायात रहेछ। दोस्रो रहेछ नागरिक अनुशासन।
मेरो मनले बाटाघाटा बनाउन कन्जुस्याइँ भएन र नागरिक अनुशासित भए भने विकासको गति स्वतस्फूर्त अघि बढ्ने रहेछ भन्ने ठहर गर्यो।
मेरो देशमा सडक र सार्वजनिक जमिन मिचेर निजी संरचना बनाएको र साँघुरो सडकका कारणले भोग्नुपरेको सकस सम्झना भयो। बाटो साँघुरो भएकै कारणले आफू बसाइँ सर्नुपरेको सम्झेर लामो सुस्केर निस्कयो।
मेरो देशमा त साँघुरा बाटामा ठुल्ठुला बस चल्छन्, बसमा भिड त्यस्तै! गुन्द्रुक खाँदेजसरी यात्रु खाँद्छन्, बोलिवचन खपिनसक्नु टर्रो! मलाई आफ्नो देश सम्झना भयो।
भैरव अर्यालले लेखेका थिए–
पथ सातफुटे बस नौगजको
सिट बीस भए भिड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अलकापुरी कान्तिपुरी नगरी।
हाम्रो गाडी गल्फ अफ मेक्सिको समुद्रको बीचबाट बनाइएको बाटो छिचोल्दै हुइँकिदै थियो। समुद्रको छाल उचालिएर आलोपालो आउँथ्यो र जान्थ्यो। सिकारी चरा समुद्रमा माछा पक्रन डुबुल्की मार्थे।
कयौं मानिस निकै माथि उड्दै गरेका प्यारासुटका डोरी हातले अँठ्याएर समुद्रमा बुर्कुसी मारिहेका देखिन्थे, कोही जेटस्कमा दौडिंदै मस्त थिए।
हामी चार प्राणी ती मानिसको पुरुषार्थ हेर्दै आफ्नो बाटोमा अघि बढिरह्यौं। मेरो मनमा अनेक विचारको छाल ओहोरदोहोर गरेको गर्यै थियो।
हाम्रो गाडी ‘सब वे’ भनिने ‘रेस्ट एरिया’मा एकछिन रोकियो। रेस्ट एरिया गल्फ अफ मेक्सिकोको बगरमा थियो।
बगरमा अर्ध नग्न युवायुवतीहरू एकापसको अंकमालमा बाँधिएर बालुवामा लडिरहेका देखिन्थे। कोही जोडी बाँधेर किनारमा निस्फिक्री हिँडेका देखिन्थे।
एउटी काली युवतीले गोरे युवकका गालामा च्वाप्प मारेर म्वाइ खाई। गोरेले अझ बेगवानरूपमा म्वाइबाटै कालीलाई जबाफ दियो। सायद उनीहरूभित्र पनि गल्फ अफ मेक्सिकोमा झैं कुनै छाल चलिरहेको थियो!
यस्ता दृश्यहरूमा त्यहाँ कसैलाई एकअर्काको निन्दा र वास्ता थिएन। त्यस बगरको रोमान्टिक दृश्य मेरो मानसपटलमा खिचिने क्रम चलिरह्यो।
नाकको डाँडीबाट झर्न लागेको कालो चस्मा देब्र हातको चोर औंलाले माथितिर ठेल्दै र दाहिने हातको चोर औंलाले देखाउँदै सपनाले आश्चर्य प्रकट गरिन्– अहो! कति अग्लो पुल! हेर्नुहोस् त बुढा!
मैले सही थापें– ए हो त! बाफ रे बाफ!
समुद्रमाथि लठ्ठा हालेर बनाइएको त्यो गगनचुम्बी पुल हाम्रै स्वागतमा उभिएझैं लाग्यो।
‘अस्ति हामी सेन्टपिट जाँदा पानीजहाज देखेका थियौं नि! हो त्यस्तै ठुला पानीजहाज त्यही पुलमुनि हुँदै आउँछन्। पानीजहाज नजिकै आएपछि यो पुल स्वाट्ट खुल्छ, पानीजहाज गएपछि जस्ताको तस्तै भएर जोडिन्छ, साना वाटर बोट त यसमुनिबाट सजिलै छिरिहाल्छन्।’
हाम्रा ज्वाइँ प्रकाशले पुलको विज्ञान बयान गर्नुभयो।
छोरी साधनाले सुनाइन्– यो त अमेरिकाको सबैभन्दा अग्लो पुल हो रे!
फेरि पनि मैले आफ्नो देश सम्झें। सप्तकोशी, सप्तगण्डकी, कर्णाली जस्ता नदीमा जल यातायातको सम्भावना परिकल्पना भयो, कठै मेरो परिकल्पना!
राणाशासन पतन भएर प्रजातन्त्र आयो। राजतन्त्र सकिएर गणतन्त्र आयो तर हाम्रा नेताका विवेकमा लागेको भोटेताला खुल्न सकेन, कठै मेरो देश!
मेरो मनले नीतिनिर्माण र शासनसत्ताको भ्रष्टाचार, स्वेच्छाचारी बोली र व्यवहार, भुत्ते मस्तिष्क सिंगो देशको अभाग रहेछ भन्ने निष्कर्ष दियो। अव्यक्त चिन्ताले मनमा डेरा बनायो।
हाम्रो गाडी समुद्र पार गरेर बस्तीमा पसिसकेछ!
सपनाले फेरि आश्चर्य प्रकट गरिन्– त्यो अग्लो, ठुलो पिलरजस्तो देखिने के होला!
उनले देखेको ‘पिलर’ मैले पनि झलक्क देखें तर गाडी निकै अघि बढिसकेको थियो।
ती पिलर बिजुलीबत्ती आविष्कार हुनुअघिका ‘लाइटहाउस’ पो हुन् रे! राति सडक उज्यालो बनाउन ती पिलरका टुप्पामा ‘पेट्रोम्याक्स’ बालिन्थ्यो रे!
राज्यले जनतालाई कुनै सूचना दिनु परे त्यसैमाथि चढेर सिठ्ठी बजाइन्थ्यो रे! सिठ्ठीको आवाज सुनेर मानिस भेला हुन्थे रे अनि सूचना प्रवाह गरिन्थ्यो रे!
उहिले हाम्रो देशमा पनि सूचनाका लागि गाउँमा गाइने पठाइन्थे भनेर लेखेको कतै पढेको थिएँ। ‘कटुवाल कराउने’ प्रथा त कतैकतै अझै जीवतै छ।
गाइनेहरूहरू अझै पनि सारंगीको धुनमा गीत गाउँदै चेतनामूलक सन्देश सुनाउँदै हिँड्छन्।
प्रधानमन्त्री भीमसेन थापाले काठमाडौंको सुन्धारामा धरहरा बनाउन लगाए। धरहराको टुप्पोबाट ढोल बजाएर सूचना प्रवाह गरिन्थ्यो भन्ने कुरा पढ्न पाइन्छ।
राज्यले कुनै कर लगाएको, करको दर घटबढ गरेको, कुनै कानून बनाएको, राजाका सन्तान जन्मिएको, राजदरबारमा मरुमराउ भएको इत्यादि सूचना धरहराको टुप्पोबाटै फैलाइन्थ्यो रे!
यस अर्थमा हाम्रो धरहरा कुनै समय ‘सूचना स्तम्भ’ पनि थियो।
यस्ता धरहरा संसारका धेरै ठाउँमा बनेका थिए। लन्डनको ‘पोस्ट अफिस टावर’ र पेरिसको ‘इफेल टावर’ यस्तै प्रतिनिधि उदाहरण हुन्।
स्कुलमा पढ्दा अब्राहम लिंकनको जीवनी पढेको मधुरो सम्झना भयो।
लिंकन गरिब दाउरेका छोरा हुनाले विद्यार्थी छँदा किताब किन्ने औकात थिएन रे! उनी साथीसँग किताब मागेर ल्याउँथे! मट्टितेल किन्न नसकेर घरमा बत्ती बल्दैन थियो! उनी राति सडकबत्तीमा पढ्थे!
लिंकनको समयमा बिजुली बत्ती नै थिएन त कस्तो सडक बत्तीमा पढ्थे! वर्षौंदेखि नपाएको प्रश्नको जबाफ पाएको जस्तो भयो।
पुर्खाका ती संरचनाहरू आजका ऐतिहासिक सम्पदा हुन्। वर्तमानका र भावी पुस्ताले देख्नुपर्छ, आफ्नो इतिहास थाहा पाउनुपर्छ भनेर लाइट हाउसको संरक्षण गरेका रहेछन् अमेरिकीहरूले।
गाडीको यन्त्रले हामी गन्तव्यमा पुगेको जनाउ दियो। अनगन्ती कार भएका ठाउँमा ज्वाइँले हाम्रो कार पार्किंङ गर्नुभयो। नजिकै रहेको एउटा अत्याधुनिक ‘पिलर’ मा आफ्नो क्रेडिटकार्ड घोट्नुभयो। एउटा प्वालबाट रिसिप्ट बिल फुत्त निस्कियो।
त्यो बिल कारअगाडिको सिसाबाट प्रष्ट देखिने गरी राखिदिएर हामी अठारौं शताब्दीको अमेरिका हेर्न बडो उत्सुकतासाथ हेरिटेज भिलेतिर गयौं।
अपराह्न पौने दुई बजेको रहेछ! घमाइलो दिन खुब रमाइलो थियो। हामी अठारौं र उन्नाइसौं शताब्दी भल्किने हेरिटेज भिलेजमा छिर्यौं।
ग्रामीण नेपालमा फुसले छाएका झुपरपट्टी जस्ता घर परैबाट देखिए। आधुनिक विज्ञानप्रविधि विकास हुनुपूर्व नै बनेका घर रहेछन्। त्यहाँको बस्ती हेरेर त्यो समयको अमेरिका अनुमान गर्न सकिन्थ्यो
त्यो समयको एउटा गाउँ जस्ताको जस्तै संरक्षण गरिएको रहेछ। घुम्दै जाँदा एउटा पुरानो दमकल पनि देखियो। दमकलमा दुईतर्फ दुईवटा घण्टी थिए। म सानो छँदा विराटनगरमा पनि घण्टीवाला दमकल देखेको थिएँ।
त्यहाँको वनभित्र एउटा आरन पनि थियो। आरनमा एक जना बुढाले आगोमा तताएर रातो पारेको फलाम सनसोले समातेर मुड्कोमा राखेको र एक युवतीले त्यो फलाम चुटेर आकार दिन खोजेको आकृति थियो।
त्यहाँ खरको छानो भएको एउटा छाप्रो थियो। त्यो रहेछ त्यस बेलाको चर्चा जहाँ पुरानो एउटा बाइबल पनि राखिएको थियो जसका पाना प्लास्टिकका थिए।
जोहन्स गुटेन बर्गले पहिलोपटक अविष्कार गरेको ‘वाइन प्रेस’ मा छापिएको पहिलो पुस्तक बाइबल थियो रे! छाप्रे चर्चको बाइबल त्यही पो थियो कि जस्तो लाग्यो।
निकै अनौठा लाग्ने सांस्कृतिक पहिरनमा सजिएका बालबालिका र युवकयुवती त्यो समयका नृत्य र सांस्कृतिक झाँकी प्रस्तुत गर्ने सुरसारमा रहेका जस्ता आकृति पनि थिए।
भिलेजको एक छेउमा एउटी बुढी मान्छे पुरानो सिलाइ मिसिन लिएर लुगाफाटो टालटुल गर्न थालेकी जस्ती देखिन्थिन्।
हामी यस्ता अनेक पुराना दृश्य हेर्दै हेरिटेज भिलेजमा रमायौं।
हेरिटेज भिलेजमा एउटा खुला संग्रहालय पनि रहेछ जहाँ त्यो समयका अमेरिकीले लगाउने पोसाक, सिकार खेल्ने गुलेली र मट्यांग्रा, गरगहना आदि राखिएका थिए। प्राचीन फ्लोरिडाका बासिन्दाले चलाउने फलामका हतियार र सामुद्रिक प्राणीका जीवावशेष पनि थिए।
त्यो संग्रहालयमा मानिसको घुँइचो लाग्दो रहेछ। बढी जसो त विद्यालयका शिक्षक र विद्यार्थी हुँदा रहेछन्। उनीहरू त्यहाँ प्राचीन मानिसका पोसाक लगाएर नाचगान पनि गर्दारहेछन्।
एउटा संग्रहालयको मात्र के कुरा! फ्लोरिडा राज्यको पिनेलास काउन्टीमा रहेको सिंगो हेरिटेज भिलेज नै ऐतिहासिक संग्रहालय रहेछ।
यसले फ्लोरिडा राज्यको इतिहास र सग्लो संस्कृति प्रदर्शन गरेको छ। यहाँका पुराना घर, चर्च, स्कुल र अन्य संरचनाहरू उही शैलीमा पुनर्संरचित पनि गरिएका रहेछन्। त्यस बेलाका मानिसले किनमेल गर्ने एउटा व्यापारिक भवन रहेछ।
हामीजस्ता आगन्तुकले किनमेल गर्ने पसल पनि पुरानै शैलीका रहेछन्।
हेरिटेज भिलेज एउटा वनभित्र छ। यो ठाउँ फ्लोरिडाको मानव इतिहास अनुसन्धानका लागि प्रमुख गन्तव्य मानिँदो रहेछ, पारिवारिक भ्रमणका लागि झनै आनन्दको ठाउँ!
मेरो देशमा यस्ता प्राचीन बस्ती कति होलान्! हाम्रा पुर्खाको इतिहास थाहा पाउन तिनको संरक्षण होला कि नहोला!