अहिले आलुको सिजन हो। माथिल्लो हिमाली भेगका किसानहरू बारीमा माटोभित्र रहेका सुनजस्ता आलु खोतल्दै छन्।
यहाँका किसानको जीवनचक्र नै आलुमा आधारित छ। वर्षमा कम्तीमा पनि दुईदेखि पाँच लाखसम्मको आम्दानी यसैबाट हुन्छ। यही आलु बेचेरै घरखर्च चल्छ। छोराछोरीको पढाइदेखि लुगाफाटा, चाडपर्व, दैनिकी सबै यहीबाट टारिन्छ।
जिरी नगरपालिका–६, हाटडाँडाबाट करिब ६–७ किलोमिटर उकालो लागेपछि पुगिन्छ—बुलडाँडा।
मूलतः शेर्पा समुदायको मात्र २९ घरधुरी बसोबास गरेको यो गाउँ केही वर्षअघिसम्म सडक सञ्जालबाट टाढा थियो। अहिले भने यहाँको बाटो गुराँसपार्कसम्म पुगिसकेको छ। गाउँमा बत्ती छ, खानेपानी छ, विद्यालय छ।
स्थानीय समाजसेवी इन्द्रबहादुर खड्काको अगुवाइमा बुद्धपार्क बनेको छ। सबैलाई पायक पर्ने गरी गुम्बा पनि बनेका छन्। २०७२ सालको भूकम्पले ढुंगामाटाले बनेका तीनतले पुराना घरहरू चिराचुरा पारे पनि—केही अझै उभिइरहेका छन्, सायद तिनै घरमा अहिले पनि जीवन सुगन्धित भइरहेको छ। बुलडाँडाको नाम पनि रोचक छ।
भन्ने गरिन्छ—पहिला यहाँ धेरै डाँडाहरू थिए। एक डाँडा चढेपछि अर्को डाँडा, त्यसपछि फेरि अर्को डाँडा। यसैक्रममा कतैबाट बाटो भुलेछन् अघिल्तिर गएका बासिन्दाहरू। घरको बाटो सोध्दा, ‘भुल्यौं, भुल्यौं’ भनेर भनिएको रे। ‘भुल्यौं’ भन्ने शब्द अपभ्रंश हुँदै ‘बुल’ मा रूपान्तरण भयो रे। त्यसपछि यस ठाउँलाई नै ‘बुलडाँडा’ भनिन थालियो। अहिले गाउँभरि आलु खन्ने चटारो छ। यहाँको जीवनशैलीमा ‘पर्म’ संस्कृति गहिरो छ—छिमेकीबीचको आपसी सहयोग।
बिहानै खाना खाएर कोहीकोही बारीतिर लाग्छन्, आलु खन्न पर्म साट्न। पर्म नलाए मान्छे नै नपाइने, अनि आलु खेतमै सड्ने अवस्था आउँछ। बारीमा ढकमक्क फुलेको देखिन्छ—भैसेसिमी, पाङ्रेसिमी, भोटेसिमी र सेतोसिमी। सेतो, रातो, रंगीन फूलहरूले गाउँ झन् रंगीन देखिन्छ। सिमीको दाम पनि लोभलाग्दो छ। सयदेखि ७ सय रुपैयाँसम्म एक पाथीको।
कतिपय किसानले गतवर्ष १० हजार रुपैयाँभन्दा बढीको सिमी बेचेका रहेछन्। गाउँका प्रायः सबै घरमा जर्सी गाई छन्। बिहान–बेलुका दूध दुहेर बजार पठाइन्छ। गाई र आलुले गाउँलाई आत्मनिर्भर बनाएका छन्। छोराछोरीहरू भने कोरिया, अस्ट्रेलिया, जापान जस्ता देशमा अध्ययन र रोजगारीमा छन्।
गाउँमा बूढापाकाको जिम्मा, खेतीपाती र संस्कारको जिम्मेवारी अझै बाँकी छ। बुलडाँडा केवल कृषिमा आत्मनिर्भर गाउँ मात्रै होइन, यो पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्य बनिरहेको छ। यहाँ शेर्पा समुदायको संस्कृति, परम्परा, वेशभूषा, खानपान र जीवनशैली नजिकबाट नियाल्न सकिन्छ।
२५ सय मिटरभन्दा बढी उचाइ भएको यस डाँडाबाट जिरीको अधिकांश भूभाग नियाल्न सकिन्छ। यही प्राकृतिक सुन्दरताले गर्दा अब यहाँ सिजनको मात्र होइन, वर्षौंभरी घुम्न आउनेको पाइला बढिरहेको छ।
वर्षायाममा बुलडाँडा घुम्ने रहर मेरो मनमा पहिलेदेखि थियो। जिरी घुम्ने क्रममा त्यो रहर पूरा भयो। रिपोर्टिङ मात्र होइन, अनुभवले भिजेको यात्रा बन्यो यो। डाँडामा उभिएर हेर्दा देखिने हरियाली, गाउँका जीवन्त अनुहार, आलु खन्दै गरेका हात र फुलिरहेका सिमीको मुस्कानले मलाई भुल्न नदिने गरी मनमा बस्यो—बुलडाँडा।
तस्बिरहरू:
-1754654879.jpg)
-1754654879.jpg)
-1754654878.jpg)
-1754654878.jpg)
-1754654876.jpg)
-1754654876.jpg)
-1754654877.jpg)
-1754654878.jpg)
-1754654876.jpg)
-1754654875.jpg)
-1754654875.jpg)
-1754654875.jpg)