यात्रा, सुन्दा रमाइलो लाग्ने शब्द हो। अझ घुम्न चाहनेहरूका लागि ट्रेक जानु भनेको अझ रमाइलो शब्द हो। प्रकृतिको इसारामा आफूलाई डोर्याउँदै यात्रा गर्नु पनि झन् स्मरणीय मात्र होइन, हावा, पानी र माटोसँगको मित्रता पनि त हो।
काम सकेर घर पुगिसकेको थिएँ, पर्सि त हामी ट्रेक जाँदैछौं भन्ने प्रस्ताव आयो। प्रायः मेरी प्रिय श्रीमतीले यस्तै झट्का दिने गर्छिन्। सल्लाहभन्दा पहिला निर्णय सुनाउने बानी जो छ। उनीहरूको जाने निर्णय भैसकेको छ। ५-६ दिनको यात्रा तर भर्खर असार सकिन लागेको अर्थात् खाता रित्तिएको समय। एकछिन अलमलपछि भोलि कामको चाजोपाजो हेरेर भनुँला भनेँ।
मन लागेपछि काम बाधक किन बन्थो र? मोबाइल अफ गरेपछि पहाडै खसे पनि त के भो। भोलिपल्ट साउनको दोस्रो सोमबार ३ बजे म, श्रीमती लक्ष्मी, भाइ कैलाश, बुहारी सुनिसा र भाञ्जी अंकिता, ५ जना काठमाडौंको लागि गाडी चढ्यौं। बेलुका ९ बजे नागार्जुन बहिनीकोमा बस्यौं।


भोलिपल्ट बिहानै १ बजे विद्युतीय भ्यान घर अगाडि आइपुग्यो। पोखराबाट पाँच जना र काठमाडौंबाट बहिनी शान्ति, ज्वाइँ अनिल र भान्जी ईश्वरा गरी आठ जना इभी चढ्यौं। कुखुराको भाले नबास्दै धार्के हुँदै गल्छी पुग्यौं। पृथ्वी राजमार्गलाई देव्रे पारी त्रिशूली भेट्न दाहिने गाडी गुड्यो।
बिहानैको समय राति पनि नसुतेको निद्राले च्याप्दै थियो तर हाम्रो जस्तै अवस्था चालकको पनि थियो। गाडीको अगाडि बसेर निदाउनु भनेको चालकलाई पनि निद्रामा तान्नु जस्तो लागेर, सकिँदै-नसकिँदै गफ र गीतमा भुलाउँदै यात्रा बढाइरह्यौं तर पछाडि सिटमा बस्नेहरूले त निद्रा पूरा गरे होलान्। त्रिशूली आफ्नो गतिमा वेग थप्दै गरेको देख्न सकिन्थ्यो। लेकतिर वर्षा भइरहेको अनुमान गर्न गाह्रो थिएन।
गाडीको गति बढाउँदै, स्यालका बथानलाई लखेट्दै, तादी खोला र त्रिशूलीको दोभान देवीघाट आइपुग्यौं। देवीघाट जहाँ पृथ्वीनारायण शाहको हत्या भएको ठाउँ हो। त्यहाँ पृथ्वीनारायण शाहको शालिक पनि रहेछ तर अँध्यारोको कारण हो या सडकभन्दा भित्र भएर हो, यात्रामा देख्न सकिएन।
देवीघाटबाट केही समयपछि बट्टार बजार आइपुग्यौं। घडीमा ४ बजिरहेको थियो। यही ठाउँबाट टोखा,काठमाडौं र गल्छी, घादिङको सडक छुटिन्छ। त्यहाँ केही समय गाडीमा चार्ज गर्दै बेत्रावती पुगेर नुवाकोटलाई विदाई गरियो र रसुवामा प्रवेश गरियो। उकालो सडक लाग्दै थियौं। कालिका स्थानमा गाडी रोकियो। ५ बज्न १५ मिनट बाँकी थियो। यहाँबाट लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश रहेको छ। त्यहाँ गाडी दर्ता गरेर ५ बजे मात्र सवारी प्रवेश खुला गरियो। रसुवागढी नाका बन्द रहेको कारण ठूला सवारी सडकमा देखिएका थिएनन्। साँघुरा सडकहरू, धुम्तीमा कसरी पास हुन्छन् होला, कन्टेनर बोकेका गाडीहरू अनुमान गर्न गाह्रो थियो। कहालिलाग्दा, भिर माथिका साँघुराहरू सडक, पहिरो गएका पहाडहरू, जंगल छल्दै पुन:निकुञ्जको अर्को पोइन्टमा चेकजाँचका लागि गाडी रोकियो।
यहाँको चेकिङले २०५७/५८ तिरको याद दिलायो। झोला बोकेर चेक पोइन्टमा जाने, सामान निकालेर देखाउनु पर्ने रहेछ र यही निकुञ्ज प्रवेशको लागि नेपालीहरूले १०० रुपैयाँको टिकट लाग्ने रहेछ, लिए। विदेशीहरूलाई फरक मूल्य रहेछ। हामी धुन्चे बजारको नजिकै थियौं। यहाँबाट २० मिनेटमा धुन्चे बजार पुग्यौं। तयारीमा छुटेका सामान यहीँ किन्यौं। गाडीका झोलाहरू निकाल्यौं, गाडीलाई भोलि भेट्ने गरी बिदाई गरियो। बिहानको ७ बजेको घडीले बतायो।
धुम्चे बजार समुद्री सतहदेखि २००० मिटरमा अवस्थित रसुवाको मुख्य बजार हो र हाम्रो ट्रेकको पहिलो खुट्किलो किनकी यहाँबाट हामी पैदल हुनेछौं।
हातमा लठ्ठी, १०-१२ किलोको झोला साथमा प्रकृतिसँगको नजिकतासहित धुम्चे बजारबाट यात्रा प्रारम्भ गरियो।
२० मिनेटको हिँडाइपछि सानो झुलेङ्गे पुल आउँछ, जुन घट्टेखोला हो। यो पुलले यात्रा सुरू भएको जनाउँछ। फोटो खिचिन्छ, खोला सुसाएको सुन्न सकिन्छ। हल्का उकालो यात्रापछि सानो होटल भेट्यौं र चिया पियौं। अनि उकालो यात्रा सुरू गर्यौं।
यात्राको केही मिनेटमा झरना भेटिन्छ, हेर्न र फोटो खिच्ने यो पनि गन्तव्य हो। तर पानीको सतह बढेको कारण हामी झरनासम्म पुग्न सकेनौं। अब भने ठाडै भिरको बाटो अनुमान गर्न सकिन्थ्यो। काठका साना पुलहरू थिए। चट्टान रूपी पहाड उक्लँदैछौं।


कहाँ जाँदै हो भन्ने कुरा अनुमान लगाइरहनु भएको होला। मभन्दा पहिले पुगेर पनि आउनु भएको होला। तर यसपालि लेखाइका शब्दहरूमा तपाईंहरूसँगै कुण्डहरूको पहाड उक्लने कोसिस गर्दैछु।
३ घण्टाको पैदलपछि धट्टे खोला, खिम्दी हुँदै देउराली पुगिन्छ। जुन बाटोले सुरूआतीमा शरीर गलाउँछ। एक मनले उक्लनु कि झर्नु भन्नेमा पार्छ। खुट्टा गलाउँछ। हामीले पहिले नै खाना तयार गर्न सम्पर्क गरेका थियौं। खाना त्यही देउराली होटलमा खायौं। थकाइलाई थकाइ मार्यौं।
सुरूआती थकाइ, खानापछि शरीर आराम माग्दै थियो तर बस्ने छुट हामीलाई थिएन। फेरि ११ बजे उकालो लाग्यौं। भर्खर खाना खाएका कारण उकालो कठिन हुन थाल्यो। यात्रा पूरा गरेर फर्किएका मानिसहरू भेटिन थाले। माया लाग्ने गरी थकित देखिन्थे। हामीलाई सम्झाउँदै थिए। यस्तो गर्नु, त्यो गर्नु भन्दै सुझाव दिन्थे। हामीले पनि कति समय लाग्छ सोध्थ्यौं। फोटो खिच्न र भिडिओ बनाइरहेका थियौं। साँच्चिकै खोला, नाला, रूख, बिरूवा, चट्टान, माटोसँग मित्रता गरियो।
१ घण्टाको उकालोपछि डिम्सा आइपुग्यौं। यहाँबाट यात्राको अर्को दु:ख सुरू भयो। पानी पर्यो। रेनकोट ओढ्नु पर्यो। एकैछिन यहीँ रोकियौं र फेरि पैदल लाग्यौं। पुन १ घण्टा अलि बढी हिँडेपछि चन्दन वारि आइपुग्यौं। यो यात्राको ठूलो बजार यहीँ चन्दन वारि रहेछ। पहिले यहाँ चन्दनका रूखहरू थिए रे। तर अहिले चन्दनका नामको कुनै निशान पनि रहेनछ। तर उही पुरानो रूखहरूको नामबाट स्थान रहेछ। धुम्चेबाट अलि ढिलो १२-१ बजे यात्रा सुरू गर्नेहरूका लागि चन्दन वारि पहिलो दिनको बसाइँ हुन सक्छ। हिँड्न गारो हुनेहरूको लागि देउराली, खिम्सा नै हो। चन्दन वारिमा केही समय रोकियौं। वाईफाईमा जोडियो। एकछिन अपडेट लियौं र चौरीगाईको दुधबाट बनेको चिया पियौं। झमझम पानी परिरहेको छ। पुन: यात्रा सुरू गरियो।
बाटो अलि बढी अप्ठ्यारो आयो। धेरै माटो मात्र भएको बाटो, पानी परि रहेको र घोडा खच्चड हिँडेको कारण बाटो चिप्लो र हिलो थियो। बाटोमा नेपाली र विदेशी प्रशस्तै भेटिन्थे। हतार-हतार गर्दै ४ जना आर्मीहरूले हामीलाई उछिन्दै दौडिरहेका भेट्यौं। किन दौडिरहेको भेउ पाउन सकेनौं। वर्षौंदेखि घाम नदेखेका जस्ता रूखहरू थिए। ढुंगाभरि हरियो लेउ पलाएका छन्। रूखको फेददेखि टुप्पोसम्म लेउले लेप गरिएको थियो। रमणीय थियो। हल्का वर्षासँगै मन रमिरहेको थियो। यो बाटो कहीँ उकालो र कहीँ समथर रहेका छन्। जंगलको मज्जा तपाईं यहाँ लिन सक्नुहुन्छ। लालिगुराँसका रूखहरू, धुपीका बडेमानका रूखहरू भेटिन्छन्। लगभग दुई घण्टाको कठिन पैदलपछि चोलाङ्ग पार्टी आइपुग्यौं। अगाडि हतारिएका आर्मी, थप आर्मीहरू केही युवासँगै सेतो कपडाले बेरेका २ वटा शव देख्यौं। त्यहीँ लास स्कर्टिङका लागि आएका रहेछन्।
यहाँ धुम्चेमा तिरेको रसिद पुनः देखाउनु पर्ने रहेछ। चेकजाँच गरियो। १० मिनेट अगाडि धर्मशाला भेट्यौं। आडैमा पानीको धारा भेट्यौं। यहीँ जुस, चाउचाउ, दालमोट चिउरा खायौं। शरीर बसेर उठ्न नसक्ने, उठे बस्न नसक्ने थियो। हाम्रो आजको गन्तव्य टुंगो थिएन। पहिलो पटक ट्रेकमा आउनु भएको भान्जी अंकितालाई आजको यात्रा महँगो पर्दै थियो। सबभन्दा बढी गाह्रो भएको देखिन्थ्यो। पुन: उकालो लाग्न थाल्यौं। यो यात्राको पहिलो ठाडै उकालो यात्रा हो यो। कंक्रिटका सिँढीहरू बनाइएको छ। फलामका रेलिङ पनि अब देखिन्छन्। तर पनि सहजै पैदल हुँदैन। बाटैभरि चौंरीहरू चरिरहेका छन्। अलि अलि बाटोको कारण तीर्थ भनौं कि मन्दिर जाँदैछौं भन्ने आभास हुन्छ। शरीरमा शक्ति सकिएपछि लौरीबिना आइपुग्यौं।
घडीको सुइँले बेलुकाको ५ बजेको संकेत गर्यो। पहिलो दिनको बसाइँका लागि (अन्य समयमा) यो अन्तिम स्थान हो। तर यतिखेर जनै पूर्णिमा मेला भएको कारण बाटोमा प्रशस्त टेन्टहरू बनिरहेका छन्।
लौरीबिना आइपुग्दा हामी ८ जना २ समूहमा विभाजित हुन पुगेका थियौं। ४ जना अझै माथि जाने भन्ने, ४ जना यहीँ बस्ने। विवाद सुरू भयो। म, श्रीमती, शान्ति र ज्वाइँ अझै माथि उक्लने भयौं। भाइ, बुहारी, भान्जीहरू त्यहीँ नै बस्ने भए।


ओहो! हाम्रो यात्राको सबैभन्दा चुनौतीपूर्ण बाटो। ठाडै उकालो। शरीर त ठेगानमा थिएन। खुट्टा लड्खडाउँदै थियो तर हिँड्न सुरू गरिएको थियो। जति हिँड्दा पनि टुप्पो नभेट्ने। २ घण्टाको उकालोपछि बुद्ध मूर्ति आइपुग्यौं। थोरै अन्य मान्छेको कुराले राहत मिल्थ्यो। अब उकालो बाटो कम छ भन्दा संसार जितेझैं लाग्ने। त्यही पाटीमा केही खायौं र पुन: लाग्यौं। यहाँबाट भिरैभिरको बाटो छ। बाटोमा फलामको रेलिङ लगाइएको छ। भिरबाट नलड्नका लागि बार लगाइएको छ। रात र पानी परेको कारण खासै दृश्यहरू थम्याउन सकिएन। चिसो बतास, पानी सहितको बतास उठाउँलाझैं। बतास चल्दा पछाडि फर्किएर बस्नुपर्ने। हैट! होइन भने त उडाउँला जस्तो।
पर बत्ती बलेको देखिएको छ तर जति हिँड्दा पनि भेटिँदैन। थकानले हिँड्न सक्ने अवस्था छैन। टर्चलाइट, मोबाइलको लाइटले बाटो पछ्याउँदै छौं। ८:३० बजे हामी गन्तव्य पुग्यौं। तपाईं र म अहिले ४३८० मिटरमाथि रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्डमा आइपुग्यौं।
जाडोले हात कामिरहेको छ। होटलवालाले ४ जना सुत्न मिल्ने कोठा देखाए। आज होटल खाली जस्तो छ, दुई-दुई जनालाई कोठामा बस्नुस् भने। केटा मान्छे रूम: ४, केटी मान्छे रूम: ५ मा बस्नुस् भने। हामी एकछिन अलमलमा पर्यौं। चुप लागेर कपडा फेर्यौं। आगो तापेर ज्यान न्यानो गरायौं र खाना खायौं। खाना र बस्न प्रत्येक व्यक्तिका लागि १६०० रुपैयाँ। खाना खाँदै अघि देखि मनमा लागेको कुरा सोधेँ। केटा केटी एउटै कोठामा बस्न नपाइने नियम हो? होटलवालालाई सोधेँ, 'दाइ हामी त बुढाबुढी सँगै कोठामा बस्न नपाइने?' उनले हाँस्दै भने, 'छुट्टै कोठा माग्नुभयो छुट्टाछुट्टै बस्ने सोचेर।'
जाडोले हो या पानीमा भिजेर हो वा सिधै हाई अल्टिच्युटमा पुगेर हो, रातभरि निद्रा पर्न सकेन। टाउको दुखेर सुत्न सकिनँ।
झ्यालबाट उज्यालो छिर्न थाल्यो। बिहान ६ बजे भयो। उठेर हात-मुख धोयौं। श्रीमती साडी लगाउन थालिन्। यतिकैमा लौरोबिनामा बास बसेका पनि आइपुगिसकेका थिए। उनीहरू बिहान ४ बजे नै हिँड्न सुरू गरेका रहेछन्।
आहा! डाँडै डाडाले घेरिएको पहाडको बीचमा कुण्ड। नीलो, निश्चल, आनन्दित।
पृथ्वी मन्थनको कथा पढ्नु सून्नु भएको होला। त्यही पृथ्वी मन्थनको बेला कालकुठ विष उत्पन्न भएको थियो। त्यो विष महादेवले पिउँछन्। विषको राप सहन नसकेपछि महादेव यहाँ आइपुगे। त्रिशूलले पहाडमा प्रहार गरेर पानी निकाल्छन् र पिउँछन्। त्यहीबाट निस्किएको पानीले कुण्ड बन्छ र त्यही कुण्डमा डुबुल्की मारेर राप शान्त पार्नु भएको थियो। त्यही कुण्डलाई गोसाइँकुण्ड भनिन्छ। शिव गोसाइँ बाबाको रूपमा पुगेका कारण गोसाइँकुण्ड नाम रहेको किम्वदन्ती रहेछ। 'गो' को अर्थ पृथ्वी र 'साई' को अर्थ मालिक हो। पृथ्वीको मालिक भनेर पनि प्रचलित रहेछ। त्रिशूली नदीको मुहान पनि यही हो। गोसाइँकुण्डसँगै त्रिशूल कुण्ड, भैरव कुण्ड पनि छन्। यहाँ पार्वती, सूर्य, सरस्वती कुण्ड लगायत १०८ कुण्डहरूसमेत अवस्थित छन्। खुलेको आकाश, नीलो पानी, ठूलाठूला ढुङ्गाहरूको पहाड। सायद स्वर्ग भनेको नै यस्तै ठाउँहरू हुन्। ट्रेक र धार्मिक कारण पनि यस स्थान झन् महत्वपूर्ण छ। कुण्डको तलको भागमा भैरव कुण्ड छ।


माथिल्लो भागमा त्रिशूल कुण्ड छ। कुण्डमा स्नानका लागि स्थान बनाइएका छन्। शिवलिङ्ग राखिएको छ भने कुण्डभन्दा अलि माथि महादेवको मन्दिर छ। हामी कुण्डमा डुबुल्की मार्यौं, ओहो कस्तो चिसो पानी! जल चढायौं। मन्दिरमा आरती गर्यौं। कुण्डसँगै तस्बिर लियौं। बिहानको ९ बजेसम्म हामी पूरै आनन्दित रह्यौं। ९ बजेपछि प्राय: यहाँ तुवाँलोले ढाकछोप गर्दो रहेछ। अघिल्लो दिन जहाँ बसेका थियौं, बिहान ६-७ बजे कुण्ड पुग्ने गरी यात्रा तय गर्नु पर्नेछ। हिजो बाटोमा भेटिएको दुई शवहरू २ दिन अगाडि यहीँ कुण्डमा अस्ताएका सपनाहरू थिए। पानी र गहिराइसँगको हेलचक्र्याइँको कारण उनीहरूले जीवन अन्त्य गर्नु पर्यो। उनीहरूको चिर आत्माको कामना।
होटल फर्कियौं, लुगा फेर्यौं। अनि झोला बाँधेर १० बजे गोसाइँकुण्डबाट प्रस्थान गर्यौं। हिजो बेलुका राति भएका कारण नदेखिएका पहाडहरू हेर्यौं। फूलले ढाकिएका पहाडहरू। फूलहरूसँगै रमाउँदै हिँड्यौं। लौरो बिना देखि माथि रूखहरू भेट्टाइएनन्। भेटिन्छन् त फूलहरू, स्वतन्त्रतामा रमाएका आकाश।
हिजोको बाटो तर अलि हतार गरेर ओरालो लाग्यौं। आज पनि यात्रा सुरूआतदेखि नै वर्षाको सामना गर्न परिरहेको थियो। वर्षासँगै भान्जी अंकिताको खुट्टाले पनि साथ छोड्न थालेको थियो। छिटो हिँड्नेहरू हिँडिरहे। खुट्टा दुख्नेहरू बिस्तारै।
चन्दनबारीमा २ बजे खाना खायौं। ७:३० मा धुम्चे पुगेका थियौं। अनि राति १ बजे काठमाडौं।



