मुम्बई भारतको सबैभन्दा ठूलो आर्थिक नगर हो, ग्ल्यामरको सहर र समुद्र तटीय क्षेत्र हो।
मानिसहरू विभिन्न बहानामा मुम्बई पुग्छन्। यति धेरै मान्छे पुग्छन् कि सायद रैथाने जनसंख्याभन्दा पनि बढी। त्यहाँ पुगेपछि घुमघामको कुरा भइहाल्छ। तर कहाँ घुम्ने, के हेर्ने, सबैका लागि जानकारी हुने कुरा भएन।
मुम्बई कुनै पनि हिसाबले पर्यटकीय नगर होइन। तर मान्छे देश विदेशबाट त्यहाँ पुगेपछि घुमघाम त हुने नै भयो।
यसकारण पर्यटन व्यवसाय पनि फस्टाउने नै भयो। त्यहाँका सबैजसो ठाउँहरू एक प्रकारले दर्शनीय छन्, बनाइएका छन्।
मुम्बई तीनतिरबाट समुद्रले घेरिएको सहर हो। चारैतिरबाट घेरिएको हुन्थ्यो भने टापू हुन्थ्यो। तीनतिरबाट घेरिएकोले अर्धटापू भन्दा फरक नपर्ला। तीनतिर समुद्री तट भएपछि पर्यटकका लागि आकर्षण हुनुपर्ने हो तर छैन।
संसारभरि नै समुद्र नीलो देखिन्छ। मुम्बईको अनौठो छ, यहाँको पानी धमिलो छ। यसकारण पनि पर्यटकीय सहर बन्न नसकेको हो कि!
म तीनपटक मुम्बई सहर पुगेको छु। त्यहाँका धेरै दर्शनीय स्थलहरू घुमेको छ। म घुम्दा सहर घुमाउने सुविधायुक्त पर्यटकीय बस थिएन। यात्रु कोचेर राख्ने बसमा चढ्नुपर्थ्यो। हाम्रो टिमलाई घुमाउने गाइड भने साह्रै हँसिला र फरासिला व्यक्ति थिए। मुम्बईको दृश्यले नलोभ्याउँदा उनका कुराले लोभ्याउँथ्यो।
सहर घुम्ने क्रममा एक दिन मध्य सहरमै पार्सी समुदायको चिहानस्थलमा पुगियो। चिहानको पर्यटकीय महत्व हुन्छ भन्ने लाग्दैन। तर पार्सी समुदायको अनौठो मृत्यु संस्कारका कारणले त्यहाँ घुम्नु र त्यसको जानकारी लिनु निकै रोचक हुने रहेछ।
पार्सी समुदायका व्यक्तिहरू दानधर्ममा अति नै विश्वास गर्छन्। त्यसको एउटा उदाहरण भारतको टाटा समूह हो जसले आफ्नो नाफाको ठूलो हिस्सा जनहितमा खर्च गर्छ। टाटा मेमोरियल क्यान्सर अस्पताल, टाटा इन्स्टिच्युट अफ सोसल साइन्स यसका केही उदाहरण हुन्।
हाम्रो यात्रा गाइडले चिहानको रूपमा निकै गहिरो र ठूलो एउटा इनार रहेको बताए। इनार कसरी चिहान हुन्छ भन्ने प्रश्न मनमा उठ्नु स्वाभाविक भयो।
पार्सी समुदायका व्यक्तिको मृत शरीर टुक्राटुक्रा पारिँदो रहेछ र चिल, कौवा, गिद्ध जस्ता चरालाई खान दिइँदो रहेछ। मृत शरीर उपयोग हुँदा स्वर्ग प्राप्त हुन्छ भन्ने उनीहरूको विश्वास रहेछ। चराले खाएर बचेको हाडखोर त्यही इनारमा खसालिँदो रहेछ।
यसरी एउटा इनार नै सामूहिक चिहान भएको रहेछ।
सहर घुमाउने क्रममा गाइडले हामीलाई त्यहाँको ह्यांगिङ गार्डेनमा पुर्याए। घुम्ने समय करिब आधा घन्टा पाइयो। त्यति समय त ह्यांगिङ गार्डेन कसरी बनाइएको रहेछ भनेर थाहा पाउन खोज्दाखोज्दै बित्यो। त्यो गार्डेन त हाम्रो रत्नपार्कको बगैंचा जत्तिको पनि थिएन।
त्यहाँबाट निस्केपछि बसले हामीलाई फिल्म सिटी पुर्यायो। मुम्बई 'माया नगरी' का रूपमा पनि चिनिन्छ। यसको मुख्य कारण बलिउड फिल्म उद्योग हो। त्यहाँ पुग्ने जो कोहीलाई लाग्छ, यति धेरै फिल्म बन्ने सहरमा जताततै फिल्म सुटिङ भइरहेको देख्न पाइएला, हिरोहिरोइनहरू सडकमा भेटिएलान्।
त्यस्तो केही पनि देखिँदैन।
फिल्म सिटी भनेर पुर्याएको ठाउँ घुम्न आधा घन्टा समय दिइएको थियो। त्यहाँ फिल्म सुटिङका विभिन्न दृश्यहरू होलान् भन्ने मेरो कल्पना थियो। तर त्यसविपरीत एउटा घना जंगल र सामान्य खालको डाँडो भएको ठाउँ पो रहेछ।
त्यस्तो ठाउँ कसरी फिल्म सिटी भयो भन्ने प्रश्न उठ्ने नै भयो। फिल्ममा देखाइने जंगलको सबै जसो दृश्य त्यहाँ छायांकन गरिँदो रहेछ। चौर जस्तो खाली ठाउँमा सेट लगाएर ग्रामीण दृश्य बनाइँदो रहेछ।
हाम्रो खुल्दुली थाहा पाएर हाम्रो गाइडले एउटा चौर जस्तो ठाउँ देखाउँदै भने– 'हिना' फिल्मका लागि पाकिस्तानी गाउँको सेट यहीँ बनाएर फिल्म सुटिङ गरिएको थियो।
उनको कुरा सुनेपछि पो फिल्म सिटी भन्नुको अर्थ थाहा भयो।
समुद्री तटको सहर घुम्दा समुद्र नछुने कुरै भएन। पर्यटकीय बसले समुद्र देखाउने र छुन लगाउने दुई–तीन वटा ठाउँमध्ये सबैभन्दा प्रख्यात भन्दै 'जुहु बिच' पुर्यायो जहाँ अरेबियन सागरको समुद्री लहरसँग साक्षात्कार हुँदो रहेछ।
गाइडले एक छिन जुत्ता खोलेर समुद्री लहरको आनन्द लिन सुझाव दिए। त्यहाँको पानी अत्यन्तै धमिलो थियो, अनेक फोहर र प्लास्टिकका बोतल यत्रतत्र तैरिएको देखिन्थ्यो। त्यस्तो पानीमा समुद्री लहरको के आनन्द हुनु! हेर्दै सिकसिक लाग्ने!
जुहु बिचको अर्को विशेषता के रहेछ भने त्यहाँ भारतीय सिनेमाका प्रख्यात हिरो–हिरोइनहरूका बंगला रहेछन्। गाइडले यो फलाना हिरोको, यो फलाना हिरोइनको भनेर बंगलाहरू देखाए तर त्यहाँ हिरो–हिरोइन बस्छन् भनेर पत्याउन कठिन थियो। अग्ला पर्खालले घेरिएका बंगलामा उनीहरू कसरी बस्लान् जस्तो लाग्ने।
मुम्बईको 'गेट वे अफ इन्डिया' लाई पुरातात्विक महत्वको ठाउँ मानिँदो रहेछ। यसबाहेक यस्ता ठाउँ रहेनछन् भन्दा फरक नपर्ने रहेछ।
मुम्बईलाई त्यहाँको बन्दरगाहले आर्थिक सहरमा परिणत गरेको रहेछ। हाम्रा गाइडले बताएअनुसार त्यहाँबाट ससाना पानीजहाज र डुंगा आवतजावत गर्छन्।
इन्डिया गेट वे नजिकै टाटा समूहको आइकनिक मानिने 'होटल ताज' रहेछ। त्यही होटलमा सन् २००३ मा आतंकवादी हमला भएको थियो। गेट वे अफ इन्डिया तथा होटल ताज मुम्बईका आकर्षण केन्द्र रहेछन्।
अन्य हिरो-हिरोइनका घर गाइडले देखाउने वस्तु मात्रै थिए। मुम्बईको बान्द्रा पश्चिममा शाहरूख खानको 'मन्नत' भन्ने विशाल भवन रहेछ। त्यो घर भने पर्यटकहरूको आकर्षणको केन्द्र रहेछ। तर निकै अग्लो पर्खालले घेरिएको हुँदा घरको स्वरूप देख्न नपाइँदो रहेछ।
हामी पुग्दा त्यो ठाउँ सुनसान थियो। तर अहिले हरेक दिन शाहरूखप्रेमी हजारौं मानिस जम्मा हुन्छन् भन्ने सुनिएको छ। शाहरूख घरमा छन् भने उनले जम्मा भएका मानिसलाई 'दर्शन' पनि दिन्छन् भनिन्छ।
उनको घरअगाडिको समुद्रीतट खासै रोचक थिएन। बरू यत्रतत्र मानव मलमूत्र देखिन्थ्यो।
समुद्रमा अलिक पर कुनै भारतीय कम्पनीले तेल निकाल्ने विशाल उपकरण गाडेको देखिन्थ्यो।
हाम्रा गाइडले सहरको लगभग मध्य भागमा अवस्थित 'धारावी' का बारेमा बताए। धारावी धेरै बलिउड फिल्मको कथा वस्तु बनेको हामीलाई थाहा छ। खास गरी झोपडपट्टीको जीवनसँग सम्बन्धित कथा वा कुनै दृश्य छ भने त्यहीँ ठाउँ फिल्म स्टुडियोजस्तो हुँदो रहेछ।
गाइडले एसियाकै सबैभन्दा ठूलो झोपडपट्टी अर्थात् 'स्लम' यही हो भनेर जानकारी गराए। त्यो झोपडपट्टी मुम्बई सहरमा बस्ने गरिबहरूको बस्ती थियो। धारावीको झोपडपट्टी र त्यसवरिपरि देखिने गगनचुम्बी महलहरूबीच कुनै तालमेल थिएन। तर पनि पर्यटकहरूलाई देखाइने एउटा रोचक ठाउँ थियो।
मुम्बई भ्रमणका सिलसिलामा म एकजना आफन्तलाई भेट्न सहरबाट अलिक बाहिर एउटा ठूलो कोलोनीमा जानु थियो। बिहानको सात बजेको थियो। त्यहाँ पुग्ने सडक राम्रो थियो तर दुबै किनारमा अनेक फोहोर र इँटामाटो छारस्ट देखिन्थ्यो।
एउटा दृश्यले मुम्बईको सहरी जीवनलाई असाध्यै गिज्याएको थियो। सडकको दुबै किनारामा पुरूषहरू शौच गर्न लहरै बसेका हुन्थे। सडकमा हुने आवतजावतसँग निस्फिक्री देखिन्थे। पछि थाहा भयो, उनीहरू सडकमै जीवन गुजारा गर्ने मान्छेहरू थिए, उनीहरूको शौचालय हुने कुरै भएन।
मैले अन्तिमपटक मुम्बई भ्रमण गरेको पनि धेरै वर्ष बितिसकेको छ। हालै एकजना पर्यटन व्यवसायी साथीले मुम्बई सहरको बदलिँदो परिदृश्यका बारेमा मलाई बताए– मुम्बईमा मोदीको 'स्वच्छ भारत' अभियानको राम्रो प्रभाव परेको छ। पहिले सडकमै शौच गर्ने मानिसहरू अहिले सार्वजनिक शौचालय प्रयोग गर्छन्। बान्द्रा र बर्ली जोड्न समुद्रमा ८ लेनको ५.६ किलोमिटर लामो 'केवल स्टेड' पुल बनेको छ।
यस्तो परिवर्तनले भारतको तीव्र आर्थिक विकासको छनक दिन्छ।
ती साथीका अनुसार सबैभन्दा रोचक पक्ष के छ भने कुनै बेला एसियाकै सबैभन्दा ठूलो झोपडपट्टीका रूपमा परिचित धारावी अहिले आर्थिक उत्पादनको केन्द्र भएको छ। त्यहाँ अत्यन्त कम आय भएका व्यक्तिहरूका लागि घरै पिच्छे घरेलु उद्योग खोलिएका छन्। प्रत्येक घर उत्पादन एकाइ भएका छन्।
त्यहाँ निकै ठूलो परिमाणमा कपडा उत्पादन हुन्छ। त्यो कपडा भारतीयहरूको बसोबास रहेका मुलुकहरूमा पुग्छ। कुनै बेला फोहोरले कलंकित बस्ती अहिले ठूलो कारखानामा परिणत भएको छ।
हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्