आदरणीय नियात्राकार गीता रेग्मी दिदीको म्यासेज टुप्लुक्क म्यासेन्जरमा देख्छु। 'छोरीलाई छिटोभन्दा छिटो ठिक बनाउने अनि यता जाने है!'
'२०८० कात्तिक २५ गते शनिबार बिहान ६:३० बजेदेखि बेलुका ६ बजेसम्म ओशो तपोवनमा ध्यानको कार्यक्रम राखिएको हुँदा इच्छुकले २२ गते बुधबारसम्ममा नाम टिपाउनु होला। नास्ता ९:३० र खाना २ बजेसहित प्रतिव्यक्ति रु ५०० लाग्ने समेत जानकारी गराउँछु।'
म्यासेज देख्नेबित्तिकै छोरी बिमारी भएको पनि भुसुक्कै बिर्सिएँ।
मन उडेर तपोवनमा पुगि त हाल्यो।
ओशोका लठ्ठ पार्ने विचारहरूले तान्न थालिहाल्यो। मेरो मनमा एकैचोटि बसन्त मुस्कुरायो।
अहो! तपोवनमा गएर ध्यानको अभ्यास गर्ने! त्यो पनि पूरै एक दिन! ईश्वरले पनि भन्छन् रे ‘तँ चिता म पुर्याउँछु’ हो कि क्याहो! तपोवन जाने इच्छा कयौं वर्षदेखि सङ्गालेकी थिएँ। हुरूक्क भएर जान मन लाग्दालाग्दै पनि जान नपाएको ठाउँ हो-ओशो तपोवन।
सायद तपोवनप्रतिका नकारात्मक समाचारहरूले मेरो मस्तिष्कमा सङ्कीर्णताको जालो बुन्दै लगेछ। अनि हेर्दाहेर्दै ती छुद्र र मसिना विचारको जालोहरू बलिया फलामे सिक्री बन्दै गएछन् र थाहै नपाउने गरी मेरा गोडाहरूमा नेल बनेर ठोक्किएछन्। त्यसै खप्तड बाबाले लेखेका होइनन् नि विचार विज्ञान।
हामीलाई विचारले कति असर गर्छ पत्तै नहुने रहेछ। नेगेटिभ र पोजेटिभ त हरेक ठाउँमा हुन्छ। हामीमा भर पर्छ त्यसलाई कसरी प्रयोग गर्ने।
कुनै पनि दृष्यलाई हेर्ने दृष्टिकोण कस्तो छ त्यो अनुसार दृष्य देखिने रहेछ। जसरी सेतो बादलका थुम्काहरूलाई हेरेर भिन्नभिन्न मान्छेले भिन्न भिन्न दृष्य देख्छन्। तर हामी त रे का भरमा विश्व भ्रमण गरेर नियात्रा नै लेखेर सम्मानित पुरस्कार पाउँछौं र आफ्नो विचारले प्रभाव पारेर नूतन नियात्राकारहरू पनि अनगिन्ती जन्माउँछौं।
ग्रहणकर्ताको ग्रहण क्षमता कस्तो छ त्यसले पो निर्धारण गर्छ विषयलाई।
म ओशोलाई सुन्छु। ओशोको विचार र तर्कबाट म पनि सधैं ओशोको नजिक छु। तर आफ्नै आँगनमा मुस्कुराइरहेको तपोवन टेक्न पाएकी थिइनँ। सायद नेपालीमा एउटा उखान प्रचलित छ – कागले कान लग्यो भने कागको पछि दगुर्ने। हाम्रो प्रकृति थाहा पाएर नै होला यो उखान जन्मिएको। खोइ हामीले आफ्नो कान छामेको। हरेक ठाउँमा हामी रेकोपछि लाग्ने रहेछौं। अरूको पछि लाग्दा हामीले धैरै सोच्नु पर्दैन। शरीर र मस्तिष्कलाई कुनै कष्ट हुँदैन, त्यसैले हामी सजिलो बाटो समाउँछौं। हो! म पनि कागको पछि नै दगुरेछु।
तर यो पटक गीता दिदीको म्यासेज पढेपछि मनले त तपोवन जा अनिता जा ! भन्न थाल्यो। आफैं एकपटक गएर बुझेर आएपछि मात्र धारणा बना त’ मेरो अन्तष्करणबाट आवाज आयो।
छोरी पनि ठिक हुन्छे भन्ने आत्मविश्वास पनि जागृत हुँदै गयो।
‘कान्छी छोरी शुभांषालाई डेंगीले हैरान पारेको छ। सहिद मेमोरियल अस्पतालको आकस्मिक कक्षमा करिब चार घण्टा राखेर दुई बोतल स्लाइन र सिटामोल चढाएपछि ज्वरो केही कम हुँदै गयो। घर आएपछि पनि ज्वरो आई नै रह्यो छ। एक मात्र औषधी सिटामोल भएको अवस्था छ। तीन दिनको निन्द्रा बिथोलिको छ। शरीर थाकेर लखतरान भएको छ। मन त्योभन्दा बढी गलेको छ। घरको वातावरण पनि मधौरु भएको छ।
यतिकैमा पुनः गीता दिदीको फोन बज्छ। म फोन उठाउँछु र छोरीको बिसन्चो र पीडा दिदीलाई सुनाउँछु। उताबाट दिदी सान्त्वनाका बचन संप्रेषण गर्नुहुन्छ। छट्पटाएको मेरो मनमा शीतल वर्षा हुन्छ। दिदीले सिकाएका औषधीका विधि र बिरामीको उचित स्याहारसुसारका विधि ध्यान दिएर सुन्छु। कलमका साथीहरूमाझ पनि दुःख साझा गर्छु। डेंगी लाग्दा भोगेको अनुभव र बिरामीको सेवामा अपनाउनु भएका विशेष सावधानीहरूलाई भारती दिदीबाट सुनेर मनन गर्छु। हेर्दाहेर्दै शुक्रबारसम्ममा त छोरी ठिक हुँदै गई।
शनिबार बिहान ५ बजे नै गुर्जुधाराबाट साथी सरस, सुभाष सर र म योजनाअनुसार बनस्थली चोक ओर्लिन्छौं। मेरी बास्सै ! बाक्ला कुर्ता सुरूवाल र हावालाई छेक्ने ज्याकेट लगाए पनि कात्तिकको अन्त्यतिर काठमाडौंमा बिहानको सिरेटो कताकताबाट शरीरभरि सल्बलाएर सिउसिउ पार्दैछ। गीता दिदीलाई फोन गर्छु। दिदी भिनाजु तुरून्तै आइहाल्नुहुन्छ। हाम्रो अगाडि दिपक भिनाजुले गाडी ल्याएर टक्क रोक्नुभएको छ। हेर्दैछु लक्ष्मी र सरस्वतीलाई साथै लिएर हिँडेकी गीता दिदीलाई। आफ्नो निजी साधनमा श्रीमानसँग आरामले नबसेर दिदी गाडीबाट ओर्लंदै हुनुहुन्छ।
म भन्दै छु दिदीलाई,‘दिदी! यो जाडोमा हजुर किन झरेको हामी पछाडि बसिहाल्छौं नि!'
दिदी पटक्कै मान्नु भएन गाडीबाट ओर्लंदै भन्नुभयो,‘हामी दिदीबहिनी पछाडि बस्ने सुभाष सर अगाडि बस्नुहुन्छ।'
हेर्दैछु सरलता, नम्रता र भद्रता गाडीको अगाडि सिटबाट ओर्लिएर हामीसँगै पछाडि सिटमा आएर बसेको। नम्रता हराएको नुनिलो बस्तीमा चाख्दैछु स्नेह र सद्भावले भरिएको गीता दिदीको मीठो स्वागत। दिदीको सादगी,सद्भाव र सहयोगलाई हृदयले अमूल्य ठान्दैछ।
अब गाडी रिङरोडमा चिप्लिँदै छ। दिपक भिनाजुले ओशो तपोवनको स्थापना, इतिहास, ओशो दीक्षा र स्वामी आनन्द अरुणको सोचको बारेमा महत्वपूर्ण जानकारी साझा गर्दै हुनुहुन्छ। गाडी बालाजुबाट उँभो हुइँकिँदै छ। मनमा उत्साह झन् झन् झांङ्गिँदै छ। प्रकृतिको स्वच्छ वातावरणमा शान्तिको धुन र असाध्यै जान मन लागेको ठाउँ भएर त होला निकै दिनपछि तन र मन दुवै चङ्गा हुँदैछन्।
शिवपुरी राष्ट्रिय निकुन्जको हरियो जङ्गलले आँखामा शीतलता छर्दैछ। काठमाडौंको यति नजिकै यस्तो रमणीय र सुन्दर हरियालीलाई देखेर कङ्क्रिटको सहरलाई बिर्सिदै गएकी छु। आधा घण्टाको रमाइलो गाडीको यात्रापछि हामी ओशो तपोवनको गेटमा ओर्लिएका छौं। चिसोले मज्जाले स्वागत गर्दैछ। सूर्यको लालीले हामीलाई अझ छुन भ्याएको छैन। आँखाहरू तपोवनको भूगोलमा त्यसै त्यसै हराएका छन्। आनन्द र खुसीले मन भरिएको छ। घडीले सात बज्न लागेको संकेत गर्दैछ। भिरालो भूगोलमा गजबको इन्जिनियरिङ देखिँदैछ।
फूलको सजावट उस्तै लोभलाग्दो छ। मुहारभरि शान्तिको गुलाफ फुलाएर सोपानको बाटो हुँदै तपोवनमा आएका प्रेमीहरू उकालो ओरालो गर्दै गरेको रमाइलो दृष्य देखिँदैछ।
म एकैपटक समेट्न खोज्छु तपोवनको सम्पूर्ण भूगोललाई। घना जङ्गल र रहस्यमय प्रकृतिले मलाई पराजित पारिदिन्छ। मेरो आँखाको सीमितता सम्झेर आफैँ लज्जित हुन्छु। अनि म खण्ड खण्ड गरेर तपोवनको सौन्दर्यमा पग्लिँदै गएकी छु। बिहान सात बजेदेखि पहिलो सत्र सुरू हुने जानकारी प्राप्त भएको छ। हामी शौच भएर साधनामा जान पूर्णरूपले तयार भैसकेका छौँ।
आँखा अगाडि दृष्टिगोचर भएको छ नौलो इन्जिनियरिङको सुन्दर साधना भवन। वरिपरिको फूलले साधना भवनलाई सुन्दर मात्र होइन सुवासित पनि उसैगरी पारेको छ। सरसफाइमा विशेष ध्यान दिइएको देखिँदै छ।
हाम्रा पाइलाहरू ध्यान कक्षको ठूलो हलभित्र प्रवेश गरिसकेका छन्। सभाहलको अग्रस्थानमा ओशोको सेतो मूर्ति मुस्कुराइरहेको छ। वरिपरिको झ्यालबाट मेरो हृदयलाई सुम्सुम्याउन कोठाको भित्रैसम्म प्रकृति मुस्कुराउँदै पोखिएकी छन्।
देख्दैछु पछाडिको झ्यालबाट सिङ्गो जङ्गल हामीलाई हेरेर मख्ख पर्दै हाँसिरहेको। हलको भुइँमा पलेंटी मारेर बसेकी छु आँखाहरू झ्याल बाहिर फालकुदेका छन्। घरीघरी यस्तो आभाष हुन्छ, कतै म बसिरहेको यो ठाउँ घना जङ्गलको बीचमा तुर्लुङ्ग झुन्डिएको बेलुन त हैन ? मलाई निकैबेर लाग्यो त्यो अद्भूत नजरालाई स्वीकार गर्न। हाम्रो स्वागतमा हो कि तपोवनको दैनिकीमा हो चराचुरूंगीहरूले बढो मीठो सुरमा संगीत सुनाइरहेका छन्। कलेजी रङका लुगा लगाएका संन्यासीहरू भित्रबाहिर गर्दा पुलुक्क उनीहरूको मुहारमा आँखा लगाउँछु।
म देख्छु सम्मोहित पार्ने औरा। शान्ति, आनन्द र सन्तुष्टिको चित्र कोरिएको तपोवन मुस्कुराइरहेको छ संन्यासीहरू माझ। सभा हलको ठूलो ठूलो झ्यालबाट घना जङ्गल मात्र देखिँदै छ। त्यो विशेष इन्जिनियरिङ्लाई सलाम गर्न मन लाग्दैछ।
उत्साह, उमङ्ग र उल्लासले रङ्गिएका नेपाली र विदेशी अनुहारहरू देखेर म पनि रमरम परेकी छु। हेर्दाहेर्दै सबैले आ-आफ्नो आसन ओछ्याएर बस्दैछन्। हामीहरू पनि म्याट र कुसन ओछ्याएर डाइनामिक ध्यानका लागि तयारी अवस्थामा बसिसकेका छौं।
हाम्रो पहिलो सत्र आरम्भ हुन्छ। शरीरलाई सम्पूर्ण किसिमले जागृत गराउने विभिन्न तरिकाहरू रहेछन् डाइनामिक ध्यान। मलाई निकै सजिलो भयो मैले त हरेक दिन घरमा गर्ने प्रणायाम र नृत्य कसरतसँग मिल्दै गयो साधनाको पहिलो चरण। म अभ्यस्त भएकीले साधना अवधिभरि सक्रिय भएर साधना गर्दैछु।
साधना गर्दागर्दै कोही साधकहरू त रुने, कराउने, चिच्याउने गर्न पो लागे। जुन मेरा लागि बिल्कुलै नौलो छ। सभा हलमा डरलाग्दो आवाज मडारिएको छ। आँखा बन्द गरेर नाचिरहेकी म त झसङ्ग भएकी छु। केहीबेर त मलाई निकै डर पनि लाग्यो, यो कस्तो आवाज हो भनेर। करिब एक घण्टा बन्द भएका मेरा आँखाहरू त्यो कोलाहलमा अचानक खुलेका छन्। साथी सरस र सुभाष सरपट्टी पुलुक्क हेर्दैछु उहाँहरू पनि अलमल्ल परेको देख्दैछु।
म सुन्दैछु, विचित्र विचित्रको आवाजहरू। महाभूकम्पको त्रासले त्रसित भएका मान्छेको चिच्याहटजस्तै छ यहाँको माहोल। म देख्देछु अचम्म अचम्मको दृष्यहरू कोही बलिन्द्रधारा आँसु खसालेर ओशो ! ओशो!! भनेर कराइरहेका छन्। कोही ठूलो खजाना हात परेको झैं हाँसिरहेकाछन्। कोही शान्त भएर नाचिरहेका छन्। कोही आँखा बन्द गरेर त्यो कहालिलाग्दो आवाजमा पनि झुमिरहेका छन्। त्यो अद्भुत दृष्य देखेर म सोच्न बाध्य भएकी छु ‘बाफ्रेवाफ! मान्छेको मन र मस्तिष्कभित्र भयङ्कर आवाज रहेछ। सायद त्यो आवाज भित्रभित्र दबिएर मान्छे झन् दुःखी छ, आक्रान्त छ र मान्छे रोगी छ।
मान्छेभित्र देख्दैछु अनेकौं युद्धका विभीषा। आखिर मान्छे त आफैंभित्रको आवाजसँग लडिरहेको रहेछ। आफैंभित्र कयौं शत्रु बोकेर बाँच्न विवश रहेछ आजको मान्छे।
हे ईश्वर! मान्छेभित्र कति धेरै पीडा अटाएका रहेछन्। मान्छेभित्रको त्यो सुमधुर अनहदको धुन कता विलुप भएछ? म अनुभूत गर्दैछु सन्तापको धूनले शान्तिको धूनलाई खुलुक्कै निलेको विकराल अवस्था।
आवाजको सुनामी हृदयमा बोकेर मान्छे कसरी हिँडिरहेको छ आज? मन र मस्तिष्क चञ्चल भएर नै त मान्छे विक्षिप्त हुँदै गएको छ। मान्छेभित्र लुकेर बसेको त्यो विक्षिप्त आवाज सुनेपछि बुझ्दै गएँ, ‘है प्रभु! यस्तो कोलाहाल बोकेर कसरी मान्छे शान्त हुन सक्छ? जुन दिन मान्छेले आफूभित्र मडारिएका यस्ता अनेकौं आवाजहरू सुनेर ती आवाजहरूलाई व्यवस्थित गर्ने कला सिक्छ र त्यो अनावश्यक आवाजहरूबाट विमुक्त हुन्छ तब मात्र मान्छे शान्त हुने रहेछ।
म प्रार्थना गर्दैछु, ‘हे प्रभु! मान्छेभित्रको यो कोलाहाल निमिट्यान्न पारेर मानवलाई शान्तिको धुन सुन्ने सजिलो बाटो देखाऊ। अब भने केही मेलो पाउँदै गएँ, पहिलो सत्रमा डाइनामिक साधनाको रहस्यमयी अभ्यास। अनि सबै जना चिच्याइरहेको सामूहिक आवाजमा मैले पनि जोडजोडले ऊँ को उच्चारण गर्दैछु।
अगाडि नाचिरहेको विदेशी युवकको अनुहारमा गएर मेरा आँखाहरू घरीघरी टाँसिएका छन्। त्यो युवकको मुहारमा देख्छु भिन्नभिन्न भाव। सायद मान्छेभित्रको तनाव, पीडा, कुण्ठा, उकुसमुकुस र बेचैनी पोख्ने माध्यम हो यो साधना विधि।
साधकहरू पूर्ण रूपमा खाली भएपछि मात्र अगाडिको सत्र आरम्भ गर्ने यो विधि बेजोड लाग्दैछ।
केहीबेरपछि होहल्ला शान्त हुँदैछ। भयङ्कर आँधी आएर थामिएको बस्ती जस्तै भएको छ साधना हल। सायद मानव मनका सम्पूर्ण विकारहरू साधनाको बाटो भएर त्यो घना जङ्गलमा विलुप भइसकेका छन्। सबै चुपचाप, शान्त र स्थिर भएका छौं। केहीबेरको उफ्रर्याइ, चिच्याइ र कराइपछि शवासनमा हामी लमतमन्न भएका छौं।
अहो! नौला नौला अनुभवहरू बटुल्दै छन् मन र मस्तिष्क ...
क्रमशः
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)