यात्राको नवौं दिन फिरिचेबाट नाम्चेको २० किलोमिटर यात्रा थियो। यही यात्रा हामीलाई बेस क्याम्प जाँदा ३ दिन लागेको थियो तर फर्कंदा भने १ दिनमै सक्ने योजना बनायौं। हामी दुबै फ्रेस र दुरूस्त थियौं।
हाम्रो फर्कंदाको केही भागको बाटो भने फरक हुने भयो। सोलुखुम्बु क्षेत्रकै सबभन्दा पुरानो गुम्बा तेङबुचे गुम्बा सगरमाथा बेस क्याम्पको यात्राको पदमार्ग इबिसी पदमार्गभित्र पर्ने एक महत्वपूर्ण पर्यटन स्थल हो।
बेस क्याम्पको यात्रामा हामीले फोर्से फिरिचे पदमार्ग रोजेको कारण हामीले तेङबुचे गुम्बाको दर्शन गर्न पाएका थिएनौं।
हाम्रो गोक्यो लेक जाने योजना पनि थियो। इबिसी पदयात्रामा सोलुखुम्बुकै पुरानो तथा ऐतिहासिक तेङबुचे गुम्बा हुँदै आउने यो क्षेत्र भने छुट्ने भयो भनेर मैले मातृकाजीसँग कुरा गरेको थिएँ। अन्तमा गोक्यो लेक गिभअप भएपश्चात् इबिसी मार्ग फलो गरेका थियौं।
फिरिचेबाट ६.५ किलोमिटरको यात्रा थियो पाङबुचेको। यही पाङबुचेबाट हामीले पहिले आएको फोर्से फिरिचे पदमार्गलाई छोडेर सिधै विश्व प्रख्यात इबिसी पदमार्गलाई पछ्याएका थियौं। हामी विस्तारै आनन्दमय यात्रामा अघि बढिरहेका थियौं।
पाङबुचेबाट हामी दोबुचे हुँदै तेङबुचेको ४ किलोमिटरको यात्रा झण्डै १ घन्टामा पूरा गर्न सफल भयौं। यो मार्गमा ओरालो बढी थियो। तेङबुचे पुग्दा भने झण्डै १ किलोमिटरको यात्रा भने उकालो रहेछ।
पाङ्बुचे आमा डब्लम आधार शिविरको पदयात्राको आधार गाउँ थियो त्यसकारण यो गाउँको महत्व थियो। पदयात्रीहरूसँग समय हुँदा सगरमाथा वेस क्याम्पको यो यात्रामा साइड ट्रेकको रूपमा यो पदयात्रा अति उत्तम पदमार्ग हो।
पाङ्बोचेबाट आमा डब्लम हिमालको आधार शिविरको पैदल यात्रा ३.५ किलोमिटरको छ जुन २ घन्टामा सहजकतासाथ पुग्न सकिन्छ। आमा डब्लम हिमाल लगभग ७००० मिटरको उचाइमा रहेको छ।
आमा डब्लम आधार शिविरसम्मको पदयात्राको मुख्य आकर्षणमा परम्परागत शेर्पा गाउँहरू पनि पर्दछन्। आमा डब्लम आधार शिविरबाट सुन्दर हिमालहरू जस्तै सगरमाथा, नुप्तसे, कांग्टेगालगायत हिमालको दृश्यपान गर्न सकिन्छ।
पाङ्बोचेको बसाइमा समय हुँदा खुम्बु क्षेत्रमा पर्ने अर्को पुरानो गुम्बा पनि भ्रमण गर्न सकिन्छ।
पाङ्बुचेपछि अर्को सानो गाउँ डेबुचे हो। यो गाउँबाट तेङबुचे जम्माजम्मी १ घन्टाको पैदलयात्राबाट पुगिन्छ। यो गाउँको उचाइ १२५०० फिट छ। यो गाउँमा होटल, रेष्टरेन्टहरू भएकोले पनि पदयात्रीहरूमाझ थकाइ मार्ने गाउँको रूपमा प्रख्यात छ।
तेङबुचेलाई सगरमाथाको प्रवेशद्वार भनिन्छ।
‘सन् १९१६ मा लामा साङ्वा दोर्जेले पाङ्बोचेमा रहेको यो गुम्बाको संस्थापना गरेका हुन्। उनले यस क्षेत्रको अन्य धेरै गुम्बा र साना आश्रमहरू बनाएका हुन्। उनले सगरमाथाको उत्तरी भागमा रहेको तिब्बतको रोङबुकमा समेत गुम्बा स्थापना गरेका थिए,’ गुम्बाको एक भिक्षुसँगको कुरामा हामीलाई थाहा भयो।
उनका अनुसार ‘सन् १९३४ को भूकम्पमा तेङ्बोचे गुम्बालगायत अन्य भवनहरू ध्वस्त भएको थियो रे। त्यसपछि १९८९ विनाशकारी आगलागीमा गुम्बाका बहुमूल्य पुराना धर्मग्रन्थ, मूर्ति, भित्तेचित्रहरू जलेर नष्ट भएछ। त्यसपछि विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त सहयोगबाट गुम्बाको पूर्ण रूपमा पुनर्निर्माण गरिएको रे।’
उनी भन्दै थिए, ‘यस गाउँका बासिन्दा तेन्जिङ नोर्गे १९५३ सर एडमन्ड हिलारीका साथ सगरमाथाको शिखरमा पुग्ने पहिलो व्यक्ति थिए। पहिलो सगरमाथा आरोहणपश्चात यस गुम्बाले थप अन्तर्राष्ट्रिय चासो प्राप्त गरेको रहेछ।’
तेङ्बोचेबाट सगरमाथा बाँया, ल्होत्से केन्द्र र आमा डब्लम दायाँको अति सुन्दर दृश्यपान गर्न सकिन्छ। गुम्बाको आँगनबाट हामीलाई आमा डब्लम हातैले छुन सकिने जस्तो भान भयो त्यति नजिक अनि अन्य हिमालको सुन्दर दृश्यले पदयात्रीहरूले थकाइको अनुभूति गर्नै नपर्ने।
‘पुनर्निर्माण गरिएको गुम्बालाई औपचारिक रूपमा १९९३ मा अभिषेक गरिएको थियो। गुम्बामा गुरू रिम्पोचेको धार्मिक कोठा सेप्टेम्बर २००८ मा पूर्ण रूपमा पुनर्स्थापित गरिएको थियो,’ हामीलाई थप जानकारी दिँदै थिए अर्को भिक्षु।
यो गुम्बामा अहिले ३० भिक्षुहरूको घर रहेछ। यद्यपि हिजोआज थोरै युवाहरू भिक्षुमा भर्ना हुन आउँछन् रे। हिजोआज युवाहरूको प्रमुख आकर्षण भने पर्वतारोहण वा पदयात्रासम्बन्धी काम रहेछ।
तेङ्बोचे दूधकोशी र इम्जाखोला नदीको संगमको माथि डाँडामा अवस्थित छ। यहाँ छ सय वर्षअघि तिब्बतबाट बसाइ सरेका शेर्पाहरू बसोबास गर्छन्। नाम्चेबाट यहाँ पुग्न सुरूमा दूध कोसी नदी पार गरेपछि आउने नाक नै ठोकिने उकालो छिचोल्नु पर्छ। डाँडामा पुग्दा तेङ्बोचे गुम्बा र हिमालहरूको मनोरम दृश्यले मनलाई मनमोहक बनाउँछ।
हामी नाम्चेतर्फ फर्कंदै थियौं दोबुचेबाट हिँडेका हामी दुई बजे तेङबुचे पुग्न सफल भयौं। अति सुन्दर यो दूधकोशी र इम्जाखोला माथि उभिएको डाँडोमा बसेर विश्व विख्यात गुम्बा, सुन्दर आमा डब्लमको हिउँ चुचुराहरू, नुप्तसेमा ठोक्किएर चम्किरहेको सगरमाथाको टुप्पो र अन्य धेरै चुचुराहरूको रमणीय परिदृश्यले जति बसे पनि मन, मस्तिष्क अघाउने कुरै भएन।
मलाई यतातिरको गाउँको नाम तेङबुचे, लुबुचे, पाङबुचे, फिरिचे, दोबुचे सुनेपछि अन्तिममा ‘चे’ जोडेको कुराले खुल्दुली थियो। मैले यो बारेमा केही व्यक्तिहरूसँग प्रश्न गरेको थिएँ। तेङबुचे गुम्बाको लामाहरूलाई सोधें, ‘गाउँका अन्य बासिन्दाहरूलाई नि प्रश्न गरे। ‘चे’ को अर्थ ‘पाइला’ रहेछ।
गुरू रिन्पोछेले आफ्नो आत्मज्ञानको लागि उनको पत्निसहित हलेसी महादेवमा रहेको गुफामा ध्यान गरी आध्यात्मिक ज्ञान प्राप्त गरेका रहेछन्। जब उनले हलेसी गुफाबाट आध्यात्मिक ज्ञान प्राप्त गरे र धर्म स्थापनाको लागि उनले प्राप्त गरेको शिक्षाहरू र आध्यात्मिक ज्ञानहरू दिँदै अगाडि बढे, यही यात्रामा जुन ठाउँहरूमा उनले स्थायी छाप छोडे, बौद्ध धर्मको प्रचार र पवित्र शिक्षाहरूको संरक्षणमा योगदान पुर्याए। त्यस्ता विशेष ठाउँहरूमा ‘उनको पाइला’ लाई सम्मान गर्दै गाउँको नाम नै ‘चे’ अथवा ‘पाइला’ भनिएको उहाँहरूको भनाइ थियो।
जे जति गाउँहरूको नाम पछाडि ‘चे’ जोडिएको छ त्यसको मतलब गुरू रिन्पोछेको पाइला पुजिएको ठाउँको रूपमा नामकरण गरिएको सबैको एकै विचार थियो।
हलेसी महादेव गुफा, जसलाई अक्सर हलेसी गुफा भनेर चिनिन्छ, नेपालको खोटाङ जिल्लामा अवस्थित हिन्दू र बौद्ध दुवैका लागि महत्वपूर्ण तीर्थस्थल हो। हलेसी गुफा खुम्बु क्षेत्रभित्र अवस्थित नभए पनि गुरू रिन्पोछेले ध्यान गरी आफ्नो आत्मज्ञान प्राप्त गरेको गुफा भएकोले बौद्ध धर्ममा पनि यसको ठूलो महत्व छ। उनको यात्रा एक आध्यात्मिक नेटवर्कको सुरूआत नै थियो, जुन हलेसी गुफाबाट सुरूआत हुँदै विस्तारै विभिन्न क्षेत्रहरूमा अगाडि बढेको देखिन्छ।
तिब्बती बौद्ध किंवदन्तीहरूका अनुसार तिब्बतका राजा ट्रिसोङ डेट्सेनले समेत आठौं शताब्दीमा बुद्ध धर्म स्थापना गर्न र नकारात्मक शक्तिहरूको विनाश गर्न गुरू रिन्पोछेलाई तिब्बत यात्रा गर्न निम्तो दिएका रहेछन्। गुरू रिन्पोछेले निमन्त्रणा स्वीकार गर्दै तिब्बत यात्रामा निस्केको र तिब्बतमा बौद्ध धर्म स्थापना गरेको किम्बदन्तीहरू तेङबुचेमा रहेका लामाहरूले हामीलाई चासोका साथ सुनाउनु भयो।
हामीले गुम्बा पूरै घुमेर दर्शन गर्यौं। मुख्य लामालाई बोलाएर बन्द रहेको ढोका खोलेर दर्शन गर्यौं। सुन्दर फोटोहरूको साथ तेङबुचे डाँडाबाट दूधकोशीतिर ओरालो लाग्यौं।
यो ओरोलो बाटोको दायाँबायाँ फुलेको गुराँसले अति मनमोहक देखिन्थ्यो। राताम्य फुलेको लालिगुराँसले भरिएको यो ओरालो बाटो हिँडेको पत्तै भएन। ओरालोको अन्तिममा पुगेपछि मात्रिकाजी भन्दै थिए, ‘बाफ रे हामीले यो उकालो भने झेल्नु परेन यार।’
यो पदमार्गको सबभन्दा लामो र ठाडो उकालो यही नै थियो जुन हामी फोर्से फिरिचे मार्ग हुँदै बेस क्याम्प गएको कारण यो उकालो उक्लनु परेको थिएन।
तेङबुचेबाट झण्डै ९ किलामिटर थियो नाम्चे बजार। हामीले झण्डै ३ दिनको यात्रालाई १ दिनमा झारेका थियौं यो यात्रा हामीले ४ घन्टामा पार गर्ने योजनाका साथ अघि बढिरहेको थियो। झण्डै १ घन्टा हामीले यो गुम्बामा समय बितायौं।
यहाँ रहेका लामाहरूसँग कुरा गर्नु र यो ऐतिहासिक स्थलबारे जानकार हुने हामी दुबैको इच्छा त्योभन्दा पनि यो सुन्दर मनमोहकस्थल कसलाई पो छोड्न मन लाग्दो हो र! हामीलाई पनि पक्कै त्यो प्राकृतिक सौन्दर्यले मोहित गरेको थियो नै। अन्तमा समयले धकेलेसँगै हामी लम्कियौं नाम्चेतिर।
हामी ढिलोमा साँझ ७ बजे नाम्चे पुग्ने लक्ष्य निर्धारण गरेका थियौं। दसौं दिनमा लुक्ला पुग्न सम्भव भए त्यही दिन नत्र एघारौं दिन काठमाडौं पुग्ने हाम्रो योजना थियो।
हामीलाई लुक्लाबाट अर्को दिनको लागि हवाई जहाजको टिकटको भने अलि बढी नै चिन्ता लागेको थियो। विशेषगरी मात्रिकाजीलाई अलि बढी नै स्ट्रेस थियो। हामी निरन्तर रूपमा टाँसीजीको सम्पर्कमा रहने कोसिसमा थियौं। उहाँ पनि अलि बढी नै सिरियस देखिनु हुन्थ्यो हुन त उहाँले हामीलाई चिन्ता नलिनु होला तपाईंहरूलाई हवाई जहाज उडेमा उडाउँछौं भन्नु भएको थियो।
लुक्लामा एक त हवाई जहाज उड्न गाह्रो उडेमा पनि सिट पाउन गाह्रो। टिकट लिएका यात्रीहरू धेरै केही न केही बहानामा एक दुई दिनपछि परेको धेरै कथाहरू हामीले सुनिसकेका थियौं।
टासीजी केही समय खुम्बु क्षेत्रकै सबभन्दा प्रख्यात गुम्बा तेङबुचेको मुख्य लामासम्म रहेरपछि लामाको काम छोडेर पर्यटन व्यवसायमा लागेका रहेछन्। त्यसले पनि उनलाई त्यो क्षेत्रमा नचिन्ने र आदर नगर्ने मानिसहरू हामीले यो यात्रा भेटेका थिएनौं। हाम्रो लागि उहाँको यो सम्बन्धले ठूलो रोल खेलेको थियो नै।
हामीले झण्डै आधा घन्टामा त्यो उकालो झर्न सफल भयौं। ओरालोपछि आउने झोलुंगे पुल हो। यो पुल रहेको आठ दश वटा घर भएको खाजा खाने र आराम गर्ने फुन्गिथान्गामा भरिभराउ थिए पदमार्गीहरू।
तेङबुचेबाट झरेर नाम्चे फर्कंदा होस् अथवा नाम्चेबाट तेङबुचे तर्फबाट अगाडि बढ्दा दुबैतर्फ यही ठाउँबाट उकालो लाग्नुपर्ने भएर पनि पदयात्रीहरू केहीबेर यहाँ आराम गर्ने हुनाले अलि भीड नै हुने रहेछ यो ठाउँ। हामीले भने यहाँ आराम गरेनौं।
बाटोमा तीन जना केटीहरू उक्लिँदै थिए। हामीभन्दा धेरै छिटो हिँडिरहेका उनीहरूसँग कुरा गर्न मन लाग्यो।
‘बहिनीहरू कतातिर हो? किन यति हतारमा कुद्नु भएको होला?
तीन जना हाँस्दै मस्किँदै अगाडि गए। उनीहरू अति लजाएका थिए। मैले उनीहरूलाई बोल्न बाध्य पर्ने कोसिस गर्दै थिएँ। ‘होइन यतातिरका तरूनीहरू त हाँस्ने मात्र हुन् कि बोल्न पनि जानेका छन्?’ मेरो कुराले होला उनीहरू झन् बेस्करी हाँस्न थाले।
‘नयाँ मानिससँग बोल्दैनन् है दाजै यता तिरका तरूनीहरू,’ एक जना बहिनीले खित्का छोडेर मलाई उत्तर दिइन्।
‘अनि बहिनीहरू कतातिर हो? यो जंगलमा हामीलाई नछोड्नु होला नि। बाघ भालुले तन्ला भन्ने डर भयो।’
‘हामी त नाम्चेबाट सामान लिएर फर्कनु पर्छ। तपाईंहरूसँग गफमा हिँडेर सुख छैन। तपाईंहरू विस्तारै आउनु होला।’
उनीहरू लम्किरहेका थिए गन्तव्यतिर। मैले उनीहरूलाई भेट्ने कोसिस त गरें तर त्यो ५ मिनेटको लागि थियो। केहीबेर भलाकुसारी गरें। । सबैलाई कलेज जाने र पढ्ने ठूलो चाहना रहेछ। तर आर्थिक अवस्थाले गर्दा भारी बोक्ने काम गर्दा रहेछन्।
के गर्ने उनीहरूको कुरा सुन्ने र सान्त्वना दिनेबाहेक केही गर्न सकिनँ मैले।
ती बहिनीहरू तीन जनामा दुई जनाले एसइई पास गरेका रहेछन्। एक जना भने फेल भएकी रहेछिन्। यिनको विवाह समेत भैसकेको रहेछ। उनी जम्मा सत्र वर्षकी विवाह भएको १ वर्ष भएछ। फेसबुकबाट भेटेर भागेका रहेछन्।
टाढाबाट बाईबाई है दाजु भन्ने आवाज सुनें। उनीहरू विस्तारै सूर्य अस्ताएजस्तो बाटोबाट हराए। म भने मातृकाजीलाई कुर्न थालें। उनी मभन्दा झन् पछाडि नै थिए।
‘मितज्यू कता पुग्नु भयो?’, मेरो स्वरले जंगललाई तरंगित गरायो।
‘के हो तरूनी भेटेपछि साथीलाई छोड्न पाइन्छ ?’ मितज्यूले जिस्काउन थाल्नुभयो।
वास्तवमा यो उकालो छिचोलेको पत्तो नै भएन। यात्रालाई सहज र रमाइलो बनाउन मलाई यस्तै मन लाग्छ। हामी सान्सामा थकाइ मार्ने सोचमा थियौं। फुन्गिथान्गाबाट सान्साको यो उकालो झण्डै २ किलोमिटरभन्दा बढी नै थियो। सान्साबाट भने नाम्चे सिधा बाटो छ।
हामी झण्डै ४५ मिनेटमै सान्सा उक्लियौं। सान्सा पुग्नासाथ पानी पर्न थाल्यो। कफीको लागि चिसो हावासँगै पानी झर्दा मौसमले नै साथ दिएजस्तो भयो।
क्रमश:
(मनोजकुमार कँडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)