विद्यालयमा भर्ना अभियान लगभग सकिएको थियो। 
कतै गएर मनलाई आनन्दित बनाउन मन थियो, कुनै योजना थिएन। पशुपति तिमल्सिना दाजुले हाम्रो ४० जना जतिको समूह पाँचपोखरी जौँदै छ जाने भए जाऔं भन्ने  प्रस्ताव गर्नुभयो। 
उहाँको प्रस्तावलाई समर्थन गर्दै सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध  धार्मिक एवं पर्यटकीय स्थल पाँचपोखरी जाने  कार्यक्रम बन्यो। पाँचपोखरीबारे नसुनेको  होइन तर आफ्नै जिल्लाको भए पनि आफैंलाई भने त्यो ठाउँको अनुभव लिने अवसर जुरेको थिएन। यसरी मनमा अनेकौं यात्राका  खुल्दुली संगाल्दै काठमाडौंदेखि पाँचपोखरीसम्मको गन्तव्यको लागि जेठ १९ गते शुक्रबार बिहान ५ बजे नारायणटारबाट यात्रा प्रारम्भ गरियो।
हाम्रो टिम साँखु, जहरसिंङ पौवा, बाहुनेपाटी, मेलम्ची हुँदै ७:३० बजे पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको स्वागतद्वारमा पुग्यो। त्यहाँ पुग्दा पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सुके तामाङ, ७  का वडा अध्यक्ष विष्णुबहादुर खड्का र सूचना केन्द्रका कर्मचारीहरूले  हामीलाई स्वागत गर्नको लागि आतुर भएर बस्नुभएको रहेछ। 
उहाँहरूको स्वागतपश्चात् सँगै रहेको सूचना केन्द्रमा पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको समग्र जानकारी लिँदै पाँचपोखरी जाने बाटोको भौगोलिक जानकारी लिँदै उही यात्रा।

यात्रामा रमाइलोका लागि वाद्यवादनका सामग्री पनि लगिएको थियो। 
म मादल बजाउन हल्का जान्ने भएको हुनाले मादल बजाउन थालेँ, साथीहरूले गीत गाउन थाल्नुभयो। 
यात्रामा  रमाइलो गर्दै करिब १० बजेतिर गाउँपालिकाको कार्यालयमा पुगियो। त्यहाँ पनि हामीलाई स्वागत गर्न गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नारायण भट्टराईलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूले हामीलाई पाहुनाझैं सम्मान तथा स्वागत गर्नुभयो। त्यहाँ सामान्य नास्तासँगै उही यात्रामा लागियो। 
समथर जमिन, उपत्यका जस्तै परेको ठाउँ, मिलेर बसेको एकीकृत घना सहरको झल्को मेटाउने बस्ती, हरियाली मकैले ढाकेको बारीको पाटा, घर जत्रै ठूलाठूला पाखाभरी सजिएर बसेका ढुंङ्गा, तत्कालीन राजपरिवारले समेत आफ्नो नाममा राखेको जमिन, बस्तीको बीचमा रहेको सुन्दर ताल र  तालसँगै रहेको रैथानेश्वरी मन्दिर (जहाँ पाँचपोखरी जान नसक्नेहरू यहीँ मेला भर्दछन), धुलिखेल हस्पिटलद्वारा निर्माण गरिएको शाखा हस्पिटल हेर्दै हामी हाम्रो यात्रालाई यादगार बनाउनमा प्रयत्नशील भइरह्यौं।
यही क्रममा २०७९ मा  सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको बागमती प्रदेशकै उत्कृष्ट र सिन्धुपाल्चोक जिल्लामा धेरै विद्यार्थी भएको थाङ्गपाल भ्याली माध्यमिक विद्यालय पुगियो। 
विद्यालय प्रवेश गर्दैगर्दा त्यस वडाका वडा अध्यक्ष कुलबहादुर  बस्नेत, विद्यालय  व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटा तथा विद्यालयका शिक्षकहरूले स्थानीय रीतिरिवाज र विद्यालयको पाहुनालाई सत्कार गर्ने संस्कार अनुरूप खादा र पुष्पगुच्छाले स्वागत गर्नुभयो। 

विद्यालयको भौतिक संरचना, शिक्षकको लगनशीलता, विद्यार्थीहरूको लगाव, व्यवस्थापन समितिको सहकार्य र अभिभावकको विद्यालयप्रतिको उत्सुकता र चासो देखेर मनमनै यस्तो लाग्यो कि मैले पनि यस्तै विद्यालयमा अध्ययन गर्न पाएको भए ...। 
त्यहाँ केही समय विद्यालयको समग्र शैक्षिक तथा अन्य विषयहरूमा छलफल गरियो। 
विद्यालयका अध्यक्षले विद्यालयमा खानेपानी शुद्धीकरण गर्ने मेसिन नभएको र सकिन्छ भने तपाईंहरूले सहयोग गर्नुहुन्छ कि भन्ने प्रस्ताव  गर्नुभयो। 
म आफू पनि शिक्षा क्षेत्रमा लागेको र  आफ्नो विद्यार्थी कालमा खाने पानीको लागि भोग्नुपरेको समस्यालाई सम्झँदै विद्यालयलाई पानी शुद्धीकरण गर्ने मेसिन म आफू कार्यरत विद्यालय गोकर्णेश्वर लाइट एकेडेमीद्वारा उपलब्ध गराउने वचन व्यक्त गरेसँगै वडा अध्यक्ष र विद्यालय अध्यक्षले अंगालो मार्दै धन्यवादसहित आत्मीयता प्रकट गर्नु भयो।  फेरि भेट्ने वाचासहित हामी त्यहाँबाट यात्रामा निस्कियौँ। 
समय ढिला भइसकेको थियो। बिहानीको खाना खान निकै अबेर भैसकेको थियो। उता हामीलाई भोताङका  वडा अध्यक्ष खानासहित हामीलाई स्वागत गर्न कुरिरहनु भएको थियो। 

करिब १२ बजेतिर हामी भोताङ पुग्यौं। त्यहाँका वडा अध्यक्ष निमा शेर्पालगायत हामीलाई स्वागत गर्न हातमा फूल र खादा लिएर बस्नु भएको रहेछ। 
गलाभरि  स्वागतले  लगाइदिनु भएको खादाले मनमा खुसीको सीमा थिएन। 
केही समयको कुराकानीपछि हामी स्थानीय स्तरमा चिसो पानीमा उत्पादित चामल र तरकारीबाट तयार पारिएको मिठो खानाको स्वादमा भोजन ग्रहण गर्दै बस्ती भन्दामुनि यांग्री र लार्के खोला इन्द्रावतीमा मिसिएर चर्चित गायक राजु लामाको स्वरमा आफ्नो पीडा सुसेल्दै बगेकी  देखिन्थ्यो।
 
कहिल्यै भोताङ नपुगेको मेरा लागि सबै कुरा नौला नै थिए। भोताङमा खाना खाएसँगै हामीले आफूलाई चाहिने आधारभूत सामग्री तथा  जानकारी लिएर गाडी अगाडि बढ्यो। 
छिम्ती भन्ने ठाउँसम्म गाडी जाने रहेछ। बसबाट ओर्लिनेबित्तिकै आकाशबाट पानी बर्सिएझैं भर्खरै स्थानीय तहद्वारा निर्माण गरिएको ड्रयागन झरना पुग्यौं। 
त्यस झरनाको पानीको छिटा शरीरमा पर्दा लाग्थ्यो पाँचपोखरीको  पवित्र जलले हामीलाई सेचन गरेर धार्मिक यात्राको लागि पवित्र बनाउने काम गरिरहेकी थिइन्। 
अब मनमा पाँचपोखरी  लिएर उकालो ठडिँदा बस्ती छाडिन थाल्यो। सुरूमा नै ठाडो उकालो, जति उकालो चढ्यो उति चिसो हावाको स्पर्श बढ्न थाल्यो। 
पातलो हाफ टिसर्टमा यात्रा प्रारम्भ गरेको म चिसोको अनुभवले उद्धेलित हुन थालेँ। 
म, अनि एक उत्साही मान्छे चिसो हावाको स्पर्शसँगै उकाली चढिरह्यौं। 
उचाइ बढ्दै जाँदा पहिरन र रहनसहन बदलिँदै थियो। 
सुनसान जंगल अनि आफ्नै स्वरमा सुसेली रहेका चराचुरूङ्गीहरूले  हामीलाई पुलकित गरिरहेको थियो।
छिम्तीबाट देउराली, हबेली, मैजाङ्बु खर्क हुँदै करिब ३ घन्टाको यात्रापछि हामी टुपी डाडामा पुग्यौं। 
त्यहाँसम्म पुग्दा दिनभरको हिँडाइले हामी थाकिसकेका थियौं। ठूलो समूह भएको हुनाले कति त यहीँबाट फर्किनु पर्ने हो कि भनेर बल्ल बल्ल हामीभन्दा करिब १ घण्टा ढिलो गरी पुग्नुभएको थियो। 
अब अर्को बास बस्ने ठाउँमा पुग्न नसक्ने भएको हुनाले हामी त्यहीँ बस्ने निधो गर्यौं। 
त्यहाँ बस्नको लागि ४ वटा जति होटल रहेछन्। बेलुका केही समय नाचगान गरियो र यात्राका क्रममा सबै जना थाकेको हुनाले खाना खाएर चाँडै सुत्ने निधो गरियो।
२० गते शनिबार बिहान ४ बजे सबेरै उठेर बिहानीको तातो चियासँगै झिसमिसेमा उही यात्रामा  लाग्यौं। 
आजको यात्रा अलिक फरक थियो लेक लाग्न सुरू हुँदै थियो। 
समूह ठूलो भएको हुनाले संयमित हुँदै सबैलाई समेटेर हिँड्नुपर्ने थियो। 
कछुवाको गतिमा विस्तारै यात्रा गर्दै ताखुखर्क, ताखुखोला हुँदै करिब ४ घन्टाको यात्रापश्चात् हामी चोकरपाटी पुग्यौं। त्यहाँ पहिला नै खाजाको लागि भनिएको थियो। त्यहीँ खाजा खाएर केही समय थकाइ मारेर उही यात्रामा लागियो। 

लेकको यात्रा कतै तेर्सो, कतै ठाडै उकालो बाटो त कतै फुटबल मैदान जत्रैसम्म परेका खर्। लालीगुराँसले ढकमक्क ढाकेको जङ्गल हेर्दै तपखर्क हुँदै हामी करिब ३ घन्टाको यात्रापछि बिहानको १० बजेतिर नोस्याङपाटी पुग्यौं। ३,६५७ मिटर अग्लो स्थानमा रहेको नोस्याङपाटी दृश्यावलोकनको लागि उपयुक्त रहेछ। 
त्यहाँबाट जुगल हिमाल रेन्ज, दोर्जे लाक्पा, गन्छेपो हिमाल, आमा याङ्ग्री देख्न सकिन्छ। तलतिर हरियाली डाँडाहरूमा मनोरम दृश्य, जङ्गलको बीचमा  रहेका खर्क र खर्कमा चरिरहेका भेंडा,बाख्रा,चौरी तथा गाईहरू देखिन्थे।
नोस्याङपाटीमा बेलुका बास बस्नको लागि होटल बुक गर्दै हाम्रो यात्रा सिधै पाँचपोखरीतर्फ अगाडि बढ्यो। देख्दा थोरै  तेर्सो बाटो देखिएता पनि लेकको बाटो भएर होला समय धेरै लाग्ने रहेछ। पाँचपोखरी पुग्नुअघि सात घुम्ती कटेर जानु पर्ने रहेछ। 
सात घुम्ती भनेको ठाडै उकालोलाई हिँड्न मिल्ने गरी बाटो बनाउँदा बनेको घुम्ती रहेछ । पाँचपोखरी गाउँपालिकाले बाटोमा हिँड्न सजिलो होस् भनेर उकालो बाटोमा सिँढी र भिर बाटोको  छेउमा फलामको बार लगाएको रहेछ। 
केही उकालो छिचोल्न बाँकी छँदाछँदै सिमसिमे पानी पर्न थाल्यो। 
बाटोमा भएको हिउँ छिचोल्दै हामी लौरी  विनायक पुग्यौं। खास गरेर उकालोमा टेकेर आएको लौरो बिसाउने स्थानलाई लौरो विनायक भनिएको रहेछ। 
नोस्याङपाटीबाट हिँडेको करिब ४ घन्टामा हामी हाम्रो यात्राको अन्तिम बिन्दु पाँचपोखरी पुग्यौं। 
निलम रङ्गसँगै चम्किएका ताल र तालभित्र  देखिएका  चम्किला पहाड पर्वत रङ्गपुञ्ज आकाश। 
कञ्चन पारदर्शी पाँच वटा ताल वरिपरि आँखै लोभ्याउने हिमशृङ्खला ढाक्दै लुकिरहेका बादलका श्रृंखला। 
यो देख्दा कसको मन नलोभिएला र?  
चार हजार दुई सय मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरी पुग्दा यो दृश्य देखेपछि जोकोही रमाउँदै भन्छन्,‘ स्वर्ग छ भने यही नै हो।’ 
पाँच पोखरी जनैपूर्णिमा र ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ। तर आजकाल बाटोको सुगमता, ठाउँठाउँमा बनेका होटल र वातावरणीय हिसाबले जाडो समयमा बाहेक अन्य समयमा घुम्न तथा दर्शन गर्न आउनेको सङ्ख्या बढेको रहेछ। 
यहाँ मन्दिर, बासका लागि पाटी, होटल, सार्वजनिक शौचालय बनाइएका रहेछन्। यो बुद्ध र हिन्दू धर्मावलम्बीका लागि पवित्र धार्मिकस्थल हो। 
इन्द्रावती नदीको उद्गम पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड नामकरण गरिएको रहेछ।
बौद्धमार्गीहरू यस स्थानलाई महागुरू पद्मसंभव, महायोगी मिलारेपा, आमा याङ्ग्रीदेखि अनन्त अवतारी लामा गुरूले तपस्या गरेको भूमिको रूपमा समेत मान्दा रहेछन्।
हामी केही समय अध्ययन अवलोकन गरिसकेपछि मन्दिर छेउको तालमा नुहाएर धार्मिक कार्यतर्फ लाग्यौं। 
हामीसँगै जानुभएको शिवराम पौडेल र विशाल आचार्यले रूद्री पाठ गर्न थाल्नुभयो र मसँगै बसेर उहाँहरूलाई साथ दिन थाले। साथमा सँगै जानु भएका साथीहरू पनि आ-आफ्नो संस्कारअनुसार मन्दिरमा पाठ पूजामा लाग्नुभयो। 
मन्दिरमा पूजा पाठ सक्दै गर्दा आकाश पूर्ण रूपमा खुलेर आयो। सबै जना आ-आफ्नो साथमा भएको मोबाइल झिकेर फोटो र भिडिओ खिच्न थाल्नुभयो। करिब २  घन्टा त्यहाँको  बसाइपछि बेलुकाको बासको लागि नोस्याङपाटी फर्कने कुरा भयो। 
मनमा आनन्दको वर्षा गराउँदै पाँचपोखरीको ताजा स्मरणलाई हृदयभरि सजाउँदै हामी फर्कियौं।
भ्रमण स्वयममा आनन्ददायक शब्द, त्यसमा पनि हिमाली क्षेत्रको भ्रमणले मेरो मानसपटलमा एउटा आनन्दित छाप छोडेको छ।
प्रकृतिले सिंगारिदिएकी सुन्दर नेपालको हिमाली क्षेत्र आफैंमा सुन्दर छाटाहरूको अनुपम भण्डार हो। 
सिन्धुपाल्चोक जिल्ला हिमालदेखि पहाडसम्म फैलिएको धार्मिक प्राकृतिक पर्यटनका दृष्टिले अनुपम सौन्दर्यको नमूना हो भन्ने आत्मिक ज्ञानसहित यात्राको उपसंहार गरियो।