पेरिस टेक्ने जो कोहीको पनि एउटै रहर हुन्छ। एक वर्षमा विश्वभरका करिब ८० लाख मानिसले गर्ने त्यो साझा रहर हो, इफेल टावर हेर्ने, छुने अनि चढ्ने। इफेलको टाउकोमा टेकेर पेरिसलाई भन्ने ‘हेर तेरा अग्ला अग्ला घरहरू मेरा लागि केही होइनन्, म उचाइको पनि उचाइमा उभिएको छु’।
ब्रसेल्सबाट पेरिस ताकेर दौडिरहेको फ्ल्क्सि बसभन्दा पनि अगाडि दौडिरहेको थियो इफेल टावर चढ्ने रहर।
पहिलो युरोप भ्रमणको अन्तिम ठाउँ थियो पेरिस अनि अन्तिम हेर्न मन लागेको संरचना थियो- इफेल टावर।
पेरिसमा कोही आफ्ना थिएनन्। बाटो देखाइदिने पथप्रदर्शक थिएनन्। पहिले पनि घुमेको अनुभव थिएन। तर पनि मनमा डर थिएन। संसार जोड्ने अंग्रेजी भाषा थियो, बाटो देखाउने गुगल म्याप थियो। अनि सोचेको ठाउँमा उत्तिखेरै पुर्याउनका लागि जमिनमुनि ट्रेन तयार थियो।
इफेल जत्तिकै अग्लो उत्साहका बीचमा धरहरा जत्तिको डर पनि थियो। भन्नेले भनेका थिए ‘फ्रान्स संसारकै महंगो सहर हो’।
मलाई महंगो सहरमा किनमेल गर्नु थिएन, मनले जे चाह्यो त्यो गर्नु थिएन। बस् एउटै सपना थियो इफेल, इफेल अनि इफेल।
बेल्जियमबाट हिँड्दा नै पेरिसमा सुटकेस राख्ने ठाउँ तयार थियो। बसबाट ओर्लेर ठेगाना देखाइसकेपछि ट्याक्सीवालाले ३० युरोमा लैजाने भयो।
ओ हो ३० युरो, मैले तत्कालै नेपालीमा कन्भर्ट गरिहाल्थें। नेपालमा १ सय ४५ मा युरो साटिएको थियो, ४ हजार ३ सय ५० रुपैयाँ। म विश्वको महंगो मध्येको सहरमा जो थिए। बेल्जियमबाट पेरिस आउन १३ युरो जो लागेको थियो। काठमाडौं भए पो बार्गेनिङ गर्नु राम्रोसँग अंग्रेजी बोल्न नजान्ने ट्याक्सी ड्राइभरसँग कति कचकच गर्नु!
अचम्म त त्यतिबेला लाग्यो, गन्तव्यमा पुगेपछि ३५ युरो नै चाहिन्छ भनेर ड्राइभरले अड्डी लियो। नेपाल भए जानेको थिएँ, पेरिसमा के गर्नु? तोकेकोभन्दा खुरूक्क ५ युरो बढी तिरियो। सभ्रान्त सहरहरूमा पनि देश बाहिरको मान्छेलाई उस्तै ठगिने। ठग्नेहरूका लागि ‘अपरिचित’एउटा गतिलो बहाना रहेछ।
ठगीका बारेमा खोजेको भए उपाय अनेक थियो होला तर इफेल घुम्नु कि उजुरबाजुर गर्नु। अड्कलेर साटेका युरोहरू पातलिँदै गए पनि मैले मन दुखाइनँ। रमाउन गएको मन दुखाएर मलाई अन्याय गर्न मन थिएन। जे आउँछ मज्जाले पचाउँछ!
पर्वतका शिव शर्मा दाइको होटलमा सुटकेस थन्काएपछि सुरू भयो, इफेलको यात्रा। भूमिगत ट्रेनबाट बीचमा एउटा चेन्ज गरेर पुगिँदो रहेछ, सिधै इफेलको काखमा। जमिनमुनि सात तहमा कयौं ट्रेनहरू चल्दा रहेछन्। सडकमा मानिसहरू कहाँ गए भनेको त सबै पेरिसको जमिनमुनि पो हुँदा रहेछन्। काउन्टरबाट नक्सा लिएपछि म हराउने र डराउने रोगबाट उन्मुक्त भएँ।
पाइला जमिनमुनि थियो, मन मालचरीको बथानसँगै उडिरहेको थियो। मन न हो कहाँ ‘बोइङ’ ल्याण्ड गरे जसरी ल्याण्ड गर्न सकिन्छ र? उड्यो त उड्यो उड्यो।
भूमिगत ट्रेनहरूमा खुट्टा राख्न पनि हम्मे हम्मे पर्ने। तोकेको समयमा आएको अनि तोकेको समयमा पुगेको छ।
आहा , सार्वजनिक यातायातको कति उत्तम व्यवस्थापन।
२ हजार वर्ष पुरानो इतिहास बोकेको आजको पेरिस २ सय वर्ष अगाडि बनेको रहेछ। कस्तो दुरदर्शिता। न सडक साँघुरो भयो भनेर घर भत्काउनुपर्ने, न सडकभरि मान्छेका हुल भएर दुर्घटना नै हुने।
ओ हो, सार्वजनिक यातायातको सबैभन्दा उत्कृष्ट नमूना योभन्दा के हुन सक्छ? ट्रेनको यात्राभरि मनमा यस्तै कुराहरू कुदिएका थिए।
पाँचौं तलको ट्रेन परेछ क्यार मलाई बाहिर निस्कन हम्मे हम्मे पर्यो। जब जमिनमुनिबाट बाहिर निस्कनै बित्तिकै इफेल टावर देखियो।
सारा थकान एकाएक मेटिएर गयो। आफैंलाई चिमेटे, एउटा सामान्य देशको सामान्य नागरिक म त विश्व प्रसिद्ध इफेल टावरको नजिकमा थिए, विश्वभरबाट आएका मानिसहरू सँगै थिए। संसारभरका मानिसहरूले हेर्न खोजेको ठाउँमा थिए।
अठारौं शताब्दी (१७८९) मा फ्रान्सेली क्रान्तिले जर्जर पेरिसले उन्नाइसौं शताब्दीबाट पुनर्जागरणको यात्रा सुरू गरेको थियो।
सोही यात्राले अहिले पेरिसलाई संसारकै उत्कृष्ट सहरको सूचीमा सूचीकृत गरेको छ। सन् १८८७ मा सुरू भएर दुई वर्षमा पूरा भएको इफेल टावरमा १८ हजारभन्दा बढी फलामका टुक्रा र २५ लाखभन्दा बढी फलामका टुक्रा जोड्ने किलाहरू प्रयोग भएका छन्।
१८८९ मार्च ३१ मा उद्घाटन भएर अप्रिल ६ मा सबैका लागि खुला गरिएको इफेल टावर संसारमा सबैभन्दा धेरै मानिसले हेर्ने टावरमा पर्दछ।
फ्रान्सेली क्रान्तिको १ सय औं वर्ष मनाउनका लागि यो टावरको निर्माण गरिएको हो र यसको उद्घाटनसँगै विश्व व्यापार मेलाको आयोजना समेत गरिएको थियो।
इफेलले संसारलाई सुन्दरता छर्न थालेको १ सय ३४ वर्ष पुगेको छ। तर गुस्ताव इफेलले यो टावर निर्माण गर्दा २० वर्षमा भत्काउने योजना थियो। निर्माण हुने बित्तिकै फ्रान्सको पहिचान बन्दै लाखौं पर्यटकका लागि आकर्षणको केन्द्र बनेपछि यसलाई भत्काउने योजना हराउँदै गयो। बिस्तारै यसलाई बलियो बनाउँदै लगियो।
दोस्रो विश्वयुद्धको समयमा हिटलरले पनि यो भव्य संरचना भत्काउनका लागि प्रयास गरेका थिए। उनले पेरिसका आफ्ना मिलिट्री गभर्नर डिटरिचलाई यस संरचना ध्वस्त पार्नका लागि आदेश पनि दिएका थिए। तर यसको भव्यताले गर्दा उनले हिटलरको आदेशको पालना गरेनन्। यसलाई ध्वस्त नगर्नुको अर्को कारण यसलाई रेडियो टावरका रूपमा पनि प्रयोग गरिने भएकोले रहेछ।
करिब १ हजार ८३ फिट (एन्टेनाबाहेक ९८४ फिट) अग्लो इफेल टावर संसारको सबभन्दा अग्लो मानव निर्मित संरचना थियो। १९३० मा न्युयोर्कमा क्रिस्टल विल्डिङ (एन्टेना बाहेक १०४६ फिट) को निर्माण भएपछि यसको रेकर्ड तोडिएको थियो। तर पछि योभन्दा अन्य अग्ला संरचनाहरू निर्माण गर्ने प्रतिष्पर्धा नै चल्दै गयो। उचाइका हिसाबले गणना नहुने भएता पनि इफेल टावरले आफ्नै खालको इतिहास र महत्व बोकेको छ।
यसलाई हेर्न र महसुस गर्न लालायित हुनेहरू विश्वभरबाट यसको समिपमा आएर रमाउने गर्दछन्।
टावरको आँगनमा पुगेपछि त्यहाँका क्रियाकलापले भने मलाई कुनै सभ्रान्त मुलुकमा पुगेको जस्तो भान दिएन। फलामबाट बनाइएका इफेलका आकृतिहरू किन्नका लागि जबर्जस्ती नै गरिँदो रहेछ। हामीलाई किन्ने खासै उत्साह थिएन तर पनि किन्नैपर्दछ भनेर दबाब दिइरहेका थिए।
हामीले आफ्नो अडान नछाडेपछि उनीहरूले नै आफ्नो अडान छाडे एउटा जबर्जस्तीबाट मुक्त भइयो।
नक्कली पैसा राखेर घुम्न आउनेलाई झुक्याउने र ठग्नका लागि समूह बनाएर विभिन्न झुक्याउने खेलहरू खुलेयाम खेलाइदो रहेछ।
कलंकीमा यात्रु ताने जसरी घुम्ती व्यापारीहरूले ग्राहक तान्दा रहेछन्। खैर यी कुरा यही छोडौं।
टावरमा पेरिस सहर हेर्नका लागि तीन तहमा दृश्यावलोकनको व्यवस्था गरिएको छ। धेरैजसो पहिलो र दोस्रो तहमा जाने गर्दछन् भने न्यून मात्रामा मात्रै तेस्रो तहमा जाने गर्दछन्।
आफैं चढ्छु भन्नेहरूका लागि भर्याङबाट चढ्ने व्यवस्था छ भने केबुलकारको प्रयोग गर्नेहरूका लागि केबुलकारको पनि व्यवस्था गरिएको छ।
इफिल टावर हामीले दिउँसोमात्रै हेर्ने अवसर प्राप्त भयो तर हजारौं बत्तीहरूले सुसज्जित टावर रात्रिकालीन समयमा निकै आकर्षक र मनमोहक देखिने गर्दोरहेछ।
विशेष उत्सव र पर्वहरूमा ती बत्तीहरू सोही अनुसार डिजाइन गरेर आकर्षक ढंगले देखाइँदो रहेछ। पछिल्लो समय बत्तीको चर्कोे खर्च आएपछि रातको १ बजेसम्म मात्रै टावर बल्दो रहेछ।
इफेल टावर आफैंमा सुन्दर छँदैछ। अझ यसलाई वरपरको परिवेशले सुन्दर बनाएको छ। टावरको आँगनबाट बग्ने सेइन नदीमा स्टिमर चढेर सयर गर्दै टावरको दृश्य हेर्दा मनको आनन्दले पराकाष्ठा नाघ्ने गर्दछ।
त्यस वरपरको सुन्दर पार्कलाई च्याम्प डे मार्स भनिँदो रहेछ। त्यहाँ आकर्षक स्तम्भहरू, बगैंचा, पानीका फोहोरा सबैले मन आनन्दी बनाउँछ।
गुस्ताव इफेलको डिजाइनमा बनेको इफेलले उनको नामलाई सधैं अमर बनाइरहेको छ।
मनमा खेलिरह्यो ‘नेपालका डाँडाकाँडामा गन्न नसकिने टावर बनाउनुभन्दा यस्तै रेकर्डेड टावर बनाए पो मेरो देशमा पनि टावर चढ्नेहरू संसारभरबाट आउने थिए’