सगरमाथा बेस क्याम्प यात्राको पाँचौं दिन दुइटा कारणले मन बोझिलो भएको थियो। पहिलो भरिया बस्ने कोठाको अवस्थाले। बेसक्याम्पको यात्रामा सबभन्दा कठिन भरियाहरूलाई हुने गर्दछ। उनीहरूले कम्तीमा २५ देखि ३० केजीको भारी बोकेर हिँड्नुपर्छ। त्यो पनि राम्रो जुत्ता र कपडा बिना। लाग्छ उनीहरू मानिस आधा र खच्चड आधा हुन्।
जब मैले उनीहरू ढुसीले गनाएको बत्ती नभएको अँध्यारो कोठामा बास बस्ने थाहा पाएँ मन बोझिलो भयो। पदयात्रा सञ्चालकहरूले केही शुल्क बढाएर भने पनि उनीहरूको लागि उचित बास, खानपिन र अन्य सुविधाको लागि पहल हुनुपर्ने कुराले मन अशान्त गरायो।
अर्कोतिर थुक्लामा रात कसरी कट्ला भन्ने पीरले मन जाग्यो। एक त चिसो ठाँउ त्यसमाथि धुलो र ढुसीको एलर्जीको रोगी। हुन त मैले घरबाट निस्केदेखि नै एलर्जीको औषधी लिन थालिसकेको थिएँ। तै पनि गन्धपुर त्यो कोठामा झण्डै बेलुका तीन चार डिग्री सेल्सियस जाडो हुने हुँदा कतै बिरामी परिएलाकी कि! भन्ने डर मनमा रह्यो।
‘गुरूजी कोठा त त्यस्तै छ, ब्ल्याङ्केट नपुग्ने भए माग्नुहोला है,’ नजिकै आएर होटल साहुले यति भनेपछि भने बाँचिन्छ जस्तो लाग्यो।
‘साहुजी ब्ल्याङ्केट त थप चाहिन्छ’, मातृकाजीले एकै स्वासमा माग प्रस्तुत गर्नुभयो।
‘हुन्छ म राख्न लगाइदिन्छु।’ भन्दै उहाँ आफ्नो कामतिर लाग्नुभयो।
मैले मातृकाजीलाई ‘बाँचियो’ भनेँ। हामी फेरि मुखामुख गरेर झण्डै रातको १० बजे डाइनिङ कोठाको हिटरलाई छोडेर कोठातिर लाग्यौं।
४६१५ मिटर उचाइमा अवस्थित थुक्ला जसलाई दुग्ला पनि भनिन्छ, खुम्बु हिमनदीको छेउमा अवस्थित छ। सामान्यतया यो ठाउँ पदयात्रीहरूबीच खाजा खान बिसौनीको रूपमा प्रख्यात रहेछ। तर हिजोआज भने धेरै पदयात्रीहरुले थुक्लालाई बास बस्ने स्टेशनको रूपमा रोज्ने देखियो।
विस्तारै बस्तीहरू बढ्दै गएको होटल संचालकहरूको भनाइ थियो। अहिले राम्रा गेष्ट हाउसहरू तीन चार वटा रहेछन्। होटल रेष्टुरासहित केही घरहरूले भरिएको सानो बस्ती थुक्ला मनमोहक नै छ।
थुक्लाको यो बासमा हामीले जुन ताल पुग्ने कोसिस गरेका थियौं चोला पोखरी, त्सोला त्सो, चोलो त्सो जस्ता नामबाट पनि चिनिँदो रहेछ। जब म थुक्लाको यो यात्रा लेख्दै थिएँ। चोलापोखरी छेउमा झरेको त्यो पहिरोको आवाज मेरो कानमा गुन्जिरहेको थियो।
यो ताल समुद्रसतहबाट ४,५१० मिटरमा रहेको सगरमाथा क्षेत्रमा सुन्दर तर गोप्य ताल हो। यो ताल चोलात्से पहाडको पोइन्ट पर्खाल भएको कारणले पनि बढी महत्व छ।
एभरेष्ट बेस क्याम्प ट्रेकिङ ट्रेलको यति नजिक भएर पनि यहाँ धेरै कम मानिस जान्छन रे! यो ताल देख्दा सानो देखिए पनि प्रसिद्ध गोक्यो तालभन्दा ठूलो छ।
तपाईं पक्कै पनि थुक्ला पुग्नुभयो भने दुई घण्टा जति समय निकाली यो ताल अवलोकन गर्नुहोला। जसको लागि तपाईंले स्थानीयहरूलाई तालको लागि बाटो सोध्न सक्नुहुन्छ। थुक्लाबाट पश्चिममा १.५ किमी टाढा छ र लगभग ४५ मिनेटमा पुगिन्छ।
यात्राको छैठौं दिन हामी गोरकशेप पुग्ने योजना थियो। लगभग थुक्लाबाट गोरकशेपको यात्रा नौ किलोमिटर थियो। स्थानीयका लागि दुई घण्टाको यात्रा हामीले पाँच-छ घण्टामा पुग्ने अनुमान गरेका थियौं।
हामी दुवै थुक्लाको त्यो कोठामा निदाउन धेरै प्रयास गरिरहेका थियौं। मिनेट मिनेटमा दायाँ र बायाँ फर्किरहेका हुन्थ्यौं। १२ बजे रातीसम्म पनि निदाएका थिएनौं। बाहिर पानी परिरहेको थियो। पानीको बाछिटाहरू राम्रोसँग नलाग्ने झ्यालबाट भित्र छिरिरहेको थियो।
मैले झ्यालको छेउमा रहेको झोलालाई पानीबाट जोगाउन लागें। पानीसँगै चिसोहावा पनि छिरिरहेको थियो कोठामा। थकित यो शरीर अन्तत निदाएछ। सधैं प्यारो हुने बिहानको निद्रा थुक्लामा भने भएन। हामी झण्डै ६ बजे त्यो जाडोमा ब्युझिसकेका थियौं।
चिसो हावाको कारणले होला ब्युझँदा मेरो टाउको दुखिरहेको थियो। सामान्यत काठमाडौंमा पनि राती टोपी नलागाई सुत्दा मेरो टाउको दुख्छ। हुन त मैले मज्जाले टोपी लगाएको थिएँ तर अति चिसो ठाँउ र झ्यालबाट हावा छिरेका कारणले टाउको दुखिरहेको थियो। राती मज्जाले नै पानी परेको थियो तर बिहान भने मौसम खुलेको देख्दा आनन्द पनि भयो।
भरियाहरू भारीको तयारीमा थिए। सबै आफ्ना काममा व्यस्त। हामीले पनि एक थर्मस तातो पानीसँग शरीर तताउँदै थियौं। हामीलाई भोक लागेको थिएन। मातृकाजीले पनि खाजा नखाने विचार गर्नुभयो। मैले साहुजीलाई बिहानको तातोपानीसहितको बिल मागेँ।
‘सुतेको, मोबाइल चार्ज गरेको, तातोपानी, चिया र कोठाको तपाईंहरूले पैसा तिर्नु पर्दैन। हिजो बेलुकाको खानाको छ सय दिनुसहोस् न।’ साहुजीको कुरो सुनेर ट्वाँ भएँ।
‘हैन साहुजी लिनुस् न तपाईंको नियम अनुसार।’ मैले नम्रतापूर्वक आग्रह गरेँ।
‘कोठा राम्रो थिएन। त्यसको लागि सरी। फेरि तपाईंहरू टासीको साथी पनि हुनु हुँदो रहेछ। त्यस्तो केही अप्ठ्यारो मान्नु पर्दैन ६०० दिनुस् न।’
यिनै शब्दसँगै मीठो हाँसो थियो साहुजीको मुहारमा।
हामी दुईले फेरी मुखामुख गर्यौं र ६०० दियौं। थप पानी चाहिएको थियो बाटोको लागि।
‘सरहरू बोतलभरी तातो पानी बोक्नुहोला। खै बोतल दिनुस् त। अब त पूरै उकालो हो नि नाक ठोक्किने। बिस्तारै जानुहोला’, उनको त्यो आतित्थता देखेर हामी अचम्मित भयौं।
भगवानले नै मेरो मनको कुरा सुने जस्तै हामीले सबै बोतल उनलाई दियौं। उहाँले भरेर दिनुभयो। 'फेरि भेटौंला है' भन्दै थुक्ला पासतिर उक्लियौं।
यो पाँचदिनको यात्रामा लगभग हामीले तातोपानी र मोबाइल चार्ज गरेको पैसा तिरेका थिएनौं। नेपाली विदेशी सबैले तिरेका छन्। कुरा गर्दै जाँदा जब हाम्रो बारेमा उनीहरूलाई थाहा हुन्छ ‘सरहरू खाना र कोठाको मात्र पैसा दिनुस न्’ यही जवाफ आउथ्यो।
एउटा अति सौहार्दतापूर्ण यात्रामा हामी लम्किरहेका थियौं। प्रत्येक ठाउँले हामीलाई आत्मीयता बढाइरहेको थियो। सम्झनाको विशाल भकारी बनाइरहको थियौं।
हाम्रो यात्रा विस्तारै चिसोतिर अघि बढ्दै थियो। उकालो चढ्दै जाँदा जिउ तातिएर पसिना निस्किए पनि चिसो हावाले कानलाई लगातार हानिरहेको थियो। अनि हात धेरै नै कठ्याङग्रिएको थियो। हामीले पन्जा किन्न भुलेछौं।
हामी दुवैसँग पन्जा थिएन। पन्जाबिना बेसक्याम्प पुग्न अलि गाह्रो होला जस्तो लागिरहेको थियो।
बिहानै ८ बजे हामी याकहरूको भीड पार गर्दै हिँडिरहेका थियौं। सानो भाइ एक जोर कपडा र चप्पलको भरमा ती याकसँग कुदिरहेको थियो।
‘भाइ तिमी कहाँबाट आएको?’ मैले केही उत्सुकता राखेँ।
‘गोरकशेपबाट।’ भाइको जवाफ थियो।
‘कति बजे हिँडेको त भाइ?’
‘बिहान छ बजे।’
त्यो भाइलाई हामीसँग कुरा गर्न जाँगर थिएन। जसोतसो उत्तर भने दिएर र उनी याकको पछि लागे।
मानिसको शरीर न हो। उही मौसम हामीलाई डाउन ज्याकेट, टोपी, ज्याकेटभित्र ताता लुगा लगाउँदा पनि जाडो भइरहेको थियो। हातमा पन्जा नभएर चिन्ताले सताएको थियो। तर त्यो भाइ मज्जाले चप्पल र एक जोर लुगा र हलुका ज्याकेटमा आनन्दले हिँडिरहेका थिए।
पक्कै पनि भगवानले उसको शरीर त फलामको बनाएको थिएन होला। सुविधा र सम्पन्नता विषय निरपेक्ष हुँदो रहेनछ। नत यसको भोक मानिसलाई घट्ने रहेछ।
थुक्लापासको यो उकालो हामीले १ घन्टामा पूरा गर्यौं। डाँडाको चौतारीमा हामीले झोला बिसायौं र थुक्लामा मायाले निःशुल्क दिएको तातो पानी पियौं।
झण्डै ३६० डिग्रीको कोणबाट दृश्यहरू कैद गर्न सकिने यो थुक्लापासको डाँडामा हामीलाई घामले स्वागत गरिरहेको थियो। डाँडा भएर पनि होला हावा बेगमै चलिरहेको थियो। हामीले अलि हावा छेकिने गरी झोला बिसाएका थियौं।
यो डाँडामा बसेर दृश्यस्वादन गर्नु जतिको मनमोहक छ त्यति नै यो पुरानो पीडा सम्झाउने डाँडा पनि हो। सगरमाथा आरोहण गर्ने क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा स्मारकहरू बनाइएको रहेछ। यसकारण यसलाई सगरमाथा आरोहीहरू जो सगरमाथाको काखमा बिलाए उहाँहरूको स्मारक पार्क पनि भनिँदो रहेछ।
यहाँ पर्वतारोही बाबुचिरी शेर्पादेखि अन्य साहसी पर्वतारोहीको स्मारक स्थापना गरिएको छ।
अधिकांश स्मारक सिमेन्ट र ढुंगाले बनेका छन्। सिमेन्ट र ढुंगाले बनेको स्मारक भने केही स्थानीय तथा वातावरणकर्मीहरूले वातावरणमैत्री नभएकोमा गुनासो गर्दा रहेछन्।
उनीहरूका अनुसार यस प्रकारको स्मारक स्थानीय ढुंगा, माटोले मात्र बनेको सरल र वातावरणमैत्री हुनुपर्छ भन्ने छ।
विभिन्न समयमा निर्माण गरिएका सयभन्दा बढी ठूला र साना स्मारकहरूमा, ‘उहाँको आत्मा सधैं जीवित रहोस्, आत्माले शान्ति पाओस्। स्वर्गमा बास होस्’, भन्ने प्रार्थनाहरू लेखिएको देख्न सकिन्छ।
स्मारकमा राखिएको फोटो र नाम र सगरमाथामा हराएको मिति हेरेपछि पदमार्गी भावुक हुने गर्छन्।
हालसम्म सगरमाथामा कति जनाको मृत्यु भयो भन्ने यकिन र उपयुक्त दस्तावेज छैन भनिन्छ।
लगभग सगरमाथा आरोहण गर्ने प्रयासमा तीन सयभन्दा बढी आरोहीले ज्यान गुमाएको अनुमान गरिएको छ भने सगरमाथा समिट ट्रेलमा सयभन्दा बढी शवहरू अझ बाँकी रहेको मानिन्छ।
हामीले पनि यी साहसिक आरोहीहरूको आत्माको शान्तिको कामनासहित प्रार्थना गर्यौं र उहाँहरूको त्यो साहसको लागि सलाम गर्दै लुबुचेतिर लम्कियौं।
हामी १० बजे बिहान लुबुचेमा प्रवेश गर्यौं। हामीलाई मित्र टाँसीजीले लुबुचेमा न्यू इविसी लजमा बस्नको लागि सिफारिस गरेका थिए। हाम्रो आजको बास पक्कै गोरकशेपमा थियो तर लुबुचेमा लन्च गर्ने योजना थियो।
हामीले न्यू इबिसी लजमा आफ्नो झोला थन्कायौं। लजको सन रूममा बसेर चिया र सातु लियौं। एकछिन आराम गर्यौं।
लोबुचे एक हिमालको नाम हो जुन खुम्बु ग्लेसियर र लोबुचेको बस्ती नजिकै अवस्थित छ। त्यहाँ दुई मुख्य चुचुराहरू लोबुचे पूर्व र लोबुचे पश्चिम पर्दछ। यी दुबैको आरोहणको लागि समेत नेपाल पर्वतारोहणले अनुमति दिने गरेको छ। लोबुचे पूर्व ६११९ मिटर र लोबुचे पश्चिम ६१४५ मिटरको उचाइमा रहेको छ।
यो सानो लोबुचे गाउँको उचाइ ४९४० मिटरमा अवस्थित रहेको छ। सगरमाथा आधार शिविरका पदयात्रीहरूको अन्तिम रातको स्टप ओभरको रूपमा पनि यो बस्तीलाई लिइन्छ। यसपछिको अन्तिम बस्ती भनेको गोरकशेप हो। गोरकशेपलाई आधार मनाएर पदयात्रीहरू सगरमाथा बेस क्याम्प र कालापत्थर उक्लने गर्छन्।
लोबुचे गाउँमा बस्ने सुविधाहरू विस्तारै आधुनिक भएका छन्। विस्तारै परम्परागत नेपाली शैलीमा ढुंगाले बनाइएका झुपडीले उनीहरूको पुरानोपनलाई गुमाइरहेको हामी देख्न सक्छौं। यहाँ केही लजहरूमा इन्टरनेट र अक्सिजन सेवाहरू पनि उपलब्ध रहेछ।
यहाँ कुनै कृषि क्षेत्रहरू छैन। त्यहाँका मानिसहरूको जीविकोपार्जन पर्यटनमा निर्भर रहेको छ। मानिसहरू सगरमाथा आधार शिविर वा अन्य कुनै चुचुरो चढ्न गाउँ भएर जानुपर्छ। लोबुचे गाउँ नेपालमा वसन्त र शरद ऋतु जस्ता शिखर ट्रेकिङ सिजनहरूमा व्यस्त हुन्छ।
हामी लन्चपछि एक बजे गोरकशेपको यात्राको योजना बनायौं। आफूलाई अक्लामाइजेसनको लागि कुनै राम्रो तर बढीमा २ घन्टामा जान आउन सकिने ठाउँबारे होटलकी साहुनीसँग कुरा गर्यौं।
उनले एक-दुई घण्टामा फर्किन सकिने त्यस्तो कुनै स्पेशल ठाँउहरू नभएको बताउनुभयो। हामीले लन्चको लागि थुक्पाको अर्डर गर्यौ र एक घन्टा उकालो हिँड्ने निर्णय गर्यौं।
‘बहिनी यतातिर पन्जा किन्न पाइन्छ होला?’ मातृकाजीले सोध्न कर गरेपछि मैले लजको साहुनीलाई सोधेँ।
‘खै भाइ के पाइन्थ्यो र’, उनको उत्तर थियो।
हेर्नु न दिदी हामीले पन्जा किन्न भुलेछौं, अलि गाह्रो होला जस्तो भयो।
‘त्यही त चिसो त बढी नै छ । झन् हावा चल्दा भने गाह्रो हुन्छ।’ दिदीको भनाइ थियो।
‘दिदी हामी एक घन्टामा फकिन्छौं। हाम्रो लन्च तयार गरिदिनुहोला है।’
उहाँले टाउको हल्लाएर स्वीकार गर्नुभयो। अलि बढी नै व्यस्त थियो आज यो लज पनि। उहाँ पनि व्यस्त नै हुनुहुन्थ्यो। हामी भने कम्तीमा एक घण्टाको उकालो चढ्ने योजना बनाएर लजबाट निस्कियौं।
क्रमशः
यी पनि:
मिसन सगरमाथा बेस क्याम्प–१: जब लुक्ला जाने जहाज छुट्यो!
‘कुइरे पाल्ने ठाउँ भन्नु न भाइ’
मिसन सगरमाथा बेस क्याम्प–३: दिदी उवाको सातु पाइन्छ?
मिसन सगरमाथा बेस क्याम्प-४: यो पुलमुनि हजारौं टोपी होला है! (तस्बिरहरू)
मिसन सगरमाथा बेस क्याम्प–५: सबै सुविधा छ तर आकाशमा तार नै छैन!
मिसन सगरमाथा बेस क्याम्प-६: तीन महिना काम गरेर एक वर्ष बाँच्नुपर्छ! (तस्बिरहरू)
एनजिओकर्मीहरू साँच्चै नै विकासवादी हुन् र? (तस्बिरहरू)
मिसन सगरमाथा बेस क्याम्प-८: मोबाइल चार्ज गरेको नै १५० रूपैयाँ
मिसन सगरमाथा बेस क्याम्प-९: जब एक्कासि तालको साइडबाट ढुंगा खस्न थाले!
(मनोजकुमार कँडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)