रोटरी क्लब भादगाँउको नेतृत्वमा फोर्छेको खानेपानी परियोजना समुदायमा हस्तान्तरण गरेपछि हामी दुवैको मन प्रफुल्ल थियो।
कम्तीमा जीवनमा एकजना मानिसको मुहारमा हाँसो दिने प्रायस अनवरत गरिरहेको हुन्छौं। अरूको मुहारमा हाँसो दिलाउन सके जीवनले सार्थकता पाउने कुरा रोटरीले सिकाउँछ। जे सकिन्छ त्यही निस्वार्थभावमा सेवा गर्न र आफूभन्दा माथि सेवाभावलाई राखि समाजमा योगदान गर्न पनि सिकाउँछ।
परियोजना हस्तान्तरण कार्यक्रममा फोर्छे गाँउका महिला दिदी-बहिनीहरूको अनुहारमा झल्केको खुसीले हामीलाई झन् भावविभोर बनाएको थियो। मनमनै आफूले गरेको कर्मप्रति गर्व महसुस भएको थियो।
मैले मातृकाजीलाई बेस क्याम्पबाट फर्कँदा इबिसी पदमार्ग नभएर चोलापास हुँदै गोक्यो लेकमा पाइला टेकी फर्कने प्रस्ताव राखेको थिए। जुन उहाँले स्वीकार्नुभयो।
मैले टासीजीलाई हामी फर्कँदा चोलापास हुँदै गोक्यो जाने बताए। त्यसका लागि होटल लजको सिफारीसका लागि सहयोग मागेँ। उहाँले हाम्रो योजना अनुसारको लिस्ट बनाएर पनि दिनुभयो।
मेरो हर्षको सिमाना थिएन। मलाई जीवनमा गोक्यो पनि जान मन थियो। त्यहाँ पनि पाइला राख्न पाइने कुराले म निकैउत्साहित थिएँ। जीवन एक यात्रा न हो।
दिनको ठिक दुई बजे फोर्छेबाट सगरमाथा बेस क्याम्पको पदमार्गतिर उकालो लाग्यौं। आजको लागि गन्तव्य पाङबोचे थियो।
फोर्छेबाट पाङबोचेको यात्रा ५.८ किलोमिटर थियो। स्थानीयका लागि एक घन्टाको यात्रा हामीले ३ घन्टामा पूरा गर्ने लक्ष्य लिएका थियौं।
पाङ्बोचे सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाँउपालिका भित्र पर्छ। जुन ३९८५ मिटरको उचाइमा इम्जा खोला उपत्यकाभित्र अवस्थित छ।
तेङ्बोचेबाट करिब तीन किलोमिटर उत्तरपूर्वमा रहेको यो गाँउ आमाडब्लम हिमाल आरोहण र पदयात्राका निम्ति आधार शिविर पनि हो।
यहाँको एक गुम्बा यतीको खोपडी र हातको विषयका लागि पनि प्रसिद्ध छ। तपाईले यहाँ यतीको खोपडी र हातहरू देख्न सक्नुहुन्छ। यहाँको यतीको खोपडी चोरी समेत भएको स्थानीयहरूको भनाइ छ।
हाम्रो यात्रा इम्जा खोलामाथिको भिरको बाटोलाई पछ्याइ रहेको थियो। जसलाई फोर्छे पाङबोचे पदमार्ग पनि भनिन्छ। इम्जा खोलाको पारी दूधकोसी र दूधकोशी माथि तेङबुचे गाँउ रहेको छ। यो गाँउ पुग्न सबैभन्दा लामो ठाडो उकालो छिचोलेर आउनु पर्ने कारण प्रख्यात छ।
हामीले तेङबुचेलाई वारीबाटै नियाली रहेका थियौं। फर्कँदा पनि गोक्यो लेकबाट फर्कने योजना थियो।
इम्जा खोला भने दूध कोशीको सहायक हिमनदी हो। सगरमाथाबाट पग्लिएको हिउँबाट खुम्बु ग्लेसियर लोबुचु नदिमा गएर पग्लिन्छ। जसबाट इम्जा खोला बन्छ। इम्जा खोलाको संगम भने तेङ्बोचेमा गएर दूध कोशी हो।
इम्जा खोलाको उचाइ ४३६० मिटर छ। खुम्बुको प्रख्यात पदमार्ग इबिसी मार्गमा तेङबुचेबाट आउँदा इम्जा खोलाको झोलुङ्गे पुलबाट पार गरेपछि दिङबोचे पुगिन्छ।
पहिला इम्जा उपत्यकाबाट आउने चिसो हावाबाट बाली जोगाउन तथा मानिसहरू बच्न पनि एक किलोमिटर लामो पर्खाल समेत बनाइएको रहेछ।
यस गाउँमा शेर्पाहरूको बसोबास रहेको छ। स्थानीय सुङ्दरे शेर्पाले सन् १९८९ मा पर्वतारोहणको विश्व इतिहासमा पाँच पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए।
पाङ्बोचेमा सन् १९६३ मा सर एडमन्ड हिलारीको हिमालयन ट्रस्टले विद्यालय बनाई दिएको रहेछ। जहाँ स्थानीय बालबालिका अध्ययन गर्छन्। गाउँको उत्तरमा दुग्ला ताल र पास रहेको छ।
हामी फोर्छे पाङ्बुचे पदमार्ग हुँदै अगाडि बढ्यौं। फोर्छे पाङ्बोचे पदमार्गको यो बाटो भिरालो थियो। बुट्याइनहरूले भरिएको, गुँरासका फुलले बाटो रंगीचंगी मनमोहक थियो।
यहाँ सेतो, रातो, सेतो र रातो मिसिएका विभिन्न रंगका लालिगुँरासहरू ढकमक्क फुलिरहेका थिए। आफ्नो देशको राष्ट्रिय फूल भएर पनि होला ढकमक्क फुलेको लालिगुँरासको समिपमा हिँड्दा मन गर्वले फुलेको थियो।
लालिगुँरासको त्यो मनमोहकताले शरिरको फूर्ती नै अलग थियो।
यात्रा भरि हिमालमा ढाकिएको हिउँ आँखा अगाडि देखिँदा हातैले टिप्न सकिन्छ भन्ने भान हुन्थ्यो।
फोर्छे देखिको यो यात्रामा डाँफे, हिउँ चिुतुवा, मोनाल भेटिएला भन्ने आशा सबै पदयात्रीमा हुने गर्छ। हाम्रो पनि थियो।
यी जनवारहरूको बासस्थान हो यो क्षेत्र अथात सगरमाथा राष्ट्रिय निकुञ्ज। स्थानीयका अनुसार एक-दुई वर्ष अगाडि डाँफेलाई सबै पदयात्रीले भेट्ने र फोटो खिच्ने गर्थे रे।
तर हामीले यो मौका पाएनौं।
हिउँ चितुवा, मोनाल भने अति भाग्यमानीले भेट्छन रे! हामी त्यति भाग्यमानी जस्तो लाग्दैन। तर यो बाटोमा प्रशस्त जंगली बाख्राहरू भेटियो। उनीहरूसँग फोटो खिच्न पनि सफल भयौं।
हामी नाम्चे हुँदै आउँदा सान्साबाट फोर्छेगाँउको गोक्यो री पदमार्ग लागि इबिसी पदमार्गलाई छोडेका थियौं। हो यहीँ इबिसी पदमार्गमा पाङ्बुचेमा जोडिनु पर्थ्यो। किनकि, यहीँ पदमार्ग सगरमाथा बेस क्याम्पसम्म पुग्ने पदमार्ग हो।
खुम्बुको यो पदमार्गमा लुक्लादेखि नाम्चे सम्ममात्र विद्युतको सहजता थियो। त्यो पनि स्थानीयस्तरमा संचालित लघु विद्युतीय परियोजनाहरूले परिपूर्ति गरिरहेका छन्। ती स्थानीय परियोजना कम विश्वासिला हुदाँ रहेछन्।
नाम्चे पश्चात आउने सबै क्षेत्रमा सोलारबाट बत्ती बल्ने रहेछ। सधैं कुहिरोले ढाकिरहने खुम्बु क्षेत्रमा सोलार पनि सहज हुने कुरै थिएन। त्यसै कारण दिनभरी बत्ती नबाल्ने र साँझ पनि छिट्टै सोलारको व्याक अप सकिने हुँदा बत्ती छिट्टै जाने रहेछ।
त्यही कारण पदमार्गीहरूले मोबाइल फूल चार्ज गर्दा १५० रुपैयाँ देखि २०० रुपैयाँ सम्म तिनुपर्थ्यो। एक थर्मस तातो पानीको मूल्य १०० रुपैयाँ र १ गिलास कालो चियाको १०० रुपैयाँ, कतै-कतै त १५० रुपैयाँ पनि तिर्नु पर्थ्यो।
लुक्लादेखि सगरमाथा बेस क्यम्पसम्मको यो यात्रा खुम्बु पासाङल्हामु गाँउपालिका भित्र पर्छ। यो क्षेत्र सोलुखुम्बु जिल्लाको माथिल्लो भाग हो जसलाई खुम्बु क्षेत्र पनि भनिन्छ।
यस गाँउपालिका नेपालको प्रथम महिला सगरमाथा आरोही स्वर्गीय पासाङल्हामु शेर्पाको सम्झनामा नामाकरण गरिएको हो।
यस गाउँपालिकाको क्षेत्रफल १५३९.११ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलका आधारमा यो दोस्रो ठूलो गाउँपालिका समेत हो। पछिल्लो जनगणना अनुसार यस गाँउपालिकामा ८९८९ जना मानिसको बसोबास रहेको छ।
हिमाली क्षेत्रमा पाइने अधिकांश वनस्पति, वन्यजन्तु पाइने यो गाउँपालिकाको अर्को आकर्षणस्थल सगरमाथा राष्ट्रिय निकुञ्ज हो।
साविकको चौरिहार्क, नाम्चे र खुम्जुङ गाविसको वडा नं ९, जुविङ गाविसको १, ५, ६ र ९ लाई जोडेर खुम्बु र पासाङलामाको नामबाट यो गाउँपालिकाको नामाकारण गरिएको थियो।
यस गाउँपालिकाको पूर्वमा संखुवासभा, पश्चिममा रामेछाप, उत्तरमा दोलखा र दक्षिणमा सोलुदूधकुण्ड नगरपालिका, दुधाकोशी र सोताङको सिमाना छ।
फोर्छेबाट पाङबोचेको यो यात्रामा भने बीचमा कुनै बस्ती, होटल, लज तथा रेष्टुरेष्टहरू भेटिएन। हामी सुन्दर हिमश्रृंखलाको दृश्यलाई मनमस्तिष्कमा कैद गर्दै अगाडि बढ्दा धेरै थकाइ महसुस पनि भएको थिएन।
सायद तेस्रो बाटो भएर पनि हुन सक्छ।
हामीले झण्डै साढे दुई घन्टामा पाङबोचेमा पाइला टेक्यौं। हामीलाई टासीजिले ट्रेकर्स लजमा बस्नको लागी सिफारिस गर्नु भएको थियो। हामी सहजै ट्रेकर्स लजमा पुग्यौं।
बाहिर सिमसिम पानी परिरहेको थियो। कुहिरोले पाङबोचेलाई छोपेको थियो। आजसम्मको यो यात्रामा सबैभन्दा जाडो महसुस भएको थियो।
पदयात्रीहरूले पाङबोचेबाट लोहोत्से, आमाडब्लम र अन्य थुप्रै टापु चुचुरोहरुको मनोरम दृश्य अवलोकन गर्न सक्छन्। तर हामीले पानी र कुहिरोको कारण देख्न पाएनौं।
हामी भोलि बिहान ती हिमालहरूका दृश्यस्वादन गर्न पाउने कुरामा विश्वस्त थियौं। पाङबोचेमा ३,९०० मिटर उचाइमा एउटा मठ पनि रहेछ। पाङबोछे चुखुङ र इम्जा त्से जसलाई आइल्याण्ड पिक पनि भनिन्छ।
हामीले कोठामा केही क्षण आराम गर्यौं।
लबीमा गयौं किनभने बेलुकाको खानाको अर्डर गर्नुथियो।
लबी प्राकृतिक हिटरले तातिन थालेको थियो। हामीलाई टासीजीले भन्नुहुन्थ्यो, ‘यो क्षेत्रका लज तथा होटलमा पाहुना भए नभएको छानाबाट थाहा हुन्छ। धुवाँ आए नआए पाहुनाको स्थिति थाहा हुन्छ।
पाहुना आए तातोको लागि हिटर बाल्दा धुवाँ निस्कने हुँदा जुन होटल लजमा छतबाट धुवाँ निस्किएको हुन्छ त्यहाँ पाहुना छ भन्ने हुँदो रहेछ।
कोठाको बीचमा फलामले बनाएको ढ्याङ, ढ्याङको एकातिर दाउरा हाल्ने ढोका अनि ढ्याङको माथि बीचमा धुँवा जाने चिम्नी जोडिएको हुन्छ। यो प्राकृतिक हिटरले एक-दुई घन्टामा लबी पुरै तताउने रहेछ।
हामीले नेपाली दालभात सहित लसुनको सुप अडर गर्यौं। लसुनको सुपले पनि लेक लाग्नबाट बच्न सहयोग हुने स्थानीयहरूको भनाइ थियो। त्यसले पनि बेलुकाको खानामा लसुनको सुप लिएका थियौं।
मैले साहुनीलाई होटलको बारेमा सोधेँ,‘आज होटलमा भिआइपी आएका छन्।’
हामीलाई कौतुहलता जाग्यो। पाँच जना हिटर तापिरहेका थिए। दुई जना महिला र तीन जना पुरूष हुनुहुन्थ्यो। हामी पनि नजिकै गई हिटर ताप्ने जमर्को गर्यौं। उहाँहरू आधा नेपाली र अंग्रेजी बोल्दै हुनुहुन्थ्यो।
मातृकाजी अलि छिट्टै नयाँ मानिसहरूसँग घुलमिल हुन सक्ने। उहाँले परिचयको सुरूवात गर्नुभयो।
फोर्छेको पानीको परियोजना समुदायलाई हस्तान्तरण गर्न आएका र यही मौकामा सगरमाथा बेस क्याम्प जान लागेको कुरा मातृकाजीले सुनाउनुभयो।
‘ए तपाईहरू पो हो, हामी फोर्छेबाट आउँदा थाहा पाएका थियौ। स्थानीयहरू अति नै खुसी हुनुहुन्थ्यो। तपाईहरूलाई भेटेर खुसी लाग्यो। अति राम्रो काम गर्नु भएको रहेछ।’
उहाँहरूको प्रशंसाबाट हामी आभारी भयौं। मातृकाजीले उहाँहरूबारे पनि सोध्नुभयो।
'हामी यूएनडिपीबाट हो। नेपाल सरकार, यूएनडिपी र पाङबोचेका समुदायको सहकार्यमा आमाडब्लम हिमालको फेदबाट बगेको पानीबाट उत्पादन हुने हाइड्रोको सर्वे भइरहेको छ। हामी झण्डै ४-५ वर्षदेखि काम गरिरहेका छौं। हामी यसैको सिलसिलामा आएको।’
‘यो त अति राम्रो सुरूवात रहेछ। बास्तवमा खुम्बुको यो क्षेत्रले सोलारको भरमा उज्यालो खोज्दै छ। प्रायः कुइरोले घेरिने हुँदा बत्ती बाल्न अति नै गारो हुन्छ। यो परियोजना सफल भए खुम्बु उज्यालो हुने थियो।’ मैले एकैस्वरमा भने छु।
मेरो कुरा नसकिँदै ‘डिपिआर अन्तिम हुँदैछ। ५-७ वर्षमा बत्ती बल्छ होला। यसले खुम्बुको पुरै क्षेत्रलाई उज्यालो दिने उहाँहरूको भनाइ थियो।
यो समाचार अति नै सुखद थियो। उहाँहरू भर्खर समुदायसँग यस विषयमा छलफल गरेर, माला खादाको माया लिएर आउनु भएको रहेछ।
हुन पनि खुम्बुबासीका लागि उहाँहरू भिआइपी नै हुन्। यसकारण पनि उहाँहरूलाई सम्मान र माया दिएका थिए।
कोठा अति नै तातिँदै थियो। हामी बिस्तारै-बिस्तारै हिटरबाट टाढा सर्दै थियौं। हामी बीच केही व्यक्तिगत कुराहरू पनि भए।
हामी सबै खानाको लागी तयार थियौं। हामी सबैलाई भोकले खेदिरहेको थियो।
पाङबोचेको स्थानीय साग, आलु, दालभात अचार अति स्वादिष्ट थियो। सबैले थपेर खायौं। सबैभन्दा लोकप्रिय भने आचार भएको थियो।
मिठो खानासँगै निद्राले हामीलाई झक्काई रहेको थियो। यूएनडिपीको त्यो समूहसँग बिदा मागेर हामी कोठातिर लाग्यौं।
भोलिको यात्राबारे छलफल भयो। समान्यतय पाङबोचेबाट अर्को स्टेसन दिङबुचे हो। इबिसी पदमार्गको यहीँ मार्गबाट विदेशीहरूलाई अक्लामाइजेसन गराउँदै लाने गरिन्छ। दिङबुचेबाट अर्को दिन थुक्ला वा लुबुचेमा राख्ने गरिन्छ।
तर हामी भने अलि छिटो पुग्ने योजनाको साथ भोलि थुक्ला नै पुग्ने र त्यसका लागि फेरिचे हुँदै पाङबोचे फिरिचे पदमार्ग छानेका थियौं। मलाई गाह्रो थिएन। मातृकाजीले नै यहीँ पदमार्ग रोजेपछि सहजै तयार भयौं।
पाङबोचेबाट दिङबुचे लगभग ८ किलोमिटर थियो भने दिङबुचेबाट थुक्लाको यात्रा लगभग ९ किलोमिटरको। जम्माजम्मी पाङबोचेबाट दिङबुचे हुँदै थुक्ला पुग्न १७ किलोमिटर थियो।
हामीले पाङबोचेबाट फिरिचे हुँदै थुक्लासम्म तय गरेको पदमार्ग भने लगभग ११ किलोमिटरको थियो। हामी एकै दिन थुक्ला पुग्ने योजनाको साथ ११ बजे सिरकमा गुम्टियौं। यहाँको तापक्रम लगभग तीन डिग्री सेन्टिग्रेट थियो।
क्रमसः