मिसन सगरमाथा बेस क्याम्प-७
यात्राको चौथो अर्थात् मुख्य दिन। बिहान सात बजे नै उठ्यौं। पूर्व योजना अनुसार टासीजी र छिरिङजीसँग भेटघाट गर्यौं। नास्ता तयार थियो, गर्यौं।
हामीले बोक्न नसकी लुक्ला छाडेका ताम्रपत्रहरू हामीभन्दा पहिले नै आइसकेका थिए। ताम्रपत्रहरूमा परियोजनाका सहयोगी हातहरूको विवरण लेखिएको थियो जुन प्रत्येक धारामा टाँस्ने कार्यक्रम थियो।
यो परियोजना युकेको दुई वटा रोटरी क्बलको आर्थिक सहयोग र रोटरी इन्टरनेशनलको म्याचिङ ग्रान्टबाट सफल भएको हो।
स्कुलको लागि जडित धारामा रिबन काटेर उद्घाटन गर्ने कार्यक्रम थियो। उक्त धारा परियोजना हस्तान्तरण कार्यक्रम स्थल नजिक भएकोले ताम्रपत्र पछि टाँस्ने योजना थियो।
पूरै ८० घरपरिवारलाई सहज हुने गरी सात ठाउँमा धारा बनाइएको थियो। ती विभिन्न स्थानमा राखिएका थिए। ती धारामा पुगी टाँस्न दुई घन्टाभन्दा बढी लाग्ने उहाँहरूको जिकिर थियो।
बिहान दश बजेलाई कार्यक्रम तय भएको थियो। सोही ठाउँमा आठ बजिसकेको हुनाले दुःख नगर्न उहाँहरूको आग्रह थियो।
तर हामीले दश बजे कार्यक्रम स्थलमा पुग्ने प्रतीज्ञा गर्यौं। सबै धारामा आफैं रोटरीको विवरण राख्ने कुरा पनि सुनायौं।
किनकि हामीले परियोजना निरीक्षण गर्ने दायित्व इमान्दारिताका साथ पूरा गर्नुपर्थ्यो। परियोजनाको संयोजन गरिरहनु भएका रोटरियन तुलबहादुर कँडेलले भोलि कुनै अपजस आउँदा तपाईंहरू नै जिम्मेवार हुनपर्छ भनेर स्पष्ट पार्नुभएको थियो।
जाने नै भएपछि छिरिङजी हामीसँग र टासीजी परियोजना हस्तान्तरण तथा धारा उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लाग्ने गरी काम विभाजन गर्यौं। हामी तीन जना धाराको निरीक्षण र ताम्रपत्र राख्नतिर लाग्यौं।
अन्तर्राष्ट्रिय संस्था रोटरी विश्वमै पुरानो सामाजिक संस्थाको रूपमा प्रख्यात छ। रोटरी क्लबका सदस्य रोटरियनहरू पनि समाजका सम्मानित र विशिष्ट व्यक्ति छन्।
सर्भिस एभोब सेल्फ ‘आफूभन्दा माथि सेवा’ यस संस्थाको मुख्य नारा भएको कारण पनि आफ्नो स्वार्थ पूरा गर्न आउनेभन्दा पनि समाजलाई केही योगदान गर्न चाहानेहरू नै सदस्य हुन्छन्।
हुन त व्यक्तिगत स्वार्थको उद्धेश्य लिएर एकाध व्यक्तिहरू नआउलान् भन्न त सकिँदैन तर उनीहरू पक्कै पनि धेरै समय संस्थामा भने रहिरहन सक्दैनन्।
विश्वभरी ३३ हजार रोटरी क्लबमा १२ लाख सदस्यहरू छन्। दुई सय राष्ट्रमा फैलिएको रोटरी क्लब फैलिएको छ। नेपालमा पनि १५६ क्लबमा लगभग ६ हजार सदस्यहरू छन्। मुख्यतः तीन वटा कारणहरूले गर्दा यो संस्था विश्वमा नै अति सम्मानित छ।
पहिलो, विश्व शान्ति र भाइचाराको लागी रोटरीले खेलेको भूमिका।
दोश्रो विश्व युद्धले क्षतविक्षत भइरहेको मानव सभ्यतालाई जोगाउन युएन स्थापनाको लागि रोटरीको ठूलो भूमिका थियो।
युएन स्थापनाकालमा चार्टर लेख्दा ४९ जना रोटरीयनहरू सहभागी थिए। त्यसैले आज पनि युएनमा प्रत्येक वर्ष रोटरी डे मनाइन्छ। विशिष्ठ सल्लाहाकारको रूपमा युएनको सभामा रोटरीको सहभागिता हुने गर्दछ।
रोटरीको एक महत्वपूर्ण उदेश्य विश्व शान्ति र भाइचारा, विश्व बन्धुत्वको लागि काम गर्नु हो। यसको लागि रोटरी पिस फेलोशिप कार्यक्रममार्फत शैक्षिक छात्रवृद्धि, तालिम, प्रशिक्षण दिन्छ, जसले विश्व शान्तिको लागि प्रभावकारी उत्प्रेरक समाजिक नेताहरू जन्माउन भूमिका खेल्छ।
रोटरीले प्रत्येक वर्ष १३० जनालाई सम्पूर्ण अध्ययनको लागि खर्च गर्छ र विश्वका प्रख्यात विश्वविद्यालयमा छात्रवृद्धि दिने गर्छ। त्यसमध्ये पनि ५० जनालाई मास्टर डिग्री र ८० जनालाई व्यवसायीक विकास कार्यक्रमको लागि सहयोग गर्छ।
हाल सम्म रोटरीले ११५ देशका १५ सयभन्दा बढि व्यक्तिलाई पिस फेलोशिप दिइसकेकोछ। नेपालमा पनि ५ जनाभन्दा बढिले पिस फेलोशिप पाई अध्ययन गरेका व्यक्तिहरू छन्।
दोश्रो, पोलियो उल्मुलनमा रोटरीले खेलेको महत्वपूर्ण भूमिका।
पोलियोबाट आक्रान्त बनी मानव समुदाय अपाङ्गताबाट पीडित भएको थियो। सोहि अवस्थामा पोलियो उल्मूलनको लागि विश्व मानव समुदायसँग प्रतिज्ञा लिएको थियो रोटरीले। त्यसबेला यो प्रतिज्ञालाई अति महत्वकाक्षी पनि भनिएको थियो।
तर आज विश्वमा लगभग पोलियो उल्मूलन भइसकेको अवस्था छ।
हाल पाकिस्तान, नाइजेरिया र अफगानिस्तानबाहेक सबै देशहरूमा पोलियो उल्मूलनको घोषणा भइसकेको छ। त्यस्तै रोटरीले आगामी सन् २०२५ सम्म विश्वबाट पोलियो उल्मूलन भएको घोषणा गर्ने लक्ष्य लिई अगाडि बढिरहेको छ।
हिजो र आज बालबालिकाहरूले जुन पोलियो थोपा खाइरहेका छन्। यसको लागि विश्वका १२ लाख रोटरीयनहरूले प्रत्यक्षरूपमा आर्थिक सहयोग गरेका छन्। त्यस्तै स्वयसेवक भएर सहयोग पनि गरेका छन्। रोटरीले विश्वभरी पोलियो सम्बन्धि सचेतनाका लागि विभिन्न कार्यक्रम, र्यालीहरू पनि गर्ने गरेको छ।
यो समाजिक काममा ६ हजार नेपाली रोटरियनहरूको प्रत्यक्ष सहयोग समेत रहेको छ। ६ हजार नेपाली रोटरीयनहरूमध्ये धेरै रोटरीयनहरूले प्रत्येक वर्ष एकजना बराबर १० अमेरिकन डलर सहयोग गर्ने गरेका छन्।
तेश्रो, संस्थाको पारदर्शिता र समाज सेवा।
रोटरी धर्म, राजनीतिबाट टाढा छ तर राजनीतिकरूपमा सचेत र नैतिकवान् व्यक्तिहरू यसका सदस्य छन्। त्यसैले पनि विश्वमा रोटरी समाज सेवामा पहिलो नंम्बरमा दर्ज भएकोछ।
यसको महत्वपूर्ण पक्ष भनेको पारदर्शिता नै हो। १२ लाख रोटरियनले दान दिएको पैसाको सही र पारदर्शी रूपमा समाज परिवर्तनको पक्षमा लागानी गरिरहेको छ। रोटरी पारदर्शितामा विश्वमा सधैं पाँच तारा पाउने संस्थामा पर्दछ।
हुन त नेपालमा एनजिओकर्मी भन्ने बित्तिकै ‘डलर कमाउने’ व्यक्तिको रूपमा उभ्याइन्छ। डलर नै त भन्न नमिल्ला तर आफूलाई समाजसेवी भन्न रूचाउने धेरै एनजिओकर्मीहरू ‘परजीवी’ जस्ता भने पक्कै छन्।
म आफू पनि १५ वर्षदेखि एनजिओ कार्यरत छु। मुख्य त बालबालिकाको क्षेत्रमा कार्यरत छु। एनजिओकर्मीहरू साँच्चै नै विकासवादी हुन् र? भन्नेमा दुविधामा उभिएको छु। मेरो केही अचम्मको अनुभव छन्।
नेपालभरी ५ सयभन्दा बढि बालबालिका अधिकारको लागि काम गरिरहेका संस्थाहरू सकृय छन्। एक सय विदेशी संस्थाले प्रत्यक्ष बालबालिका अधिकारको लागि काम गर्न समाज कल्याण परिषदबाट स्वीकृति समेत लिएका देखिन्छन्।
तर जम्मा १५ वटाभन्दा कम एनजिओहरूको डोनरसँग सिन्डिगेट रहेको छ।
गहनरूपमा अध्ययन गर्दा मैले यो भेटेको छु। यीमध्ये १० वटा एनजिओहरूको विभिन्न पदाधिकारीहरू लगभग एकै व्यक्तिहरू छन्।
हो, उनीहरूको पद फरक छ, कतै सल्लाहाकार, कतै अध्यक्ष, कतै महासचिव, कतै कोषाध्यक्ष कतै सदस्य। तर सबै संस्थामा उनीहरूको नै बलियो उपस्थिती र पकड छ।
अनि महाआश्चर्य त सुशासन र अधिकारको दुहाई दिने आइएनजिओले यी संस्थाको मात्र परियोजना स्वीकृत गर्छन्।
अझ भित्री रहस्य छ। यी परियोजनाहरू लेख्ने २/४ जना विद्धानहरू छन्। तिनीहरूले लेखेकोमात्र स्वीकृत हुन्छ।
ती संस्थाबाट नेपालको सरकारी कार्यालयहरूमा व्यापारीक संस्थाहरूको सूचिकरण जस्तै सूचिकृतसँग मात्र काम नगर्ने भनेर स्पष्ट जवाफ पाइन्छ र सिन्डिकेट बाहिरको संस्थाहरूको परियोजना स्वीकृति नै हुँदैन।
मलाई किन एकै व्यक्तिहरू विभिन्न संस्थामा बस्छन भन्ने लाग्थ्यो। यसबारेमा अध्ययन गर्दा आफूलाई अधिकारकर्मी भन्न रूचाउनेको काम भनेको संस्थाको बैठकमा भागलिने भत्ता बुझ्ने रहेछ।
अनि धेरै संस्थामा संलग्न रहेको कार्ड छाप्ने, बाड्ने, कार्यक्रमा खादा भिर्ने अनि अधिकारकर्मी बनेर गफ दिने।
५ वटा संस्थाको महिनामा एक मात्र बैठक हुदाँ पनि बैठक भत्ता, यातायात खर्चको नाममा जिविकोपार्जन गर्ने गर्छन्। फेरी थप ट्रेनर, सहजकर्ता रूपमा राम्रो सेवा शुल्क पनि पाउने, विभिन्न देश, विदेश सयर गर्न पाउने, मुख पनि फेर्न पाउने।
मैले यहाँसम्म भेटे कि कुनै संस्थाको महिनामै १० वटासम्म बैठक बसेर भत्ता बुझेको।
तर जसको लागि अधिकारको कुरा गरेको हो उनीहरू जहाँको त्यहीँ छन्। सडक बालबालिका सडकमै, श्रमिक श्रमिक नै, कहि कतै उनीहरूको जीवनमा सुधार देखिएको छैन। यो तितो सत्य हो, हामी अधिकारकर्मी भन्न चाहनेको लागि।
यसरी गरिबको नाममा आएको बजेटको लगभग साठी प्रतिशत तलब, भत्ता, यातायात सुविधा खर्च गरी सकिने रहेछ। यो परिदृश्यलाई हेर्दा एनजिओकर्मीहरू ‘परिजीवी’ जस्तो लाग्ने तर गरिब दुःखीको आडमा बसेर बाँच्नेलाई के भन्ने?
मैले यति लामो अनुभव किन जोड्दैछु भने रोटरीमा भने बजेटको बढीमा पाँच प्रतिशतमात्र प्रशासनिक खर्च गर्न पाइन्छ। समान्यत परियोजनाको प्रशासनिक खर्च दुई प्रतिशतलाई राम्रो मानिन्छ।
हामी यो परियोजना निरिक्षणमा आउदाँको सम्पूर्ण खर्चहरू मातृकाजी र मैले नै व्यहोरेका हौं। रोटरीमा त्यस्तो कुनै खर्च राख्न पाउँदैन जसको प्रयोग सदस्यहरूले भत्ता, खाना सुविधा, यातयात खर्च भनेर खर्च गर्न पाओस्।
सदस्यहरू स्वयंसेवकको रूपमा रहनुपर्छ र रोटरीयन हुदाँ नै यहि कुराको सपथ लिनुपर्छ।
यस परियोजना स्थलमा एक रात खाना र बस्न बाहेक सबै हामीले नै व्यहोरेका थियौं र परियोजना स्थलमा हाम्रो खाना र बस्नको खर्च पनि परियोजनाले नभएर होटलको मालिक तथा परियोजनाको स्थानीय संयोजक टाँसी लामाजीले व्यक्तिगत रूपमा व्यहोर्नु भएको थियो।
यसकारण पनि हामीले सगरमाथा बेस क्याम्पको पदयात्राको मिसन राखेका थियौं। आधाआधी बाटो पुग्ने अनि बाँकी आधाबाटो किन नजाने? अर्को पटक आउँदा झन डबल खर्च हुन्थ्यो। खर्चको मितव्ययिता थियो, बेस क्याम्पको मिसन।
यहि सतमार्गले नै मलाई रोटरीमा आकर्षित गरेको थियो र रोटरीमा सकृय हुन थालेको हुँ। कमाउने पेशाबाट हुनुपर्ने हो, कुनै पेशा नै नभएकाहरू कसरी समाजसेवी हुन सक्छ?
हामी तीन जनाले झण्डै १ घन्टा आधामा पुगेर धारामा पानी रहे नरहेको हेर्दै ताम्रपत्र टाँस्ने काम गर्यौं। टासीजीको फोन आइरहेको थियो। त्यसै त उहाँ उद्घाटनमा महिलामात्र हुने त्यसमाथि थोरैको उपस्थिती होला भनी पिर गर्दै हुनुहुन्थ्यो।
त्यसमा पनि हामी ढिला पुगे भेला भएका गाँउबासीहरू फर्किएलान् भन्ने चिन्ता थियो। केही ढिला भए पनि हामी ११ बजे उद्घाटन स्थलमा पुग्यौं। हामीलाई सबै गाँउबासीले तालीले स्वागत गर्नुभयो।
हामी पुग्नासाथ टासीजीले फूलमाला, ध्वाजापत्ताले सजिएको धारामा लिएर जानुभयो। मैले रिबन काटेर धाराको उद्घाटन गरें। तालीको गडगडाहटबाट प्रष्ट देखिन्थ्यो, उहाँहरू खुसी हुनुहुन्छ भनेर।
दूधकोशीको आवाज सुनेर पानीको प्यासमा बाँचेका गाँउलेहरूको लागि यो सात वटा धारामा झरेको पानी अमृत समान थियो। उद्धघाटनपश्चात परियोजना हस्तान्तरण कार्यक्रममा सरिक हुन आयौं।
कार्यक्रमको सुरूवात चियापानबाट भयो। हाम्रोतिर कार्यक्रमको अन्तमा चियापान हुने गर्थ्यो तर यहा फरक रह्यो। चिया राख्दै बौद्ध परम्पराअनुसार नमस्कार गर्दै पहिला पाहुनाहरू र पछि सबै उपस्थित गाउँवासीहरूलाई चिया वितरण गरियो।
झण्डै आधा घन्टाको चियापान भयो। त्यसपछि उद्घाटन कार्यक्रमको संचालन खानेपानी परियोजनाको उपभोक्ता समितिका सचिवले गर्नुभयो।
स्थानीय चुनावको घोषणाले गाँउपालीकाको अध्यक्ष तथा वडाअध्यक्ष उपस्थित हुन पाउनु भएन। तर उहाँले रोटरीलाई धन्यवादको सन्देश दिनुभएको थियो।
उपभोक्ता समितिको मुख्य पदाधिकारी, महिला समुहको अध्यक्ष, स्कुलको हेडसर, टासी लामा, छिरिङ शेर्पा लगायत हामी दुईको प्रमुख अतिथ्यमा कार्यक्रमा संचालन भएको थियो।
उपभोक्त समितिका उपाध्यक्षले हामी सबैलाई स्वागत गर्नुभएको थियो भने परियोजनाका संयोजक टासी लामाजीले आर्थिक हिसाब सुनाउनुभयो।
६० हजार डलरको उत्त परियोजनाले ८० घर परिवारलाई खानेपानी र खानेपानीधाराबाट निस्किएको पानीलाई निकास सहितको परियोजना साकार भएकोमा उहाँहरू हर्षित हुनुहुन्थ्यो।
प्रमुख अतिथिको तर्फबाट बोल्ने क्रममा मैले धारा बनाउनु भन्दा पनि यसको जगेर्ना गर्ने काम मुख्य भएको र रोटरीले आजबाट तपाईंहरूलाई नै हस्तान्तरण गरेका घोषणा गरेँ।
केही वर्षपछि घुम्न आउँदा सबै धाराहरू यही रूपमा देख्न पाइयोस् भनेँ। पानी धाराको संरक्षण र सुरक्षाको लागि उपभोक्ता समितिलाई निरन्तर काम गर्न अनुरोध गरेँ।
हामीलाई बुद्धको मूर्ति मायाको चिनो थियो। हामी रोटरियनहरूको लागि बुद्धको मूर्ति पाउँदा मन र मस्तिक शान्ति भई आनन्दीत बनायो। उपस्थित सबै गाँउबासीहरूले खादाले गरेको स्वागतले टाउको नै पुरीन लागेको खादालाई देखाउँदै ‘मनोजजी अब त खादा नलगाउनु भन्नुस न।’ मातृका जी भन्दै हुनुहुन्थ्यो।
टासीजीले सुन्नुभएछ ‘यो हाम्रो गाँउको आत्मिय माया हो सर। तपाईंहरूले पानी खुवाउनुभयो। हामीले एक दिन सम्मान दिन नपाउनु र?’ हामी दुवै उहाँको अत्मियताप्रति आभारी रह्यौं। फोटोहरू लियौं।
अन्तमा टासीजीले ‘यो धाराहरू तपाईहरूको नासो भए पनि हाम्रो प्राण हो। यसको संरक्षणको जिम्मा हाम्रो’ भन्नुभयो।
हामी दुईले एक अर्कोलाई हेरी प्रफुल्ल भयौं।
कार्यक्रम अन्तपछि भने हामी खानाको लागि टासीजीको होटलमा गयौं। सबै गाँउबासीहरूले बिदाई गर्नुभयो।
एक दुई घर परिवार कार्यक्रम स्थलमा पुग्नसक्नु भएका थिएन। हामी खाना खाइरहेको ठाँउमा खादा लिएर प्रेम दिन आउनुभयो। यसबाट प्रष्ट हुन्थ्यो त्यो खानेपानी परियोजनाको महत्व।
मातृकाजीको नाम्चेमा देखिएको शरीरको अप्ठ्यारो हटेको थियो। हामीले १ बजे नै कार्यक्रम समापन र खाना समेत खाइसकेका थियौं।
आज नै सगरमाथा बेस क्याम्पको लागि अगाडि बढ्ने कुरा भयो। रूट र बास बस्ने स्थानको लागि टासीजीसँग जानकारी लियौं। उहाँले बस्ने होटलको नाम, होटलको मालिकको नाम, मोबाइल नम्बर समेत दिई सहयोग गरिदिनुभयो।
‘मेरो नाम लिनुन सर तपाईहरूलाई सबैले राम्रो व्यवहार गर्नुहुनेछ।’ उहाँले भन्दै हुनुहुन्थ्यो।
हामीलाई पदयात्रामा अर्को उत्साह थपियो। यहाँ बस्ने खाने सबै महंगो हुन्थ्यो। तर उहाँको सहजताले हामीलाई थप सहयोग पुग्ने आशा जाग्यो।
सबै गाँउलेको त्यो माया, टासीजीको आतिथ्यता अनि छिरिङजीको सहकार्यबाट प्रभावित हामी भावानात्मक रूपमा गाँसीएर छुट्नु पर्दा गहुँगो मन भएको थियो।
छिट्टै भेट्ने र खुम्बु क्षेत्रमा थप समाजिक कार्यमा सहकार्य गर्ने वाचाको साथ ठिक दिनको दुई बजे पाङबुचेमा बास बस्ने गरी अगाडि बढ्यौं।
क्रमशः
(मनोजकुमार कँडेलका अन्य लेख)