मिसन सगरमाथा बेस क्याम्प-२
पाँच मिनेटको बसयात्राबाट त्रिभुवन विमानस्थलको हेलिप्याडमा पुग्यौं। झोलाहरू लोड गर्न दियौं।
मैले ट्याक्सीको अगाडिपछाडि बस्ने यात्रुको काखमा मुखै छोप्ने गरि समान राखेको देखेको थिएँ। कतिपटक त बोकेको पनि छु। यो हेलीयात्रामा पनि त्यही देखे। हेलीको समान राख्ने ठाँउमा समान नअटेकोले यात्रुहरूको काखमा समान ‘लोड’ गरिएको थियो।
ट्याक्सीमा जस्तै हेलीको पछाडि बस्ने दुई विदेशीको अनुहार झोलाले पुरै छोपिएको थियो। समानको यो हालत देखेर पाइलट धेरै रिसाए। उनको रिसले केही काम गरेन। ती विदेशीले के सोचे कुन्नि मैले सोध्ने आँट गरिनँ।
हामी दुई नेपाली ‘चल जाएगा’ पारामा स्वीकार गर्दै हेलीमा बसी फोटो खिच्न थाल्यौँ। उडान भयो। रद्द भए पनि लुक्ला उड्न पाएकोमा हामी दुवैको अनुहार उज्यालो थियो।
एकातिर धेरै पुराना जहाज, हेलीहरू किनेर चलाउने अर्को तिर उडानको सुरक्षा व्यवस्थामा हुने लापरबाहीले गर्दा नेपालमा हवाई यात्रा सुरक्षित छैन। त्यही भएर होला नेपालको जहाजलाई आजसम्म युरोपियन युनियनले उडानको स्वीकृति नदिएको पनि।
लुक्लाको चार्टर उडानको मूल्य कम्तीमा २ लाख पर्छ। हामीलाई हवाईजहाजको मूल्यमा हेलीमा उडाएको कारण खुशी थियौं। राम्रो कर्ममा भगवान पनि साथ हुन्छ भन्थे साँच्चै हो रहेछ।
हवाइजहाज कुहिरो माथि उड्ने, हेली चरा जस्तै गाउँ बस्ती माथि उड्ने कारण पनि हेलीको उडान अति नै रोमाञ्चित हुँदो रहेछ। कुनै समय म पनि साथीभाइलाई आकाशमा संसार घुम्नेछु भन्दै गफ दिन्थे। जंगल पार गर्दै अगाडि बढ्दा नागबेली सडकका डोपहरू देख्दा नेपालले सडकको पूर्वाधार विकासमा छलाङ मारेको जस्तो अनुभूति भयो।
गाउँ घरमा टल्किएको निलो, रातो, हरियो जस्तापाताको घरहरू देख्दा घर भत्केको आधारमा बाँडेको तीन लाखको स्रोतको पैसा दोहन भएको देखिन्थ्यो।
बनेका घरहरू पचास प्रतिशत मात्र सदुपयोग भएको मातृका मित्र सुनाउँदै थिए।
राष्ट्रवादको नाराले लाउन नथाक्ने मौलिक घरहरू बनाउन र मौलिकता जोगाउन कुनै योजना दिन सकेनौँ।
विकासको पहिलो आधार सडक हो भने दोश्रो विद्युत। छोटो समयमा गाँउघरमा सडक विस्तार भएको देखिन्छ।
सडकमा राज्यको लगानी मात्र हो। यसबाट राज्यलाई कुनै पनि प्रत्यक्ष आम्दानी हुँदैन तर सडकको प्रयोग गरी विद्युत उत्पादनबाट देशले आर्थिक विकासमा फड्को मार्ने थियो।
तर उत्पादन भने शुरूवात नै भएको देखिदैन। कुनै कुराको उत्पादन बिना रोजगार आर्थिकवृद्धि, समृद्धि केही सम्भव छैन।
अहिले बुझेको विकास सडक, विद्युत र भ्यूटावर हुन्।
यात्राको क्रममा सडक, टिनका घर, खेती र हरियाली सोचे जस्तो देखेनौं। हामीले दुईले हेलीको एक घन्टा उडानमा यस्तै कुरा नियाल्न व्यस्त भयौं। एक घन्टाको आनन्दायी उडानपछि दुई बजे लुक्ला अवतरण गर्यौं।
हामीले खानेपानी परियोजना उद्घाटन र हस्तान्तरणको लागी आवश्यक समानहरू बोकेर गएका थियौ। हामीलाई ती समान बोकी फोर्चेसम्म पुर्याउन गाह्रो थियो। त्यो परियोजना पुग्न लुक्लाबाट तीन दिन हिँड्नु पर्थ्यो।
यस परियोजनाको संयोजन हामीले नै गरिरहेका थियौ। लिटल शेर्पा फाउन्डेसन फोर्चे बासीको यस परियोजनामा महत्वपूर्ण भूमिका छ। फाउन्डेसनका अध्यक्ष टासी छिरिङलाई सम्पर्क गरी आफ्नै झोला भारी भएको जनायौं।
उनले सबै समानहरू लुक्लाको नमस्ते लजमा छोड्न भने।
नमस्ते लजमा पुगी चिकेन थुक्पा खायौ। टासीजीको निर्देशन अनुसार समानहरू जिम्मा दियौ। त्यहाँ केही जानकारी लिएर योजना अनुसार पहिलो दिन फाक्दिङमा बास बस्यौं। लुक्लादेखि फाक्दिङको यात्रा नौ किलोमिटरको थियो। ।
फाक्दिङको यात्रामा पानी पर्न थाल्यो।
मेरो हरेक यात्रामा पानी पर्ने गर्छ। यो पटक लुक्लामा पानीले स्वागत गर्यो । दुवै रेनकोटको साथमा फाक्दिङ पुगेका थियौं।
लुक्लामा विमानस्थल नहुदाँ सगरमाथा जानेहरूको प्रख्यात बाटो जिरी रहेछ। दोलखामा रहेको जिरि काठमाडौंबाट १९० किलोमिटर टाढा छ। जिरिलाई नेपालको स्वीजरल्यण्ड समेत भनिन्छ।
पुराना प्रख्यात सगरमाथा आरोहिहरू एडमन्ड हिलारी, जोन हउ्न्टहरूले पनि जिरिबाट सगरमाथाको यात्रा सुरू गरेका थिए।
पहिले जिरिबाट हिँडेर लुक्ला पुग्नै पर्थ्यो। त्यसैले लुक्लालाई सगरमाथा छिर्ने ढोका भनिन्थ्यो।
२०२७ सालमा लुक्ला एयरपोर्ट संचालनमा आएको थियो। २०५७ सालमा भने कालोपत्र गरिएको लुक्ला विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको हो।
नेपालमा लुक्ला विमानस्थल सबैभन्दा व्यस्थ र विश्वमा डरलाग्दो विमानस्थलको रूपमा परिचित छ।
विश्वकै सबभन्दा उचाइमा रहेको र सधैं अचानक मौसम परिवर्तन भइरहने हुदाँ उडान अनिश्चित हुने सुचिमा समेत लुक्ला एयरपोर्ट पर्छ।
एक हजार ७२९ फिट रनवे र ६४ फिट चौडाई भएको लुक्ला विमानस्थल समुद्रि सतहबाट २८६० मिटर उचाइमा रहेको छ।
छिनछिनमा मौसम परिवर्तन हुने मुख्य कारणले गर्दा अनुभवी पाइलटहरूले मात्र विमान उडाउन सक्छन्।
पहाडि ल्यान्डस्केपसँगै लुक्ला अवतरण गर्दा ६३६७ मिटर उचाइको कुसुम कंगारू र ६९५९ मिटर उचाइको नुम्बुर हिमाललाई छिचोल्नुपर्छ।
२० वर्षको लुक्ला हवाइयात्रामा झण्डै दश खतरनाक दुर्घटना भएका छन्। उक्त दुर्घटनामा चालक दलसहित सयौंभन्दा बढि यात्रुको मृत्यु भएको छ। पछिल्लोपटक २०१९ मा समिट एयरको विमान दुर्घटना भएको थियो।
२०५७ सालमा पहिलोपटक लुक्ला विमानस्थल पूर्ण रूपमा संचालन हुँदा पहिलो सगरमाथा आरोहि तेन्जिङ शेर्पा र एममन्ड हिलारीको नाममा ‘तेन्जीङ हिलारी विमानस्थल’ नामाकरण गरिएको थियो।
झरीकै बीच हामी फाक्दिङतिर अगाडि बढ्यौं।
लुक्ला बजार सकिनासाथ खुम्बुपासाङ लामु गाउँपालिकामा यहाँलाई स्वागत छ भनी सुन्दर ढोका राखिएको रहेछ। पानी र कुहिरोले गर्दा नजिकै रहेका खच्चडहरू पनि देख्न गाह्रो थियो।
हामीलाई दुई बहिनी र एक दाइले हतारमा उछिन्दै अगाडि बढ्दै हुनुहुन्थ्यो।
‘हैट बहिनीहरू हामीलाई नधकेल्नु होला है! कुहिरोले बाटो अँध्यारो छ’ भन्दै बोल्ने बाहना निकाले।
उनीहरूले ‘हाँस्दै धकेल्दैनौ, फाक्दिङमा हाम्रो लज छ। भाइहरूलाई राखुला बरू।’
हाम्रो पनि फाक्दिङमा कहाँ बस्ने निधो भएको थिएन।
मैले पनि जिस्काउने प्रयास गरे, ‘हामीले त यसो माया पिरती गाँस्ने, रातापिरा शेर्पिनीको लज खोजेको, पाइएला र है ?’
मेरो कुराले सुनेर दुवै बहिनीहरू हाँस्नु सम्म हाँसे।
‘शेर्पिनी पाल्न गारो छ, सकौला र भाइहरू?’ उनीहरू भन्दै थिए।
‘हामीले त मन-धन भएकी खोज्या है नी।’
उनीहरू हाँसो नथामी हाँस्दै थिए। हामीले खोजेस्तो त नपाउने जिकिर गर्दै थिए।
यसरी ठट्टै-ठट्टैमा बाटो कटेको पत्तै भएन। उहाँहरू पनि हामीसँग नजिक भए।
उनीहरू उदयपुर गाईघाटबाट आएर व्यापार गर्न थालेका रहेछन्।
‘हामी त मगर्नी हो भाइ’ उनीहरूले हाँस्दै जवाफ दिए।
मैले पनि थपे ‘म पनि रामेछापको मगरबस्तीमै हुर्की मगर्नीसँग मायापिरती गाँसेको मान्छे हो नि बैनी।’
‘हो र सरहरू?’
‘हामी त उहिल्यै मायापिरतीमा फसेका छौ मगर्नीसँग।’ बहीनीहरूको मज्जाको हाँसो थियो।
सुरू-सुरूमा स्थानीय शेर्पाहरूले अति हेपेका र दुःख दिएको उनीहरुको गुनासो थियो। तर त्यस्तो अवस्था अहिले छैन। पचास साठि घरको मगरबस्ती नै छ। उनीहरू पुरानो दिन सम्झदै थिए।
मलाई जिज्ञासा थियो, लुक्लाको अर्थ के होला भनी। झट्टै सोधेँ।
‘लुक्लाको अर्थ के होला बहिनी?’
‘भेडा बाख्रा पाल्ने ठाउँलाई लुक्ला भन्दछ क्यारे! तर अहिले त कुहिरे पाल्ने ठाँउ भएको छ।’
हाँस्दै बीचमा अर्की एक बहिनीले कुइरे पाल्ने ठाँउ भन्नु न भाइ भनिन्।
हामी दुईको पनि हाँसो थामिएन।
मज्जाले हाँसियो।
हामी पाँच जनाको हाँसो लामो सम्म रोकिएन।
वास्तवमा नेपालको उत्तरपूर्वमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा अवस्थित लुक्ला समुद्र सतहबाट २८६० मिटरको उचाइमा छ। यो सानो भेडा बाख्रा पाल्ने गाउँ आज सुविधा सम्पन्न होटलहरूले भरिभराउँ भएको छ।
पदयात्री र खच्चडको भिडले अति नै लुक्ला अति नै व्यस्त रहन्छ।
मनमोहक हिम श्रृंखलाहरूले चियाइरहेको ‘कुइरेहरू पालिरहेको’ सुन्दर गाँउ हो लुक्ला।